Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :५१४१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ३८५५ मे.वा. घन्टा
  • भारत : १०५९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९५९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘पूर्वाधार विकासमा इन्जिनियरले शिर ठाडो पारेर काम गर्ने वातावरण बनाउने हाम्राे अठाेट छ’

ऊर्जा खबर मङि्सर २४, २०७५   3785

अन्तर्वार्ता



काठमाडाैं- छविराज पोखरेल जलविद्युत लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । आगामी मंसिर २८ गते हुने नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) को ३२औं कार्यसमितिका लागि उनले प्रगतिशील समूहको प्यानलबाट महासचिवको उमेदवारी दिएका छन् । पछिल्लो समय इन्जिनियरिङ पेशा निकै पेचिलो बन्दै गएको छ । इन्जिनियरहरू निर्माणका धेरै क्षेत्रमा अव्यवस्था र कमजोर कानुनको शिकार भएका छन् ।

ad

चुनावी मैदानमा देश विकासमा इन्जिनियरको योगदान तथा भूमिका र एनइएको भविष्यका मुद्दा चर्को रूपमा उठेका छन् । राज्यले निर्माण यात्रामा इन्जिनियरलाई हेपेको वा अपमानित गरेको महसुस पनि उनीहरूको छ । पूर्वाधार निर्माणका मेरुदण्ड मानिएका इन्जिनियरले सम्मानपूर्वक काम गर्न पाउनुपर्ने माग राखेका छन् । यिनै विषयमा ऊर्जा खबरका लक्ष्मण वियोगीले पोखरेलसँग गरेको कुराकानी :

एनइए के हो ?

ad

एनइए २०१९ सालमा स्थापना भएको इन्जिनियरहरूको पेशागत संगठन हो । यसले समग्र इन्जिनियरको मर्यादा कायम गर्दै राष्ट्र निर्माणमा हातेमालो गर्दै आएको छ । आज यो ५६ वर्ष भयो । र, ३२औं कार्यसमिति चयनको चुनावी दौडमा छ । यसअघि एक–एक वर्षमा नेतृत्व चयन हुन्थ्यो । पछिल्लो समय दुई–दुई वर्षमा नेतृत्व फेरिने गरेको छ । इन्जिनियर पेशालाई मर्यादित बनाउन यसले काम गर्दै आएकाे छ ।

एनइएले अहिलेसम्म कुन–कुन क्षेत्रसँग समन्वय गरेर काम गर्दै आएको छ ?

राज्यले तयार गर्ने अल्पकालीन र दीर्घकालीन पूर्वाधार विकासका योजनामा इन्जिनियरहरूले तत्तत्का ठाउँमा सहयोग गर्दै आएका छन् । देश विकासमा इन्जिनियरिङ पेशाको ज्ञान तथा सीप उपयोग गर्ने यसको उद्देश्य हो । तर, अहिलेसम्म संस्थाले फराकिलो र दूरदर्शी योजना बनाउने नेतृत्व पाएको महसुस भएको छैन ।

३१औं निर्वाचनसम्म मैले निरन्तर भोट हालेको छु । साथीहरू जितेर पनि आउनुभएको छ । तर, जितेपछि देश निर्माणमा इन्जिनियरलाई सहभागी गराउने बहुआयामिक उद्देश्यबाट विगतका नेतृत्व चुकेको देखिएको छ ।

यही कारण योजना अनुसार काम भएन भन्ने यहाँको भनाइ हो ?

तथ्यले पनि यही पुष्टि गरेको छ । म कुनै अमूक व्यक्तिलाई आक्षेप लगाउन चाहन्नँ । यस्तो प्रवृत्तिले कोही व्यक्ति वा संगठन अघि बढ्न पनि सक्दैन । तर, काम नभएको वास्तविकता बाहिर ल्याउनुपर्छ । हामी ४७ हजार इन्जिनियर नेपाल इन्जिनियर काउन्सिलमा दर्ता छौं । यसमध्ये २७ हजारले एनइएको सदस्यता लिएका छन् । अझै २० हजार इन्जिनियर यो संगठनबाट बाहिर छन् । २७ हजारमध्ये पनि भोट हाल्ने अधिकार पाएकाको संख्या १७ हजार छ । अर्को १० हजार इन्जिनियर नेतृत्व चयनको प्रक्रियामा आउन चाहेको छैन ।

झन्डै ६४ प्रतिशत इन्जिनियरको संस्थाप्रति विकर्षण छ । संस्था चाहिँदैन भनेर होइन । संस्था र पेशाको मर्यादा कायम हुन नसक्दा विकर्षण बढेको देखिन्छ । विगतमा नेतृत्व लिने साथीहरूले यसलाई कानुनी रूपमा बन्दै गरेजस्तो देखियो । ६४ प्रतिशत इन्जिनियर बाहिर हुनासाथ ३६ प्रतिशतले नेतृत्व चुनेर बैधानिकता मानिँदैन । अब यो अवस्थाबाट संस्थालाई माथि उठाउनुपर्छ ।

पार्टीगत राजनीति हाबी भएकैले सबै इन्जिनियर आफ्नो छाता संगठनभित्र समेटिन नसकेको यथार्थ होइन ?

नेपाल छिटो–छिटो राजनीतिक परिवर्तन हुने देशमध्ये पर्छ । समाजका सबै पक्ष, समुदाय तथा पेशा व्यवसायमा लागेका व्यक्तिहरू राजनीतिक आस्था र विचारका आधारमा नजिक र टाढा छन् । यो गलत परिपाटी हो । पेशागत स्थानमा आएपछि समग्र पेशा र व्यवसायको समृद्धिमा काम गर्नुपर्छ । एउटा विचार समूहको मात्र हित हुने गरी काम गर्न हुँदैन । यसअघि एनइएको नेतृत्व यहीँनिर चुकेको जस्तो लाग्छ । समग्र विचार, पक्ष र पेशागत मर्यादा बचाएर काम गर्नुभन्दा यसबाट व्यक्तिगत लाभ लिने प्रवृत्ति दोहोरिए । अब यस्तो प्रवृत्ति रोकिनुपर्छ ।

विकास निर्माणमा इन्जिनियरहरूको महत्त्वपूर्ण भूमिका छ । समृद्ध देशसँगै इन्जिनियरको पेशा र मर्यादा जोडिएको हुन्छ । समाजमा सबैभन्दा मर्यादित पेशा डाक्टर भनिन्छ । तर, योभन्दा इन्जिनियर पेशा बढी मर्यादित हो । स्वास्थ्य क्षेत्रमा प्रयोग हुने सम्पूर्ण उपकरण, प्रविधि र उपयोगमा इन्जिनियरिङ जोडिएको हुन्छ । डाक्टरी पेशाको पछाडि पनि झन्डै ७० प्रतिशत हिस्सा इन्जिनियरिङको छ ।

इन्जिनियरको स्वाभिमानपूर्वक परिचालनबिना कुनै पनि राष्ट्रको समृद्धि सम्भव छैन । हाम्रै देशको कुरा गर्ने हो भने सबैले राजनीतिक कोर्स पूरा गर्यौ अब समृद्धिको यात्रा सुरु गर्ने हो भनिरहेका छन् । यसैले स्वाभिमानपूर्वक इन्जिनियर परिचालन नभई समृद्धिको यात्रा तय हुँदैन ।

तपाईं पनि एउटा राजनीतिक विचारसँग नजिक रहेको समूहसँग आवद्ध भएर निर्वाचनमा समेल हुनुभएको छ । भोलि पनि राजनीतिमुक्त एनइए हुन्छ भन्ने के ग्यारेन्टी ?

राजनीतिबाट इन्जिनियर टाढा रहनुपर्छ भन्ने कुरामा म विश्वास गर्दिनँ । उनीहरूले राजनीति जान्नुपर्छ । बुझ्नुपर्छ । बुझ्दै गएपछि इन्जिनियर पनि आफूलाई राम्रो लागेको विचारसँग सम्वद्ध पार्टीनजिक रहेर कर्म क्षेत्रमा खटिनुलाई अन्यथा मान्न सकिँदैन । तर, यो पेशालाई राजनीतिक थलोको रूपमा प्रयोग वा विकास गर्न हुँदैन ।

इन्जिनियरहरू कुनै राजनीतिक पार्टीको विचारसँग नजिक र टाढा हुन सक्छन् । तर, एनइएले समग्र पेशागत र इन्जिनियरको हितमा काम गर्नुपर्छ । कोही इन्जिनियर कुनै सरकार वा विचारको सहारामा माथिल्लो पदमा पुग्न सक्छ । त्यहाँ पुगेपछि उसले आफ्नो पेशागत मर्यादाभित्र रहेर काम गर्नुपर्छ ।

हामी प्रगतिशील इन्जिनियर्स एसोसिएसन (पिन) को प्यानलबकाट निर्वाचनमा जाँदैछौं । यो ५ वर्षे स्थायी सरकार भएको नेकपाको विचारसँग नजिक रहेका इन्जिनियरको समूह हो । तर, हामी नेतृत्वमा पुगेपछि एउटा विचारलाई मात्र समेटेर जानुपर्छ भन्ने सोच राख्दैनौं । समग्र इन्जिनियरको उत्थानमा लाग्छौं ।

इन्जिनियरहरूको उत्थान, पेशागत मर्यादा र देश विकाससँग जोडेर हेर्दा यहाँलाई किन भोट दिने ?

मैले ३२औं कार्यसमितिका लागि केन्द्रीय महासचिवको उमेदवारी दिएको छु । मैले यसमा जित्नु र हार्नुको कुनै सान्दर्भिकता छैन । जित्न र हार्नका लागि यहाँ आएको पनि होइन । हिन्दूको पशुपति, बुद्धको लुम्बिनी, मुश्लिमको मक्का मदिना र क्रिष्टियनका लागि जेरुसेलम भएजस्तै एनइए इन्जिनियरहरूको पवित्र तीर्थस्थल होस् भन्ने प्रण लिएर चुनावमा जाँदैछौं । हिजोका साथीहरूले यसको दायरा खुम्च्याउनुभएको छ । हामी यसको मर्यादा कायम गर्न हामी सक्छौं ।

एनइएको दायरा फराकिलो हुन्छ भनेर कसरी ठोकुवा गर्न सक्नुहुन्छ ?

अहिले इन्जिनियर पेशा दुःखेको छ । कार्यक्षेत्रमा खटेका साथीहरूमाथि हातपात भएको छ । गाली गलौज गरिएको छ । सबैले गरेका गल्तीलाई इन्जिनियरमाथि थोपरिएको छ । के हामीले गलतमात्र गर्यौं ? आज मेची–महाकालीका सडक, दर्जनौं खानेपानीका पूर्वाधार, देशलाई उज्यालो यात्रामा लैजाने काम, प्रसारण लाइन निर्माणमा इन्जिनियरको अभूतपूर्व योगदान छ । राजनीतिक पार्टीले सपनामात्र देखेका हुन् । त्यसको योजना तयार गरेर कार्यान्वयन गर्ने काम इन्जिनियरले गरेका छन् ।

हामीभित्र पनि सच्चिनुपर्ने व्यक्ति तथा समुदाय छन् । अझ मर्यादित बनाउनुपर्ने ठाउँ छ । तर, सिंगो राष्ट्र नसङ्लिएसम्म इन्जिनियरिङ पेशामात्र संङ्लिन सक्दैन । राज्य सच्चिनुपर्यो । सङ्लिनुपर्यो । हाम्रो पेशा पनि पक्कै सच्चिन्छ । अरूभन्दा इन्जिनियरिङ पेशा मर्यादित छ भन्ने हाम्रो दाबी हो । हामी समग्र इन्जिनियरको शिर ठाडो बनाएर देश विकासमा लगाउन चाहन्छौं ।

एनइएमा आवद्ध सबै इन्जिनियरको हामी बिमा हुनुपर्छ भनिरहेका छौं । अर्कोतर्फ, यो क्षेत्रमा श्रम शोषण भएको छ । थोरै ज्यालामा काम लगाइएको छ । इन्जिनियरको न्यूनतम ज्याला तोकिनुपर्छ भन्ने हाम्रो मुद्दा छ । इन्जिनियरलाई सरकारका कुनै निकायमा ७औं तहभन्दा तल नियुक्ति दिन पाइँदैन ।

हामी लोक सेवाको जाँच दिएर जागिरमात्र खाँदैनौं । रोजगारी सिर्जना गरिरहेका छौं । त्यसैले राज्य वा निजी क्षेत्रले तल्लो तहमा अपमान ढंगले काममा लगाउन हुन्न भन्ने हाम्रो आवाज छ । यो क्षेत्र मर्यादित बन्नुपर्छ र बनाउनुपर्छ । बनाउन सकिन्छ भन्ने दृढविश्वास छ । अहिलेसम्म ‘इन्जिनियरिङ सेवा ऐन’ छैन । सरकारसँग लडेर सार्वभौम संसदबाट पारित गराउन चाहन्छौं ।  मर्यादित तरिकाले राज्य र जनताप्रति उत्तरदायी भएर पेशालाई निरन्तरता दिन चाहन्छौं । सम्पूर्ण इन्जिनियरको क्षमता विकास गर्न चाहन्छौं ।

विकास निर्माणका विभिन्न क्षेत्रमा इन्जिनियरहरू निराश र हतोत्साहित देखिन्छन् । राज्यले पनि त्यस्तै गतिविधि गरेको छ । जसका कारण विकास निर्माणले गति लिनेमा थुप्रै शंका उत्पन्न भएका छन् । यी पक्ष केन्द्रमा राखेर विकासमा इन्जिनियरहरूलाई उत्साहित बनाएर समेट्न यहाँको समूहका एजेन्डा के छन् ?

इन्जिनियरहरू स्वभावैले राज्यविरुद्ध जान सक्दैनन् । किनकि उनीहरू निर्माणकर्मी हुन् । राज्यसँग गुनासा हुन सक्छन् । कहिलेकाहीँ विवाद वा लडाइँ होला । तर, हामी राज्यसँग सँगसँगै हिँडिरहेका हुन्छौं । कुनै इन्जिनियरले विकास निर्माणलाई अवरुद्ध पार्ने काम गरेको छैन । हामी जलविद्युत, सडक, प्रसारण लाइन तथा खानेपानीका पूर्वाधारमा काम गरिरहन्छौं । र, राज्यसँग आफ्ना माग र मुद्दाका विषयमा विमर्श पनि जारी राख्छौं ।

गलत मान्छे छ भने यो कानुनी राज्य हो । उसलाई दण्डित गर्नुपर्छ । तर, कसैको आवेगका भरमा सनकका आधारमा इन्जिनियरिङ क्षेत्रलाई दण्डित गर्न पाइँदैन । यसले समग्र राज्यको समृद्धिको यात्रा रोकिन्छ । राज्यका जिम्मेवार निकायमा रहेका पदाधिकारीले जिम्मेवारीपूर्वक सोच्नुपर्छ ।

अहिले त्रिपुरेश्वर–नागढुंगा सडक नबनाएकोमा इन्जिनियरलाई दोष दिइन्छ । गाली गरिन्छ । यसमा इन्जिनियर वा निर्माण कम्पनी मात्र दोषी छ ? यसको सम्पूर्ण दोष राज्यको हो । राज्य वा सर्वोच्च निकाय वा न्यायपालिकाले त्यहाँ विवाद आउनासाथ न्यायोचित क्षतिपूर्ति दिएर छिटो निर्माण गर्नु भनेर भन्न सक्नुपथ्र्यो । क्षतिपूर्ति दिएर घर भत्काउन पाइँदैन भनेर न्यायलयले आदेश दिने अनि यसको दोष इन्जिनियरलाई दिन पाइन्छ ?

यो निराशा र थकित मनोवृति चिरफार गर्न सकिन्छ त ?

इन्जिनियरलाई राज्य र जनताप्रति उत्तरदायी बनाउन हामी सजग छौं । यसमा विवादै रहेन । इन्जिनियरले गल्ती गर्यो भने राज्यको ठूलो सम्पत्ति र पुँजी नष्ट हुन्छ । यसमा हामी सधैं सचेत छौं । तर, यहाँ राज्यको भूमिका खोई ? उनीहरूलाई मर्यादित र कुशल बनाउन अध्ययन र अनुसन्धानमा बजेट छुट्याइएको छैन । कुन विश्वविद्यालयलाई अध्ययन अनुसन्धान गर । इन्जिनियरिङ प्रयोगशाला चाहिन्छ भनेर बजेट छुट्ट्याइएको छ ? हामी चीन र भारतको उदाहरण दिन्छौं । त्यहाँ बढीभन्दा बढी यस क्षेत्रमा राज्यको लगानी हुन्छ । अध्ययन तथा अनुसन्धान गरिएको हुन्छ ।

हाम्रा विश्वविद्यालयहरू खण्डहर बनेका छन् । त्रिभुवन विश्वविद्यालयमा ल्याब छैन । अध्ययन अनुसन्धानमा मान्छे जानै चाहन्नँ । योजना आयोगमा जाने भनेको थन्केर बस्ने भन्ने मानसिकता छ । दूरसञ्चार संस्थानको अन्तर्राष्ट्रिय दातृ निकायले बनाइदिएको ल्याब माकुराले जालो लगाएको छ । त्यहाँ जाने भनेको दूरसञ्चारको इन्जिनियरले थन्किने हो भन्ने सोच्छ । अनि कसरी इन्जिनियरले सेवा दिन सक्छ । यो राज्यको कमजोरी हो ।

सडक विभागमा सडक निर्माण गर्दा बिटुमिन जाँच्ने ल्याब बनाउन राज्यले लगानी गरेको छ ? अहिले सिक्टा सिँचाइको कुरा आएको छ । कुन सरकारले कहाँनिर माटो परीक्षण गर्नुपर्छ कस्तो माटोमा कस्तो संरचना निर्माण गर्नुपर्छ भनेर अध्ययन गर्न कहाँ लगानी गरेको छ ? अनि इन्जिनियरलाई दोष दिने ? इन्जिनियरले आफ्नो क्षमताले जति सक्यो त्यति अध्ययन गर्यो ।

कुनै इन्जिनियरले क्षमताअनुसार काम गरेको छैन । गल्ती गरेको छ भने सजायको भागीदार हुनुपर्छ । तर, राज्यले अध्ययन अनुसन्धानमा, ल्याब निर्माणमा लगानी नगर्ने अनि उच्चस्तरको गुणस्तर खोज्ने ? अर्कोतिर, राज्यले सार्वजनिक खरिद ऐनमा ७० प्रतिशत कम भए पनि त्यही कम्पनीलाई ठेक्का दिनुपर्छ भनेर बाध्ने । यस्ताले कसरी गुणस्तर दिन्छ । अनि गुणस्तर भएन भनेर इन्जिनियरलाई समातेर जेल हाल्ने ? हामीसँग जादूको छडी त छैन नि ! हामी यसमा परिवर्तन गर्न राज्यलाई दबाब दिन्छौं ।

इन्जिनियरिङ क्षेत्रमा देखिएको निराशा एनइएले अन्त्य गर्न सक्छ भनेर कसरी विश्वास दिलाउन सक्नुहुन्छ ?

हिजो एनइएको नेतृत्वमा पुगेर काम गर्ने साथीहरूले इन्जिनियरको हकहितको विषय उठाउन चुक्नुभयो । यही भएर हामीले यसपटक हामीलाई मौका दिनुस् काम नगर्ने साथीहरूले छोडिदिनुस् भनेका छौं । हामी इन्जिनियरको उत्थानमा काम गर्न प्रतिबद्ध भएर अघि बढेका छौं । राज्यसँग हामी समन्वय गरेर काम गर्न तयार छौं ।

