Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कुलमानविरुद्ध प्रवर्द्धकहरू, ‘अरूलाई लान्छना लगाउनुको सट्टा बुद्धिले काम गर्नुस्’

ऊर्जा खबर असार २७, २०७६   2821

खबर



काठमाडौं– जलविद्युत उत्पादन गरेर काबेली कोरिडोर (प्रसारण लाइन) मा जोड्ने प्रवर्द्धकहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति आक्रोस व्यक्त गरेका छन् ।

घिसिङले ‘प्रसारण लाइन निर्माणमा प्रवर्द्धक नै बाधक’ भन्ने अभिव्यक्ति दिएपछि आक्रोसित हुँदै उनीहरूले प्रतिक्रिया जनाएका हुन् । लाइन निर्माणका हरेक समस्या समाधानमा प्रवद्र्धक लागेको तर यसलाई गलत व्याख्या गरेर लान्छना लगाउन खोजिएको उनीहरूको आरोप छ ।

कोरिडोरमा काबेली बी–१, इवाखोला, तल्लो हेवा र हेवा खोला–१ निर्माणाधीन छन् । यी आयोजनाको विद्युत यही कोरिडोरमा जोड्ने गरी प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट (जडान सम्झौता) भएको छ । यस कोरिडोरका प्रवर्द्धकहरू आफैंले पेटी ठेक्का लिएर काम रोकेको र उनीहरू अराजक बनेको घिसिङको आरोप छ ।

घिसिङले दिएको अभिव्यक्तिबारे प्रवर्द्धकहरूले शुक्रबार विज्ञप्ति नै निकालेर आपत्ति जनाएका छन् । ‘विगत ३ वर्षदेखि समस्या समाधानमा सहकार्य गर्दै आएको पक्षलाई गलत आरोप लगाउनु दुखद हो,’ अरुण काबेली पावर कम्पनीका कार्यकारी अध्यक्ष गुरुप्रसाद न्यौपानेले भने ।

रैराङ हाइड्रो पावरका कार्यकारी सञ्चालक कुवेरमणि नेपालको सहयोगले कोरिडरको समस्या समाधान हुँदै आएको न्यौपानेले दाबी गरे । ‘उहाँको सहयोग नभएको भए काम अहिलेको स्थितिमा आउने थिएन,’ उनले भने, ‘प्राधिकरणले जग्गधनीलाई मुआब्जा रकम गर्नुपर्ने रकम जिल्ला प्रशासन कार्यालयमा बुझाएपछि उहाँकै पहलले जग्गा खरिद गर्ने वातावरण बनेको थियो ।’

भारतीय ठेकेदार जागुअर ओभरसिज एन्ड एष्टर जेभीले प्राधिकरणबाट काम गरेको भुक्तानी लिएको तर स्थानीयलाई नदिँदा निर्माणमा समस्या देखिएको प्रवर्द्धकहरूले बताए । स्थानीय ठेकेदार आफूहरूले घाटा बेहोरेर फाउन्डेसन तथा टावर निर्माण गरी भारतीय कम्पनीलाई तार तान्न दिइएको पनि उनीहरूको भनाइ छ ।

पेटी ठेकेदारले २०७५ माघभित्र काम सम्पन्न गरी हस्तान्तरण गरेको थियो । योसँगै कारिडोरको दोस्रो तथा तेस्रो खण्डमा आफ्नै पहलमा वन तथा सामाजिक समस्या समाधानमा सहजीकरण गरेको नेपालले बताए ।

‘राइट अफ वेमा रुख कटान गर्न हामीले सहजीकरण गरेका छौं,’ उनले भने, ‘तेस्रो खण्डको मुख्य काम सकेर तार तान्ने मात्र बाँकी छ ।’ भारतीय ठेकेदारले नेपाली सब–कन्ट्र्याक्टरले सम्पन्न गरेको सिभिलतर्फको कामको भुक्तानी लिएर कामदारलाई नदिँदा पेटी कन्ट्याक्टरले तार तान्ने काममा अवरोध गरेका उनले दोहोर्याए ।

न्यौपानेका अनुसार पछिल्लो समय एक महिनापछिको मिति राखेर काटेको चेक पेटी ठेकेदारलाई दिई काम सुचारु भएको थियो । चेक पाएको मिति डेढ महिना गुज्रिकसेको तर तर भुक्तानी नदिएको उनले प्रस्ट्याए । यही कारण स्थानीय कामदार र भुक्तानी दिने भारतीय ठेकेदारबीच समस्या उत्पन्न भएको उनको भनाइ छ ।

काम सम्पन्न भएको छ महिनासम्म भुक्तानी गर्न नपर्ने र समस्या अन्यत्रबाट भएको भनी प्रचार गर्ने निकायप्रति अनुसन्धान हुनुपर्ने उनीहरूले बताए । जलविद्युत आयोजनामा पेनाल्टी लाग्ने हुँदा आफूहरू काम अवरोध गर्ने पक्षमा नरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ– हामीलाई अवरोधभन्दा छिटो प्रसारण लाइन चाहिएको छ । तसर्थ, गलत लान्छना लगाएर अरूलाई बदनाम गराउनुभन्दा समस्या पहिचान गरी समाधान गर्नु वुद्धिमानी हुनेछ । प्रवद्धर्कहरूले आयोजना सम्पन्न नगरे लाग्ने जरिवाना विद्युत खरिद सम्झौता (पिपिए) अनुसार हुने विषय हो ।

प्राधिकरणले यो प्रसारण लाइन पूरा गर्नुपर्ने समय तोकिएको भन्दा चारवर्ष बढी लाग्न गएको र निर्माण लागतमा राज्यको ठूलो भार थपिएको प्रवर्द्धकहरूको तर्क छ । यही कारण १५ मेगावाटको हेवा २ वर्ष न्यून क्षमतामा सञ्चालन गर्न वाध्य भएको थियो । प्रसारण लाइन निर्माणको गति हेर्दा अधिकांश प्रवर्द्धकहरू निराश भई आयोजना ढिला गर्नुपरेको अवस्था घामजस्तै छर्लंग रहेको पनि टिप्पणी गरे ।

‘प्रसारण आयोजनाको ठेक्का विदेशी ठूला ठेकेदारले मात्र पाउने र सोही काम नेपाली साना ठेकेदारलाई पेटीमा दिइरहेको स्थिति छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालीलाई काम लगाएर भुक्तानी नदिई भाग्ने विदेशी धेरै छन् । काबेलीमा पनि जागुअरले धेरै पेटी कन्ट्याक्टरको भुक्तानी दिएको छैन । ती मध्ये पलाञ्चोक भगवती एउटा हो ।

विदेशीले प्राधिकरणबाट भुक्तानी लिने र स्थानीय ठेकेदारले नपाउने विषय सबैका लागि दुखद विषय हो । यसकारण, नेपाली कामदार तथा ज्यामीहरूको भुक्तानी नपाउने समस्यातर्फ कार्यकारी निर्देशकको गम्भीर ध्यानाकर्षण हुनुपर्ने उनीहरूको निचोड छ ।

याे पनि पढ्नुहाेस्

पेटी ठेकेदार नै काबेली काेरिडाेरका बाधक, प्रवर्द्धकहरू अराजक भए : कुलमान घिसिङ

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="