विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युत कम्पनीले सर्वसाधारणको अर्बौं डुबाए, दोस्रो बजारमै आइपिओभन्दा कम मूल्य

यशोदा सुनुवार मङि्सर ११, २०७५ 3065

काठमाडौं– सेयर बजार पछिल्लो समय तासको घरजस्तै भत्किँदै गएको छ । कुनै समय लगानी गर्न आकर्षण मानिएका जलविद्युत कम्पनी, बैंक तथा अन्य समूहले समेत आज पुँजी बजारका लगानीकर्तालाई निरुत्साहित बनाइरहेका छन् ।

सामान्य लगानी गर्ने व्यक्ति, समूह वा मध्यम वर्गीय समुदायमात्र होइन अहिले अर्बौं रुपैयाँ कारोबार गर्ने व्यापारिक घराना पनि पुँजी बजारसँग तर्सेका छन् । अर्कोतर्फ, सरकारले यस क्षेत्रका विषयमा बोले गरेका गतिविधिले समेत बजारलाई प्रतिकूल बन्न सघाएको छ ।

सरकारका द्धैध अभिव्यक्तिकै कारण पुँजी बजार धराशायी हुँदै गएको यस क्षेत्रका विश्लेषकहरूको टिप्पणी छ । अहिले बजारमा सबैभन्दा बढी मार जलविद्युत कम्पनीले खेपिरहेका छन् । कमजोर कम्पनी व्यवस्थापन, चर्को बैंक ब्याज र आन्तरिक मितव्ययिता नअपनाउँदा जलविद्युतका लगानीकर्ता निराश हुँदै गएका छन् ।

कुनै समय जलविद्युत कम्पनीको सेयरमा लगानी गर्न सर्वसाधारण रातरातभर लाइन बस्थे । विस्तारै यो अनलाइन प्रणालीमा गयो । तैपनि, जलविद्युत सेयरमा लगानी गर्नेहरू हौसिइरहे । तर, अहिले अधिकांश सर्वसाधारणमा यो क्षेत्रमा लगानी गर्न हुँदैन भन्ने सोचको विकास हुँदै गएको छ । जलविद्युत उत्पादक स्वयं पनि यो क्षेत्र लगानीका लागि उचित नरहेको तर्क गर्छन् ।

कुनै समय पुँजी बजारमै आकर्षक मानिएको चिलिमे जलविद्युत कम्पनीको सेयर सोमबार ६ सय ४० रुपैयाँमा कारोबार भयो । २०६७÷६८ सालमा २ हजार ९ सय रुपैयाँसम्म उकालो लागेको चिलिमेको सेयर मूल्य सम्झिँदा आज पनि लगानीकर्ता जिब्रो टोक्ने गर्छन् ।

रसुवामा निर्माण भएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाबाट प्रभावितमात्र होइन यसको सेयर किन्नेहरू लखपति बने । चिलिमेले नै जलविद्युत कम्पनीमा सेयर लगानी गरे लखपति भइन्छ भन्ने सन्देश दियो । यही कारण सर्वसाधारण आँखा चिम्लिेर हाम फाल्न थाले । सबै जलविद्युत कम्पनी चिलिमे हुँदैनन् भन्ने विषय कसैले बुझाउन सकेन । र, सर्वसाधारणले समेत बुझ्न चाहेनन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अहिलेसम्म २२ जलविद्युत कम्पनी सूचीकृत छन् । उक्त सूचीमा थपिनेको संख्या बढिरहेको छ । तर, सेयरमा लगानी गर्ने सर्वसाधारण उत्साहित देखिँदैनन् । तिनको संख्या थपिनुको सट्टा घट्दै गएको देखिन्छ ।

सबैभन्दा राम्रो कम्पनी मानिएको चिलिमे, सानिमा माई, बुटवल पावर जस्ता कम्पनीले समेत सर्वसाधारणलाई खुसी बनाउन सकेका छैनन् । बैंकको सेयर किन्दा घाटा भए पनि कुनै समय लगानी उठ्ने सर्वसाधारणको बुझाइ छ । तर, जलविद्युत कम्पनीमा लगानी डुब्ने त्रास बढिरहेको छ ।

सर्वसाधारणको विश्वास जितेर जलविद्युत सेयरमा लगानी गर्ने वातावरण बनाउन प्रवद्र्धकहरूले नै मिहिनेत गर्नुपर्ने देखिन्छ । पछिल्लो समय जलविद्युत आयोजना निर्माण निकै महँगो हुँदै गएको छ । निर्माण सामग्रीमा भइरहेको मूल्य वृद्धि, चर्को बैंक ब्याज, नेपाली मुद्रा अवमूल्यन तथा कमजोर व्यवस्थापनले लागत बढिरहेको छ ।

उल्लेखित विषयमा प्रवद्र्धकहरू सजग हुनुपर्ने समय आएको छ । केही प्रवद्र्धकका व्यक्तिगत स्वार्थले पनि आयोजनाको लागत महँगो हुँदै गएको छ । जसका कारण बैंक ब्याज तिर्ने समय लम्बिने र लगानीकर्ताले प्रतिफल पाउन वर्षौं कुर्नुपर्ने अवस्था छ । यसको प्रत्यक्ष असर सेयर मूल्यमा पर्ने गरेको छ ।

साधारण सेयरमा लगानी गर्नेहरू त्यति डराएका छैनन् । तर, दोस्रो बजारबाट सेयर उठाउनेहरूको अहिले ओठ–तालु सुकेको छ । दोस्रो बजारमा कारोबार गर्नेहरूले अर्बौं रुपैयाँ लगानी गरेका छन् । यसको मूल्य अहिले लाखमा झरेको छ ।

साधारण सेयर अर्थात् (आइपिओ) सय रुपैयाँमा किन्न पाइन्छ । तर, अहिले अधिकांश कम्पनीको सेयर आइपिओ हाराहारी झरेको छ । केही कम्पनीको सेयर मूल्य त सय रुपैयाँभन्दा पनि तल झरेको छ । यसले जलविद्युतका लगानीकर्तालाई आत्महत्या गर्ने बाटोतिर धकेल्ने खतरा रहेको सेयर विश्लेषक बताउँछन् ।

नेप्सेका अनुसार सोमबार बजारमा २१ वटै जलविद्युत कम्पनीको कारोबार भयो । तीमध्ये ४ कम्पनीको अन्तिम कारोबार मूल्य सय रुपैयाँभन्दा कम रह्यो । जब कि सय रुपैयाँमा आइपिओ किन्न सकिन्छ ।

यस्तै, १५ कम्पनीको सयदेखि २ सय रुपैयाँभित्रै कारोबार भयो । आकर्षक भनिएका चिलिमे, बुटवल पावर र सानिमा माई कम्पनीको सोमबार अन्तिम कारोबार मूल्य क्रमशः ६ सय ४० रुपैयाँ, ४ सय ४३ रुपैयाँ र २ सय २९ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="