Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०५७ मे.वा. घन्टा
  • भारत : ९३२८ मे.वा. घन्टा
  • ट्रिपिङ : ४०० मे.वा. घन्टा
  • माग : २४२३८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एमसिए नेपालको कार्यकारी निर्देशकमा खड्गबहादुर विष्ट

ऊर्जा खबर पुष २४, २०७५   4240

खबर



काठमाडौं– सरकारले वरिष्ठ इन्जिनियर खडगबहादुर विष्टलाई मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) को कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । एमसिए नेपालले प्रतिस्पर्धात्मक प्रक्रियाबाट उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

एमसिए नेपाल अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत विद्युत तथा सडक आयोजना सञ्चालन गर्न स्थापना गरिएको निकाय हो । गत पुस १३ गते एमसिएको छैटौं सञ्चालक समितिको बैठकले विष्टलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

विष्टसँग पूर्वाधार तथा ऊर्जा क्षेत्रको उच्च नेतृत्वमा रहेर काम गरेको २५ वर्षभन्दा बढीको अनुभव छ । साथै, नेपाली निजी क्षेत्रमा उनी एक सफल र उच्च वौद्धिक व्यक्तिका रूपमा चिनिन्छन् । उनी हाल नर्वेले निर्माण गरेको ६० मेगावाटको खिम्ती– १ जलविद्युत आयोजनामा प्लान्ट म्यानेजरका रूपमा कार्यरत छन् ।

प्रसारण लाइन निर्माणमा आवश्यक पूर्वसर्त तथा सम्बद्ध सरकारी निकायसँग समन्वय गरेर आफूले काम गर्ने विष्टले बताए । ‘नेपालभित्रै विद्युत वितरण गर्नु पहिलो आवश्यकता हो, यो गर्नुपर्छ,’ उनले मंगलबार ऊर्जा खबरसँग भने, ‘बढी भएको विद्युत भारत निर्यात गर्न वा व्यापार गर्ने सरकारको लक्ष्यलाई एमसिए नेपालले निर्माण गर्ने प्रसारण लाइन महत्त्वपूर्ण हुन्छ ।’ सबैसँग समन्वय गरेर समयमै काम गर्ने आफ्नो प्रतिबद्धता रहेको पनि उनले दोहोर्याए ।

विष्ट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का संस्थापक सदस्य तथा निवर्तमान अध्यक्षसमेत हुन् । इपानमा रहँदा उनले निजी क्षेत्रका समस्या समाधान, निजी क्षेत्रले सरकारलाई गर्नुपर्ने सहयोग र जलविद्युत उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने काम गरेका थिए । यस्तै, देशका विभिन्न क्षेत्रमा जलविद्युत उत्पादनमा देखिएका समस्या समाधान गर्न अन्तरक्रियात्मक कार्यक्रम गरेर यस क्षेत्रमा सकारात्मक अभियान सुरु गरेका थिए ।

कार्यकारी निर्देशकको हैसियतमा विष्टले ६३ करोड अमेरिकी डलर बजेट रहेको विद्युत प्रसारण लाइन तथा सडक मर्मत आयोजनाको कार्यान्वयन र व्यवस्थापन गर्नेछन् । यसमध्ये ५० करोड डलर एमसिसीको बजेट हो भने १३ करोड डलर नेपालले लगानी गर्नेछ ।

एमसिए नेपालले काठमाडौं लप्सेफेदीदेखि नवलपरासीको सुनवलसम्म (३०५ किलोमिटर) ४ सय केभी प्रसारण लाइन निर्माण गर्नेछ । क्षेत्रीय विद्युत व्यापार, विद्युतको उपलब्धता र विश्वसनीयतामा सुधार गर्दै भारतको गोरखपुरसम्म प्रसारण लाइन विस्तार गर्ने योजना छ । जसअनुसार न्यू बुटवल–न्यू गोरखपुर ४ सय केभी प्रसारण लाइन निर्माणको योजना अघि बढाइएको छ । यसमा एमसिएको आयोजनाले ठूलो भूमिका खेल्नेछ ।

सरकारले एमसिए नेपाललाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको छ । यसमार्फत धादिङको रातमाटे, तनहुँको दमौली र नवलपरासीमा सबस्टेसन निर्माण हुनेछ । यसैगरी, यस आयोजनाले ३ सय ५ किलोमिटर सडक मर्मतको काम पनि गर्नेछ । जसमा पहिलो पटक नयाँ पेभमेन्ट साइकिलिङ प्रविधि अपनाइने एमसिए नेपालका कानुनी सल्लाहकार सेमन्त दाहालले बताए ।

काम सुरु भएको ५ वर्षभित्र अमेरिकी सरकारले उपलब्ध गराएको बजेट पूरै खर्च हुन सकेन भने फिर्ता जान्छ । तोकिएको समयभित्रै लक्षित काम गरेर बजेट खर्च गर्नुपर्छ । यो पक्षलाई मनन् गरेर पनि आफूले समयमै काम गर्ने विष्टले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="