Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

करोडौं लगानीका लघुजलविद्युत बन्द, स्थानीयमा बजेट छैन केन्द्रले हेर्दैन

रमण जोशी जेठ ०५, २०७६   1794

नवीकरणीय ऊर्जा



बैतडी– जिल्लामा सबैभन्दा बढी लघुजलविद्युत आयोजना निर्माण भएर चर्चामा रहेको सिगास गाउँपालिकाले यसको अनुभूति कहिल्यै गर्न पाएन । निर्माण भएका सबै आयोजना बन्द भएपछि गाउँमा यसको अनुभूति गर्न सकिएको छैन ।

एउटै गाउँपालिकामा सातभन्दा बढी लघुजलविद्युत आयोजना छन् । तर, गाउँलेले यसको बत्ती पाल्न पाएका छैनन् । पैसा हुने, टाठाबाठा व्यापारीले भने सोलार जडान गरेका छन् । सोलारको तुलनामा जलविद्युत भरपर्दो र गुणस्तरीय हुन्छ तर बन्द भएपछि विकल्प रोज्नुपरेको छ ।

ad

गाउँपालिकाले राष्ट्रिय प्रसारण लाइन माग गरे पनि अहिलेसम्म यहाँ ग्रिड पुग्न सकेको छैन । सोलारबाट सेवा दिएको भन्दै स्थानीय व्यापारीहरू एकप्रति फोटोकपीको ५० रुपियाँसम्म असुल्ने गरेको गाउँपालिका जाने सेवाग्राहीको गुनासो छ । जलविद्युत भएको भए यस्तो लुट गर्न व्यापारीलाई छुट हुँदैनथ्यो ।

तत्कालीन जिल्ला विकास समितिले ऊर्जा शाखामार्फत ३० करोड रुपैयाँ खर्च गरेर निर्माण भएका लघुजलविद्युत बन्द हुँदा गाउँलेहरू झरो र टुकी बाल्न बाध्य छन् । ‘१० वर्षअघि गाउँमा झिलिमिली बत्ती थियो । आयोजना बन्द भएपछि हिजो दिन सपना जस्तै भएको छ,’ स्थानीय टिकासिंह ऐरले भने, ‘लघुजलविद्युत बन्द छन् । मर्मत गर्न कतैबाट बजेट आएन ।’

समयमै मर्मत नहुँदा अहिले पोलमा टाँगिएका तारसमेत चोरी भएको ऐरको भनाइ छ । विद्युतगृहका मेसिन खिया लागेर सडिरहेको भन्दै उनले दुखेसो गरे । यसमा स्थानीय सरकार वा सरोकारवाला कसैले ध्यान नदिएको अधिकांश स्थानीय बताउँछन् ।

गाउँपालिकामा झन्डै ३० करोड रुपैयाँमा १० किलोवाटको सिरडी खोला, ८ किलोवाटको बल्ले खोला, १८ किलोवाटको नेउलाडीगाड, २२ किलोवाटको थलालीगाड, १५ किलोवाटको इरानागाड, १६ किलोवाटको न्वाघरीगाड र २३ किलोवाटको च्वाँगढ निर्माण गरिएको थियो ।

२०५८ देखि २०६५ सालसम्म निर्माण भएका ती कुनै पनि आयोजना अहिले सञ्चालनमा छैनन् । बन्द भएका आयोजना मर्मत गरिदिने तत्कालीन जिविसमातहतको ऊर्जा शाखा अहिले जिल्लामा छैन । स्थानीय, प्रदेश र संघीय सरकारले समेत ध्यान नदिँदा आयोजना अलपत्र छन् ।

साबिकका चौखाम, गाँजरी, सिगास, ढुंगाड, थलाकाँडा र शिवलिङ गाविस मिलेर बनेको सिगास गाउँपालिका खोलानाला, वनजंगल र जडीबुटीले धनी भए पनि यसको महत्त्वको ख्याल गरिएको छैन ।

बाढी पहिरो र चट्याङका कारण आयोजना बन्द हुँदा गाउँपालिकाका अधिकांश बासिन्दा अँध्यारोमा बस्न बाध्य छन् । चट्याङ्ले इरानागाड बन्द भएपछि २ नम्बर वडाका गाँजरी र इराना गाउँमा अँध्यारो छाएको स्थानीय देवबहादुर धामीले बताए ।

समयमै मर्मत नहुँदा आयोजनाका उपकरण खोलामा अलपत्र छन् । स्थानीय स्वास्थ्यचौकी, वडा कार्यालय र विद्यालयमा उज्यालो नहुँदा बिद्यार्थी र सेवाग्राही मर्कामा परेको गाँजरीका स्थानीय चन्द्र धामीले बताए । अहिले ऊर्जा शाखा र प्राविधिक नहुँदा आयोजना बन्द भएको इरानागाड लघुजलविद्युतका उपभोक्ता वीरसिंह धामीले बताए ।

जिविस हुँदा ऊर्जा शाखामा कर्मचारी र एक इन्जिनियर करारमा भर्ना गरिएको थियो । संघीयतापछि जिविस खारेज भयो र कर्मचारी पनि राख्न नसकिएको जिल्ला समन्वय समिति बैतडीले जनाएको छ ।

पुराना आयोजना मर्मत गर्ने भन्दै गाउँपालिका अध्यक्ष हरिसिंह धामीले चालू आर्थिक वर्षमा थलालीगाडका लागि ५० लाख रुपैयाँ बिनियोजन गरिएको बताए । बजेट बिनियोजित गरे पनि आवको अन्त्यसम्म योजना मर्मत हुने संकेत देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस