Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५३५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ११३५३ मे.वा. घन्टा
  • भारत : १०८० मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०९६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सरकार मेगा प्रोजेक्टकाे सपना बाँड्दै

जेठ १८, २०७६   2034 लेख


वीरसिंह धामी

विशाल इन्जिनियरिङ संरचना अर्थात ‘मेगा प्रोजेक्टहरू’ मा अहिले संसारकै सबैभन्दा बढी लगानी छ। विश्वको कूल गार्हस्थ उत्पादनको करिब ८ प्रतिशत जति लगानी मेगा प्रोजेक्टहरूमा भएको देखिन्छ । अहिले यो क्षेत्रमा वार्षिक करिब ६ देखि ९ खर्ब अमेरिकी डलर लगानी रहेकोमा सन् २०३० सम्म बढेर करिब ७० खर्ब डलर पुग्ने अनुमान ओइसिडीले गरेको छ ।

विश्व बैंकको लगानीका आयोजनाहरूको मात्र हिसाब हेर्ने हो भने वार्षिक २० अर्ब डलर लगानी यो क्षेत्रमा रहेको देखिन्छ । विकासशील तथा विकसित सबै देशले आफ्ना विविध भू-राजनीतिक, सामाजिक, आर्थिक र वातावरणीय समस्याबाट पार पाउने उद्देश्यले सो क्षेत्रमा लगानी बढाउदै लगिरहेको देखिन्छ । चीनले सन् २००४ देखि सन् २००८ सम्मको ५ वर्षमा भौतिक पूर्वाधारमा गरेको लगानी हेर्दा उसले पुरै २०औं शताब्दीमा गरेको लगानीभन्दा बढी देखिन्छ ।

ad

यूरोपले दुई दशकभन्दा बढी समय लगाएर हाइस्पिड (उच्च गतिकाे) रेलका लागि जति किलोमीटर लाइन निर्माण गरेको थियो । चीनले त्योभन्दा बढी सन् २००५ देखि सन् २००८ सम्मको ४ वर्षमा निर्माण गर्न सफल भएको छ । अझ रोचक तथ्य त के छ भने विश्वशक्ति अमेरिकाले २०औं शताब्दीभर प्रयोग गरेको सिमेन्टभन्दा डेढ गुणा बढी सिमेन्ट चीनले सन् २०११ देखि सन् २०१३ सम्मका ३ वर्षमै प्रयोग गरेको छ ।

मेगा प्रोजेक्टहरूले सम्बन्धित देश र जनताको जीवन र वातावरणमा आमूल परिवर्तन ल्याउने क्षमता राख्छन् । यी प्रोजेक्टले सयौं वा हजारौंलाई होइन दशौं लाख जनतालाई प्रभावित गर्दछन् । उदाहरणका लागि संसारकै सबैभन्दा व्यस्त भनेर चिनिने दुबई विमानस्थल एउटैले त्यहाँको रोजगारीको २१ प्रतिशत र कूल गार्हस्थ उत्पादनको २७ प्रतिशत हिस्सा ओगटेको छ ।

यसैगरी, दिल्ली मेट्रो तथा हङकङ मेट्रो रेल बिनाको त्यहाँको जीवन कल्पना गर्न सकिँदैन । मानवले जंगली युग छोडेर व्यवस्थित बस्ती सुरु गरेदेखि भौतिक पूर्वाधार मानव जीवनको एउटा अभिन्न पाटोको रूपमा रहँदै आएको छ । प्राचीन समयका सात आश्चर्यदेखि अहिलेका भीमकाय बाँध, नहर, गगनचुम्बी महल, विशाल विमानस्थल, पूल, तेल र ग्याँसलाइनका पाइपलाइन, खानी, रंगशाला, इन्टरनेट सञ्जाल, अन्तरिक्ष तथा अनुसन्धान केन्द्रहरू मार्फत मानवले आफ्नो सामर्थ्य र क्षमताको प्रदर्शन गरेकाे छ । साथै, जीवन सहजी बनाएकाे छ ।

