काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले तीव्र आर्थिक विकासका लागि उर्जा क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आयोजित पावर समिट २०१९ को दोस्रो दिनको पहिलो सत्रमा बोल्दै उनले यस्ताे बताएका हुन् ।
गभर्नर नेपालले ऊर्जामा गरेको लगानीले नेपालको आर्थिक वृद्धिमा सहयोग पुग्ने हुँदा वैदेशिक लगानी बढ्नुपर्ने बताए । ‘पछिल्ला वर्षहरूमा नेपालले तीव्र आर्थिक बृद्धि गर्ने लक्ष्य राखेको र त्यो लक्ष्य हासिल गर्न ऊर्जा क्षेत्र नै लगानीका लागि उपयुक्त छ,’ उनले भने, ‘राष्ट्र बैंकले ऊर्जामा लगानी बढाउन के गर्न सकिन्छ भनी विभिन्न अध्ययन गरिरहेको छ ।’
त्यस्तै पहिलो सत्रकाे छलफलमा सहभागी वक्ताहरूले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त वातावरण बनेको बताएका छन् । तर, बेला-बेलामा आइपर्ने प्राकृतिक प्रकोप र नाका बन्दीले केही समस्या परेको उनीको भनाइ छ । लगानीकर्ताहरूले स्वच्छ उर्जा उत्पादनमा लगानी गर्ने पनि प्रतिबध्दता जनाएका छन् । त्यसैगरी, चीनको सिसिजे कम्पनीका प्रतिनिधि छुई हुईले नेपाल सरकारले ल्याएको कर प्रणालीले लगानीकर्तालाई समस्यामा पारेकाे बताइन । उनले सरकारको काम गर्ने शैलीमा परिवर्तन ल्याउनु पर्ने धारणा व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस