Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तासकाे घरझैँ भत्किँदै जलविद्युत सेयर, धेरैको बजार मूल्य सय रुपैयाँभन्दा तल

ऊर्जा खबर भदौ ०३, २०७६   2180

सेयर



काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भई दोस्रो बजारमा कारोबार गर्ने एक दर्जन बढी जलविद्युत कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा तल झरेको छ । दोस्रो बजारमा कारोबार गर्ने ३२ मध्ये १४ जलविद्युत कम्पनीको सेयर मूल्य प्राथमिक मूल्यभन्दा सस्तो भएको हो ।

दिव्यश्वरी हाइड्रो पावर कम्पनीले लगानीकर्तालाई प्रतिकित्ता १ सय रुपैयाँमा बिक्री गरेको सेयर घटेर ६० रुपैयाँमा झरेको छ । दोस्रो बजारमा मूल्य सस्तिँदा प्राथमिक सेयरका लगानीकर्ताले प्रतिकित्तामा ४० रुपैयाँ बराबरको नोक्सानी बेहोरेका छन् । नेशनल हाइड्रो पावर कम्पनीको अवस्था पनि उस्तै छ । यो कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६१ रुपैयाँमा आइपुगेको छ । यो कम्पनीका लगानीकर्ताले प्रतिकित्ता सेयरमा ३९ रुपैयाँ गुमाएका छन् ।

ad

खानीखोला हाइड्रो पावर कम्पनीको सेयर मूल्य घटेर ६३ रुपैयाँमा झरेको छ । केही महिना अघिमात्रै नेप्सेमा सूचीकृत भइ कारोबार सुरु गरेको युनियन हाइड्रो पावरको एक सय रुपैयाँ मूल्यको सेयर अहिले सस्तिएर ६५ रुपैयाँमा आइपुगेको छ । आँखुखोलाका लगानीकर्ताले पनि प्रतिकित्तामा ३४ रुपैयाँ गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ६६ रुपैयाँ छ ।

यस्तै, जोशी हाइड्रो पावरको ६७ रुपैयाँ, छ्याङ्दी हाइड्रो पावरको ८१ रुपैयाँ, घलेम्दी हाइड्रोको ८२ रुपैयाँ, सिनर्जी र युनिभर्सल पावरको समान ८४ रुपैयाँ, कालीका पावर कम्पनीको ८६ रुपैयाँ, रिडी हाइड्रो पावरको ८७ रुपैयाँ, बरुण हाइड्रो पावरको ८८ रुपैयाँ, तथा माउन्टेन हाइड्रो नेपालको प्रतिकित्ता सेयर मूल्य ९९ रुपैयाँमा झरेको नेप्सेले जनाएको छ ।

जलविद्युत कम्पनीले राम्रो लाभांश दिन नसक्दा दोस्रो बजारमा लगानीकर्ताको आकर्षण घटेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) उपाध्यक्ष कुमार पाण्डेले बताए ।
‘जलविद्युत आयोजनाले गर्ने आम्दानी सिमित हुन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘राम्रो प्रतिफल नआउने बुझेपछि लगानीकर्ताको आकर्षण घटेकाले सेयर मूल्य पनि घटेको छ ।’

उनले जलविद्युत विकास आयोजना भएकाले नाफामा गएको अवस्थामा १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न सक्ने अवस्था नआउने हुँदा दोस्रो बजारमा मन्दी देखिएको बताए ।

विगतमा चिलिमे जलविद्युत कम्पनीको सेयर ३ हजार हाराहारीमा पुग्नु पनि अस्वभाविक भएको उनले टिप्पणी गरे । ‘बजार बुझेर नै लगानीकर्ताले लगानी गर्छन् । जलविद्युत कम्पनीले मुनाफा बढाउन सक्नेको भनेमात्र अहिलेको अवस्थामा सुधार हुन सक्छ’ उनले भने ।

दोस्रो बजारमा कारोबार गर्ने अन्य १८ कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा माथि छ । चिलिमे, बुटवल पावर कम्पनी, अप्पर तामाकोसी, सानिमा, रसुवागढी, सान्जेनलगायत कम्पनीको सेयर मूल्य २ सयभन्दा माथि साढे ४ सय रुपैयाँसम्म छ । दोस्रो बजारमा सूचीकृत भएका यी औंलामा अटाउने कम्पनीको कारोबारमात्रै उत्साहजनक छ ।

अरुण काबेली, युनाइटेड मोदी, रैराङ हाइड्रो पावर, अपि पावर, पञ्चकन्यमा माई, हिमालयन पावर पार्टनर, राधी विद्युत निगम, पाँचथर पावर कम्पनी, हिमालयन ऊर्जा विकास, अरुण भ्याली हाइड्रो डेभलपमेन्टलगायत कम्पनीको सेयर सयदेखि १ सय ६३ रुपैयाँमा कारोबार भइरहेको छ ।

यी कम्पनीको सेयर कारोबार प्राथमिक मूल्यभन्दा बढीमा कारोबार भइरहे पनि अन्य क्षेत्रको जस्तो आकर्षण नरहेको विज्ञहरु बताउँछन् ।
नेपाल विद्युत प्राधिकरणसँग जलविद्युत प्रवद्र्धकले गर्ने विद्युत खरिद सम्झौता (पिपिए)के दर राम्रो नभएकाले पनि लगानीकर्ता आकर्षित हुन नसकेको नाम नबताउने सर्तमा एक विज्ञले भने । जलविद्युतको लगानी जोखिमपूर्ण हुने हुँदा निर्माण लागतबारे बुझेरमात्रै लगानीकर्ताले सेयर खरिद गर्ने गरेको ती विज्ञले बताए ।

हरेक नेपाली जलविद्युतको सेयर धनी नारा दिएर सरकारले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम शुभारम्भ गरे पनि दोस्रो बजारमा कारोबार सुस्त छ । अहिलेसम्म करिब ३२ जलविद्युत कम्पनी नेप्सेमा सूचीकृत भइ दोस्रो बजारमा कारोबार गरिरहेका छन् । आधा दर्नन बढी कम्पनीले सेयर निष्कासन गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस