Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कालीगण्डकी करिडोर प्रसारणलाइन निर्माणमा अवरोध

कमल खत्री भदौ २०, २०७६   298

खबर



म्याग्दी र मुस्ताङमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्न निर्माणाधीन कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारणलाइनको टावर निर्माणमा अलमल सिर्जना भएको छ । यस क्षेत्रको जलविद्युत् विकासको प्रमुख आधार मानिएको प्रसारणलाइन निर्माणको क्रममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र रातोपानीमा स्थानीयको अवरोधका कारण टावर निर्माण हुन सकेको छैन ।

सन् २०१८ को नोभेम्बरमा नै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा टावर तथा सबस्टेसन निर्माण र तार तान्ने कामले केही गति लिएको भए पनि स्थानीयको विवादले निर्माण कार्य एक वर्षभन्दा बढी समय पछि धकेलिएको छ । दानादेखि खुर्कोटसम्मको ३९ किलोमिटर दूरीमा रहेका ११० वटा टावर मध्ये १०३ टावर निर्माण भइसकेको छ । टावर निर्माण भएको धेरैजसो ठाउँमा तार तान्ने कामसमेत भइरहेको भए पनि म्याग्दीको पोखरेबगर क्षेत्रमा ६ वटा र पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा एउटा टावर निर्माण सुरु हुन नसकेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिए ।

ad

‘टावर निर्माण सुरु भएदेखि नै केही विवाद आएका थिए, विवादबाहेकका अन्य ठाउँमा टावर निर्माण सकियो, सबस्टेसन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।’ आयोजना प्रमुख घोषले भने ‘टावरबाट प्रभावित हुने स्थानीय र सरोकारवालासँगको समन्वयमा अवरोधको गाँठो फुकाउने कसरतमा जुटेका छौं ।’ प्रसारणलाइनले पोखरेबगरमा स्थानीयवासीको घर र गाउँपालिका कार्यालयको भवन निर्माणस्थललाई प्रत्यक्ष प्रभाव पार्ने भएपछि यस क्षेत्रका स्थानीयले नक्सा परिवर्तन गरी बस्तीलाई जोगाएर टावर र लाइन विस्तार गर्न माग गर्दै आएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा कालीगण्डकी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत सन् २०१६ को मेदेखि सुरु गरेको दाना–खुर्कोट प्रसारणलाइन र सबस्टेसन एक वर्ष अघि नै सक्ने लक्ष्य थियो । पहिलोपटक ६ महिना र दोस्रोपटक ३ महिना म्याद थपिएको यस आयोजनामा आगामी कात्तिकभित्र आंशिक र पुसभित्र पूर्ण रूपमा निर्माण कार्यलाई सम्पन्न गर्ने गरी कामलाई गति दिइएको आयोजनाले जनाएको छ । सबस्टेसन र प्रसारणलाइन बनाउन करिब २ अर्ब ७५ करोड रुपैयाँमा जेभी टाटा एन्ड चिन्ट इलेक्ट्रिक कम्पनीले ठेक्का सम्झौता गरेको थियो । विद्युत् प्राधिकरणले दाना–खुर्कोट प्रसारणलाइनलाई नवलपरासीको बर्दघाटसम्म पुर्‍याउने गरी १ सय ४३ किलोमिटर लामो कालिगण्डकी कोरिडोर प्रसारण आयोजनालाई खण्ड/खण्डमा निर्माण कार्य अघि बढाएको छ ।

विद्युत् खेर जाने जोखिम बढ्यो
म्याग्दी र मुस्ताङमा कालीगण्डकी र सहायक नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोड्न यो सबस्टेसनका र प्रसारणलाइन निर्माण गर्न लागिएको हो । तर, लक्ष्यभन्दा एक वर्ष बढी समय बितिसक्दासमेत आयोजनाको काम सम्पन्न नहुँदा जलविद्युत् आयोजनाहरूसमेत अलमलमा परेका छन् । प्रसारणलाइन निर्माण पूरा नहुँदा भर्खरै मात्रै प्राविधिक परीक्षण सफल भएको घलेम्दीखोला जलविद्युत्बाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारणमा जोड्न जटिलता भएको घलेम्दी हाइड्रोका कम्पनी सचिव विमल रिजालले बताए । उनले तत्कालका लागि घरापस्थित साना जलविद्युत् आयोजनाको सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिने भए पनि दीर्घकालीन समाधान नहुने भएकाले प्रसारण आयोजनामा देखिएका अलमल समाधान गर्नुपर्नेमा जोड दिए । यसै प्रसारणमा जोडिने गरी १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन सुरु गरिसकेको छ । त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजनाको समेत निर्माण कार्य सकेर प्राविधिक परीक्षण भइसकेको छ । ४२ मेगावाटको मिस्त्रीखोलाको निर्माण कार्यसमेत अन्तिम चरणमा पुगेको छ ।

स्थानीयले दिएको विकल्पबारे अध्ययन सुरु
पोखरेबगरमा स्थानीयले टावर निर्माणमा अवरोध पुर्‍याएपछि टावर निर्माणको वैकल्पिक मार्गबारे अध्ययन सुरु गरिएको छ । आयोजनाका तर्फबाट ५ जना र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका तर्फबाट ५ जनाको टोली बनाएर वैकल्पिक मार्गको अध्ययन थालिएको अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । अहिले पोखरेबगरमा प्रस्तावित ठाउँमा टावर निर्माण गर्दा ५ घरपरिवार विस्थापित हुनुको साथै गाउँपालिकाको भवन निर्माणस्थल र शिव मन्दिरसमेत प्रत्यक्ष रूपमा प्रभावित हुने भएकाले वैकल्पिक ठाउँबाट लाइन लैजाने गरी विकल्प दिइएको उनले बताए ।

नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस