काठमाडौं- भारतले अबको ५ महिनामा करिब १२ सय मेगावाट जलविद्युत प्रसारण प्रणालीमा थप्ने भएको छ । आगामी पुससम्ममा निर्माण अन्तिम चरणमा पुगेका जलविद्युत आयोजनाबाट उत्पादन हुने उक्त परिमाणको विद्युत थप हुन लागेको हो ।
सरकारले निर्माण गरिरहेका आयोजनाको ८ सय १० मेगावाट र निजी क्षेत्रका आयोजनाको ३ सय ८० मेगावाट विद्युत उत्पादन यो वर्ष सुरु हुन लागेको भारतको केन्द्रीय विद्युत प्राधिकरणलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्राधिकरणका अनुसार नर्थ इष्टर्न इलेक्ट्रिक पावर कर्पोरेशन (निपको) ले निर्माण गरिरहेको ६ सय मेगावाटको कामेङ्ग आयोजनाले उत्पादन गर्दैछ ।
अरुणाञ्चल प्रदेशमा निर्माणाधीन यो आयोजनाबाट अबको एक महिनामा उत्पादन सुरु गर्ने तालिका छन् । एक महिनामा २ वटा युनिट (३ सय मेगावाट) सञ्चालन हुने प्राधिकरणले जनाएको छ । आयोजनामा १ सय ५० मेगावाटका ४ वटा युनिट छन् ।
यस्तै, हिमाञ्चल प्रदेशमा निर्माणाधीन २ सय ११ मेगावाटका आयोजनाको विद्युत जोडिँदैछ । यहाँको प्रदेश सरकार र हिमाञ्चल प्रदेश पावर कर्पोरेशले निर्माण गरिरहेका आयोजनाको विद्युत जोडिन लागेको हो ।
हिमाञ्चलमै जिएमआरले निर्माण गरिरहेको १ सय ८० मेगावाटको बजोली होली आयोजना अन्तिम चरणमा पुगेको छ । यो आयोजनाबाट पनि यसै वर्ष विद्युत उत्पादन गर्ने तालिका छ ।
निजी प्रवर्द्धक एल एण्ड टीले ६६ मेगावाटको भत्वारी र १ सय मेगावाटको सोराङ्ग आयोजनाबाट उत्पादन सुरु गर्दैछ । यी आयोजना उत्तराखण्ड राज्यमा निर्माणाधीन छन् ।
निर्माणाधीन आयोजनाको विद्युत प्रणाली जोडिएपछि भारतको जलविद्युत उत्पादनको जडित क्षमता ५० हजार मेगावाट पुग्ने केन्द्रीय प्राधिकरणले जनाएकाे छ । भारतमा अहिले ४५ हजार ४ सय मेगावाटका ठूला र ४ हजार ६ सय मेगावाट बराबरका साना जलविद्युतगृह सञ्चालनमा छन् । गत वर्ष ८ सय ४० मेगावाट उत्पादन गर्ने लक्ष्य राखिए पनि १ सय ९० मेगावाटमात्र प्रणालीमा जोडिएको थियो ।
दि इकाेनाेमिक्स टाइमबाट अनुवाद
प्रतिक्रिया दिनुहोस