Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेपालमा जलविद्युत् : कहिलेसम्म आफ्नो खेर फाल्ने र अरूको किन्ने ?

असार २३, २०७६   332 लेख


ज्योति दाहाल

नेपालको चिनारी जलस्रोतमा धनी देशका रूपमा पनि हुने गरेको छ । ६ हजारभन्दा बढी सानाठूला नदीनालाबाट ८३ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने तथ्यांक छ । नेपालको पूर्व (कोशी), मध्य (गण्डकी) र पश्चिम (कर्णाली) क्षेत्रमा सात–सातओटा नदीको बेजोड संगम छ । बागमती, तिनाउ, राप्ती (दाङ), बबई र महाकाली पनि मुख्य नदी प्रणालीमा पर्छन् । यसबाहेक अन्य साना ठूला खोला÷नदी प्रणाली पनि रहेका छन् । सम्भवतः नेपालको जस्तो सात–सातखओटा संगम भएका नदी प्रणालीयुक्त क्षेत्र अन्यत्र नहुन पनि सक्छ । तीनओटा नदी प्रणालीका २१ ओटा ठूला नदी नेपालका ‘शान’ मात्र होइनन् ‘धन’ पनि हुन् । ‘सेतो सुन’ भनेर चिनिने यी र यस्ता कैयौं नदी अहोरात्र बगिरहेका छन् । तर, यिनको समुचित उपयोग गर्न सकिएको छैन । ठूला नदी उपयोगविहीन भएर बगेको दुःखद पाटो त छँदै छ तर ससाना नदीखोला उपयोग गरेर उत्पादन गरिएको विद्युत् समेत खेर गएको दुर्दान्त पक्ष समेत छ । बिजुली खेर गएको पक्षलाई उजागर गर्दै अझ पनि खेर जान सक्ने अन्य विद्युत्को समेत संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।

माग, आपूर्ति र प्रसारण
विक्रम संवत् (विसं) १९६८ सालमा श्री ३ महाराज चन्द्रशमशेरको पालामा फर्पिङमा उत्पादन गरिएको ५ सय किलोवाट क्षमताको आयोजना बिजुली यात्राको प्रस्थानविन्दु हो । सम्भवतः यो दक्षिण एशियाको दोस्रो विद्युत् उत्पादन केन्द्र हुन सक्छ । भारतमा सन् १९०२ (विसं १९५९) मा ब्रिटिश कम्पनीले कर्नाटकमा बग्ने कावेरी नदीबाट शिवसमुद्र नामक स्थानमा ४ दशमलव ५ मेगावाट क्षमताको आयोजना बनाएको तथ्य भेटिन्छ । खुला र उदार अर्थव्यवस्था अपनाएपछि निजीक्षेत्रले उत्पादन करीब २७६ दशमलव ५७ मेगावाट विद्युत् उत्पादन गरेको छ । त्यस्तै प्राधिकरणले ३८५ दशमलव ९८ मेगावाट विद्युत् उत्पादन गरेको छ । भारतबाट ४२५ दशमलव ९३ मेगावाट आयात भइरहेको छ । अहिले करीब ११०६ दशमलव ७५ मेगावाट बिजुलीको माग भइरहेकोमा १८ दशमलव ३२ मेगावाट विद्युत् अपुग देखिन्छ ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा वार्षिक २ सय मेगावाटभन्दा बढी बिजुलीको माग वृद्धि हुने गरेको छ । कतिपय निर्माण सम्पन्न आयोजनाले प्रसारण लाइन नपाउँदा उत्पादित बिजुली खेर गएको छ । निर्माणाधीन रसुवागढी, सान्जेन, मध्यभोटेकोशी, सबैभन्दा ठूलो एवम् महत्त्वाकांक्षी तामाकोशी आयोजना समेत प्रसारण लाइनको पीडामा पर्ने सम्भावना देखिएको छ । यी उल्लिखित सबै आयोजना निर्माणाधीन अवस्थामा रहेका र आगामी वर्षभित्रै व्यावसायिक उत्पादन गर्ने तयारीमा छन् ।

विपरीत उपभोग तालिका
बिजुलीको माग दैनिक बढ्दो छ । तर, प्रणालीमा बिजुली छैन । आयातित बिजुली महँगो छ । जहाँ (भारत) बाट बिजुली आयात गरिएको छ, ऊर्जासंकट त्यहाँ पनि छ । तल्लो तटीय क्षेत्रमा पर्ने देश भारतलाई माथिल्लो तटीय क्षेत्रको देशले बिजुली बेच्नुपर्नेमा यहाँ ठीक उल्टो भइरहेको छ । तल्लो र माथिल्लो तटमा हुनुको कारण मात्र नेपालले भारतलाई बिजुली बेच्नुपर्ने होइन । नेपाल र भारतको ऊर्जा उपभोग तालिका ठ्याक्कै उल्टो हुनु पनि हो । यसलाई ईश्वर (प्रकृति) ले दिएको अनुपम देन मान्नुपर्छ । तर, शासकीय सोच र चिन्तन अनि नीति गतिलो नहुँदा पाएको साधन मिल्किएको छ । त्यसैले ‘भिल्लको देशमा मोती मिल्कन्छ’ भनिएको होला । नेपालको शासकीय सोच नीतिहीनता हेर्दा यो भनाइ नेपालकै लागि बनेको जस्तो लाग्छ । भुटानले भारतलाई सबै नदीनाला सुम्पेर आफू पनि सम्पन्न बन्यो र भारतको आवश्यकता पनि पूरा गरिदिएको छ । तर, नेपालमा नीतिगत स्पष्टता नहुँदा वर्षौंदेखि नेपालको पानी बगिरहेको छ । पानी बगिरहने यी दृश्य अझ कति समयसम्म चल्ने हो अनुमान गर्न गाह्रो छ । नेपाललाई अधिक बिजुली चाहिने समय (हिउँद) मा कम उत्पादन हुन्छ र यही बेला भारतलाई कम बिजुली भए पुग्छ । त्यतिबेला भारतबाट नेपालमा बिजुली ल्याएर आवश्यकता पूरा गर्न सकिन्छ । भारतलाई बढी बिजुली चाहिने समय (वर्षा) मा नेपालमा अधिक उत्पादन हुन्छ तर खपत कम हुने यतिबेला बढी भएको बिजुली भारतलाई दिन सकिन्छ । एकप्रकारले हेर्दा यस्तो स्थिति पैसा नचाहिएको बेला बैंकमा राखेर चाहिएको बेला झिके जस्तै नेपाल र भारतको ऊर्जा उपभोग तालिका छ । तर, यसबाट फाइदा लिन दुवै देश चुकेका छन् ।

खेर गएको बिजुली
नेपाल र भारतको ऊर्जा उपभोग तालिका ठीक विपरीत भए पनि नेपालले नै पर्याप्त बिजुली दिन सकेको छैन । नेपालमा बिजुली आयोजना बेलैमा सम्पन्न हुन सक्दैनन् । यसका विविध कारणमध्ये एउटा कारण सरकार आफै हो । बिजुली उत्पादन गर्न जति सजिलो छ, त्यसलाई प्रसारण गर्न त्यति नै जटिल देखिएको छ । जटिलताको सर्जक सरकार स्वयं हो । वनक्षेत्रको उपयोग नगरी आयोजना सम्पन्न गर्न सकिँदैन । रमाइलो के छ भने राष्ट्रिय गौरवको तामाकोशी आयोजनालाई प्रसारण लाइन बनाउन काट्नुपर्ने ४ हजार रूख काट्ने अनुमति पाउन २२ महीना लागेको थियो । अहिले निर्माण सम्पन्न भएर पनि प्रसारण लाइनको अभाव झेलिरहेका केही आयोजनाको विवरण तालिकामा देखाइएको छ । तालिकामा परेको खानीखोला र सिनर्जीले आंशिक रूपमा लाइन पाएका छन् । लाजमर्दो कतिसम्म छ भने खानीखोला उपत्यकाकै ललितपुर जिल्लाको दक्षिणमा पर्छ । दोलखाको सिनर्जीले २०७० सालअघि नै उत्पादन गरेको भए पनि आजसम्म लाइन नपाउँदा वर्षायाममा आशिक चलाउनुपर्छ । दोलाखामै निर्माणको अन्तिम चरणमा पुगेका तल्लो खारेखोला (११ मेगावाट), सिंगटी (२५ मेगावाट) र खानीखोला (२५ र क्यासकेड १५ सहित ४० मेगावाट) ले पनि तत्काल लाइन पाउने सम्भावना देखिएको छैन । यस्तै दुर्दान्त कथा सोलुखोलामा निर्माणाधीन आयोजनाको पनि देखिने सम्भावना छ । तामाकोशीको बिजुली समेत गोंगर–खिम्ती हुँदै ढल्केवर पुगे पनि त्यहाँबाट पूर्व र पश्चिम जाने बाटो (प्रसारण लाइन) छैन । पूर्व–पश्चिममा उच्च क्षमतायुक्त प्रसारण लाइन नहुँदा तामाकोशीको बिजुली पनि डिब्बाबन्द हुने सम्भावना देखिन्छ ।

सुनको कचौरा बोकेर भीख
नदी नवीकरणीय ऊर्जाका मुख्य स्रोत भएर पनि पर्याप्त उपयोग हुन् नसक्दा नेपाल ‘सुनको कचौरो बोकेर भीख’ मागिरहेको छ । कहिल्यै नसकिने नवीकरणीय जलऊर्जा उत्पादन गरी ऊर्जामा निर्भरता र निर्यात समेत गरेर व्यापारघाटा कम गर्न मात्र होइन, देशले विदेशी मुद्रा समेत आर्जन गर्न सक्छ । प्रकृतिले नेपाललाई जलाधारयुक्त उच्च हिमालय क्षेत्र र तल्लो तटमा भारत जस्तो ठूलो भूभाग एवम् जनसंख्या भएको देश दिए पनि नेपालले जल उपयोग गरी आपूmले पनि उपयोग गर्न सकेन र भारतलाई पनि दिन सकेन । परिस्थिति हेर्दा नेपालको जलस्रोत ‘माग्नेलाई हात्ती दान’ जस्तो बनेको छ । नेपालको अपार जलभण्डारको समुचित उपयोगमा दुवै देश (नेपाल र भारत) कहाँ चुके कोही कसैले बताउन सकेको देखिँदैन । यसैको खोजी आजको टड्कारो आवश्यकता बनेको छ ।

लेखक धितोपत्रसम्बन्धी जानकार अधिवक्ता हुन् ।
dahal_j@hotmail.com

आर्थिक अभियान दैनिक

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="