Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भूमिगत पानीकाे दाेहन, भासिँदैछ काठमाडौं !

मुकेश पोखरेल भदौ २०, २०७६   874

जलस्रोत



काठमाडाैं- स्वदेशी र विदेशी भूगर्भशास्त्रीहरूको एक टोलीले काठमाडौं उपत्यकाको भू–सतहको अवस्थाबारे पाँच वर्षयता निरन्तर अध्ययन गरिरहेका छन् । अध्ययनबाट प्राप्त तथ्यहरूले भूगर्भशास्त्रीहरूलाई अचम्भित बनाएको छ । अध्ययनमा संलग्न त्रि–चन्द्र क्याम्पसको भूगर्भ विभागका प्रमुख अनन्त गजुरेल भन्छन्, “अनुमान गरेभन्दा फरक तथ्य भेटिएपछि हामी नै अचम्ममा परेका छौं ।”

यस्तो अचम्म तुल्याउने तथ्य हो, काठमाडौं उपत्यकाको भू–सतह हरेक वर्ष भासिंदै गएको छ । “उपत्यका हरेक वर्ष ३ देखि १६ सेन्टिमिटरसम्म धसिंदै गएको तथ्य भूगर्भशास्त्रीका लागि नौलो विषय हो”, गजुरेल भन्छन् ।

ad

सन् २०१४ मा त्रि–चन्द्र कलेजको भूगर्भ विभागले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) र भू–विज्ञान अनुसन्धानमा सघाउने अमेरिकाको गैरनाफामूलक संघ यूनाभ्कोसँग मिलेर उपत्यकाका विभिन्न ठाउँमा जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) जडान गरी भू–सतहको अध्ययन शुरू गरेको थियो ।

अध्ययनमा संलग्न यूनाभ्कोकी प्रोजेक्ट म्यानेजर डा. बेथ प्राट सिटौलाका अनुसार ललितपुरको खुमलटारस्थित नास्ट कार्यालय परिसर, काठमाडौंको छाउनी, लाजिम्पाट, शिवपुरी, बाँसबारी र भक्तपुरको सैनिक महाविद्यालयमा जीपीएस स्टेशन राखेर अध्ययन गरिएको थियो ।

यी ठाउँमध्ये छाउनीमा प्रति वर्ष १३ सेन्टिमिटर र लाजिम्पाटमा १६ सेन्टिमिटर जमीन धसिएको पाइएको छ । भक्तपुरको सैनिक महाविद्यालय क्षेत्रमा भने जमीन भासिने क्रम ३ सेन्टिमिटर मात्र देखिएको डा. सिटौला बताउँछिन् । भन्छिन्, “यो असाध्यै गम्भीर विषय हो । यसको असर तत्काल नदेखिए पनि केही वर्षमा गम्भीर परिणाम निम्तिन सक्छ ।” अध्ययन टोलीले प्राप्त तथ्यहरूको अहिले थप विश्लेषण गरिरहेको छ ।

कारण र जोखिम

काठमाडौं उपत्यकाको जमीन धसिनुको कारण यही हो भनेर भूगर्भशास्त्रीहरू ठोकुवा गर्दैनन् । २०७२ सालको भूकम्पको कारण उपत्यकाको भू–सतहमा परिवर्तन आएको हो कि भनेर आशंका गर्नेहरू पनि छन् । तर भूकम्पका कारणबाट उपत्यकाको जमीन सरे पनि धसिनुमा त्यसको भूमिका नरहेको अध्ययनले देखाएको छ ।

खुमलटार र शिवपुरी क्षेत्रमा २०७१ सालमा राखिएका जीपीएस स्टेशनका आधारमा भूकम्पका कारण काठमाडौं उपत्यका दक्षिणतिर सरेको पत्ता लागेको थियो । भूकम्पका कारण शिवपुरी डाँडा १७५ सेन्टिमिटर र उपत्यका १२० सेन्टिमिटर दक्षिण सरेको छ । यूनाभ्कोकी प्रोजेक्ट म्यानेजर सिटौला उपत्यकाको जमीन भूकम्पका कारण नभासिएको बताउँछिन् । “भूकम्पअघि पनि जमीन धसिएको देखिएको छ”, उनी भन्छिन् ।

