Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८००६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२५ मे.वा. घन्टा
  • भारत : ९६८३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३३१४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अल्पअल्प बिजुली र कुलमान सरको उचाई

माघ २५, २०७५   3479 लेख


लक्ष्मण वियोगी

अघिल्लो दिनको बाँकी काम सक्नु थियो । म शुक्रबार बिहानै कार्यालय पुगेँ । म पुग्दा बत्ती (बिजुली) थिएन । तुरुन्त ल्यान्डलाइनबाट रत्नपार्क ‘नो लाइट’ मा फोन गरेँ । फोन लागेन । निकै प्रयास गर्दा पनि नलागेपछि मोबाइलबाट फोन गरेँ । फोन लाग्यो । उताबाट एक अधवैंशेको आवाज आयो ।

ad

मैले बिन्ती बिसाएँ– हजुर बबरमहल बानेश्वर क्षेत्रमा बिजुली छैन । कहीँ समस्या भएको हो ? उताबाट जवाफ आयो– खोई हामीलाई नि थाहा भएन । गाडी निस्केको छ बुझ्नलाई ।

मैले फेरि प्रश्न तेर्स्याएँ– हजुर कति समय लाग्ला ? बत्ती दिनेवालाले जवाफ फर्काए– खोई हामीलाई नि थाहा भएन । आधा घन्टामै आउन पनि सक्छ । २–३ घन्टा लाग्न पनि सक्छ । यत्ति भनेर उताबाट झ्याप्प फोन राखियो ।

ad

चाँडै कार्यालय पुगेर काम सक्ने मेरो योजना बिथोलियो । म केहीबेर कार्यालयको वल्लो कुनो र पल्लो कुनो चाहर्न थालेँ । यत्ति गरिसक्दा आधा घन्टा बितेछ । अनि पिलिक्क बत्ती बल्यो । बत्ती दिनेवालाले सही सूचना दिएछन् । उनले भनेको सुरुको आधा घन्टामै मैले बत्ती पाएँ ।

काठमाडौं उपत्यका होस् वा देशका कुनै पनि ठाउँ पछिल्लो समय यसरी नै निरन्तर बत्ती जाने गरेको छ । यसरी काटिने बिजुली कहिले १५ मिनेट, आधा घन्टामा आउँछ । कहिले ३–४ घन्टा वा दिनभरि, २–३ दिन वा हप्ता दिन नै आउँदैन ।

देशैभरि यस्तै समस्या छ । समस्या दोहोरिरहेको छ । यो सबैको साझा समस्या, साझा रोग वा साझा पीडा बनेको छ । तर, यसबारे कोही बोल्नेवाला छैन । पीडा पोख्नेवाला छैन । मनभरि पीडा र हैरानीको ऐठन बोकेर भगवान पुज्न मन्दिरमा लाइन लाग्ने आस्तिकहरूको भीड भएका छन्, काठमाडौंबासी । सिंगो देशबासी ।

बिजुली आपूर्तिमा देखिएको यस्तो समस्या लामो वर्षदेखि टालटुल पारेरै काम चलाइएको छ । मौसम विज्ञान विभागले पानी पर्ने भविष्यवाणी गरेदेखि विद्युत प्राधिकरणका कर्मचारी तैनाथ भएर बसेका हुन्छन् । कतिबेला कहाँ दौडिनुपर्ने हो ? कुन ठाउँ जानुपर्ने हो ? अचेल उनीहरूलाई आकाशमा बादलको गड्याङगुडुङ सुन्यो कि दौडिने बानी परेको छ ।

उपत्यकामा पानी पर्नासाथ सडक हिलो हुने, पानी जम्ने त पुरानै समस्या भइसक्यो । पछिल्लो समय यसमा नयाँ समस्या थपिएको छ, बिजुली काटिने वा आपूर्ति बन्द हुने । यहाँ पानी पर्यो । हावाहुरी चल्यो वा अन्य कुनै मौसमी प्रतिकूलता देखियो कि बत्ती जान्छ । प्राधिकरणमा बुझ्दा पानी परेर प्रणालीमा खराबी आएको जवाफ पाइन्छ ।

