Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५३५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ११३५३ मे.वा. घन्टा
  • भारत : १०८० मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०९६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कोसी उच्च बाँधको चर्चा

भैरव रिसाल श्रावण २७, २०७६   612

उहिलेकाे खबर



काठमाडाैं- भारतले आफ्नो आवश्यकता अनुसारको कोशी उच्च बाँध बनाउन दबाब दिइरहेको छ, तर यसबाट हाम्रो ठुलो भुभाग डुबानमा पर्ने र हजारौ विस्थापित हुने भएकोले अहितकार देखिएको छ ।

हरेक वर्ष बाढी र डुबानका घटनापछि कोसी उच्च बाँधको विषय चर्चामा आउँछ । भारतले निकै जोड दिइरहेको तर नेपालले विविध कारणले रुचि नदेखाएको परियोजना हो, यो । उच्च बाँध नेपालको हितमा नरहेको हामीले विज्ञहरूबाट सुन्दै पनि आएका छौं ।

ad

भारतले यो परियोजनाबाट बाढी नियन्त्रण, सिँचाइ, जलविद्युत विकासका क्षेत्रमा दुवै देशलाई फाइदा हुने बताइरहँदा नेपालमा यसबाट प्राविधिक कारणले भयावह असर पर्ने चिन्ता छ । भारतको आवश्यकतामा प्रस्ताव गरिएको यो परियोजनाबाट एक त नेपाललाई कम फाइदा हुने विज्ञहरूले बताइरहेका छन् । त्यो भन्दा पनि कोसी तटीय भूभाग जलाशयमा परिणत भएर हजारौं बासिन्दा विस्तापित हुनेछन् । ठूलो परिमाणमा उर्वर जमिन डुब्नेछ ।

बाँध निर्माणको सर्वेक्षण अनुसार कोका खोला र सुनकोसी नदीको संगमदेखि दक्षिणमा २६९ मिटर अग्लो बाँध बनाउने भारतको योजना हो । सिमाविद् बुद्विनारायण श्रेष्ठका अनुसार यसबाट सिन्धुलीका केही भाग, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा र तेह्रथुमका केही साविकका ५७ वटा गाविस प्रभावित हुने रहेछन् ।

कोसी उच्च बाँध नेपालमा निर्माण गरेर विहारमा बाढी नियन्त्रण गर्ने र दक्षिण भारतसम्म पानी पु¥याउने भारतको पुरानै योजना हो । कोसी उच्च बाँध निर्माणबारे भारतले आन्तरिक छलफल पहिलादेखि नै गरे पनि द्विपक्षीय रूपमा यसको औपचारिक गर्भाधान भने वि.स २००२ चैतमा भएको हो । श्री ३ महाराज पद्यशमशेर जबरा नेतृत्वको सरकारले त्यो बेला बाँध सम्बन्धी अन्वेषणको अनुमति दिएको थियो ।

अनुमति लिन ब्रिटिश भारत सरकारका तर्फबाट सेन्टर वाटरवेज एन्ड नेभिगेशन कमिशनका सभापति रायबहादुर पवन खोसला काठमाडौं आएका थिए । त्यहाँका शक्ति र खानी विभागका मन्त्री सि.एच, भाभा र खाद्य मन्त्री डा.राजेन्द्रप्रसादले २००३ चैतमा बराह क्षेत्रको कोसीको निरीक्षण गरेर त्यहाँ २२९ मिटर अग्लो बाँध बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।

२८ माघ २००३ मा भारतको व्यवस्थापिका सभामा खानी, शक्ति विभागका सेक्रेटरीले पेश गरेको कोसी बाँध निर्माण सम्बन्धी योजनामा चतरामा कोसी नदीको मुहानै नजिकै ७४० फिट अग्लो बाँध बाँध्ने, बाँधस्थल नजिकै जलविद्युत केन्द्र बन्ने, नेपाल र बिहारको सीमावर्ती ठाउँमा दुई वटा पोखरी बनाई नहरद्वारा सिँचाई व्यवस्था गर्ने तथा कोसीको पोखरीदेखि गंगासम्म डुंगा सञ्चालन गर्ने भनिएको थियो । कोसी बाँधको लागि त्यतिबेला भारु ९० करोड खर्च लाग्ने भनिएको छ । सो आयोजना १० वर्षमा तयार हुने भनिएको रहेछ । बाँधको उचाई त्यतिबेला कहिले २२९ मिटर त कहिले ७४० फिट उल्लेख गरिएको छ ।

त्यसपछि १२ जेठ २००४ मा कोसी बाँधको अन्वेषक मण्डलका सदस्य डा. एफ.ए निकेलले कोसी नदी आयोजना अनुसार दोस्रो बाँधका निम्ति बराह क्षेत्रभन्दा ३४ कोस माथि नै उपयुक्त ठह¥याएका थिए । तर, ब्रिटिश सरकारको पालामा कोसी बाँधले गति लिएन ।

कोसी उच्च बाँध सम्बन्धमा नेपाल र भारतका जलस्रोत अधिकारीहरूबीच भएको पछिल्लो संयुक्त बैठकमा पनि निष्कर्ष निस्किएन । ८ र १० साउनमा दिल्लीमा भएको बैठकमा दुई पक्षले आ–आफ्नो अडान राखेका खबरहरू आए ।

उच्च बाँध नबन्दा बराज

तत्काल कोसी उच्च बाँध अघि नबढे पनि हालको बराज निर्माणका लागि ११ बैशाख २०११ मा स्वतन्त्र भारत सरकार र प्रजातान्त्रिक नेपाल सरकारबीच सम्झौता भयो । त्यसै अनुसार नेपाल–भारतको सीमावर्ती इलाकामा १७ बैशाख २०१६ मा राजा महेन्द्रले कोसी बराजको शिलान्यास गरे । राजाको सम्मानमा भारतीय प्रधानमन्त्री पं. जवारलाल नेहरुले कोसी बगरमै भव्य दिवाभोज आयोजना गरेका थिए । शिलान्यास समारोहमा पत्रकारहरूलाई पनि आमन्त्रित गरिएको थियो । म हालखबर दैनिकबाट गएको थिएँ ।

कोसी बराजको शिलान्यासपछि यो योजनाले नेपाललाई फाइदा नहुने भन्दै राजनीतिक दलका नेताहरूबाट असन्तुष्टि आयो । यति ठूलो योजना दुई–तीन दिनभित्रै कसरी टुंगो लगाइयो भनेर बीपी कोइरालाले तीव्र असन्तुष्टि प्रकट गरे  । उनले त्यसबेला यसप्रति आपत्ति व्यक्त गर्दै वक्तव्य नै जारी गरेका थिए ।

रिसालकाे भाेगेकाे, देखेकाे, सुनेकाे स्तम्भबाट, अंक २६-३२ साउन, २०७६ हिमाल साप्ताहिक

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="