Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :६५४७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६४१४ मे.वा. घन्टा
  • भारत : ९३१६ मे.वा. घन्टा
  • ट्रिपिङ : ६० मे.वा. घन्टा
  • माग : २२३३७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

निगमका जन्मदाता, एक औद्योगिक ‘कर्मवीर’

लक्ष्मण वियोगी पुष २४, २०७६   4860

अफ ट्रयाक



काठमाडौं । पुस ९ गते मध्यान्ह । लुकामारी खेलेजस्तो घामका किरण कताकती पोखिएका मात्र थिए । चिसोको धूवाँ मज्जाले उडिरहेको थियो । नारायणगोपाल चोक मोटर–गाडीको भीडमा रुमल्लिएको थियो । म भीड छिचोल्दै चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेस कम्पनीतिर सोझिएँ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापासँग अघिल्लो दिन नै भेट्ने समय मागेको थिएँ । दिएको समय ख्याल गर्दै म उनको कार्यकक्षमा प्रवेश गरेँ ।

सुरुमा, केही औपचारिक र खुद्रा गफ भए । ऊर्जा तथा जलविद्युत विकासका असरल्ल समस्या नै कुराकानीका विषय बने । कसैले लेखेर पढ्न दिएको ‘प्रेस्क्रिप्सन’ जस्तै केहीबेर हामी ढुसी परेका जलविद्युतका योजनामा अल्मलियौं । यस्तैमा थापाले पेट्रोलियमको कुरा निकाले, ‘पेट्रोलियम क्षेत्रको समाचार कत्तिको लेख्नुहुन्छ ? प्रतिउत्तरमा मैले ‘यो ऊर्जा क्षेत्र नै भएकाले प्राथमिकता दिने’ गरेको बताए । मैले यति भनेपछि उनले आफ्नो कुर्सी पछाडिको भित्तामा झुण्डिएको क्यालेन्डर देखाए ।

क्यालेन्डरमा एक युवक उमेर देखिने व्यक्तिको सुन्दर तस्बिर थियो । अर्धकदको तस्बिरमा दौरामाथि कोट बडो मिलाएर लगाइएको थियो । शिरको ढाका टोपीले उनको व्यक्तित्वमा जलप लगाएको अभास हुन्थ्यो । आँखामा मोटो फ्रेमवाला चश्मा, जसले योजना कार्यान्वयनको क्षितिज ताकिरहे जस्तो देखिन्थ्यो । मैले त्यो तस्बिरको आवरण केलाइरहँदा प्रजेशले भने, ‘उहाँ मेरो बुवा हो । नेपाल आयल निगमका जन्मदाता ।’

मैले आश्चर्यमिश्रित भावले प्रजेशको अनुहार हेरेँ । उनले आफ्ना पिताले निगममा गरेका कामबारे केही बेलिविस्तार लगाए । अनि कालो झोलाबाट एउटा पुस्तक झिके र त्यसका पाना पल्टाउन थाले । पुस्तकको आवरणमा लेखिएको थियो– सुवर्णविक्रम थापा ‘स्मृतिग्रन्थ’ । देशको प्रतिकूल अवस्थामा टिकेर पनि निगममा आफ्ना पिताले गरेको कामको उनले सामान्य बयान गरे । यसपछि देशको औद्योगिक विकासमा उनले पुर्याएको योगदानको चर्चा गरे ।

मैले पुस्तक मलाई उपलब्ध गराउन आग्रह गरेँ । उनले आवरणको भित्री पृष्ठमा हस्ताक्षर गरे । अनि पुस्तक समातिरहेको हात मतिर लम्काए । मैले पुस्तक समातेँ । चिल्लो खोल अलि गह्रुंगो पुस्तकभित्र लब्धप्रतिष्ठित व्यक्तिहरूका आलेख थिए । अन्तिम पृष्ठमा पुस्तकका सम्पादकको सानो तस्बिर थियो । तस्बिरको ठीक तल लेखिएको थियो– जीवनचन्द्र कोइराला ।

