Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :६३९६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६२२२ मे.वा. घन्टा
  • भारत : ८४८४ मे.वा. घन्टा
  • ट्रिपिङ : ८० मे.वा. घन्टा
  • माग : २११८२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कर्मचारीलाई लगाम, कार्यालय समयभन्दा एक घन्टाअघि हाजिरी नगरे बिदा काटिने

ऊर्जा खबर असार ३०, २०७६   11319

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरणले सुशासन तथा कर्मचारी व्यवस्थापनमा ध्यान दिँदै कार्यालय समयमा कडाई गर्ने निर्णय गरेको छ । कर्मचारीहरू समयमा नआउने र कार्यालय छुट्नुअघि नै हिँड्ने परिपाटी अन्त्य गर्न यसो गरिएको हो ।

कर्मचारी तोकिएको समयभन्दा ढिलो आए वा हाजिरी गरे त्यस्तो समय गणना गरी सुविधाको वा पाकेको एक दिन बिदा स्वतः काटिने निर्णय भएको छ । प्राधिकरणले साउन १ गतेदेखि यो निर्णय लागू गर्न सबै निर्देशनालयहरूलाई आइतबार सर्कुलरसमेत गरेको छ ।

केन्द्रीय कार्यालयमा विद्युतीय हाजिरी प्रणालीमा कार्यरत कर्मचारीले तोकेको समयभन्दा छिटो वा ढिलो हाजिर गरे त्यस्तो समय गणना गरी ७ घन्टा पुगेपछि पाकेको बिदा एक दिन काट्ने सर्कुलरमा उल्लेख छ । कार्यालय समय वर्षको ९ महिना (माघ १६ देखि कात्तिक १५ गतेसम्म) १० देखि ५ बजेसम्म) र ३ महिना (कात्तिक १६ देखि माघ १५ गतेसम्म) १० देखि ४ बजेसम्म तोकिएको छ ।

शुक्रबार कार्यालय समय बिहान १० देखि अपरान्ह ३ बजेसम्म तोकिएको छ । कर्मचारीले विहान कार्यालय समयभन्दा १ घन्टा १५ मिनेट (८ः४५ बजे) अगाडि र बेलुका १ घन्टा १५ मिनेट (६ः१५ बजे) पछिसम्म हाजिरी गर्नुपर्ने छ । जाडोका ३ महिना साँझ ५ः१५ बजेसम्म र शुक्रबार ४ः१५ बजेसम्म हाजिरी गर्नुपर्ने उल्लेख छ ।

कर्मचारीले अतिरिक्त समय काम गरेको हकमा प्रष्ट हुने गरी अधिकार प्राप्त अधिकारीबाट पूर्वस्वीकृति लिई विद्युतीय हाजिर प्रणाली हेर्ने निकायमा उपलब्ध गराउनुपर्ने छ । दैनिक २ घन्टा अतिरिक्त काम गर्न बिहान १ घन्टा १५ मिनेटअघि नै सुरु गर्नुपर्ने हुन्छ । र, साँझ कार्यालय छुटेको १ घन्टा १५ मिनेटपछिसम्म ओभर टाइम काम गर्न पाइनेछ ।

यसैगरी, दैनिक तीन घन्टा अतिरिक्त काम गर्नुपरे बिहान १ घन्टा १५ मिनेटअघि र साँझ २ घन्टा १५ मिनेटपछिसम्म काम गर्नुपर्नेछ । दैनिक ४ घन्टा काम गर्न बिहान २ घन्टा १५ मिनेट अगाडिदेखि साँझ २ घन्टा १५ मिनेटपछिसम्म काम गर्नुपर्नेछ । दैनिक ५ घन्टा अतिरिक्त काम गर्नुपरे बिहान २ घन्टा १५ मिनेटअघिदेखि साँझ ३ घन्टा १५ मिनेट पछाडिसम्म काम गर्नुपर्नेछ ।

उल्लेखित समय तालिकाका आधारमा कर्मचारीले दैनिक कार्यलय आएको र गएको समय जनिने गरी दुई पटक हाजिरी गर्नुपर्नेछ । काज वा भ्रमणमा जानु परे कार्यालय प्रमुखबाट अनिवार्य स्वीकृत गराई आदेशको प्रतिलिपि सम्बन्धित हाजिर हेर्न निकायमा पेश गरेरमात्र जान पाइनेछ ।

कामको सिलसिलामा बाहिर जानु परे वा दैनिक एक पटकमात्र हाजिर भएको अवस्थामा मेमो मार्फत अद्यावधिक गर्न सकिने उल्लेख छ । नत्र काममा गएको दिन गयल मानी एक दिन बाँकी रहेको कुनै पनि सञ्चित बिदा स्वतः कट्टा हुनेछ ।

कार्यालयको कामको सिलसिलामा सार्वजनिक बिदाको दिनसमेत उपस्थित भई काम गर्ने कर्मचारीको आएको वा गएको जनिने हाजिर, हाजिरी डिभाइस वा सफ्टवेयरमा प्राविधिक समस्या आएका कारणले छुटेको पुष्टि भए हाजिरी मेमोबाट मिलन गर्न सकिनेछ । यो बाहेक बाहेक हाजिरी छुटे मेमोबाट अद्यावधिक हुने छैन । साथै, कार्यालय दिनहरूमा समेत मेमो मार्फत अतिरिक्त सुविधाका लागि समय गणना नहुने पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस