विद्युत आपूर्ति

  • प्राधिकरण :५७०७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९६२ मे.वा. घन्टा
  • भारत : १००११ मे.वा. घन्टा
  • ट्रिपिङ : २५ मे.वा. घन्टा
  • माग : २०७०५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आयातित ‘पावर ट्रान्सफर्मर’ विस्थापित गर्न ‘निक’ले देशमै उत्पादन गर्ने

ऊर्जा खबर असोज २५, २०७५   4028 खबर


नेपाल तथा विदेशमा गुणस्तरीय ट्रान्सफर्मर उत्पादनमा नाम कमाएको ‘नेपाल एकरात इन्जिनियरिङ कम्पनी (निक) ले अब पावर ट्रान्सफर्मरमा फड्को मार्ने भएको छ । देशमा विद्युत उपभोग तथा प्रवाहको बढ्दो माग र खाँचोलाई मध्यनजर राख्दै पावर ट्रान्सफर्मर उत्पादनमा जोड दिएको हो ।

निकले अहिलेसम्म वितरण ट्रान्सफर्मरमात्र उत्पादन गर्दै आएको छ । नेपालमा पावर ट्रान्सफर्मर उत्पादन भएको छैन । निर्माणाधीन जलविद्युत आयोजना, विद्युतगृह तथा सबस्टेसनमा यस्तो ट्रान्सफर्मर प्रयोग हुन्छ । यसले प्रणालीमा उपलब्ध विद्युत भोल्टेज ‘स्टेप अप (बढाएर)’ गरेर आपूर्ति गर्ने गर्छ ।

जलविद्युत आयोजनालाई उपलब्ध गराइने कम भोल्टेज प्रणाली बढाउँदा निर्माणमा आवश्यक विद्युत प्रवाह हुन्छ । अहिले देशैभरि दर्जनौं आयोजना निर्माणाधीन छन् । तिनमा करिब २ सय पावर ट्रान्सफर्मर जडित छन् । तर, ती सबै भारत तथा तेस्रो मुलुकबाट आयात गरिएको छ ।

देशमै उत्पादन गरेपछि यसले आयातलाई निरुत्साहित गर्दै ग्राहकलाई समयमै ट्रान्सफर्मर उपलब्ध गराउन सकिने निकका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले बताए । ‘पहिलो चरणमा माथिल्लो मैलुङ खोलामा ७.९ एमभिएको ट्रान्सर्फमर आपूर्ति गरिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘मागअनुसार हामी उत्पादन बढाउँदै जानेछौं ।’

१३२ केभी भोल्टेज प्रणालीमा प्रयोग हुने १० एमभिए क्षमतासम्मका ट्रान्सफर्मर उत्पादन गर्ने तयारी भइरहेको पनि जोशीले जानकारी दिए । उनका अनुसार निकले ४० एमभिएसम्मका ट्रान्सफर्मर उत्पादन गर्न सक्छ तर अहिले १० एमभिएबाट सुरु गरिनेछ ।

निकका अनुसार एउटा पावर ट्रान्सफर्मरको मूल्य करिब डेढ करोड रुपैयाँ पर्छ । यसो हुँदा जलविद्युत आयोजना, सबस्टेसन वा विद्युतगृहबाट आउने मागका आधारमा उत्पादन बढाइनेछ ।

वितरण ट्रान्सफर्मरको उत्पादन बढाउँदै

निकले वार्षिक २ हजार वटा वितरण ट्रान्सफर्मर उत्पादन गर्दै आएको छ । ६ हजारसम्म उत्पादन गर्ने क्षमता भए पनि माग नहुँदा परिमाण बढाउन नसकेको जोशीले बताए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणले गर्ने अन्तर्राष्ट्रिय ठेक्का प्रक्रिया र सार्वजनिक खरिद ऐनका कारण प्रतिस्पर्धा गर्न गाह्रो भएको छ ।

खरिद ऐनमा १५ प्रतिशतसम्म बढी मूल्य परे पनि स्वदेशी वस्तु तथा उत्पादन खरिद गर्नुपर्ने नियम छ । तर, विदेशी कम्पनीले निकै सस्तोमा ठेक्का प्रस्ताव गर्ने र उनीहरू मूल्यसँग प्रतिस्पर्धा गर्न नसकिएको उनले स्वीकारे ।

सरकारले सुरुमा राष्ट्रिय ठेक्का प्रक्रिया (एनसिबी) गर्नुपर्ने र यसो गर्दा कुनै पनि कम्पनी सहभागी नभएमात्र अन्तर्राष्ट्रिय प्रक्रिया (आइसिबी) मा जानुपर्ने उनको धारणा छ । यसो हुँदा स्वदेशी कम्पनीले अवसर पाउनेमात्र नभई निर्यात प्रतिस्थापन गर्न सकिनेछ ।

आह्वान गर्ने मूल्यको तुलनामा लागत महँगो हुँदा निकले विगत ९ वर्षदेखि प्राधिकरणलाई ट्रान्सफर्मर बेच्न सकेको छैन । तर, खानेपानी, दूरसञ्चार, नगरपालिका तथा समुदायले विद्युत वितरण गर्ने क्षेत्रबाट माग बढिरहेको जोशीले बताए । अहिले देशमा करिब ४ हजार वितरण ट्रान्सफर्मरको माग छ ।

निकले वर्षौंदेखि भुटानमा ट्रान्सफर्मर निर्यात गर्दै आएको छ । उसले अहिलेसम्म त्यहाँ ४ हजारभन्दा बढी ट्रान्सफर्मर निर्यात गरेको छ । कम्पनीले गत वर्ष भुटानमा २ सय ट्रान्सफर्मर बेचेको थियो ।

विस्तारै बंगलादेश पनि निर्यात गर्ने योजना छ । कच्चा पदार्थ विदेशबाट किने पनि देशमै ट्रान्सफर्मर उत्पादन गरेर निर्यात गर्ने निक एकमात्र कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="