Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७४७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६४३१ मे.वा. घन्टा
  • भारत : १०१५८ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २६३३६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘खोलामा पैसा हाल्नुस् चलायमान हुन्छ’

फागुन ०२, २०७५   1547 लेख


केपी शर्मा ओली

‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ जनताको हो । सफल हुने नै छ । सफलता प्राप्त गर्नैपर्छ । हामीसँग हरेक चिज छ । तर, हामी गरिब छौं । यस्तो अचम्म दुनियाँमा कमै हुन्छ । यहाँ प्राकृतिक स्रोत र खनिज छन् । बालुवा चाले सुन निस्कन्छ । हामीसँग हिमाल छन् । जीवन दिने खोलानाला छन् । ताल तलैया छन् तर हामी गरिब छौं ।

खोलामा पानी बगेको छ । जलसम्पदामा हामी अत्यन्त धनी छौं । तर, हामी आफैंले बाल्ने बिजुली छैन । किनेर बिजुली बाल्छौं । यति उर्भर देश छ । किनेर चामल र सागसब्जी खान्छौं । हामीसँग फलाम खानी छ । तर, सियो र काटी पनि हामी विदेशबाट ल्याउँछौं ।

दक्षिण एसियामा ऊर्जा उत्पादन गर्ने पहिलो देश हो, नेपाल । फर्पिङ चन्द्रज्योति विद्युत बनेको १ सय ७ वर्ष भइसक्यो । चन्द्रशम्शेरका पालामा बनेकोले चन्द्रज्योति भयो । यसपछि दोस्रो निर्माण भयो, काभ्रेको पनौतीभन्दा उता खोपासीमा । हामीसँग यत्रा सम्भावना छन् । तर, विद्युत पर्याप्त छैन । हामीले विद्युत किनेर काम चलाइरहेका छौं ।

२०७२ सालमा म प्रधानमन्त्री हुँदा दशैंमा मैले घोषणा गरेँ– अहिलेको साल त सकिँदैन । आगामी वर्ष तिहारसम्म हामी अँध्यारो हुन दिँदैनौं । त्यसपछि भारतसँग सहयोग मागियो । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी प्रसारण लाइनबाट विद्युत ल्याइयो । र, उज्यालो दिन सकियो । अब हामीले यो अवस्था बदल्नुपर्छ ।

हामीसँग हरेक चिज छ । यसको सदुपयोग गर्नुपर्छ । र, हामी सबै चिज भएका गरिब होइनौं । सबै चिज भएका सम्पन्न हुनेछौं । आम नेपालको साझा आकांक्षा सम्पन्न हुने हो । हामीले भनेका छौं, ‘समृद्ध नेपाल, सुखी नेपाली’ । हरेक व्यक्ति समृद्धि चाहन्छ । हरेक सुखी हुन चाहन्छ । सुख प्राप्ति मानिसको अन्तिम उद्देश्य हो । मान्छेले जे पनि चाहन्छ, सुख प्राप्तिका लागि । मानिसका हरेक प्रयास, प्रयत्न, संघर्ष र क्रियाकलाप र चेष्टाहरू सुख प्राप्तिका निमित्त हुन्छन् ।

सबै मेहेनत, परिश्रम, पसिना सुख प्राप्तिकै लागि हो । तर, त्यो साझा आकांक्षा अभिव्यक्त गर्न पनि कतिपयलाई टिप्पणी गर्न मन लाग्छ । टिप्पणी गर्छन्, आधारबिनै भने । तपाईंलाई सुख चाहिएको छ भन्दा के आधार चाहिन्छ ? तपाईं सुख पाउन चाहनुहुन्छ भन्ने के–के आधार चाहिन्छ । के–के पुर्याउनुपर्छ कि ? तपाईं धनी हुन चाहनुहुन्छ । समृद्धि खोज्नुहुन्छ । गरिब हुन मन पराउनुहुन्न भन्दा के–के आधार चाहिन्छ । यो वौद्धिक उचाईसँग पनि हैरान भइयो ।

तीन तासेले तास फिटेभन्दा बढ्ता कुरा फिटेको देख्दा अचम्म लाग्छ । अनौंठो लाग्छ । आधार देख्नुभएन ? नेपालले इतिहासमा कहिल्यै सुनेको थियो, यति तीव्रताका साथ योजनाहरू अगाडि बढाएको ? अहिले हामी यहाँ ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ शुभारम्भ गरिरहेका छौं । यसले स–सानो निष्क्रिय बसेको पैसालाई परिचालन गर्छ ।

पैसाको जात यस्तो हो, परिचालित भएर चल्यो भने त्यसले अण्डा पार्छ । चल्ला काढ्छ । र, भुरुरु बनाउँछ । चुप लागेर बस्यो भने खिइदै घट्दै जान्छ । ९० रुपैयाँ तोला सुन मैले किनेको छु । अहिले ६० हजार रुपैयाँ पुग्यो । त्यसबेला ९० रुपैयाँमा एक तोला सुन किनेको भए ६० हजार पुग्थ्यो । ९० रुपैयाँ नै राखेको भए त्यत्ति नै बसिरहन्थ्यो ।

