विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘जलविद्युत आयोजना निर्माणमा हाम्राे समूह सफल हुँदै अाएकाे छ’

ऊर्जा खबर मङि्सर १७, २०७५ 2843

गणेश कार्की जलविद्युत विकासमा व्यावसायिक नाम हो । १६ वर्षदेखि जलविद्युत विकासमा संलग्न कार्कीको यस क्षेत्रमा महत्त्वपूर्ण योगदान छ । उनले दर्जन जलविद्युत कम्पनीमा आवद्ध रहेर काम गरिरहेका छन् । योसँगै जलविद्युत आयोजनाका लागि इलेक्ट्रो मेकानिकल उपकरण आयात र जडानसम्बन्धी व्यवसायमा समेत संलग्न छन् । जलविद्युत विकास, अनुभव तथा यस क्षेत्रका समस्याबारे कार्कीसँग ऊर्जा खबरकी धना ढकालले गरेको कुराकानीको संक्षेप :

ऊर्जा विकासमा सक्रिय हुनुभएको कति वर्ष भयो ?

बटु लामिछानेजी संलग्न रहेको एउटा समूह २०५६ सालदेखि जलविद्युत क्षेत्रसँग जोडिएर काम गरिरहेको थियो । त्यसको करिब ३ वर्षपछि २०५९ मा म पनि सोही समूहमा आवद्ध भएँ । २०६२ सालमा जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकल उपकरण आयात तथा जडान गर्ने उद्देश्यले क्विङकाङ एलोनवार्ड हाइड्रो इक्विपमेन्ट कम्पनी स्थापना भयो । यही कम्पनीसँग जोडिएर आजसम्म जलविद्युतमा काम गरिरहेको छु । क्विङकाङले १२ वर्षदेखि निजी क्षेत्रले निर्माण गरेका जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकल उपकरण आयात तथा जडानको काम गर्दै आएको छ ।

क्विङकाङले अहिलेसम्म कति आयोजनामा इलेक्ट्रो मेकानिकल उपकरण आयात तथा जडान गरेको छ ?

स्वदेशी लगानीमा निजी क्षेत्रले निर्माण गरेका ४० आयोजनामा इलेक्ट्रो मेकानिकल उपकरण आयात गरेर जडान गरिसकेको छ । आयोजनाको विद्युतगृहमा जडान हुने उपकरण चीनबाट आयात गर्ने गरेका छौं ।

नेपालमा इलेक्ट्रो मेकानिकल निर्माण व्यवसायी (ठेकेदार) कम्पनी कति छन् ?

केही वर्षअघिसम्म इलेक्ट्रो मेकानिकल काम गर्ने २–३ चिनियाँ कम्पनी थिए । अहिले भारतीय र चिनियाँ कम्पनीको सक्रियता बढेको छ । छिमेकी देशका कम्पनीले यहाँ एजेन्ट राखेर काम गरिरहेका छन् । चिनियाँ र भारतीयले एजेन्टमार्फत काम गर्दै आए पनि क्विङकाङ नै इलेक्ट्रो मेकानिकल उपकरण आयात तथा जडानको काम गर्ने पहिलो तथा एकमात्र स्वदेशी कम्पनी हो । इलेक्ट्रो मेकानिकलको काम गर्ने अरू स्वदेशी कम्पनी छैनन् । निजी क्षेत्रका आयोजनाको सम्पूर्ण दायित्व हामीले लिएर काम गरिरहेका छौं ।

इलेक्ट्रो मेकानिकल उपकरणको व्यवसाय गर्ने व्यक्ति कसरी जलविद्युत आयोजना निर्माणमा आकर्षित हुनुभयो ?

क्विङकाङ स्थापना गरेर इलेक्ट्रो मेकानिकलको काम सुरु गर्दा धेरै आयोजना बनेका थिएनन् । २ वर्षमा मुस्किलले निजी क्षेत्रको एउटा आयोजना निर्माण हुन्थ्यो । विस्तारै वर्षमा एउटा आयोजना बन्न थाल्यो । क्रमशः निजी क्षेत्रको सक्रियता बढ्दै गयो । उपकरण आयात तथा जडानको काम गर्दा जलविद्युतमा लगानी र यसबाट हुने मुनाफाबारे बुझ्ने अवसर मिल्यो । आर्थिकरूपमा लगानी गर्न सक्ने हैसियत पनि बनेको थियो । लगानीको राम्रो अवसर देखेर नै २०६७ सालबाट जलविद्युत विकासमा लागेको हुँ ।

यहाँले लगानी गरेको पहिलो आयोजना कुन हो ?

हाम्रो समूहको लगानी रहेको पहिलो आयोजना ५ मेगावाटको सिउरी खोला हो । यो आयोजनाको सफल निर्माण गरेर विद्युत उत्पादन गर्यों । उत्पादन सुरु भएपछि अर्को समूहलाई बिक्री गरेर नयाँ आयोजनामा लगानी गर्न सुरु गरियो ।

अहिलेसम्ममा कति आयोजनामा लगानी गर्नुभएको छ ?

म संलग्न भएका ५ आयोजना निर्माण सम्पन्न भएर राष्ट्रिय प्रणालीमा जोडिएका छन् । ५ मेगावाटको सिउरीखोला, ६.४ मेगावाटको टुंगुन–ठोस्ने खानीखोला, ३ मेगावाटको मिदिमखोला, ४ मेगावाटको सभाखोला मैले लगानी गरेका आयोजना हुन् ।

अब कति आयोजना निर्माणाधीन छन् ?

मेरो प्रत्यक्ष संलग्नताका भएका ३ मेगावाट गेलुङ खोला, ४० मेगावाट खानीखोला–१, २२ मेगावाट माथिल्लो चाकु, २५ मेगावाट सिगंटी, १८ मेगावाट माथिल्लो सोलु, ५४ मेगावाटको सुपर दोर्दीसहित ६ आयोजना निर्माणाधीन छन् । यीमध्ये गेलुङखोला, खानीखोला–१ र माथिल्लो चाकु चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न भई राष्ट्रिय प्रणालीमा जोडिँदैछन् ।

बाँकीको निर्माण डेढ वर्षभित्र पूरा हुन्छ । सिंगटी सकिएपछि ४३ मेगावाटको बलेफी निर्माण सुरु गर्ने तयारी छ । ८५ मेगावाटको नयाँ आयोजना २ वर्षभित्र निर्माण सुरु गर्ने योजना छ । यसरी सञ्चालनमा रहेका, निर्माणाधीन र निर्माणमा जानेक्रमका आयोजना सहित करिब दर्जन आयोजनामा मैले लगानी गरेको छु । एकै पटक यति धेरै आयोजनामा लगानी गर्ने व्यक्ति कमै होलान् ।

जलविद्युतमा लगानी गर्दा के कस्ता समस्या आउने रहेछन् ?

एउटा आयोजनाको अनुमतिपत्र लिएर अध्ययन सुरु गरेसँगै समस्या सुरु हुन्छन् । स्थानीयदेखि राजनीतिक, सरकारी समस्या छन् । लगानी जुटाउने र बढ्दो ब्याजदर लगायत दर्जन बढी समस्या आइपर्छन् । आयोजनाको डिजाइन डिस्चार्ज र सरकारले भर्खरै जारी गरेको निर्देशिकाले पनि निजी क्षेत्रलाई समस्या पारेको छ ।

सरकारसँग अनुमति लिएर आयोजना निर्माण गर्ने हुँदा नीतिगत, राजनीतिक तथा सामाजिक समस्या नआउनुपर्ने हो । तर, यहाँ लगानीमैत्री वातावरण नै छैन । प्रसारण लाइनको समस्या अझै विकराल छ । अर्बौं रुपैयाँ लगानी गरेर आयोजना पूरा गरिन्छ । तर, उत्पादित विद्युत जोड्ने ठाउँ हुँदैन । यही कारण करोडौं रुपैयाँको विद्युत खेर फाल्नुपर्ने अवस्था आउँछ ।

समयमा प्रसारण लाइन निर्माण नहुँदा निजी जलविद्युत प्रवर्द्धक निरुत्साहित हुने गरेका छन् । सरकारले अनुमति दिएपछि निजी क्षेत्रका समस्या सम्बोधन गर्नुपर्छ । निजी प्रवर्द्धकलाई आयोजना विकास गर्ने सहज वातावरण बनाइदिने हो भने आन्तरिक उत्पादन बढ्छ । र, आयातित विद्युतमा भर पर्नु पर्दैन ।

जलविद्युत क्षेत्रका यति धेरै समस्या हुँदा–हुँदै दर्जनौं आयोजनामा लगानी गर्न किन आकर्षित हुनुभयो ?

जलविद्युत क्षेत्रका समस्या समाधान हुँदा यो क्षेत्रमा लगानीको राम्रो अवसर छ । समयमा काम सम्पन्न गरेर विद्युत उत्पादन सुरे प्रवर्द्धकको लगानी सुरक्षित नै छ । हाम्रो समूहले २०६७ सालमा सरकारको बास्केटमा रहेको सिंगटी प्रतिस्पर्धाबाट लियो । अनुमतिपत्र लिँदा नै करोडौं रुपैयाँ लगानी भइसकेको हुन्छ । आयोजना बनाउँछु भनेर आएपछि काम गर्नुपर्छ भन्ने लागेर सिंगटीलाई निर्माण चरणसम्म पुर्यायौं । यसबीचमा अन्य आयोजनामा पनि लगानी गर्ने अवसर मिल्यो । सरकारले निजी क्षेत्रलाई निश्चित लक्ष्य दिएर वातावरण तयार गरिदिँदा अझै दर्जनौं आयोजनामा लगानी गर्न सकिन्छ ।

यहाँ संलग्न रहेको समूहअन्तर्गत अहिले कति कम्पनी छन् ?

इलेक्ट्रो मेकानिकलको काम गर्दा आयोजनाको लगानी संरचनाबारे थाहा हुँदै गयो । हामी आफैं लगानीकर्ता भएर आयोजना बनाउन थाल्यौं । विस्तारै हाइड्रो मेकानिकल र सिभिल कामको पनि अनुभव भयो । एउटै कम्पनीले यति धेरै काम गर्न नसक्ने भएकाले छुट्टा–छुट्टै कम्पनी खडा गरेर यस क्षेत्रमा सक्रिय छौं ।

अहिले क्विङकाङसहित जलविद्युत प्रवर्द्धक गर्ने दर्जनौं कम्पनी स्थापना गरेर काम गरिरहेका छौं । सिभिल र हाइड्रो मेकानिकलको काम गर्ने कम्पनी पनि छ । प्रत्येक आयोजनाका छुट्टा–छुट्टै कम्पनी छन् । संरचना निर्माण गर्ने तथा उपकरण आयात र जडान गर्ने कम्पनी खोलिएको छ । मेरो संलग्नता भएका कम्पनीमा फरक–फरक समूहको लगानी छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="