Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युतमा नेपाली डायस्पोरा

असोज ३०, २०७६   2229 सम्पादकीय


ऊर्जा खबर

काठमाडाैं । सन् १८१४ देखि १८१६ सम्म पहिलो नेपाल र ब्रिटिश भारतबीच युद्ध भयो । लडाइँको अन्त्यतिर नेपाली कमान्ड सम्हालेका जनरल अमरसिंह थापा र ब्रिटिश साम्राज्यका जनरल डेभिड अक्टरलोनीबीच एउटा सम्झौता भयो । सम्झौताले नेपालीहरू ब्रिटिश सेनामा भर्ती हुने ढोका खोल्यो । यही बेलादेखि नेपालीहरू भर्ती हुन विदेश जाने समयको सुरुवात भएको मानिन्छ ।

यता नालापानी किल्ला सम्हालेर बसेका बलभद्र कुँवरले युद्ध हारेपछि पन्जाबका महाराज रणजित सिंहको सेनामा आफ्नो सेवा समपर्ण गरे । तत्कालीन पन्जाबको राजधानी लाहोर गएर सेवा बेच्ने परम्पराको थालनी भयो । लाहोर शब्द समायान्तरमा अपभ्रंश भएर लाहुर भयो । यसलाई नेपाली जनजिब्रोले ‘लाउरे’ भन्न थाल्यो । विदेश वा लाहुर जाने परम्पराको सुरुवात यो भन्दा अर्को भेटिँदैन ।

ad

पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खा भर्तीको यात्रासँगै विदेशिन सुरु गरेको नेपाली त्यसपछि रोकिएन । पछि भर्तीसँगै कामको खोजीमा आसाम, मेघालय, मणिपुर, बर्मा, भुटान, लाहोरसम्म पुग्यो । गोर्खाली सेनामा काम गर्ने कति त बेलायततिरै बसोबास गर्न पनि थाले ।

नेपाली विदेशिने चलनको इतिहास २ सय वर्षभन्दा बढी भए पनि व्यावसायिक र संगठितरूपमा विदेशिने क्रम निकै पछिमात्र सुरु भयो । पञ्चायतकाल अन्त्य भएर जब २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भयो तब मान्छेले आफूलाई स्वतन्त्र महसुस ग¥यो । अनि, पढ्न, काम गर्न वा व्यवसाय गर्न ठूलो समूह विदेशिन थाल्यो ।

२०५२ फागुनमा जब माओवादी द्वन्द्व सुरु भयो । यसपछि त त्रास, आश र भविष्यको सपना संगालेर विदेशिनेको लर्को नै लाग्यो । अरब, मलेसिया, दुबई लगायत देशमा हजारौं नेपालीहरू कामको खोजीमा जान थाले । उता अलि शिक्षित परिवारकाहरू आधुनिक तथा गुणस्तरीय शिक्षा र भविष्यको जग बसाल्न युरोप र अमेरिका उड्न थाले ।

करिब २०–३० वर्षदेखि खाडी मुलुक, युरोप र अमेरिका हिँडेका नेपालीहरू संगठित हुँदै आए । कोही काम गर्दै त कोही पढ्दै, कमाउँदै र सीप सिक्दै गए । कतिले व्यवसायमा हात हाले । सामुहिकरूपमा ठूलो संख्यामा विदेश बसेको यही समूहले जन्मायो, गैरआवासीय नेपाली (एनआरएन) को सञ्जाल । अनि स्थापना भयो, गैरआवासीय नेपाली संघ (एनआरएनए) ।

एनआरएनए स्थापना भएको १६ वर्ष बितिसकेको छ । आज करिब १ सय १४ देशमा नेपालीहरू बसोबास गरेको अनुमान गरिन्छ । एनआरएनएको छाताभित्र भने ८३ देशका नेपालीहरू अटाउन सकेका छन् । आज ८० लाख नेपालीहरू विश्वका विभिन्न देशमा छरिएर बसेका छन् । तिनले त्यहाँ व्यवसाय गरेर टेक्ने आधार बनाएपछि आम्दानीको केही हिस्सा नेपालमा लगानीका रूपमा भित्र्याउन थालेका छन् ।

विदेशमा कमाएर फर्किने र जनजीवन चलाउने बाटोले धेरै लामो यात्रा तय गरिसक्यो । त्यसपछिका वर्ष र आजसम्म कति रकम देशमा भित्रियो । यसको कुनै आधिकारिक तथ्यांक भेटिँदैन । पहिलो र दोस्रो विश्वयुद्धमा करिब २ लाख नेपाली गोर्खा भर्तीमा सहभागी भएको इतिहास भेटिन्छ ।