अहिले ९० रुपैयाँमा सुन आउँछ र ! तोला होइन । ९० रुपैयाँले त सुन छुनमात्र पाइन्छ होला । म ९० रुपैयाँ दिन्छु छुन देऊ भन्दा नि नपाइन सक्छ । अर्थात् पैसाको मूल्य घट्दो रहेछ । त्यसकारण हामीले पैसा निष्क्रिय राख्नु हुँदैन । पैसा चलायो भने बढ्छ । विद्या, ज्ञान, सीप चलायो भने बढ्छ । चलेन भने पैसा घट्छ । घट्न दिनु हुँदैन । कुदाउनुपर्छ । पैसा कुदाएपछि, चलाएपछि बढ्दै जान्छ ।

खोलामा पैसा हालेपछि खोलो बग्दै जाने हो । त्यो त झन् बढ्दा चलायमान हुन्छ । त्यसैले अब हामीले गतिशीलता अपनाउनुपर्छ । गतिशील ठाउँमा पैसा जम्मा गर्नुपर्छ । तर, यहाँ बिनाआधार भन्नेहरू छन् । आज एउटा अर्को ऐतिहासिक काम भएको जानकारी गराउन चाहन्छु– पानीजहाज कार्यालयको स्थापना नेपालमा भएको छ ।

भारतले गण्डकीमा विस्तृत अध्ययन गरिसकेको छ । मोदीले भारतमा बोल्दा नेपालको सीमा नजिक त्रिवेणीसम्म हामीले पानीजहाज लैजान सक्ने भयौं भनेका छन् । हामीले सर्वे गरिसक्यौं । अब सिमानाबाट हामीले कहाँसम्म ल्याउने हो ? देवघाट वा अन्य कुन ठाउँ ? अब त्यसका लागि धेरै समय छैन । हामी समृद्ध नेपाल सुखी नेपालीका लागि हरेक दिन एक कदम अगाडि बढिरहेका छौं । हरेक दिन एक कदमअघि भन्दा अझ तीव्र रफ्तारमा हिँड्न चाहिरहेका छौं ।

उता पानीजहाज कार्यालय स्थापना गर्यौं । यता जनताको जलविद्युत आयोजना कार्यक्रम सुरु भएको छ । तपाईंसँग १० हजार रुपैयाँ छ भने जलविद्युतमा सेयर हाल्नुस् । विकासका निम्ति एउटा बलियो आधार बनेको छ । आज वा केही वर्षका लागि मात्र होइन । आगामी धेरै वर्षका लागि बलियो जग निर्माण भएको छ । देश बनाउने काममा अहिलेको सरकार स्पष्ट योजना र कार्यक्रमका साथ अगाडि बढेको छ ।

जनताको सरकार बनेको छ । अब गरिबी तथा एलडिसी नेपाल बदलिनेछ । अब विकासशील र विकसित नेपाल हुनेछ । १० वर्षभित्र नेपालले विकासको बाटोमा काँचुली फेर्नेछ । शिक्षित र स्वास्थ्य जनशक्ति उत्पादन हुनेछ । ४० प्रतिशतभन्दा बढी युवा जनशक्ति छ । यस्तो स्रोतले भरिपूर्ण भूमि छ । यसको सदुपयोग हुन्छ ।

यहाँ सरकारमा बस्ने वा सरकारमा बसेर हल्लेर समय बिताउनेहरू छन् । सरकार टिक्न नदिने वा सरकार टिक्न नदिने खेलोफड्को गरिरहनेका दिन गए । पहिले मानिसले भारी बोकेर जिन्दगी चलाउँथे । अहिले भारी बोक्नुपर्ने अवस्था कम छ । कुरा बोकेर जिन्दगी चलाउने धेरै छन् । यो सरकार कुरा बोकेर जिन्दगी चलाउने होइन । अब कुरा बोकेर जिन्दगी चलाउनेका दिन भए । एउटा भिजनसहितको सुदृढ सरकार बनेको छ ।

अब हरेक नेपाली सेयरको धनी हुनेछन् । ३५ दिनभित्र यसको प्रक्रिया सुरु हुन्छ । आगामी चैत ७ गते कार्यालय समयमा पहिलो सेयर मैले किन्नेछु । देशैले किन्छ । प्राविधिक समय कति लाग्छ त्यो अलग पक्ष होला । तर, न्यूनतम समयमा आयोजना तयार हुन्छन् । रोजगारी सिर्जना, आयात विस्थापित गर्ने, ऊर्जा तथा इन्धन खपतमा आत्मनिर्भर बन्नेछौं । आयातमा ठूलो धनराशी खर्च भएको छ । यो अभियानले यी पक्षमा सकारात्मक परिवर्तन ल्याउनेछ ।

केही वर्षभित्र हरेक व्यक्तिलाई सेयरधनी बनाउनेछ । सेयरधनी बनेपछि आयोजना सजिलोसँग बन्छ होइन अरू पनि निर्माण हुनेछन् । यसमा सहभागि हुन म हरेक दाजुभाइ दिदीबहिनीलाई हार्दिक आग्रह गर्न चाहन्छु् । आजको दिनलाई हामीले ऊर्जा र जलस्रोतको दिवस भने हुन्छ । एकातिर पानी जाहाजको सुरुवात गरेका छौं । अर्कोतिर, जनताको लगानीमा जलविद्युत उत्पादन गर्ने शुभारम्भ भएको छ । राष्ट्र निर्माण र समृद्धि हासिल गर्न सम्भव छ । यसमा लागौं ।

प्रम ओलीले बिहीबार ‘जनताकाे जलविद्युत आयोजना कार्यक्रम ‘शुभारम्भका क्रममा राखेकाे मन्तव्यकाे सम्पादित अंश

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="