काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काभ्रेकाे बेथानचोकमा विद्युतीय दुर्घटनामा ज्यान गुमाएका चेतनाथ पौडेलको परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । काठकाे पाेल ढलेर प्रवाह भएकाे ११ हजार किलोभोल्टको करेन्ट लागेर ज्यान गुमाएका उनकाे परिवारलाई क्षतिपूर्ति दिन प्राधिकरण सहमत भएकाे हाे ।
प्राधिकरणकाे चरम लापरबाहीका कारण जिर्ण अवस्थाकाे काठकाे पाेल ढलेर करेन्ट लाग्दा पाैडेलकाे मृत्यु भएकाे थियाे । आवश्यक प्रक्रिया पूरा भएपछि क्षतिपूर्ति बापतकाे रकम प्राधिकरणले निकासा गर्ने काभ्रे वितरण केन्द्र प्रमुख रञ्जनराज गुरुङले बताए । उनका अनुसार मृतकका परिवारलाई काजकिरिया खर्चका लागि २५ हजार रुपैयाँ वितरण केन्द्रले दिएकाे छ ।
अहिले दिएकाे २५ हजार रुपैयाँमध्ये १५ हजार रुपैयाँ क्षतिपुर्ति बापत आउने ५ लाख रुपैयाँबाट कटाैती गरिने उनले बताए । १० हजार रुपैयाँ वितरण केन्द्रमा कार्यरत कर्मचारीले मृतकका परिवारलाई दिएका हुन् । क्षतिपुर्ति रकमसँगै मृतक पौडेलकी श्रीमतीलाई राेजगारीकाे अवसर दिने सहमती भएकाे गुरुङले बताए ।
क्षतिपूर्ति रकम दिलाउन आवश्यक प्रक्रिया अगाडि बढाएको पनि उनले जानकारी दिए । प्राधिकरण प्रादेशिक कार्यालय काठमाडौंले समिति गठन गरी घटनाकाे स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गर्ने वितरण केन्द्रले जनाएकाे छ ।
बेथानचोक गाउँपालिकाले पनि काजकिरियाका लागि मृतकका परिवारलाई २५ हजार रुपैयाँ सहयाेग उपलब्ध गराउने प्रमुख प्रेम बहादुर तिमल्सिनाले बताए । उनका अनुसार गाउँपालिकाले पाैडेलका एक सन्तानकाे शिक्षाकाे सबै खर्च उठाउने जिम्मेवारी लिएकाे छ ।
जिर्ण अवस्थाका विद्युतीय पाेल ढल्दा हरेक वर्ष कयाैं सर्वसाधारणकाे ज्यान जाने गरेकाे छ । प्राधिकरणले काठका पाेल हटाउने घाेषणा गरे पनि बजेट अभावकाे कारण देखाउँदै आलटाल गर्दै आएकाे छ । जिर्ण अवस्थाकाे पाेल फेर्न प्राधिकरणलाई पटक–पटक आग्रह गर्दासमेत अटेर गरेका कारण शनिबारको दुर्घटना भएको स्थानीयको आरोप छ ।
याे पनि पढ्नुहाेस
प्रतिक्रिया दिनुहोस