सरकारले जारी गरेका दीर्घकालीन लक्ष्य तथा श्वेतपत्रका आधारमा हामी काम गर्न अग्रसर छौं । सरकारले अघि सारेका ३ वर्षमा ३ हजार, ५ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनमा हातेमालो गर्न सक्छौं । पूर्व–पश्चिम रेलमार्ग, ८ लेनका सडक निर्माणसँगै इन्जिनियरको सीप र क्षमता विकासमा लाग्छौं । हामी राज्यसँग खरो रूपमा उत्रिन्छौं– हामीलाई जहाँनिर घाँटी न्याक्ने ऐन नियम छन्, यसमा पुनरावलोकन गर्नुपर्छ भन्छौं । नत्र हामी हाम्रो पेशा टुंग्याएर राज्यलाई साथ दिन सक्दैनौं ।

इन्जिनियरको संलग्नताबिना गाउँपालिका, नगरपालिका, प्रदेश तथा संघ कुनै तहको पनि समृद्धिको यात्रा पूरा हुँदैन । पूर्वाधार विकास गर्नैपर्छ । नियत सफा भएको दक्ष इन्जिनियरले पनि अहिले काम गर्ने वातावरण छैन । सबै इन्जिनियरलाई एउटै डोकामा हालिएको छ । कसैले सिक्टा सिँचाइमा दुई दिन जागिर खायो भन्दैमा सबैलाई बदमास भन्न मिल्छ ?

कुन व्यक्तिले गलत मनशायले काम गरेको छ भन्ने विषय छानबिन हुन सक्छ । कारबाहीको दायरामा ल्याउनुपर्छ । कारबाहीका विधि, प्रक्रिया र नियम छन् । यसो भन्दैमा सबै इन्जिनियर बदमास चोर भन्न मिल्दैन । अध्ययन–अनुसन्धान केही नगर्ने अनि इन्जिनियरिङ पेशालाई एउटा डोकामा लगेर थुपार्ने ? अब राज्यले विवेकशील भएर सोच्नुपर्छ ।

हामी चुनौती दिन्छौं । हामी हाम्रो पेशालाई सबैभन्दा मर्यादित बनाउँछौं । जनता र देशप्रति जवाफदेशी हुन तयार छौं । राज्यले पनि जनता र देशका लागि काम गर्दा गर्दै अप्ठ्यारो भए त्यसको जिम्मा लिन्छु भनेर आश्वस्त पार्नुपर्यो । ऐन, नियममा परिवर्तन गरेर समयानुकूल बनाइदिनुपर्यो ।

आगामी वर्ष पूर्वाधार निर्माण गर्न कहाँ–कहाँ कस्तो खालको ल्याब चाहिन्छ बजेट राख्न सरकारलाई दबाब दिन्छौं । कुन विश्वविद्यालयमा कस्तो ल्याब चाहिन्छ हामी सरकारलाई सिफारिस गर्छौं । अध्ययन–अनुसन्धानमा बेवास्ता गर्ने अनि देश विकास भएन भन्ने ? हाम्रो राज्यसँग जोडदार माग के हो भने कृषि, इन्जिनियरिङ वा पूर्वाधार विश्वविद्यालयमा ल्याब खडा गर्नुपर्छ । यसले इन्जिनियरलाई शिर ठाडो पारेर काम गर्ने वातावरण बनाउँछ ।

यसका लागि छुट्टै पूर्वाधार विश्वविद्यालय आवश्यक देखिएको हो ?

इन्जिनियरिङ विधा एकैपटक पूर्ण हुँदैन । समयअनुसार नयाँ प्रविधि आएका हुन्छन् । सबै क्षेत्रमा नयाँ अध्ययन–अनुसन्धान गर्नुपर्छ । यसका लागि ‘इन्जिनियरिङ स्टाफ कलेज’ को परिकल्पना गरिएको छ । नेपालका इन्जिनियरहरू अत्यन्त मेहेनती तिष्ण छन् । विदेशमा उनीहरू काबिल देखिएका छन् । यहाँ नहुने भन्ने हुन्छ ? यहाँ उचित वातावरण, अवसर र लगानी छैन । यसैले पनि यस खालको कलेजको कल्पना गरिएको हो ।

