Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४०७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९०७ मे.वा. घन्टा
  • भारत : ५४१९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१७३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘म पैसा कमाउन जलविद्युतमा होमिएको होइन’

ऊर्जा खबर भदौ ०६, २०७६   6596

अन्तर्वार्ता



पेट्रोलियम व्यवसायी सिताराम तिम्सिना जलविद्युत प्रवद्र्धक पनि हुन् । उनले लगानी गरेका केही जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । उनको सक्रियतामा निर्माण सम्पन्न २२.१ मेगावाटको तल्लो हेवा खोलाबाट भर्खरै उत्पादन सुरु भएको छ । ऊर्जा माथिको परनिर्भरता न्यूनिकरण गरी देशलाई आत्मनिर्भर बनाउन योगदान पुर्याउने उद्देश्यले जलविद्युत विकासमा लागेको तिम्सिनाको दाबी छ । यसै सेरोफेरोमा रहेर ऊर्जा खबरका धना ढकालकृष्ण भण्डारीले गरेको संक्षिप्त कुराकानी :

पेट्रोलियम व्यावसायबाट जलविद्युत विकासमा किन आउनुभयो ?

ad

जलविद्युत विकासको ठूलो सम्भावना हुँदै–हुँदै कुनै बेला हामी १८ घन्टासम्म लोडसेडिङमा थियौं । विद्युत मागअनुसार आपूर्ति थिएन । आन्तरिक उत्पादनले सुख्खायामको माग धान्न सकिँदैनथ्यो । भारतबाट ल्याउने विद्युतले लोडसेडिङ टार्न सकेको थिएन । बर्खामा पनि ५ घन्टा लोडसेडिङ थियो ।

देशलाई लोडसेडिङमुक्त बनाउन विद्युत उत्पादन बढाउनुपर्ने आवश्यकता महसुस गरेर म उत्प्रेरित भएको हुँ । मैले जलविद्युतमा गरेको लगानी राष्ट्रिय योगदानका लागि हो । पेट्रोलियम व्यवसायबाट कमाउन सकिन्थ्यो । तारे होटलमा लगानी गर्न सकिन्थ्यो । तर, जलविद्युत बनाउँदा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने हुँदा म तयार भएँ । र, लगानी गर्ने निर्णयमा पुगेँ । अहिले तल्लो हेवामा साढे ५३ हजार सेयर सदस्य हामीसँग जोडिनुभएको छ । यो सबै देशकै लागि हो । मैले पेट्रोलियम व्यवसाय पनि छोडेको छैन । दुवै क्षेत्रमा एकसाथ काम गरिरहेको छु ।

तल्लो हेवाको निर्माण प्रक्रिया कसरी अघि बढेको थियो ?

२०७० सालमा आयोजनाको अनुमतिपत्र जारी भयो । २०७१ बाट आयोजना विकास प्रक्रिया अघि बढ्यो । २०७२ माघमा बैंकहरूसँग ऋण लगानी सम्झौता गर्यौं । बैंक लगानी जुटेपछि आयोजनाको भौतिक संरचना निर्माण सुरु भयो । निर्माण थालेको ४ वर्षमा आयोजना सम्पन्न गरेर चालू वर्षदेखि विद्युत उत्पादन सुरु भएको छ ।

आयोजनाले तालिका अनुसार विद्युत उत्पादन गर्न सकेन नि ?

निर्माण प्रक्रिया अघि बढेपछि देशमा शक्तिशाली भूकम्प गयो । भारतले गरेको नाकाबन्दीको समस्या झेल्नुपर्यो । भूकम्प र नाकाबन्दीले प्रत्यक्ष अप्रत्यक्षरूपमा हाम्रो काममा बाधा पुर्यायो । आयोजनाको विद्युत जोडिने १३२ केभी काबेली कोरिडोर निर्माण गर्न पनि नेपाल विद्युत प्राधिकरणले ढिलो गर्यो । प्रसारण लाइनको काम हेरेर हामीले आयोजनामा काम गर्नुपर्ने भयो । समयमा लाइन तयार नभएकैले विद्युत उत्पादन तालिका प्रभावित भयो । लाइन तयार भएलगत्तै विद्युत जोडियो ।

आयोजनाको निर्माण लागत कति हो ?

