काठमाडौं- नेपाल विद्युत प्राधिकरणको विद्युत सेवा लिने ४ लाख नयाँ ग्राहक थपिएका छन् । एक वर्षको अवधिमा विद्युतीकरण विस्तारपछि राष्ट्रिय प्रसारण प्रणालीको सेवा लिने ग्राहककाे संख्या बढेकाे हाे ।
२०७६ साउनसम्मको तथ्याङ्कअनुसार नयाँ ग्राहक थपिएपछि विद्युतीय पहुँच पुग्ने ग्राहकको संख्या ३९ लाख ९ हजार पुगेको प्राधिकरणले जनाएको छ । अहिले करिब १२ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदा प्राधिकरणले विद्युतीय संरचना निर्माण गरी सेवा नपुगेको क्षेत्रमा विद्युतीकरण गरेर ग्राहक संख्या बढाएको हो ।
सामुदायिक विद्युतीकरणको सेवा लिने ग्राहकको संख्या ५ लाख छ । प्राधिकरण र सामुदायिकको गरी अब ४४ लाख ९ हजार घरधुरमा विद्युत जोडिएको छ ।
प्राधिकरणका अनुसार अब कूल जनसंख्याको ६४ प्रतिशत अर्थात करिब २ करोड २० लाख जनतामा विद्युतीय पहुँच पुगेको छ । ३६ प्रतिशत अर्थात करिब ८० लाख जनता अझै परम्परागत ऊर्जाका स्रोतको उपयोग गरिरहेका छन् ।
राष्ट्रिय प्रसारण प्रणालीको विद्युतीय पहुँच नपुगेको क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधि पुर्याएर विद्युतीकरण गर्ने सरकारको लक्ष्य छ । राष्ट्रिय प्रसारण प्रणाली नपुगेका दुर्गम क्षेत्रका करिब १८ प्रतिशत जनताले नवीकरणीय ऊर्जाका स्रोतको उपयोग गरेर विद्युत सेवा लिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस