विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘नवीकरणीय ऊर्जा सम्मेलनबाट देशले महत्त्वपूर्ण नीतिगत सहयोग प्राप्त गर्नेछ’

ऊर्जा खबर कार्तिक ०९, २०७५ 2465

आगामी सोमबारदेखि काठमाडौंमा (कात्तिक १२–१४ गते) अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रविधि सम्मेलन हुँदैछ । यो चौथो सम्मेलन हो । नारा नै ‘ग्रामीण तथा सहरी विकासका लागि चौथो अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रविधि सम्मेलन’ राखिएको छ ।

यस पटकको सम्मेलनमा जलवायु परिवर्तनका असर न्यूनिकरण गर्न नवीकरणीय ऊर्जा विकास र प्रयोग बढाउनुपर्नेमा पक्षलाई जोड दिइएको छ । ऊर्जा खपत बढाएरै समृद्धि हासिल हुने हुँदा नवीकरणीय ऊर्जा आर्थिक विकासको मेरुदण्ड मानिएको छ ।

देश तथा विदेशका करिब ३ सय प्रतिनिधि सहभागी हुने सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्दैछन् । सम्मेलनको लक्ष्य तथा तयारी सन्दर्भमा सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा. त्रिरत्न बज्राचार्य र सचिव डा. श्रीराज शाक्यसँग ऊर्जा खबरले वार्ता गरेको छ ।

‘सम्मेलनले नवीकरणीय ऊर्जा विकासको दायरा फराकिलो बनाउनेछ’

प्रा. त्रिरत्न बज्राचार्य

पहिलो सम्मेलन कहिले भयो र यसका उपलब्धि के–के रहे ?

सन् १९९८ अघि देशमा नवीकरणीय ऊर्जाको विषय आएकै थिएन । जब त्यतिबेला पहिलो अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सम्मेलन भयो तबमात्र बहस तथा छलफल सुरु भएको हो । सरकारले सन् १९९५–९६ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र स्थापना गर्यो । उता सम्मेलनले केन्द्रलाई नीतिगत तहमा मार्ग निर्देशन गर्ने काम पनि गर्यो ।

सरोकारवाला क्षेत्र तथा प्राज्ञिक तहमा नवीकरणीय ऊर्जा सम्बन्धी गुरुयोजनाको खाँचो महसुस भयो । यसमा सरकारले काम गरिरहेको छ । यता त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत स्नातकोत्तरमा नवीकरणीय ऊर्जा विषय समावेश गर्ने पहल भयो । यसले यो क्षेत्रमा अध्ययन गर्नेदेखि काम गर्नेलाई उचित सल्लाह दिन सक्ने आधार तयार गरेको छ ।

उपलब्धिलाई संस्थागत गर्दै लैजान सकिएको छ त ?

केन्द्र र अध्ययन संस्थान मिलेर सन् २००३ मा दोस्रो सम्मेलन गरियो । त्यतिबेला अघिल्लो सम्मेलनका उपलब्धिको समीक्षा गर्दै अन्तर्राष्ट्रिय बजारमा भित्रिएका नवीकरणीय ऊर्जा प्रविधिको ज्ञान र अनुभव आदानप्रदान गर्ने प्रयास भयो ।  यसैको जगमा केन्द्रले २० वर्षे नवीकरणीय ऊर्जा रणनीति तयार गर्यो ।

सन् २००६ मा राष्ट्रिय नवीकरणीय ऊर्जा सम्मेलन आयोजना गरियो । राष्ट्रिय नाम दिइए पनि यसमा विदेशी विज्ञहरू समेत संलग्न थिए । यसैमा टेकेर सन् २०११ मा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन गरियो । ११ सम्म आइपुग्दा नवीकरणीय ऊर्जासँग जलवायु परिवर्तनको मुद्दासमेत जोडिएर आयो ।

ऊर्जा खपत नभई आर्थिक विकास हुँदैन । र, दिगो आर्थिक विकास गर्न नवीकरणीय ऊर्जा महत्त्वपूर्ण हो भन्ने विषय स्थापित गरियो । अब नवीकरणीय ऊर्जा ग्रमीण क्षेत्रमा मात्र होइन सहरमा पनि विकास तथा विस्तार गर्नुपर्छ भन्ने विषयले प्राथमिकता पाएको छ । विद्युत संकट व्यवस्थापन गर्न पनि यो अपरिहार्य रहेको औंल्याइयो ।

नवीकरणीय ऊर्जा विकासलाई विस्तार गरी जलवायु परिवर्तनले पारेका असर न्यूनिकरणमा पनि जोड दिँदै आएको छ । सरकारका नीतिगत तहमा काम गर्ने निकाय पनि तेस्रो सम्मेलनमा सहभागी भएकाले यसको कार्यान्वयन सहज बन्दै गयो । यसले ग्रामीण अर्थतन्त्र र जीवनस्तरमा सुधार ल्याएको देख्न सकिन्छ ।

चौथो सम्मेलनको लक्ष्य तथा उद्देश्य के हो ?