अहिलेको युग भौतिक पूर्वाधारको युग हो । आफूलाई समृद्ध तुल्याउन वा विश्वसामु आफ्नो अस्तित्व स्थापित गर्न होस् सबै देशले कुनै न कुनै मेगा प्रोजेक्टहरूको सपना देखेका हुन्छन् । विश्वव्यापी रूपमा स्वीकृत मापदण्डअनुसार लगानीको हिसाबले एक अर्ब अमेरिकी डलरभन्दा बढी लागत अनुमान गरिएका आयोजनालाई मेगा प्रोजेक्ट भनिन्छ । तथापि, अहिले विश्वमा सय अर्ब डलरसम्मका मेगा प्रोजेक्टहरू सञ्चालनमा छन् ।

हर्सम्यानले मेगा प्रोजेक्टलाई समाज परिवर्तनका सम्वाहकका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार यस्ता प्रोजेक्टहरू परम्परागत जस्तो चलनचल्तीको सामाजिक अवस्थामै ‘फिट’ हुने नभई समाजको संरचना र दिशा नै परिवर्तन गरिदिने खालका अर्थात ‘ट्रेट मेकिङ’ गर्ने हुन्।

सुरु सुरुमा मेगा प्रोजेक्टलाई समाजले स्वीकार्न गाह्रो हुन सक्छ । अक्सफोर्ड विश्वविद्यालका प्राध्यापक फिलिप जर्गले मेगा प्रोजेक्टलाई धेरै ठूलाे साइज, धेरै जटिल प्रकृतिको, धेरै खर्च लाग्ने, निर्माण सम्पन्न गर्न धेरै समय लाग्ने र धेरैको सरोकार हुने चित्रित गरेका छन् ।

दुबईको बुर्जखलिफा, सिडनीको ओपेरा हाउस, चीनको थ्री गोर्जेज, थाइल्याण्डको बैंकक मेट्रो, संयुक्त राज्य अमेरिकाको बोस्टन बिग डिग सुरुङ तथा भारतको नदी जडान आयोजना विश्वका केही चर्चित मेगा प्रोजेक्टहरू हुन् ।

नेपालले पनि मेगा प्रोजेक्टको सपना देख्न थालेको २०औं शताब्दीकाे मध्यतिरबाट हो । सन् १९६० को दशकदेखि नै सपना देखेको कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजना (१०,८०० मेगावाट ) बनेको भए अहिले हामीसित विश्वकै तेस्रो ठूलो जलविद्युत आयोजना हुन्थ्यो ।

नेपालले सपना देखेका अरू मेगा प्राजेक्टहरू निजगढ अन्तर्राष्ट्रीय विमानस्थल (लागत अनुमान करिब ६.५ अर्ब अमेरिकी डलर), काठमाडाैं-तराइ फास्ट ट्रयाक (करिब १.५ अर्ब डलर), बूढीगण्डकी (करिब २.५ अर्ब डलर) र पश्चिमसेती जलविद्युत आयोजना मुख्य छन् ।

यी आयोजनालाई सरकारले हाल राष्ट्रिय गौरवकाे आयोजनाका रूपमा सञ्चालन गरिरहेको छ । तर, ती आयोजना विकासको गति हामीले देखेकाे मेगा प्रोजेक्टकाे सपना वा विपना हुन् भन्ने निर्क्याेल भइसकेकाे छैन । यस्ता आयाेजना निर्माण हुन अझै धेरै समय कुर्नुपर्ने देखिन्छ ।

मेगा प्रोजेक्टलाई सफलतापूर्वक सम्पन्न तथा सञ्चालन गर्न सम्बन्धित देशको जनशक्तिको दक्षता, सामर्थ्य, इच्छाशक्ति र प्रतिबद्धतामा भर पर्दछ । प्राध्यापक फिलिप जर्गकै भाषामा “यदि परम्परागत आयोजनाहरू सञ्चालन गर्न आयाेजना प्रमुख (प्रोजेक्ट म्यानेजर) लाई ड्राइभरको लाइसेन्स चाहिन्थ्याे भन्ने हो भने मेगा प्रोजेक्टहरू सञ्चालन गर्नेलाई जम्बो जेट बिमानको पाइलटको लाइसेन्सको जरुरत पर्दछ” ।