२५–३० वर्ष काम गरेका अनुभवी इन्जिनियरसँग नयाँ फ्रेस इन्जिनियरलाई जोड्न चाहन्छौं । एनइएले यसको समन्वयको भूमिका खेल्छ । स्टाफ कलेज यी विषय कार्यान्वयनको थलो हुनेछ । अग्रज पुस्ताको सीप र ज्ञान नयाँमा पुस्तान्तर गर्दै जानेछ । र, देश निर्माणमा योगदान पुग्न सक्छ । इन्जिनियरले गरेका राम्रा कामको प्रचार गर्दै ‘जब हन्टिङ डेस्टिनेसन’ बनाउन चाहन्छौं । काम गरिरहेका इन्जिनियरलाई पनि अपडेड गर्नुपर्छ । यसका लागि ३ महिने वा ६ महिने तालिमको व्यवस्था हुनेछ ।

एनइएभन्दा बाहिर रहेका इन्जिनियरले यस्तो सुविधा पाउँदैनन ?

अबको दुई वर्षपछि एनइए सम्पूर्ण इन्जिनियरले सदस्यता लिने संस्था हुनेछ । यो मेरो दाबी हो । उनीहरू यहाँ इन्जिनियरिङ पेशाको सम्मान, पेशागत सुरक्षा, आय–आर्जनका काममा सहभागी हुन पाउनेछन् । इन्जिनियर उद्यमशीलतामा जाने ठाउँ पाउनेछन् । स्टाफ कलेजमार्फत अनुभवी इन्जिजियरको ज्ञान प्राप्त गर्न सक्नेछन् । ‘जब हन्टिङ डेस्टिनेसन’ पाउनेछन् । नयाँ आविष्कार बाँड्ने ठाउँ पाउनेछन् । एनइएको संरक्षकत्वमा देशको समृद्धि वा पूर्वाधार विकासको यात्रामा सगौरव सहभागी हुन पाउनेछन् । सुरक्षित र मर्यादितरूपमा काम गर्न पाउँनेछन् । यसैले हरेक इन्जिनियरले आफ्नो पेशागत संगठनको सदस्यता लिनेछन् भन्नेमा म विश्वस्त छु ।

अहिले युवा इन्जिनियरहरू विदेशिनेको लर्को छ । यता निराश भएर अनुभवी इन्जिनियर पनि पलायन हुँदैछन् । यसलाई रोक्ने एनइए वा यहाँको प्यानलसँग योजना छ कि छैन ?

यो निकै जटिल प्रश्न हो । एनइएले मात्र यस्तो काम गर्न सक्दैन । राज्यलाई झक्झक्याउन सक्छ । कुनै कालखण्ड थियो सबै चिनियाँ काम गर्न विदेश जान्थे । अहिले ती सबै स्वदेश फर्केर काम गरिरहेका छन् । देशले विकासको गति समातेको छ । राज्यले सडक, रेलमार्ग, विद्युतीय आयोजना निर्माणको थालनी गर्नुपर्यो । दक्ष व्यक्तिहरू फर्केर काम गर्न तयार हुनेछन् ।

१५ हजार मेगावाट विद्युत उत्पादन, रेलमार्ग, पानीजहाज, मोनोरेल विकास गर्ने सपनामात्र हो भने सपना बाँडिरहन पर्यो । बोलेका कुरा कार्यान्वयन गर्न त राज्यले नीति बनाउनुपर्यो । यसमा हजारौं इन्जिनियर आवश्यक पर्छ । देश वा विदेशमा रहेका हरेकलाई काम लगाउन सकिन्छ । राज्य जवाफदेशी हुने हो भने निराश हुनुपर्ने अवस्था छैन ।

हाम्रो समूह नेतृत्वमा पुगेपछि ‘पूर्वाधार विकास दशक’ घोषणा गर्न लगाउँछौं । यससम्बन्धी नीति नियम बनाउन सघाउँछौं । हरेक कदममा झक्झक्याउँछौं । यसो हुँदा नयाँ इन्जिनियरले काम पाउँनेछन् । विदेशमा अनुभव हासिल गरेका विद्वत इन्जिनियरहरू पनि फर्किनेछन् ।

अवसर पाउने हो भने विदेश पलायन भएका जो कोही पनि फर्किन तयार छन् । इन्जिनियरिङ पेशालाई अमर्यादित बनाइरहने, घुणा गरिरहने, थन्क्याइरहने र स्वाभिमानपूर्वक काम गर्न नपाउने हो भने कोही फर्किँदैनन् । राज्यले वातावरण सिर्जना गरोस् । एनइएले त्यो अवस्था सिर्जना गर्न चाहन्छ ।

यहाँका इन्जिनियरले जहाज बनाएका छन् । कार वा रकेट बनाएका छन् । तर, राज्यले उनीहरूमा कुनै लगानी गरेको छैन । यसतर्फ एनइएको ध्यान केन्द्रित हुन्छ कि हुँदैन ?

जुन राष्ट्रले अध्ययन–अनुसन्धान वा विश्वविद्यालयमा लगानी गर्दैन यस्ता देशका जनशक्ति अरू देशमा गएर काम गर्नेमात्र हुन्छ । उच्चस्तरको विद्वता हासिल गर्न सक्दैन । देशलाई दक्ष वा उच्चस्तरका इन्जिनियर वा जनशक्ति चाहिए महँगो तलब दिएर विदेशी नागरिक बोलाउनुपर्छ । यो विदेशीलाई ठूलो बनाउने र आफ्नो जनशक्ति पछुवा बनाउनेमात्र हो ।

नेपालीले विदेशमा नेतृत्व गरेका छन् । राज्यले यस क्षेत्रमा लगानी गर्नुपर्छ । तब युवा जोश, जाँगर र सीप यही प्रयोग हुन सक्छ । नत्र हाम्रा इन्जिनियरले चीन पुगेर जहाज बनाउलान् । भारत पुगेर कार बनाउलान् । रेल बनाउलान् । ती राष्ट्र समृद्धितिर लम्किन्छन् । हामी त्यहाँ सस्तो श्रम बेच्ने देशमात्र हुन्छौं ।

हामीले रेलमार्गका कुरा गरेका छौं । यससम्बन्धी अध्ययन गर्न ल्याब चाहिँदैन ? सिक्टामा समस्या आयो । यस्तो ठाउँको माटो अध्ययन तथा परीक्षण गर्ने आधुनिक प्रयोगशाला चाहिँदैन ? विश्वविद्यालयमा यही अनुसारका संरचना तयार गर्नुपर्यो । हामी हिमाल, पहाड र तराईमा प्रसारण लाइन निर्माण गरिरहेका छौं । यससम्बन्धी अध्ययन–अनुसन्धान र परीक्षणका केन्द्र चाहिन्छ ।

पूर्वाधार विकासमा राज्यको सल्लाहकार वा ‘थिंक ट्यांक’को रूपमा काम गर्ने एनइएसँग योजना छ ?

देशको संघीय संरचना अनुसार हामीले एनइएलाई ढालेका छौं । प्रादेशिक तहको पनि चुनाव हुँदैछ । हामी तीन तहको सरकारसँग इन्जिनियरिङ पेशा काँधमा–काँध मिलाएर विकास निर्माणमा अघि जान सक्छ भन्ने हो । यो सोच पनि प्रगतिशील समूहले ल्याएको हो । अब यो कार्यान्वयनमा जाँदैछ ।

केन्द्रको एनइएले राष्ट्रिय योजना आयोगसँग वैज्ञानिक सम्झौता गरेर अल्पकालीन र दीर्घकालीन नीति नियममा उच्चस्तरको जनशक्ति उपलब्ध गराउनेछ । पुलको काम गर्नेछ । प्रबुद्ध इन्जिनियर बनाउनेछ । प्रादेशिक तहमा जित्ने साथीहरूले त्यहीकै योजना आयोगसँग सम्झौता गरेर काम गर्नेछन् ।

प्रदेश एनइएले गाउँपालिका, नगरपालिका र प्रदेशस्तरका सरकारसँग सहकार्य गर्नेछ । आवश्यक परे केन्द्रले अनुभवी इन्जिनियर उपलब्ध गराउनेछ । हाम्रो प्यानलले उठाएका एजेन्डा ८० प्रतिशत कार्यान्वयन गर्न हामी प्रतिबद्ध छौं । त्यसैले नसक्ने साथीले छोडिदिऊँ र काम गर्नेलाई साथ दिऊँ भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="