Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ऊर्जा उत्पादन गरेर अर्थतन्त्रमा योगदान गर्दा उपेक्षित भइयो : निजी क्षेत्र

ऊर्जा खबर असोज ०२, २०७६   1577

खबर



काठमाडौं— जलविद्युतमा लगानी गरेर राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दा उपेक्षित भएको निजी क्षेत्रले गुनासो गरेकाे छ । अहिले प्रणालीमा जडित कूल विद्युतकाे ५५ प्रतिशत याेगदान रहँदा पनि सरकारले विगतमा गरेका प्रतिवद्धता कार्यान्वयन नगरी अनेक शिर्षकमा हर्जना तिराउने गरेकाे जलविद्युत प्रवर्द्धकले गरेका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) का उपाध्यक्ष कुमार पाण्डेले प्रणालीमा २५ अर्बको विद्युत जोडेर अर्थतन्त्रमा २५ खर्बको योगदान दिँदा प्रवर्द्धकका लागि लगानीमैत्री वातावरण नभएको बताए । इपानकाे ‘जलविद्युत आयोजनाहरुको अवस्था र लगानीमैत्री वातावरण’ विषयक अन्तरक्रियामा उनले यस्ताे गुनासाे गरेका हुन् ।

ad

‘१ मेगावाट विद्युतले हजार टन दाउरा, ६ सय ५० टन कोइला, ५० ट्याङ्कर डिजेल प्रतिस्थापन गर्छ,’ उनले भने, ‘यति ठूलो योगदान हुँदा पनि सरकारले विगतमा गरेका प्रतिवद्धता पूरा नगरिदिँदा निजी क्षेत्रका धेरै आयोजना रुग्ण अवस्थामा पुगेका छन् ।’प्रतिवद्धता कार्यान्वयनमा देखिएको सरकारी उदासिनताले नै ऊर्जा उत्पादकहरु हतोत्साही भएको उनले बताए । चाँडै रुग्ण  आयोजनाकाे उद्धारमा सरकार लाग्नु पर्ने उनले बताए ।

रुग्ण जलविद्युत आयोजना समन्वय समितिका संयोगक सूर्यप्रसाद अधिकारीले प्रतिमेगावाट १३ करोड लागतमा बनेका आयोजना संकटपूर्ण अवस्थामा पुगेको बताए । उनले असोज महिनाभित्र रुग्ण आयोजनाले भाेगिरहेका समस्या समाधान नभए कात्तिकदेखि दायित्वबाट मुक्त हुने चेतावनी दिए ।

‘रुग्ण आयोजना चलाउन सक्ने अवस्थामा प्रवर्द्धक छैनन्,’ उनले भने, ‘समस्या समाधानका उपाय नखोजिए ३५ वर्ष सञ्चालन गरेर बुझाउने आयोजना कात्तिकदेखि सरकारलाई सुम्पिएर दायित्वबाट मुक्त हुनुको विकल्प छैन ।’

अहिले १८ आयोजना हर्जना तिर्दा तिर्दै रुग्ण अवस्थामा पुगेको उनले बताए । ‘प्रतियुनिट ४ रुपैयाँ पाउनुपर्ने हो, १.९४ रुपैयाँ आम्दानी आयोजना चलाउन कसरी सम्भव हुन्छ’ उनले प्रश्न गरे ।

अरुण काबेली पावर कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेले ३३ केभी प्रसारण लाइनमा आउने फल्टले प्रवर्द्धक सधैं घाटामा रहने गरेको बताए । ३३ केभी लाइनको समस्या समाधान भए विद्युत बिक्रीबाट हुने राजश्व २१ प्रतिशतसम्म बढ्ने उनले दाबी गरे ।

जलविद्युत उद्यमी ज्ञानेन्द्रलाल प्रधानले अहिले जलविद्युतमा लगानी गर्ने वातावरण नभएको गुनासो गरे । ‘ चीन र भारतभन्दा अघि नेपालमा दक्षिण एसियाको पहिलो विद्युतगृह बनेको थियो,’ उनले भने, ‘तइ देशको उत्पादन अहिले कहाँ पुगिसक्यौ, हामीले ११ सय मेगावाटभन्दा बढी उत्पादन पुर्याउन सकेका छैनौं ।’

देशको कूल ग्रार्हास्थ उत्पादन (जिडिपी) बढाउन ऊर्जा नै प्रमुख आधार रहेको उनले बताए । सरकारले ७ प्रदेशमा ७ ठूला आयोजना निर्माण गरेर ७ अंकको जिडिपी बढाउन सकिनेमा उनले जोड दिए ।

५ अर्बको लगानी गर्दा ३० अर्बको मुनाफा जलविद्युतले दिने उनले बताए । जलविद्युत सबैभन्दा भ्रष्टाचार हुने क्षेत्र भएकाले समस्या धेरै आएको उनको भनाइ छ ।

अर्का उद्यमी महेशबहादुर बस्नेतले नेपाल विद्युत प्राधिकरणले विद्युत बिक्रीको बिलको भुक्तानी गर्न ४५ दिन लगाउने हुँदा अतिरिक्त ब्याज तिर्नुपर्ने बाध्यता रहेको बताए । स्थानीय ठेकेदारलाई काम दिनुपर्ने, गुण्डा र राजनितिक दलको अनावश्यक हस्तक्षपले प्रवर्द्धक मर्कामा परिरहेको बताए ।

भूगोल इनर्जी सञ्चालक पुष्कर ढुङ्गेलले निजी क्षेत्रले दिएको सस्तो विद्युत महंगोमा बिक्री गरेर गत आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ मुनाफा कमाएको बताए । निजी क्षेत्रको विद्युत किनेर व्यापार गरिरहेको प्राधिकरणले प्रसारण लाइन निर्माणमा गरेको लापरबाहीले प्रवर्द्धक आज झुण्डिने अवस्थामा पुगेको दुखेसो उनले पोखे ।

ऊर्जा उद्यमी गोरे सेर्पाले द्वन्द्वका कारण उत्पादन अवधि लम्बिँदा विद्युत प्राधिकरणले हर्जना तिराइरहेको गुनासो गरे । उनले विद्युत उत्पादन तालिका प्रभावित हुँदा ९ करोड हर्जना तिराएको बताए । प्राधिकरणको नीतिले निजी जलविद्युत प्रवर्द्धकलाई शोषण गरेको उनको आरोप छ ।

बैकर्स एशोसिएशनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले जलविद्युत आयोजनाको अवस्था बुझेपछि बैंक थप लगानी गर्न खुट्टा काम्ने अवस्था आएको बताए । उनले जलविद्युतमा थप लगानी गर्नुभन्दा पनि भएको लगानी कसरी सुरक्षित गर्ने भन्ने चुनौती देखिएको बताए ।

‘सबै क्षेत्रमा बैंकले गर्ने लगानी जनताका पैसा हो,’ उनले भने, ‘बैंकले बीचमा बसेर काम गरेको हो । जनताको निक्षेपको ब्यादरका आधारमा ऋण लगानीको ब्याजदरमा फरक परिरहेको हो ।’

उनले नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको प्रत्याभूति गराउने हो भजे ब्याजदर नबढ्ने बताए । निक्षेपको अवधि धेरै नहुने हुँदा लामो समयसम्म एउटै ब्याजदर कायम गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

जलविद्युत कम्पनीका सेयर लगानी कर्ता तिलक कोइरालाले रुग्ण आयोजनालाई ठूला आयोजनासँग मर्ज गरेर पुँजी बजार सुधार गर्न सकिने सुझाव दिए । रुग्णलाई सबलसँग मर्ज गर्दा कम्पनीको वित्तीय अवस्थामा सुधार भई लगानीकर्ताको आकर्षण बढ्ने उनको भनाइ छ ।

इपानले निरन्तर घाटा बेहाेरेर रुग्ण बनेका जलविद्युत आयोजनाले भाेग्दै आएकाे समस्या, जलविद्युत क्षेत्रकाे वर्तमान अवस्था तथा लगानीमैत्री वातावरणकाे अवस्थाबारे सम्बन्धित सराेकारवाला भेला गरेर बुधबार अन्तरक्रिया गरेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="