आयोजना पूरा हुँदासम्म करिब ४ अर्ब ११ करोड रुपैयाँ खर्च भएको छ । यो लागत आयोजना र प्रसारण लाइनसमेतको हो । आयोजनाको स्वीचयार्डदेखि प्राधिकरणको थापाटार सबस्टेसनसम्म ३ किलोमिटर लाइन हामी आफैंले निर्माण गरेका छौं । सुरुमा ३ अर्ब ११ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा १ अर्ब रुपैयाँ बढेको छ । निर्माणक्रममा देखिएका विविध समस्या समाधान गर्नुपर्दा पनि लागत बढ्न गयो । उत्पादन तालिका २ वर्ष लम्बिँदा बैंक ब्याज तथा ठेकेदारको लापरबाहीले पनि निर्माण प्रभावित भयो ।

जलविद्युत आयोजना उत्पादन चरणमा पुर्याउन कतिको सहज देखियो ? यहाँ अनुभव के रह्यो ?

जलविद्युत आयोजना निर्माण गर्नु सजिलो काम होइन । यो चुनौतीपूर्ण छ । एक दिन वा एकछिनमा बनाउन सकिने कुरा होइन रहेछ । यो क्षेत्रमा लगानी गर्न ठूलो आँट, साहस र धैर्यता चाहिन्छ । म अहिले ६८ वर्ष भएँ । तल्लो हेवाले मलाई जलविद्युतमा लगानी गर्ने काम गाह्रो रहेछ भन्ने अनुभव दिलायो । आयोजनाको संरचना निर्माण गर्न गाह्रो हुँदैन । तर, निर्माणक्रममा आइपर्ने समस्याले यो क्षेत्रमा चुनौती थपिँदै जाने रहेछ । चुनौती पार गरेरै प्रणालीमा जोडियो । आयोजना सफल भयो या भएन भन्ने कुरा समयले देखाउँदै जानेछ ।

कठिनाई कुन पक्षमा लाग्यो ?

एउटा आयोजना निर्माण चरणमा लैजाने प्रक्रिया पूरा गर्नै ठूलो चुनौती छ । प्रशासनिक झमेला धेरै आउने रहेछ । यस्ता झमेलाले प्रवद्र्धकलाई हतोत्साही बनाउँछ । वन क्षेत्रको स्वीकृतिमा हुने ढिलाई, जग्गा अधिग्रहण समस्या, स्थानीय अवरोध, ठेकदारको मनोमानीले आयोजना निर्माण जोखिमपूर्ण बनिरहेको छ ।

यस्ता समस्या आउनुमा सरकारले जलविद्युतबारे सकारात्मक सन्देश पुर्याउन नसकेको जस्तो लाग्छ । राज्यको सहयोग नपुगेकाले नै समस्या भएको हो । जनतालाई त कुन आयोजना सरकारले निर्माण गरेको हो ? कुन निजी क्षेत्रको हो भन्ने थाहा हुँदैन । यसमा सरकारकै कमजोरी देखिन्छ ।

प्रभावित बासिन्दाका लागि सामाजिक उत्तरदायित्वका कामहरु के के भए ?

तल्लो हेवाबाट प्रभावित स्थानीयको विकासमा हामीले थुप्रै काम गरेका छौं । विद्युत वितरण तथा खानेपानी सुविधा गाउँ–गाउँ पुर्याइएको छ । विद्यालयलाई सहयोग, सडक पूर्वाधार निर्माण आयोजनाले नै गरेको छ । भविष्यमा पनि प्रतिबद्धता बमोजिमका काम भइरहनेछन् ।

अब तपाईं संलग्न निर्माणाधीन आयोजना कति छन् ?

तल्लो हेवापछि पनि म यो क्षेत्रमा सक्रिय हुन्छु । हामीसँग केही आयोजना छन् । ती निर्माण प्रक्रियामै छन् । विभिन्न जिल्लामा प्रस्तावित यी आयोजना अघि बढाउन संस्थापक सेयर सदस्यको टुंगो लागिसकेको छैन । लगानीकर्ताको टुंगो लागेपछि ऋण लगानीको जोहो गरेर निर्माण प्रक्रिया सुरु हुन्छ । यसमा अहिले नै धेरै कुरा बोल्न मिल्दैन । ठोस काम भएपछि विस्तारै जानकारी गराउँला । म बाँचुञ्जेल यही क्षेत्रमा लाग्नेछु ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="