काठमाडौं– पूर्वाञ्चलको विद्युत प्रवाहका लागि मेरुदण्ड मानिएको १३२ केभी काबेली कोरिडोर (प्रसारण लाइन) निर्माणमा वन तथा वातावरण मन्त्रालयको अनुमति प्राप्त नहुँदा समस्या जटिल बन्दै गएको छ ।
आवश्यक रुख कटानका लागि वन विभागबाट अनुमति प्राप्त नहुँदा काम अघि बढ्न नसकेको हो । मन्त्रालयबाट पाँचथरस्थित जोरसल्ला क्षेत्रको रुख काट्न ७ महिनासम्म स्वीकृति प्राप्त भएको छैन ।
मन्त्रालयले मंसिर १० गते रुख काट्न स्वीकृति दिए पनि फाइल विभागमा पुगेर थन्किएको आयोजना प्रमुख दिपेन्द्रराज द्विवेदीले बताए । ‘६ दिनदेखि विभागमा फाइल रोकिएको छ, त्यहाँबाट अघि बढाएर जिल्लाबाट स्वीकृत पाउन अभैm एक महिना लाग्ने देखिन्छ,’ उनले मंगलबार ऊर्जा खबरसँग भने ।
आयोजनाले गत असोज २५ गते रुख कटानका लागि दर्ता गरेको फाइल अभैmसम्म पूर्णरूपमा स्वीकृत प्राप्त भएको छैन । जोरसल्लामा करिब ४ किलोमिटर क्षेत्रमा ६ सय ४५ रुख काट्नुपर्नेछ । ११ वटा टावर रहने क्षेत्रमा स्वीकृत प्राप्त भएपछि रुख काट्नमात्र करिब एक महिना लाग्नेछ ।
प्रसारण लाइनको लगभग सबै काम सकिए पनि वनकै कारण निर्माण अवधि लम्बिदै गएको छ । नयाँ तालिका अनुसार मंसिरको अन्तिम वा पुषको पहिलो सातासम्म निर्माण पूरा गर्ने लक्ष्य थियो । वनकै अवरोधले अब कहिलेसम्म काम सकिन्छ भन्ने यकिन हुन सकेको छैन ।
मन्त्रिपरिषदले फाइल स्वीकृत गरेकै ४ महिनाभन्दा बढी भएको आयोजनाले जनाएको छ । द्विवेदीका अनुसार विभागबाट स्वीकृत भएर जिल्ला वन कार्यलयमा आएपछि मात्र रुख काट्ने काम अघि बढाउन सकिन्छ ।
कोरिडोरको काम ३ खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । पहिलो पहिलो खण्ड इलामको गोदकदेखि झापाको दमकसम्मको काम पूरा भएको ३ वर्षसम्म भइसकेको छ । अहिलेसम्म दोस्रो खण्ड सकिएको छैन ।
४२.४३ किलोमिटर लामो दोस्रो खण्ड (सोयाग–थापाटार) मा १ सय २५ वटा टावर निर्माण भएका छन् । १३ किलोमिटर लामो तेस्रो खण्ड (थापाटार–काबेली) मा ४० वटा टावर निर्माण गरिएको छ ।
कोरिडोर समयमा पूरा नभए यस क्षेत्रमा निर्माण भईरहेका करिब ७७ मेगावाट आयोजनाको विद्युत खेर जानेछ । जसमा १४.९ मेगावाटको हेवाखोला, २७ मेगावाटको काबेली–बी १, २२ मेगावाटको तल्लो हेवा र ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना खेर जानेछ ।
प्रतिक्रिया दिनुहोस