Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५३५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ११३५३ मे.वा. घन्टा
  • भारत : १०८० मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०९६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युत बाँध तटीय क्षेत्रका लागि ‘घातक’

जेठ ०८, २०७६   1525 लेख


पाउल इज्कुरा

विश्वभरि हजारौं जलविद्युत बाँध निर्माणाधीन छन्, मुख्य गरी विकासशील देशहरूमा । यी विशाल संरचना नवीकरणीय ऊर्जाका लागि विश्वमा सबैभन्दा महत्त्वपूर्ण स्रोत हुन् तर ती वातारणीय दृष्टिले समस्याका कारण पनि बनेका छन् ।

जलविद्युत बाँध निर्माण हुँदा नदीमा पानीको गुणस्तर घट्न जान्छ । बाँधबाट तल्लो तटमा बग्ने पानीमा अक्सिजनको मात्रा कम हुन्छ । जसले पानीमा बस्ने असंख्य प्राणीलाई असर गर्न सक्छ । बाँधमाथिको जलाशयमा हानिकारक क्षरीय पदार्थ तैरिएको हुन्छ । पानीमा डुबेको वा भिजेको माटोबाट एक प्रकारको पारो (मर्करी) जस्तो विषालु धातु उत्पन्न हुन सक्छ ।

ad

हामी जान्न चाहन्थ्यौं कि बाँधले नदीको व्यवस्थालाई निकै टाढासम्म असर गर्न सक्छ, तटीय क्षेत्र जहाँ नदी बगेर समुद्रसम्म पुग्छ । यही कारण मेक्सिकोका प्रशान्त क्षेत्रीय नदीका तटसहित चार नदीमा एउटा प्राकृतिक प्रयोग गरियो । यसका लागि दुई बाँध निर्माण भएका र दुई प्राकृतिकरूपमा बगेका नदीबीच तुलना गरिएको छ ।

हामीले पायौं कि क्षतिग्रस्त नदी वा बाँध निर्माण भएका ठाउँमा सय किलोमिटर तलसम्म नकारात्मक पर्यावरणीय र आर्थिक असर परेको देखियो ।

तटीय क्षेत्रले खाने वा भोकै बस्ने

हामीले मेक्सिकोको प्रशान्त क्षेत्रअन्तर्गत सिनालोआ र नयर्ट राज्यका चार नदीको अध्ययन गर्यौं । यसमध्ये दुई वटा पेड्रो र अकापोनेटा नदी थिए, जुन तुलनात्मकरूपमा कम प्रतिबन्धित थिए । साथै, तिनको ७५ प्रतिशत बहाब स्वतन्त्र छोडिएको थियो ।

अन्य दुई अध्ययन स्यान्टियागो र फुयर नदीमा गरिएको थियो । जहाँको ९५ प्रतिशत पानी जलाशयमा सञ्चित गरिएको थियो । साथै, पानीको बहाब रोकिएको थियो । यी दुई नदीमा एक वर्षमा १० लाख टनभन्दा बढी नदीजन्य पदार्थ वा सेडिमेन्ट (लेदो, गेगर, बालुवा) जम्मा भएको देखियो ।

कम प्रतिबन्धित पेड्रो र अकापोनेटा नदी किनारमा सेडिमेन्ट जम्मा भएको पाइयो । जसले नदी किनारलाई सुरक्षित गर्नुका साथै यस्तो सेडिमेन्ट कहिलेकाहीँ उपयोग गर्न पनि मिल्ने देखियो । यी स्वतन्त्ररूपमा बगेका नदीका विशेषता हुन् ।

स्यान्टियागो र फुयर नदीले सेडिमेन्ट धेरै तलसम्म पुर्याउन सक्दैनन् । पानीका छालले किनारतिर थुपार्दै गएका हुन्छन् । यी दुई नदीका मुहानतिर हामीले पायौं, पानीका छालले प्रतिवर्ष ३३ हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्याएको थियो । जुन ६२ वटा फुटबल मैदानबराबरको जमिन थियो । यसले वरपरका क्षेत्रमा पारिस्थितिक र आर्थिक असर पनि पारेको थियो ।

पारिस्थितिक स्वास्थ्य

हाम्रो स्थलगत अनुसन्धानले स्पष्टरूपमा देखायो कि अवरुद्ध नदीका कारण सेडिमेन्टले यसको मुहान र तटीय क्षेत्रको पारिस्थितिक तथा पर्यावरणीय प्रणालीमा व्यापक नोक्सान गरेको थियो । उदाहरणका लागि, स्वतन्त्ररूपमा बगेका नदीको तटीय क्षेत्रमा बोटविरुवाको बढी विविधता थियो । धेरैजसो यस्ता रुखविरुवा यिनै नदी किनारमा भेटिए । जसको संरक्षणको पनि उच्च महत्त्व थियो ।

बाँध निर्माण भएका नदी किनारमा सेडिमेन्ट अभावका कारण सदाबहार हरियाली वा संवेदनशील वनस्पति हुर्कने दरमा समेत कमी आएको थियो । जहाँ व्यावसायिक माछाका प्रजातिले आफ्नो किशोर अवस्था व्यतित गर्ने गरेका थिए ।

स्वतन्त्र बगेको सान पेड्रोको तुलनामा अवरुद्ध फुयर नदीको मुहानतर्फ माछा मार्ने गतिविधि बढी थियो । यस्ता गतिविधिले हरेक वर्ष १३ लाख अमेरिकी डलर आर्थिक नोक्सान पुर्याउने पनि आकलन गरिएको छ ।