जमीन धसिनुका अनेक कारण हुनसक्ने भए पनि प्रमुख कारण काठमाडौं उपत्यकामा भूमिगत पानीको अत्यधिक प्रयोग भएको अध्ययनमा संलग्न भूगर्भशास्त्रीहरू बताउँछन् । उपत्यकामा ६०० मिटर गहिराइभन्दा तल चट्टानको तह छ । त्यसभन्दा माथि माटो र बालुवा छ । यो तहमा माटो र बालुवाको छिद्रहरू पानीले भरिएको हुन्छ, जसलाई भूमिगत जलभण्डार मानिन्छ ।

त्यही भूमिगत पानीको अत्यधिक उपयोग गरेकै कारण जमीन भासिएको त्रि–चन्द्र क्याम्पसको भूगर्भ विभागका प्रमुख गजुरेल बताउँछन् । “बढ्दो शहरीकरणसँगै जमीन मुनिको पानीको उपयोग बढ्यो, तर पानी रिचार्ज (पुनर्भरण) हुन पाएन । जसले गर्दा जमीन धसियो”, उनी भन्छन् ।

गजुरेलको भनाइमा जमीन भासिने समस्या उपत्यकाको खाल्डोमा मात्र देखिएको छ । अध्ययनबाट शिवपुरी क्षेत्रमा दुई सेन्टिमिटर मात्र जमीन धसिएको पाइएको थियो । भौगर्भिक रूपमा जमीन दुई सेन्टिमिटर तल–माथि हुनुलाई सामान्य मानिन्छ । मनसुनको पानी जमीनले सोस्दा दुई सेन्टिमिटर माथि उठ्छ भने जमीन सुक्खा हुँदा त्यति नै तल पनि जान सक्छ ।

जमीन धसिने क्रमले तत्कालै असर नगरे पनि दीर्घकालीन जोखिम हुनसक्छ । भासिने क्रम जारी रहे जमीनको सहतमुनि पानी जम्मा गर्ने बलौटे पत्रको क्षमता ह्रास हुने र जमीनमा धाँजा पर्ने भूगर्भशास्त्री गजुरेल बताउँछन् । “जमीनमा धाँजा पर्दा घरहरू चर्किने र कोल्टिने भएकाले बसोबासको दृष्टिले गम्भीर स्थिति निम्तिन सक्छ”, उनी भन्छन् ।

‘पानी दोहनले खतरा’

पानीका स्रोत मूल, खोला र भूमिगत गरी तीन किसिमका हुन्छन् । उपत्यकामा पानीको मुख्य स्रोत भूमिगत नै हो । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व सह–प्राध्यापक एवं पानी व्यवस्थापन इन्जिनियर आशुतोष शुक्लाका अनुसार, काठमाडौं उपत्यकामा अहिले दैनिक १० करोड लिटरभन्दा बढी भूमिगत पानीको खपत हुँदै आएको छ । तर पानी निकाल्ने अनुपातमा पुनर्भरण नहुँदा समस्या निम्तिएको उनी बताउँछन् ।

काठमाडौं उपत्यकामा भूमिगत पानी कति छ भनेर २५ वर्षयता विस्तृत अध्ययन भएको छैन । सन् १९९४ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गरेको अध्ययन नै यस सम्बन्धी पछिल्लो आधिकारिक अध्ययन हो ।

उक्त अध्ययनले भूमिगत पानीका आधारमा उपत्यकालाई उत्तरी, मध्य र दक्षिणी गरी तीन क्षेत्रमा विभाजन गरेको छ । जस अनुसार उपत्यकाको उत्तरी क्षेत्र पानी पुनर्भरणका लागि महत्वपूर्ण मानिन्छ । अध्ययनले उपत्यकामा दैनिक डेढ करोड लिटर मात्र भूमिगत पानी प्रयोग गर्न सकिने उल्लेख गरेको थियो ।

शुक्लाको भनाइमा उपत्यकाको उत्तरी क्षेत्रमा जलाधार क्षेत्र तथा बालुवाका प्रशस्तै ढिस्का रहेका कारण पानी पुनर्भरणका लागि महत्वपूर्ण मानिएको हो । बालुवाका ढिस्का, खाली जमीन र वन क्षेत्रले वर्षाको पानी सोसेर जमीनमुनि पुर्‍याउँछन् भने पोखरी, ताल, इनारको पानी समेत जमीनको सतहमुनि बग्दै प्रशोधित हुन्छ । यही पानी ट्यूबवेलबाट निकालिन्छ, ढुंगेधारामा रसाउँछ । तर पछिल्लो समय काठमाडौंको उत्तरी क्षेत्र मात्र होइन, सबैतिर बालुवाका ढिस्का मासेर जग्गा प्लटिङ र घर निर्माण भइरहेका छन् ।

उपत्यकामा भूमिगत पानीको अत्यधिक दोहन भई स्रोत कम हुँदै गएपछि त्यसको नियमन गर्न २०७१ सालमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ‘भूमिगत स्रोतको पानी निकाल्ने तथा उपयोग गर्ने अनुमतिपत्र जारी गर्ने सम्बन्धी निर्देशिका’ जारी गरेको थियो ।

निर्देशिकामा अनुमति नलिई भूमिगत स्रोतबाट पानी निकाल्न नपाइने, स्वीकृत परिमाणमा मात्र पानी निकाल्नुपर्ने, पानी पुनर्भरणको व्यवस्था गर्नुपर्ने लगायतका प्रावधान उल्लेख छन् । बोर्डका हाइड्रोजियोलोजिष्ट अनुज खनाल आफूहरूले उपत्यकाभित्र जडान गरिएका डीप ट्यूवबेलहरूको नियमित अनुगमन गरिरहेको दाबी गर्छन् । तर खुलेआम पानी दोहन भइरहेकाले उक्त दाबीमा पत्याउने आधार भेटिंदैन ।

भूगर्भशास्त्री गजुरेल जमीन भासिने प्रक्रियाले जमीनमुनि पानीको सतह नै थप घट्ने बताउँछन् । उनका अनुसार, असन्तुलित तरीकाले पानी निकाल्दा जमीनको सतह भासिन गई पानीको तहभन्दा माथिका खाली छिद्रहरू थिचिन पुग्छन् । “थिचिएका छिद्रहरू पूर्ववत् अवस्थामा फर्कन नसक्दा पानी भण्डारण गर्ने ठाउँ घट्छ”, उनी भन्छन् ।

भूगर्भशास्त्रीहरू उपत्यकाको भूमिगत जलभण्डारलाई बचाउनु जमीन भासिने क्रम रोक्ने एक मात्र उपाय भएको सुझउँछन् । यूनाभ्कोकी प्रोजेक्ट म्यानेजर डा. सिटौला भन्छिन्, “जति पानी निकाल्छौं, त्यही मात्रामा पुनर्भरण गर्ने व्यवस्था भए मात्र जमीन धसिने क्रम रोकिन्छ ।”

 जीपीएसको तथ्य

नेपालमा जीपीएस मार्फत भौगर्भिक अध्ययन गर्ने कार्य सन् १९९४ बाट शुरू भएको हो । हिमालय क्षेत्रको अवस्था बुझ्न फ्रान्सका वैज्ञानिकहरूले पश्चिम नेपालका विभिन्न ठाउँमा जीपीएस स्टेशन खडा गरेका थिए । त्यसपछि अमेरिकी वैज्ञानिकहरूले त्यसलाई पूर्वी नेपाल र तराईका अन्य ठाउँमा समेत फैलाएका थिए ।

जीपीएसले पृथ्वीको कुनै पनि स्थानको उँचाइ, अक्षांश र देशान्तर यकिन गर्छ । भूगर्भशास्त्री अनन्त गजुरेलका अनुसार पृथ्वीको भू–सतह मापनका लागि स्थापना गरिएका जीपीएस सेन्टरले छिनछिनका गतिविधिको तथ्य भू–उपग्रहमा पठाउँछ । तिनै तथ्यका आधारमा भू–सतहको अवस्थाबारे जानकारी मिल्छ ।

मेक्सिको नियति

भूगर्भशास्त्रीहरू काठमाडौंले उत्तर अमेरिकी राष्ट्र मेक्सिकोको जस्तो नियति भोग्नुपर्ने अवस्था आउन सक्नेसम्मको चिन्ता व्यक्त गर्छन् । यसको राजधानी मेक्सिको सिटीमा भूमिगत जलभण्डारको अत्यधिक दोहनले संकट निम्त्याएको छ । भूमिगत पानी रित्तिएपछि त्यहाँ पानीको संकट छ भने अर्कोतिर जमीन भासिने क्रम तीव्र छ । जमीन धसिंदा सडकमा धाँजा फाट्ने, घरहरू कोल्टिने, भूमिगत रेलका लिकहरू तल–माथि हुने जस्ता समस्या देखिएका छन् । यूनाभ्कोकी प्रोग्राम म्यानेजर डा. बेथ प्राट सिटौलाका अनुसार त्यहाँ जमीन भासिनुका कारणहरूमध्ये भूमिगत पानीको अत्यधिक दोहन प्रमुख हो ।

हिमाल खबर पत्रिका (उल्लेखित तस्बिर पनि हिमालबाटै साभार गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="