अर्थात् मेगा प्रोजेक्टहरूको व्यवस्थापन गर्न  त्यही अनुसार दक्ष जनशक्ति तथा अनुभवी हुनु जरुरी छ । भनसुन, चाकडी, पैसाको बल र आफ्नो मान्छेको नाममा नियुक्त हुने जनशक्तिबाट यस्ता प्रोजेक्टहरूको निर्माण, सञ्चालन तथा व्यवस्थापन सम्भव हुँदैन ।

आलोचकहरूले मेगा प्रोजेक्टलाई धेरै खर्च चाहिने, तोकिएको समयमा सम्पन्न नहुने र लामो समय जरुरी हुने, जटिल प्राविधिक र वातावरणीय समस्या सिर्जना गर्ने तथा आशातित प्रतिफल नदिने भन्दै आलोचना गर्ने गरेका छन् । उदाहरणका लागि संयुक्त राज्य अमेरिकाको पूर्वाधार विकासको इतिहासमै प्राविधिकरूपले सबैभन्दा चुनौतीपूर्ण मानिएको ‘बिग डिग ‘ प्रोजेक्ट तोकिएको समयभन्दा ८ वर्ष पछाडि र अनुमानित लागतभन्दा करिब २२० प्रतिशत बढी खर्चमा सम्पन्न भएको छ ।

संसारकै सबैभन्दा उच्च प्रविधियुक्त दक्ष जनशक्ति र सम्पन्न मुलुकको समेत यो हविगत हुने यो पूर्वाधार आयोजना कस्तो होला भनेर कल्पना गर्न सकिन्छ । यसैगरी, ४ वर्षमा निर्माण सम्पन्न हुने आश गरिएको अष्ट्रेलियाको सिड्नी ओपेरा हाउस १४ वर्ष र १४०० प्रतिशत बढी रकम खर्च गरेरमात्र पूरा भयो ।

अहिले सबैले प्रशंसा गर्ने बैंककको मेट्रो प्रोजेक्टकाे लागत अनुमानभन्दा ७० प्रतिशत बढी खर्च भयो । प्राध्यापक फिलिप जर्गले विश्वभरीकाे विस्तृत अध्ययनसहितको निष्कर्षबाट मेगा प्रोजेक्टहरूको आलोचना गरे पनि बकनेल युनिभर्सिटीका बेन मार्सले भने मेगा-प्रोजेक्टलाई प्राचीन सात आश्चर्यसँग तुलना गरेका छन् ।

उनले यस्ता प्रोजेक्टहरूले सम्बन्धित देशको संस्कृतिको अंगको रूपमा काम गर्ने कुरा उल्लेख गरेका छन् । उनी भन्छन्, ‘मेगा प्रोजेक्टले केवल खर्चमात्रै गर्दैनन् । तिनले सम्बन्धित देशको सरकारको सामर्थ्य र व्यवस्थापन कौशल झल्काउछन् ।’ कमजोर सरकार र कमजोर देशले मेगा प्रोजेक्ट सञ्चालन, सम्पन्न र सफलतापूर्वक व्यवस्थापन गर्न सक्दैनन् ।

मेगा प्रोजेक्टहरूले सामाजिक, आर्थिक र वातावरणीय परिवर्तनबाहेक त्यो देशका जनता र सरकारको इच्छाशक्ति र प्रतिबद्धता प्रतिविम्बित गर्दछन् । विश्वमञ्चमा दरो गरेर खुट्टा टेकाउन मदत गर्दछन् । बाँकी विश्वलाई आफूले सिर्जना गरेको गौरव लाग्ने कुरा देखाई आफ्नो अस्तित्व स्थापित गर्न सहयोग गर्दछन् ।

एक हिसाबले मेगा प्रोजेक्टहरूले त्यो देशको सम्पूर्ण शक्ति (सिम्बोल अफ पावर) को परिचय दिन्छन् । यी सबै कुराको मूल्य तोक्न सकिँदैन । आर्थिकरूपले मात्रै गरेको मूल्याकंनबाट मेगा प्रोजेक्टहरूले समाज र देशलाई पुर्‍याएको योगदान मापन गर्न सकिँदैन ।

इजिप्टस्थित आश्वन बाँधको विस्तृत अध्ययन गरेका समाजशास्त्री हुसेन एम फहिम भन्छन्, ‘आर्थिक र सामाजिक सूचकहरूले बहुआयमिक समाजको केवल एकल आयममात्र प्रस्तुत गरेका हुन्छन्।’ संसारभरि जति विरोध भए पनि चीनले थ्री गोर्जेज प्रोजेक्ट सम्पन्न गरेरै छाेड्यो । चीनले उक्त भीमकाय प्रोजेक्ट (२२,५०० मेगावाट जलविद्युत) निर्माण गरेकाे अवधि वा समय हामीले ३० मेगावाटको चमेलिया बनाउन खर्च गर्याैं ।

नेपालको सन्दर्भमा मेगा प्रोजेक्ट निर्माण भाषणमा मात्र आकर्षक देखिन्छ । सरकारले हाल सञ्चालन गरिरहेका २१ राष्ट्रिय गौरवका आयोजनामा हाम्रो कार्यान्वयन क्षमता, स्थानीयस्तरको विवाद, जग्गा प्राप्तिमा कठिनाई र अन्तरनिकाय समन्वयकाे अवस्था दयनीय देखिन्छ । विभिन्न रणनैतिक आयोजनाको कार्यान्वयन सन्दर्भमा सरकार नै स्पष्ट हुन नसकेको देखिन्छ ।

काम सफल भए सबै जस आफूले लिने असफल भए सबै अपजश आफ्ना सहयोगी वा अरूको टाउकाेमा थुपार्ने प्रवृति हाबी छ । आयोजना सञ्चालन गर्दा व्यक्तिगतरूपमा मैले के पाउँछु भन्ने “रेन्ट सिकिङ मेन्टालिटी” ले सबैलाई गाँजेको छ । यस्ता प्रोजेक्टमा काम गर्ने प्राविधिकहरूको मनोबल उच्च राख्ने र त्यस्तो दक्ष जनशक्ति उत्पादन गर्ने कुनै संयन्त्र छैन ।

भागबण्डामा आफ्ना मान्छे भर्ना गर्ने चलनले प्रसय पाएको छ । यस्तो अवस्थामा न त कुनै रचनात्मक कामकाे सुरुवात हुन्छ न कसैले जाेखिम लिएर कुनै निर्णय लिने हिम्मत गर्छ । यसका साथै मेगा प्रोजेक्टमा “रिस्क” र “अनिश्चितता” पनि विशाल (मेगा) नै हुन्छ। आयोजनाको निर्माणपूर्व अनुमान गर्नै नसकिने थुप्रै समस्या कार्यान्वयनसँगै बाहिरिन्छन् । तिनको समाधान गर्न उच्च मनोबलयुक्त संयन्त्र चाहिन्छ ।

दक्ष जनशक्ति, सरकारी संयन्त्र, अध्ययन अनुसन्धान गर्ने र समाधान खोज्ने संस्थापकीय व्यवस्था, राजनैतिक नेतृत्वको सहयोग, सामाजिक वातावरण, समयमै उचित निर्णय लिन पालन गर्नुपर्ने प्रक्रिया, कानुनहरू तथा निर्णय क्षमता भएका व्यक्तिले भोग्नुपरेका तीता यथार्थ सबैको अवस्था हेर्दा हामी अझै मेगा प्रोजेक्टहरू सञ्चालन गर्न तयार भइसकेको अवस्था देखिँदैन ।

(लेखक सिँचाइ विभागका सिनियर डिभिजन इन्जिनियर हुन् )

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="