Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९२१२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०१५ मे.वा. घन्टा
  • भारत : १०९७८ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २६२०५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘जनताको जलविद्युत कार्यक्रम’ कार्यविधि, लगानी गर्नेलाई वार्षिक ८ प्रतिशत ब्याज

ऊर्जा खबर चैत ०१, २०७५   2600

खबर



काठमाडौं– सरकारले सुरु गरेको ‘जनताको जलविद्युत कार्यक्रम’ कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन गर्न कार्यविधिको टुंगो लागेको छ । ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ नाराका साथ सुरु गरिएको कार्यक्रमका लागि कार्यविधि बनाइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले कार्यविधि स्वीकृत गरिसकेका छन् । कार्यक्रम कार्यान्वयनको पहिलो चरणमा नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाको सेयर निष्कासन प्रक्रिया सुरु भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उक्त कार्यक्रमभित्र करिब ३ हजार ४ सय ७९ सय मेगावाटका १९ आयोजना छनोट गरेको छ । सर्वसाधारणलाई मालिक बनाउने गरी छनोट भएका आयोजनामा ५१ प्रतिशत सरकार र ४९ प्रतिशत जनताको स्वामित्व रहने गरी संरचना तयार हुनुपर्छ ।

सेयर किन्न चाहने नागरिकले सुरुमा आफूले लिन कबोल गरेको सेयरको १० प्रतिशत रकम जम्मा गर्नुपर्छ । बाँकी ९० प्रतिशत रकम आयोजनाको भौतिक प्रगति ५० प्रतिशत पूरा भएपछि माग्ने गरी कार्यविधि बनेको छ । यसरी जम्मा हुने जनताको रकमका लागि वार्षिक ८ प्रतिशतसम्म ब्याज दिने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिको दफा ११ को उपदफा (१) मा भनिएको छ– सेयर खरिद गर्न दाखिला गरिएको १० प्रतिशत रकममा त्यस्तो सेयर प्रचलित धितोपत्रसम्बन्धी कानुन बमोजिम कारोबारयोग्य नभएसम्मको  अवधिका लागि ८ प्रतिशत वार्षिक ब्याज दिनुपर्नेछ ।

सम्बन्धित आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइनबाट प्रभावितले पनि ३ प्रतिशत सेयर पाउने

सोही दफाको उपदफा (२) अनुसार उपदफा (१) बमोजिम दिइएको ब्याज सम्बन्धित सेयरधनीले आफूले लिन कबोल गरेको सेयरबापत चुक्ता गर्न बाँकी रकममा मिलान गर्न सकिने उल्लेख छ । व्यक्तिले सेयर किन्न दाखिला गरेको रकम आयोजनालाई आवश्यक नपरे सम्बन्धित कम्पनीले मन्त्रालयको स्वीकृत लिई कुनै बैंक वा सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडलाई व्यवस्थापनको जिम्मा दिन सक्नेछ ।

व्यवस्थापन गर्नुपर्ने भए आयोजना निर्माण गर्ने सम्बन्धित कम्पनी र व्यवस्थापन गर्ने निकायबीच सम्झौता गर्नुपर्ने पनि कार्यविधिमा उल्लेख छ । यस्तै, सर्वसाधारणले लिन कबोल गरेको सबै रकम चुक्ता गरेपछि सम्बन्धित कम्पनीले सेयर प्रमाणपत्र दिनुपर्नेछ ।

सेयर संरचना तथा लगानी

कार्यविधिको दफा ४ को उपदफा (१) अनुसार विकास तथा निर्माण गरिने आयोजनाको कूल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयर अनुपात कायम गरी वित्तीय व्यवस्थापन गरिनेछ । तर, आयोजनाको प्रकृति र क्षमताको आधारमा मन्त्रालयको स्वीकृति लिएर ऋण तथा सेयर संरचना परिवर्तन गर्न सकिने उल्लेख छ ।

आयोजना निर्माण गर्ने कम्पनीमा सम्बन्धित प्रदेश सरकारका लागि बढीमा ५ प्रतिशत, आयोजना रहेको जिल्लाका स्थानीयका लागि बढीमा ५ प्रतिशत र सरकार वा तोकिएका संगठित संस्थाका लागि ४१ प्रतिशत सेयर छुट्ट्याइएको छ । यो संस्थापक वा सरकारतर्फ रहने ५१ प्रतिशतको सेयर हो ।

सर्वसाधारण समूहतर्फ सम्बन्धित कम्पनीमा कार्यरत कर्मचारीका लागि ३ प्रतिशत, आयोजनाको प्रसारण लाइनबाट प्रत्यक्ष प्रभावितलाई ३ प्रतिशत तथा आयोजना रहेको जिल्ला र प्रभावित बासिन्दाका लागि १० प्रतिशत एवं अन्य जिल्लाका नागरिकले ३३ प्रतिशत सेयर पाउने गरी व्यवस्थापन गरिएको छ ।

कम्पनीका कर्मचारी, आयोजना तथा प्रसारण लाइनबाट प्रभावितले तोकिएको सेयर किन्न नसके वा किन्न नचाहे वा आंशिकरूपमा बिक्री भए बाँकी सेयर संस्थापक समूहले लिने पनि कार्यविधिमा उल्लेख छ ।

सेयर बिक्रीमा रोक

कार्यक्रममा समावेश आयोजनाबाट विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त कम्पनीले मन्त्रालयको पूर्व स्वीकृतिबिना सेयर संरचना परिवर्तन गर्न वा संस्थापकले लिएको सेयर बिक्री वा हक हस्तान्तरण गर्न पाउने छैन । यद्यपि, धितोपत्र सम्बन्धी कानुनबमोजिम सेयर धितो बन्दकमा राखी ऋण वा डिभेञ्चर उठाउन सकिनेछ ।

कार्यविधिको दफा १७ अनुसार जलविद्युत आयोजना विकास गर्ने कम्पनीको सेयर सर्वसाधारण जनतालाई दिइएकोमा आयोजनाको भौतिक प्रगति ५० प्रतिशत पूरा नभएसम्म त्यस्तो सेयर खरिद बिक्री गर्न पाइने छैन ।

सम्बन्धित आयोजनाको सेयर खरिद बिक्री तथा क्रेडिट रेटिङ गर्न मन्त्रालयको सिफारिससहित धितोपत्र बोर्डमा छुट पाउन कम्पनीले अनुरोध गर्न सक्नेछ । अनुरोध अनुसार बोर्डले आवश्यक सर्त तोकी वा नतोकी सेयर अन्डरराइटिङ र क्रेडिट रेटिङ आवश्यक नपर्ने गरी छुट दिन सक्नेछ ।

याे पनि पढ्नुहाेस्

‘जनताको जलविद्युत कार्यक्रम’ को पहिलो आयोजना, त्रिशूली–३ ‘बी’ को सेयर खुल्यो

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="