सेडिमेन्ट बाहबमा आउने कमीले तटीय क्षेत्रको पोषण घटाउँछ । हामीले गरेको अध्ययनमा नदीबाट प्राप्त हुने पोषण तत्त्वमा सार्प र झिँगे माछा निर्भर हुने गरेको पाइयो । सान पेड्रो नदी क्षेत्रमा माछापालनबाट हरेक वर्ष ५८ लाख अमेरिकी डलर आम्दानी हुने गरेको देखियो । जब कि अवरुद्ध वा बाँध निर्माण भएका नदीमा त्यो करिब बन्द जस्तै थियो ।

तटीय क्षेत्रका रुख विरुवा वा सदाबहार हरियालीले नदी किनारलाई आँधी हुरी र  अधिक तापक्रमबाट सुरक्षित राख्न सक्छ । साथै, वन्यजन्तुको संरक्षण क्षेत्रलाई पनि जोगाउन मद्दत पुर्याउँछ । बाँध निर्माण भएका नदीबाट पर्यावरणीय क्षेत्रमा वार्षिक ३९ लाख अमेरिकी डलरबराबरको नोक्सान हुने गरेको हाम्रो निष्कर्ष रह्यो ।

अर्को महत्त्वपूर्ण वा मूल्यवान काम के हो भने सादाबहार हरियालीले विरुवाका तन्तु र माटोमा ‘नीलो कार्बन’ भण्डारण गरेर राख्न सक्छन् । यसले जलवायु परिवर्तनको असर घटाउँछ । तर, जब तटीय क्षेत्रमा सदाबहार वनस्पति वा हरियाली नष्ट हुन्छ तब यसले बढी कार्बन उत्पादन गर्छ ।

हाम्रो अध्ययनको निष्कर्ष अनुसार बाँध निर्माण भएका नदीका तटीय क्षेत्रमा सदाबहार हरियाली कम हुँदा कार्बन व्यापारबाट हुने वार्षिक १ लाख ३० लाख अमेरिकी डलर आम्दानी पनि घटेको देखियो । यसैले, सेन्टियागो र फुयर नदीमा जलविद्युतका लागि निर्माण गरिएका बाँधका कारण वर्षको १ करोड अमेरिकी डलर घाटा भएको पाइयो ।

नदीजन्य पदार्थ बग्न दिऊँ

सेडिमेन्ट नदीको मुहान वरपरका लागि अत्यावश्यक हुन्छ । बाँधको तल्लो भागमा सेडिमेन्ट बग्न दिँदा यसले तटीय क्षेत्रका धेरै हानिकारक असर नियन्त्रण गर्न सक्छ । बाँध निर्माण भए पनि नदीको तल्लो तटमा नदीजन्य पदार्थ बगाउने अनेक उपायहरू छन् । सेडिमेन्ट बाइपास, लेदो बग्ने क्षेत्र परिवर्तन गरी पुनः नदीमा पानी मिसिँदा त्यसमा मिसिने उपाय अवलम्बन गर्न सकिन्छ ।

यस्ता रणनीति नयाँ निर्माण हुने तथा हाल सञ्चालनमा रहेका जलविद्युत बाँधमा प्रयोग गर्न सकिन्छ । यसबाट लेदो तथा गेगर भरिन कम भई बाँधको वातावरणीय असर घट्छ । र, बाँधको आयु पनि बढाउँछ ।

ठूला बाँध निर्माण गर्दा गरिने वातावरणीय प्रभाव मूल्यांकनले नदीको मुहान तथा तल्लो तटमा पार्ने असरको प्रभावकारी विश्लेषण गरेको हुँदैन । यही कारण भविष्यमा विभिन्न असर देखिने गरेका छन् । तटीय वा नदी किनारमा देखिने वातावरणीय र आर्थिक असर न्यूनिकरण गर्न बाँध यसका निर्माणकर्ता कति जवाफदेही हुनुपर्छ भन्ने हाम्रो अध्ययनले देखाएको छ ।

मेक्सिको जलविद्युत उत्पादनका दृष्टिले एउटा महत्त्वपूर्ण मोडमा हुन सक्छ । मेक्सिको सरकारले भर्खरै देशभरका बाँध मर्मत तथा पुनर्निर्माण गर्न विश्वको ठूलो जलविद्युत उत्पादक कम्पनी हाइड्रो क्यूबेकसँग सम्झौता गरेको छ ।

मेक्सिकोको एउटा गैरसरकारी संस्थाले गरेको अध्ययनमा लामो विवादबीच लस क्रुसेसमा निर्माण गर्ने भनिएको जलविद्युत बाँध वित्तीयरूपमा कहिल्यै सम्भाव्य नहुने उल्लेख गरेको छ । साथै, आयोजनाले यस क्षेत्रको विद्युत माग पनि कहिल्यै पूरा गर्न नसक्ने हुँदा यसलाई खारेज गर्नुपर्ने आवाज उठिरहेको छ ।

हामीलाई विश्वास छ, प्रभावकारी र कम असर गर्ने ऊर्जा स्रोतमा काम गरिरहेका मेक्सिको र विश्वका सबै देशले भविष्यमा बाँधसँग सम्बन्धित आयोजना निर्माणमा साझा दृष्टिकोण राख्नुपर्छ । यसबाट उनीहरूले सम्भावित हानिकारक परिणाम कम गर्न सकून् । हामीले तयार गरेको तटीय असरसम्बन्धी अध्ययन यसको एउटा हिस्सा हुन सकोस् ।

पाउल, सान डियागो विश्वविद्यालय अन्तर्गत ‘गल्फ अफ क्यालिफोर्निया मरिन प्रोग्राम’की डिजिडल सञ्चार विशेषज्ञ हुन् ।

यो लेख ‘द कन्सरभेसन’ अनलाइन पत्रिकाबाट अनुवाद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="