Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तिर्खा हेरेर बगिरहन्छ महाकाली, पानीको लोभमा ज्यानको आहुति

कमला वड जेठ १, २०७६   1820

फिचर



बैतडी– तिर्खाले महाकाली खोज्छ, महाकालीले ज्यान । यस्तै भयो, पञ्चेश्वरकी वसन्ता चन्दको जीवनमा । पानीको तिर्खा शान्त पार्न गाग्री बोकेर महाकाली किनारतिर झरेकी उनी फेरि फर्किनन् ।

वसन्तालाई महाकालीले निल्यो । तिर्खा पनि महाकालीकै पानीमा मिसिएर दक्षिण हुत्तियो । यो महाकालीलाई हेरेर जीवनको रथ हाँक्नेहरूको प्रतिनिधि घटना मात्र हो । हरेक वर्ष कति वसन्ता यसरी नै महाकालीमा हेलिन्छन् । यसैको काखमा समाहित भएर जीवनबाट अलप हुन्छन् ।

ad

आजसम्म मनभरिको तिर्खा मेट्न नपाएका हजारौं वसन्ताहरूले महाकालीमा आहूती दिए । वा महाकालीमा समाधी लिए । अझै यही नदीको पानी पिएर आफू तृप्त हुने कल्पनामा हजारौं लाखौं सर्वसाधारण व्याकुल छन् ।

छेउमै महाकाली बगिरहन्छ । तर, पञ्चेश्वर–४ विनायकका महिलाले तृप्त भएर पानी पिउन नपाएको दशकौं भयो । महाकालीको छाल कतिखेर बढ्छ पत्तो हुँदैन । तिर्खा लागे पनि त्रासले यहाँका महिला नदी छेउ जान डराउँछन् ।

बैतडीको पञ्चेश्वर मात्रै होइन, महाकाली किनारमा बसोबास गर्ने नेपाल–भारत दुवै देशका महिलाको पीडा उस्तै छ । डुङ्गा तरेर सीमा वारपार गर्ने दुवै देशका नागरिक तिर्खा लागे पनि महाकाली जाँदैनन् । डर पाल्छन् । र, आँत सुकाएर बसिरहन्छन् ।

नदीले निम्त्याउने विपद्बाट जोगिन अहिले नेपाल–भारतका महिलाहरू एक जुट हुन थालेका छन् । महाकालीको डर भगाउन हातेमालो गर्न जुटेका छन् । नदीको पानी सदुपयोग गर्न अक्सफाम नेपाल र रुडेस बैतडीले दुवै देशका महिलालाई संयुक्तरूपमा पहिलो पटक तालिम अभ्यास गराएको छ ।

पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनाय र भारतको तडिमियाँ ग्रामसभाको रौतगाडामा नेपाल– भारत पैरवी मञ्चका महिला जम्मा भएका थिए । उनीहरूले संयुक्तरूपमा जागरुक हुन पैरवी मञ्च गठन गरेका छन् । मञ्चमार्फत उनीहरूले विपद्सँग सामना गर्ने तालिमसमेत गरेका छन् ।

महाकालीमा पानीको बहाबसम्बन्धी जानकारी दिन भारततर्फ नागरिकको मोबाइलमा सूचना आउँछ । नेपालतर्फ पूर्वसूचना प्रणाली छैन । भारतीय महिला वा नागरिकले पाएको बाढी सम्बन्धी पूर्वसूचना आदानप्रदान गर्न र सुरक्षित हुनकै लागि मञ्च गठन भएको हो ।

मञ्चले भारतीयको मोबाइलमा आउने पूर्वसूचना नेपालीलाई जानकारी दिने सहमती भएको छ । गत बैशाख १४ गते भारतको पिथौरागढ जिल्लाको रौतगाडामा जम्मा भएका नेपाल–भारतका महिलाले संयुक्त रुपमा प्राकृतिक विपद्का विषयमा छलफल पनि गरेका थिए ।

छलफलपछि दुवै तर्फका महिलाले महाकाली किनारका समस्या पहिल्याएका छन् । नेपालीले बाह्रै महिना धमिलो पानी पिउनुपर्ने, नदीको बहाब सम्बन्धी पूर्वसूचना प्रणाली नभएको र नदीले वर्षेनी खेत बगाउने गरेको बताए । भारतीयले पनि महाकालीले खेत बगाउने गरेको र नदीमा नेपालीले मात्रै डुङ्गा चलाउन पाएको गुनासो राखे ।

नेपाल–भारत सीमामा बिहेवारी हुने गरेको छ । जन्ती पनि डुङ्गा तरेरै जान्छन् । आउँछन् । बिहेपछि भेटघाट र दुःख–मर्का पर्दा नेपाल जान नसकेको भारतीय महिला खिमादेवी साउदले बताइन् ।

मञ्च गठनपछि दुवै देशका महिलाहरू एकै ठाउँ भेला भएर दुःख–सुख साटासाट गरिरहेको भेटिन्छन् । यसमा नेपाली मात्र होइन भारतीयहरू खुसी पनि देखिन्छन् । महाकालीमा पानीको बहाब बढेको सूचना भारततर्फ जानकारी आउनेबित्तिकै नेपालमा पनि खबर गर्ने भारतीयले बताएका छन् ।

प्राकृतिक विपद् र महाकालीमा पानीको बहाब बढेका बेला ढुङ्गा चलाउँदा, पानी भर्न जाँदा बैतडीको तल्लो स्वराडबासी त्रसित हुने गर्छन् ।

भारतले धौलीगंगा विद्युतगृह सञ्चालन गर्दा वा बाँधको पानी छोड्दा बहाबसम्बन्धी भारतीयलाई सूचना अउँछ । तर, नेपालीहरू बेखबर हुन्छन् । यही कारण हुँदा पानी भर्ने बेला पञ्चेश्वर–४ बिनायककी बिस्ना चन्द गाग्री सहित महाकालीमा हराइन् । पानी ख्वाउन लगेका बस्तुभाउ समेत बगाउने गरेको विनायककै पार्वती चन्द बताउँछिन् ।

पछिल्लो समय महाकाली तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई जोगाउने प्रयास गरिएको छ । पानीको सदुपयोग तथा नदीले निम्त्याउने खतराबारे अक्सफाम र रुडेस बैतडीले पैरवी कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

तटीय क्षेत्रमा बसोबास गर्ने महिलाले गठन गरेको मञ्चले कहिले नेपाल त कहिले भारतमा संयुक्त बैठक राख्छ । यसमा समुहिक छलफल हुने गरेको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए ।

विपद्का बेला महिलाहरू बढी प्रभावित हुने हुँदा संयुक्त जागरुकता बढेको छ । यसबाट आफू निकै खुसी भएको महिला तथा बाल अधिकारको क्षेत्रमा क्रियाशील कार्ड संस्था पिथौरागढकी भागीरथी पोखरियालले बताइन् । ‘दुवै देशका महिलासँग भेटेर उहाँहरूको योजना र समस्या सुन्दा विपद्सँग जुँध्न साँच्चै जागरुकता आएको छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="