ग्रामीण तथा सहरी क्षेत्रमा नवीकरणीय ऊर्जा विकास गर्दै अब यसको अभिवृद्धिमा जोड दिनु आवश्यक छ । जलवायु परिवर्तनका असर न्यूनिकरण गर्न पनि यसको विकल्प छैन । अब दिगो आर्थिक विकास गर्न नवीकरणीय ऊर्जामा काम गर्नेलाई उचित अवसर र अध्ययन अनुसन्धान तथा विकासमा सरकारले उचित बजेट विनियोजन गर्न जरुरी देखिएको छ ।

दिगो विकास लक्ष्यका १७ लक्ष्यमध्ये ७औं मा नवीकरणीय ऊर्जा विकासलाई जोड दिइएको छ । १२औं लक्ष्यमा पनि यसलाई उच्च प्राथमिकताका साथ उठाइएको छ । अब देशको राजनीतिक परिवर्तनसँगै यस क्षेत्रको विकास कसरी गर्ने भन्ने विषयलाई पनि चौथो सम्मेलनले उठाउनेछ ।

केन्द्रको संरचना कस्तो रहने ? संघीय संरचना अनुकूल कसरी व्यवस्थापन गर्ने भन्ने अर्को महत्त्पूर्ण विषय हो । समग्र विषयको निचोड निष्कर्ष निकालेर सरकारलाई कार्यान्वयन तहमा सहयोग पुर्याउने चौथो सम्मेलनको मुख्य उद्देश्य हो ।

‘सम्मेलनमा ३ सय बढी सहभागी हुँदैछन्’

डा. श्रीराज शाक्य

चौथो सम्मेलनको तयारी कहाँ पुग्यो ?

करिब ९० प्रतिशत तयारी सकिएको छ । नाम दर्ता तथा विदेशी पाहुनाका लागि बस्न खानको उचित व्यवस्थापन भइसकेको छ । २० देशबाट ५० बढी उच्च सरकारी अधिकारी तथा विज्ञ आउने टुंगो लागेको छ । यस्तै, २ सय ५० जना स्वदेशी प्रतिनिधि सहभागी हुनेछन् ।

कुन–कुन देशका प्रतिनिधिको सहभागिता हुँदैछ ?

नेपालसहित भारत, चीन, बंगलादेश, म्यानमार, थाइल्यान्ड, नर्वे, जर्मनी, अमेरिका लगायत देशका प्रतिनिधि हुनेछन् । साथै, नेपालसँग काम गर्ने विकास साझेदार निकाय (एसियाली विकास बैंक) तथा विश्व बैंकको पनि सहभागिता हुनेछ । विकसित र विकासोन्मुख देशका प्रतिनिधि हुने हुँदा सम्मेलन निकै उपलब्धिमुलक हुने अपेक्षा छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट उदघाटन हुने भएकाले पनि सम्मेलन विशेष हुनेछ ।

कुन–कुन क्षेत्रका विज्ञको प्रस्तुतीलाई प्राथमिकता दिइएको छ ?

सम्मेलनको लक्ष्य नवीकरणीय ऊर्जा विकासमा सरकारलाई उचित सल्लाह तथा सुझाव दिने हो । यसैले नीतिगत क्षेत्रमा काम गरेका स्वदेशी तथा विदेशी प्रतिनिधि हुनेछन् । बंगलादेश र जर्मनका राजदूतले त दुई वटा अन्तरक्रियामा सहजिकरण नै गर्दैछन् । समापन सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन उपस्थित हुनुहुनेछ । यसर्थ, सम्मेलनले हाम्रो लक्ष्य पूरा हुने अपेक्षा गर्न सकिन्छ ।

प्रस्तुती ः लक्ष्मण वियाेगी

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="