वितरण लाइनका तार चुडिन्छन् । ट्रान्सफर्मर पड्किन्छ । आगो लाग्छ । तार टाँसिएर प्रणाली नै खरानी हुन्छ । अनि कर्मचारी पिकअप भ्यानमा पछाडि भर्याङ राखेर दौडिन्छन् । दौडिरहन्छन् । उनीहरूको प्रयासमा कति समयपछि काटिएको बिजुली पुनः प्रणालीमा आउँछ । त्यो उनीहरूकै हातको कुरा भयो । यता सर्वसाधारणले भोग्नु दुःख भोगिसकेका हुन्छन् ।

२०७३ सालको लक्ष्मीपूजाको दिनबाट उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरियो । त्यसको केही समयपछि देशैभर लोडसेडिङ अन्त्य गराइयो । २०७५ सालको जेठदेखि औद्योगिक क्षेत्रमा पनि अन्त्य गरियो । तर, समस्या हिजो जस्तो थियो । उस्तै छ । तालिका अनुसारभन्दा निरन्तर आउने विद्युतको सकस झेल्न सर्वसाधारणलाई फलामको च्यूरा चपाउनु भएको छ ।

अनियमित विद्युत कटौती तथा पानी पर्दा वा हावाहुरी चल्नासाथ प्रणालीमा आउने खराबीले मुलुक आक्रान्त छ । यसको दोषी मौसम, प्रणाली, विद्युत प्राधिकरण वा यसको नेतृत्व को हो ? लोडसेडिङ अन्त्यको घोषणा गरेर जनताका आँखामा भगवान बन्ने प्रवृत्तिले दिगो सुधारमा कहाँनिर काम गरेको छ ? प्राधिकरणको नेतृत्वले सोच्ने बेला आयो कि आएन ?

उपत्यकाका समस्या

वितरण प्रणालीमा समस्या छ भन्ने लाटो बुझाइ राख्नेलाई पनि थाहा भइसक्यो । काठमाडौंको वितरण प्रणाली आजको होइन । कतिपय ठाउँमा चन्द्रशम्शेरका पालादेखि तानिएको वा टाँगिएका तार छन् । ती आजसम्म फेर्न नसकिएको प्राधिकरणकै अधिकारी स्वीकार्छन् । चौडा सडक र मुख्य सहरमा मत्र होइन सहरका भित्री बजार, भित्री बजारका पनि भित्री चोक–चोकमा समस्या छ ।

पाटन मंगलबजार क्षेत्र, भक्तपुर दरबार स्क्वायर वा काठमाडौंका असन, इन्द्रचोक, क्षेत्रपाटी वा भेडासिंहका समस्या उस्तै छन् । यहाँ दशकौं पुराना तार छन् । गुजुल्टो पारेर राखिएका तारका पोकाभित्र कतिबेला आगो सल्किन्छ पत्तो हुँदैन । अझ भित्री गल्ली, चोक र एकमाथि अर्को खप्टिएका घरभित्रको वितरण लाइनको अवस्था भयावह छ । मानौ यो विद्युतीय बारुद्धको खानी हो । कुनबेला पड्किन्छ र बस्ती नै ध्वस्त हुन्छ कसैले अनुमान गरेको छैन ।

सहरका भित्री बजारमा मौसममा सामान्य प्रतिकूलता हुनासाथ बत्ती काटिन्छ । यस्ता ठाउँमा अझै इन्भर्टर र जेनेरेटरको बत्तीले दिगो व्यवस्थापन हुने गरेको छ । यी समस्या आजका होइनन् । हिजोबाट सुरु भएका पनि होइनन् । दशकौंदेखि जोडिँदै आएका एकमुष्ठ समस्या हुन् । यिनको समाधान आजको भोलि वा पर्सि नै हुन्छ भन्ने सोच्नु हुँदैन । हुनेवाला पनि छैन । तर, समस्या केलाएर समाधानको दिगो योजना बनाउन सकिन्छ ।

सहरका विद्युतीय तार व्यवस्थित गर्ने, प्राधिकरणको पोलमा टाँगिएका इन्टरनेट र टेलिभिजन सेवा प्रदायकका तार तत्तत्का ठाउँमा मिलाएर राख्न सकिन्छ । यसमा प्राधिकरणको मात्र जिम्मेवारी होइन । इन्टरनेट सेवा दिएर चर्को शुल्क असुल्ने कम्पनी, टेलिफोन सेवा र टेलिभिजन च्यानल प्रवाह गर्नेको पनि उत्तिकै दायित्व र जिम्मेवारी हुन्छ । यसमा सरकारले कडाइ नगर्दा सहरमा गुणस्तरीय विद्युत आपूर्तिको समस्या अझ भयावह बन्दै गएको छ ।

बढ्दो सहरीकरण र लापरबाही ढंगले विद्युतीकरण गर्दा देशका हरेक सहर बस्नयोग्य हुन छोडेका छन् । बिजुली, टेलिफोन, इन्टरनेट र टेलिभिजन च्यानलका तार एउटै पोलमा एकै ठाउँ पोको पारेर राख्दा सहर कुरुप बनेको छ । सुन्दरता हराउँदै छ । यसको ज्वलन्त समस्या हो, तार जोडिएर आगो लाग्नु । सामान्य हावाहुरी चल्दा वा पानी पर्नासाथ पोको पारेर राखिएका तार भिज्ने, खल्बलिने वा एकआपसमा जोडिने गरेका छन् । यही कारण विद्युत सर्ट भई आपूर्ति बन्द हुने गरेको छ ।

एकातिर आपूर्ति काटिँदा अर्कोतफको लाइनमा हाइभोल्टेज करेन्ट प्रवाह हुन्छ । तारको क्षमताभन्दा बढी बिजुली प्रवाह हुँदा तार चुँडिने वा आगो लाग्ने गरेको छ । वितरण स्टेसनका ट्रान्सफर्मरमा बढी विद्युतको लोड थपिँदा जल्ने वा पड्किने घटना दिनहुँजसो दोहोरिएका छन् । विद्युत आपूर्तिमा देखिएको अनियमिता यही हो । हावाहुरी चल्दा वा पानी पर्दा आपूर्ति काटिने गरेको हो । के सामान्य मौसमी प्रतिकूलता पनि धान्न नसक्ने प्रणाली टालटुलमा काम चलाइरहने हो ?

प्राधिकरण नेतृत्वलाई प्रश्न

कुलमान घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेको शुक्रबार २ वर्ष ४ महिना २६ दिन पुगेको छ । यस अवधिमा उहाँले देशमा धेरै चमत्कार गर्नुभयो । विद्युत उत्पादन, प्रसारण र वितरणमा उहाँको चमत्कारलाई देशबासीले भगवानको प्रसाद मानेर ग्रहण गरेका छन् । उहाँ आउने वित्तिकै उपत्यकामा लोडसेडिङ गयो । त्यसको केही महिनापछि देशबाटै अँध्यारो भाग्यो । अहिले औद्योगिक क्षेत्रमा पनि अँध्यारोको नामो निसान छैन ।

२६ प्रतिशतको विद्युत चुहावट १५ प्रतिशतमा झर्यो । तर, चालू आवको ५ महिनामा ५ अर्बकै विद्युत चुहेर गयो । उता भारतबाट ५ सय मेगावाट विद्युत आयात भइरहेको छ । लोडसेडिङ अन्त्य, भारतबाट आयातित विद्युत र व्यवस्थापनले अर्थतन्त्रको सुई कतिसम्म माथि उक्लियो ? कसैले विश्लेषण गरेको छैन । यसको तथ्यांक कसैको अनुसन्धानको दायरामा आएको छैन ।

यता कुलमान सरले चमत्कार गर्न सकेकैले उहाँलाई जनताले भगवान मानेका छन् । इश्वर ठानेका छन् । ब्रम्हा, विष्णु, महेश्वर, पैगम्बर मोहम्मद वा जिसस क्राइष्ट मानेर पुजेका छन् । उहाँलाई यसरी पुजिरहँदा उहाँभित्रका खराब नियत र व्यभिचारप्रति आँखा चिम्लिएको देखिन्छ । भगवान रिसाए भने अनिष्ठ हुन्छ भन्ने पुरातन लोकोक्तिले नेपाली जनमानसमा डेरा जमाएको छ । यसैले कोही बोल्दैनन् । केही भन्दैनन् ।

साँच्चै कुलमान सर देशबासीको भगवान नै हुनुभएको छ । उहाँलाई मान सम्मान गर्नेको कमी छैन । करिब साढे दुई वर्षको कार्यकालमा एक वर्ष त उहाँले आफूलाई भक्तहरूको सामु उभ्याउनै लाग्यो । माला लाउन, सम्मान थाप्न र आर्शिवाद दिनमै सकियो । बचेखुचेको डेढ वर्षमा उहाँले गरेका काम गुणस्तरको तराजुमा राखेर हेर्ने प्रयास भएन । यसैले उहाँ अहिले धर्तीको भगवान होइन आकाशको हुन थाल्नुभएको छ । कलीयुगमा आकाशको भगवान भुइँमा झर्यो भने के हुन्छ ?

काठमाडौंमा समस्या छ । पोखरा, विराटनगर वा नेपालगन्जमा समस्या छ । नौलो कुरा होइन । यी समस्या जादूको छडीले फू–मन्तर गरेर समाधान हुने होइनन् । र, गर्न सकिने कुरा पनि होइन । यिनमा सुधार ल्याउन पहिलो, नियत ठिक हुनुपर्छ । ठिक नियतले योजना बनाउनुपर्छ । योजना कार्यान्वयनमा इमान हुनुपर्छ । इमानले जिम्मेवार र उत्तरदायी बन्न प्रेरित गर्छ । भगवानमा इमान हुन्छ कि हुन्न वा त्यही रूप धारण गर्नुभएको कुलमान सरमा छ कि छैन भन्ने लोकलाई के मतलव !

हिजो प्राधिकरणको नेतृत्वमा आउने कसैले माखो मारेनन् । ती स्वाँठ ठहरिए । अर्बौं कुम्ल्याए । देशलाई अँन्धकारमा राख्ने अपराध गरे । आज सुरुमै दूधले धोएर नेतृत्व छानियो । त्यो दूधजस्तै सेतो देखियो । यो दूधले धोएको अनुहार आज देशभर जाज्वल्यमान भएर चमचमाएको छ । देशबासी यही चम्किएको स्फटिक हेरेर रनभुल्ल छन् । मग्न छन् ।

लोडसेडिङ अन्त्यको नारा लगाइयो । त्यसको अनुभूति गराउनुपर्यो । उदयपुर सिमेन्ट लोडसेडिङका कारण घाटामा जान थालेको खबर आइसक्यो । योमात्र होइन विद्युत आपूर्तिको समस्याले तराईका उद्योगले करोड होइन अर्बौं रुपैयाँ गुमाइसके । फेरि इन्भर्टर, जेटेरेटरको प्रयोग सुरु भइसक्यो । यसको कालो व्यापारले ठाउँ लिन थाल्यो । कुलमान सर, हजार, लाख र करोडौं समस्याको थुप्रोमा बसेर तपाईं मात्र भगवान बनिरहने ?

गर्नुपर्ने काम

सहर वा देशकै प्रसारण र वितरण प्रणाली सुरक्षित छैन । सुरक्षित बनाउन प्रभावकारी उपकरण छैनन् । यही कारण विद्युत आपूर्तिमा सन्तुलन कायम भइरहेको छैन । विकसित देशमा महिना वर्ष वा दशकको तालिका बनाएर प्रसारण तथा वितरण प्रणाली मर्मत तथा स्तरोन्नती गरिन्छ । यहाँ यस्तो कुनै समय तालिका छैन । हावाहुरी चलेपछि वा आकाशमा बादलका धुन बजेपछि कर्मचारी भर्याङ बोकेर दौडिनमात्र अभ्यस्त छन् । बनाइएका छन् ।

बिजुली प्रसारण र वितरणको वैकल्पिक व्यवस्था छैन । एक ठाउँमा समस्या आयो भने अर्को ठाउँबाट विद्युत पुर्याउने कुनै बाटो छैन । कहीँ कतै एन माइनस वान (N-1 criteria) अपनाइएको छैन । यो बिजुली प्रवाहसँग सम्बन्धित उपकरण फेल भए वैकल्पिक बाटोबाट आपूर्ति दिने व्यवस्था हो । अहिले भारतबाट बिजुली ल्याइरहेको प्रणालीमा केही खराबी आयो भने देशमा के होला ?