युद्ध सकिएपछि तिनले करिब १३ करोड रुपैयाँ नेपाल भित्र्याएको अनुमान गरिन्छ । आज पनि कूल गार्हस्थ उत्पादन (जिडिपी) को करिब २२–२३ प्रतिशत वैदेशिक रोजगारीमा गएका र लाहुरेहरूले पठाएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र धानिएको छ ।

हिजो ठूलो संख्यामा गोर्खा भर्तीमा जाने चलन जस्तै आज वैदेशिक रोजगारीमा जानेको लस्कर छ । विदेशमा कमाएर ल्याउने र जिविका चलाउने एउटा पद्दति चलिरहेकै छ । अर्को, पाटोमा युरोप, अमेरिका, चीन र केही विकासशील मुलुकतिर बसोबास गर्ने नेपालीले आफ्नो आम्दानीको केही हिस्सा देशमा लगानीका रूपमा ल्याउन थालेका छन् ।

सामाजिक क्षेत्रबाट सुरु भएको लगानी भित्र्याउने क्रम विस्तारै पूर्वाधार परियोजनातर्फ लक्षित हुन थालेको छ । एनआरएनले देशमा लगानी ल्याउन सुरु गरेको करिब २० वर्ष भयो, २.६ मेगावाटको सुनकोसी साना जलविद्युत आयोजनाबाट । विदेशमा संगठित बसोबास गर्न थालेको २५–२६ वर्षमा लोककल्याणकारी, पर्यटन, स्वास्थ्य, कृषि, ऊर्जा तथा जलविद्युतमा एनआरएनको ठूलो लगानी भित्रिइसकेको छ ।

सन् २०१४ सम्म करिब ३० अर्ब रुपैयाँ बराबरको लगानी नेपाल भित्र्याएको एनआरएन डायस्पोराले हालसम्म खर्ब भित्र्याएको आकलन गर्न सकिन्छ । कुन क्षेत्रमा कति लगानी आयो ? यो एनआरएनसँग पनि तथ्यांक छैन । सरकारले पनि यसको रेकर्ड राखेको देखिँदैन । आगामी दिनमा लगानीका क्षेत्र र आकारबारे थप खोज गर्नुपर्नेछ ।

ऊर्जा तथा जलविद्युतमा मात्र करिब १५ अर्ब रुपैयाँ भन्दा बढी लगानी (स्वपुँजी) भित्र्याएको देखिन्छ । एनआरएन लगानीमा अहिलेसम्म ३५.१ मेगावाटका ५ जलविद्युत आयोजना सञ्चालनमा आइसकेका छन् । यसैगरी, १४५.४ मेगावाटका ५ आयोजना निर्माणाधीन छन् । साथै, १०८७.३ मेगावाटका ८ आयोजना अध्ययन भइरहेका छन् ।

प्रतिमेगावाट लागत १८ करोड रुपैयाँ आधार मान्दा निर्माणाधीन आयोजनामा मात्र करिब ९ अर्ब स्वपुँजी भित्रिएको देखिन्छ । यस्तै, अध्ययन भइरहेका आयोजना निर्माणमा जान बैंकको ऋणबाहेक करिब ६५ अर्ब रुपैयाँ भन्दा बढी स्वपुँजी चाहिन्छ । यसमा एनआरएन डायस्पोराले आँट गरिरहेको छ ।

ऊर्जा तथा जलविद्युतमा एनआरएन लगानीका आयोजनाको लेखाजोखा गरिरहँदा धेरै विषय छुटेका हुन सक्छन् । समय अभावका कारण कति आयोजना सूचीमा नपरेको पनि हुन सक्छ । छुटेका आयोजना वा लगानी आगामी वर्षमा अद्यावधि गर्ने प्रयास रहने नै छ । यही असोज २८ गतेदेखि ३० गतेसम्म एनआरएनएको ९औं विश्व सम्मेलन जारी छ । यहाँ पनि आयोजना र लगानीबारे चर्चा भइरहेको छ ।

एनआरएनले भित्र्याएको लगानी देशमा विद्युत उत्पादनका लागि महत्त्वपूर्ण स्रोत भएको छ । यो अझ दरिलो र फराकिलो हुँदै आएको छ । विद्युत उत्पादनमा सरकारले राखेको लक्ष्य पूरा गर्न पनि एनआरएन लगानी पुँजी निर्माणको बलियो आधार मान्न सकिन्छ । आगामी दिनमा सरकारले ठूला परियोजनामा एनआरएनलाई लगानी गर्ने वातावरण खुकुलो बनाओस् । यसले एफडिआई (प्रत्यक्ष विदेशी लगानी) पनि तानेर ल्याउँछ ।

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="