भारतीय प्रसारण प्रणालीमा समस्या आउँदा गत साता त्यहाँबाट आइरहेको विद्युत कटौती भयो । यही कारण माघ १९ गतेदेखि ३ दिनसम्म तराईका उद्योगले विद्युत पाएनन् । भोलि पनि यो समस्या नदोहोरिएला भन्न सकिन्न । हामी यता टालटुलमै रमाइरहने ?

अब फाटेको कपडा टालेर वा चुहिएको भाँडोमा टिनको टुक्रो गाँसेर प्रणाली चल्दैन । कर्मचारीलाई भर्याङ बोकाएर दौडाइरहने वा युद्ध लड्ने सिपाहीझैँ तैनाथ राखिरहनुपर्ने हो भने कुलमान सरको क्षमता र योग्यता कहाँ देखियो ? यही समस्या दोहोरिरहने हो भने यहाँलाई देशबासीले कहिलेसम्म पुजिरहने ?

झलझलाकार भइरहेको कुलमान सरको अनुहारले देशलाई कहिलेसम्म यही अवस्थामा राख्ला ? भोलिले बताउला । यद्यपि, आफू टिक्न, देशको समृद्धिमा इँटा थप्न र देशबासीलाई घात नगर्न उहाँले केही त अवश्य गरेर जानुपर्छ ।

पहिलो काम, हरेक सहरको अस्तव्यस्त वितरण प्रणाली टालटुल पार्ने होइन । दिगोरूपमा टिक्ने बनाउनुपर्छ । जनतामा उज्यालोको भ्रम छर्ने होइन । सधैंभरि टिकिरहने बनाउनुपर्छ । यसो गर्न कुलमान सर पहिला मान्छे बनेर मैदानमा उत्रिनुपर्यो । किनकि भगवान निर्जिव हुन्छन् । उनले माला लाउने र आर्शिवाद दिनेमात्र काम गर्छन् । व्यवहारिक काम गर्दैनन् ।

अब हरेक सहर, भित्री बजार र चोकका वितरण लाइनमा सुधार हुनुपर्यो । त्यहाँका बासिन्दालाई बारुदभित्रको भयावह अवस्थाबाट बाहिर ल्याउनुपर्यो । अव्यस्थित सहरमा आफ्ना कर्मचारीले घुस खाएर बिजुली जोड्ने काममा कडाइ गर्नुपर्यो । मिटर जडान गर्दा हप्ता असुल्ने चलन फेर्नुपर्यो । सहरका तार व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्नुपर्यो । पायक पर्ने र आर्थिकरूपमा सम्भव हुने ठाउँका वितरण लाइन भूमिगत बनाउनुपर्यो । कुलमान सर, यस्तो कामले तपाईंलाई आदर्श मान्छे बनाउँछ । भगवान बन्नै पर्दैन ।

उल्लेखित काम गर्न वितरण प्रणालीको योजना बनाउनुपर्यो । वा विद्युत वितरण गुरुयोजना हुनुपर्यो । भविष्यमा समस्या आएको ठाउँको समाधान सम्बन्धित कार्यालयमै बसेर गर्न सक्ने प्रविधिको विकास हुनुपर्यो । स्मार्ट ग्रिडको विकास तथा टिओडी मिटर जडान गरेर प्रसारण वा वितरणलाई स्वचालित प्रणालीमा लैजानुपर्यो । आज काम थाले ५ वर्षमा पक्कै परिणाम देखिएला । यसो गर्न अहिलेसम्म के–के योजना बने ? सार्वजनिक गर्नुस् । नत्र भ्रमको खेती गर्न छोड्नुस् ।

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="