पुस्तक झोलामा राखेँ । थप केहीबेरको कुराकानीपछि म त्यहाँबाट बाहिरिएँ । मोटरसाइकल स्टार्ट गरेर कार्यालयतिर हिँडिरहँदा मेरो मनमा अनेक तर्कना खेल्न थाले । खासमा प्रजेशले त्यो पुस्तक दिनुको अर्थ आफ्ना पिताबारे केही लेखिदेओस् भन्ने थियो होला । निगमको वार्षिकोत्सव नजिकिँदै गर्दा यसका जन्मदाताबारे केही लेख्नु वा लेखिनु पक्कै अर्थपूर्ण नै हुन्थ्यो ।

अझ एक पुत्रले आफ्ना पिताका कर्मको चर्चा गर्नु र त्यसलाई आम मानिस, पाठक र नीति निर्मातासम्म पुर्याउने प्रयास गर्नु गौरवको विषय हो । पुत्रको प्रमुख दायित्व पनि यस्तै हुने होला । तर, मलाई भने सुवर्णविक्रम खासै चर्चा गर्न लायक व्यक्ति हो जस्तो लागिरहेको थिएन । पुत्रले आफ्ना पिताका कामलाई सायदै नराम्रो मान्छन् । पिताले गरेका दुई–चार काम प्रचार–प्रसार गरेर लोकप्रिय हुन र बनाउन खोज्छन् । यो मानवीय प्रवृत्ति हो । त्यसको बयान गर्नु पुत्रको धर्म पनि हुन जान्छ ।

आखिर देशमा विकास निर्माणका दुई–चार काम हरेक प्रशासक, कर्मचारी र नीति निर्माताले गर्छन् नै । इतिहासले यस्ता व्यक्ति र तिनको कामबारे खासै बखान गर्दैन । समयान्तरमा ती ओझेल पर्छन् र इतिहासको पातालमा पुरिन्छन् । आउने पुस्ताले दुई–चार राम्रा काम गर्ने व्यक्तिलाई बिर्सिन्छ । र उनीहरू राज्यको स्मरणबाट पूरै लोप हुन्छन् । मलाई फेरि पनि सुवर्णविक्रम त्यति चर्चायोग्य व्यक्ति हुन् जस्तो लागेन । यसबारे त्यति महत्व दिनुको के अर्थ होला र ! म मनमा यिनै कुरा खेलाउँदै कार्यालय पुगेँ ।

कुनै पनि पुस्तक हात पर्नासाथ म त्यसको भूमिका वा सुरुमा लेखिएका विवरण पढ्ने गर्छु । यी विषयवस्तुले मन कतिको तान्छ ? हृदय हल्लाउँछ वा हल्लाउँदैन । अनिमात्र पूरा पुस्तक पढ्ने गर्छु । मोटामोटी पुस्तक छनोट गर्ने मेरो आधार यही नै हुन्छ । सुवर्णविक्रमको स्मृतिग्रन्थ पनि कार्यालयको टेबलमा बसेर पल्टाउन थालेँ ।

दुई पेज पल्टाउने बित्तिकै पासपोर्ट साइजको मंगोलियन अनुहारको श्यामश्वेत तस्बिर देखियो । शिरमा शुभकामना लेखिएको विवरण, पुछारमा डा. स्वामी प्रपन्नाचार्य थियो । स्वामीजीले लेखेका हरफहरू सुक्ष्मरूपमा पढेँ । मलाई यही पृष्ठले तान्यो र भित्र प्रवेश गर्ने अनुमति पाएँ । सम्पादक कोइरालाले लेखेको लामो सम्पादकीय पनि नबिराई बढेँ ।

मैले यसअघि सुवर्णविक्रमबारे कहीँ कतै सुनेको थिइनँ न उनीबारे लेखिएका लेख, संस्मरण वा विचार पढेको थिएँ । मेरा लागि उनी इतिहासका नितान्त नयाँ पात्र थिए । यस्ता व्यक्तिबारे लेख्न वा उनको कर्मबारे लेखाजोखा गर्न गहन अध्ययन जरुरी हुन्छ भन्ने ठान्छु । तर, मसँग उनीबारे लिखित हात परेको यही ग्रन्थबाहेक अर्को दस्तावेज थिएन । उनलाई चिन्ने वा उनका संगतीका मान्छेबारे पनि म अनभिज्ञ नै छु ।

म समयको तुलोमा कर्म र व्यक्तित्व राखेर तौलनुपर्छ भन्ने ठान्छु । यसरी तौलिँदा मिलेको सन्तुलित अनुपातले नै जीवनको गणित मिल्छ भन्ने लाग्छ । यसले व्यक्तिलाई समाजमा स्थापित गर्ने ताकत राख्छ भन्ने मेरो बुझाई रहँदै आएको छ । अब एउटै पुस्तक पढेर मैले सुवर्णबिक्रमलाई कसरी बुझ्ने ? उनको कर्म, दक्षता, दूरदर्शिता, दृष्टिकोण, योजना, त्यसको कार्यान्वयन, व्यवस्थापन र प्रशासकका अनेक रूपलाई मेरो मन्द मस्तिष्कले कसरी केलाउने ?

फेरि, म उनको पुस्तासँगै नारिएर जन्मे–हुर्केको होइन । यही पुस्तकलाई गुरु मानेर मैले सुवर्णविक्रमलाई ‘कर्मवीर’ वा गलत पात्रका रूपमा कसरी विश्लेषण गर्न सकूला ? यसरी विश्लेषण गर्ने न मेरो ल्याकत छ । पुस्तकका अक्षरमा आँखा नाचिरहँदा दिमागले यिनै भाव एकसाथ बगाइरह्यो । तर, लेख्न त केही पर्ने नै छ । कसरी लेखू ? के लेखू ? कहाँबाट सुरु गरु ? भन्ने प्रश्नले मलाई निकैबेर कोपर्न थाले ।

‘राष्ट्रले सम्झिइरहनुपर्ने कुशल व्यवस्थापक सुवर्ण’ शीर्षकमा कोइरालाले लेखेको लामो आलेख पढ्न सुरु गरेँ । उनले ‘विक्रम’ थापा अझ गोदार थापाहरूको बंश, लहरो र उनीहरूले राष्ट्र निर्माणमा पुर्याएको योगदानको विवरण समेटेका रहेछन् । जति पृष्ठहरू पल्टाउँदै गयो त्यति नै जिज्ञासा, रुची र कौतुहलता जाग्दै गयो । सुवर्णविक्रम, उनको काम र दृष्टिकोणको क्षितिज यति विशाल रहेछ, जसलाई मेरो हृदयले नमन नगरिरहन सकेन ।

पुस्तक पढिसिध्याएपछि म करिब एउटा निचोडमा पुगेँ । हिजो नचिनिएका, नजानिएका वा केही थाहा नपाएका र आज यही स्मृतिग्रन्थले चिनाएका सुवर्णविक्रमबारे केही लेखिनँ भने पक्कै मलाई मप्रति नै खेद हुनेछ, एक अथक कर्मवीरलाई बेवास्ता गरेकोमा । म समयको लिकमा छुट्नेछु, एक कर्मवीरको जीवन पढ्न, बुझ्न र यसबारे ज्ञान हासिल गर्नबाट । यदि, मैले उनीबारे केही लेखिनँ वा जानकारी दिइनँ भने मेरो पुस्ता जसले उनीबारे जान्न, बुझ्न र उनका कर्मलाई इतिहासमा लिपिबद्ध गर्दै लैजान पाउने अधिकार राख्छ; ऊ प्रति मैले अन्याय गरेको ठहरिनेछ ।

मलाई सुवर्णविक्रम चिनाउने पहिलो व्यक्ति उनकै कान्छा पुत्र प्रजेशविक्रम थापालाई मैले सुवर्ण र म बीचको सेतु मानेँ । र, उनीबारे लेखिएको स्मृतिग्रन्थलाई गुरु थापेँ । यिनै दुई आधार र धरातलमा टेकेर मैले उनीबारे केही कोर्ने आफ्नो अल्पविवेक प्रयोगको जमर्को गरेको छु । सुवर्णविक्रम जस्ता प्रशासनका अथक साधक, औद्योगिक द्रष्टा र देश विकासको हुटहुटी बोकेर अविराम कुदिरहने योद्धाबारे लेख्न पाउनु मेरा लागि पनि गौरवको विषय ठानेको छु ।

धर्तीमा जन्मेर देशप्रति कसले के गर्यो भनेर केलाउने हो भने हरेक कित्ताका व्यक्तिको आ–आफ्नै योगदान भेटिएला । इतिहासमा राजनीति, आन्दोलन, परिवर्तन र व्यवस्थाका फरक–फरक कथा लेखिए होलान् । नेपालको सन्दर्भमा सहिद र राजनीतिक व्यक्तिहरू इतिहासमा बढी स्थापित छन् । प्रशासक, व्यवस्थापक र औद्योगिक विकासका प्रसंग आउँदा झ्वाट्ट दिमागमा आउने नाम कमै हुन्छ । तिनै कम व्यक्तिहरूको सूचीमा पर्दारहेछन्, सुवर्णविक्रम ।

निगमका जन्मदाता

Suwarna Bikram

सुवर्णविक्रमले निगम छोडे तर निगमले उनलाई छोडेन । उनको इमान्दारिता, कर्तव्य, लगनशीलता, व्यवस्थापकीय र प्रशासकीय क्षमतालाई आत्मसाथ गर्ने प्रयास गरेको देखिन्छ ।

सिन्धुलीको खनियाखर्कमा जन्मे हुर्केका सुवर्णविक्रमको प्रारम्भिक अध्ययन घरमै सुरु भएको रहेछ । यसपछि विद्यालयस्तरको पढाइ काठमाडौं र उच्च शिक्षा रसिया (तत्कालीन सोभियत संघ) बाट पूर गरे । रसियाबाट मेकानिकल इन्जिनियरिङ सकेर फर्केका उनको पहिलो जागिर नेशनल ट्रेडिङमा सहायक इन्जिनियरको रूपमा सुरु भयो ।

त्यहीँबाट उनमा औद्योगिक विकासको चेत खुलेको हुनुपर्छ । एकपछि अर्को उद्योग स्थापना गर्न पहल गर्नु र औद्योगिक विकासबिना राष्ट्र समृद्ध हुन सक्दैन भन्ने जागरण ल्याउनुले उनी औद्योगिक क्रान्तिमा होमिएको बुझ्न गाह्रो पर्दैन । आफ्नो जीवनकालमा सुवर्णविक्रमले झन्डै दर्जन संस्थाको नेतृत्व गरेको र तिनलाई आर्थिक उचाईमा पुर्याएको भेटिन्छ ।

सुवर्णविक्रम जोडिएको र औद्योगिक विकासको जग हालेको पहिलो संस्था ‘आयल निगम’ रहेछ । तत्कालीन श्री ५ को सरकारले २०२७ साल पुस २६ गते निगम स्थापना गरी संस्थापक प्रबन्धकमा सुवर्णविक्रमलाई नियुक्त गर्यो । उनले तेलको व्यापार गर्दा नेपालमा भारतीय कम्पनीहरूको दबदबा थियो । तिनकै डिलरमार्फत पेट्रोलियम आयात हुन्थ्यो । उनले विस्तारै यसको अन्त्य गरे ।

सुवर्णविक्रमले नेशनल ट्रेडिङको यन्त्र बिक्री तथा मर्मत केन्द्रमा २ कोठा भाडामा लिएर कार्यालय राखे । र, २ वटा ड्रम राखेर तेलको कारोबार सुरु गरे । दुई ड्रमबाट सुरु भएको तेल व्यापार आज मेची–महाकाली अझ गाउँका कुना–कुनामा पुगेको छ । तेल कारोबारको बाटोलाई सुवर्णविक्रमले जोड्दै गए, पुल बनेर । यही कारण सिंगो देशभर निगम फैलिन सक्यो । योसँगै तराई, पहाड र हिमालमा पेट्रोलियमको समान मूल्य कायम गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ ।

देशका विभिन्न ठाउँमा भण्डारण केन्द्र निर्माण गर्न लगाएर निगमलाई आर्थिकरूपमा दरिलो बनाउने अभियान उनैले थालेका थिए भन्दा अत्योक्ति हुँदैन । देशको भू–बनोट र आयातमा हुन सक्ने समस्यालाई मध्यनजर गर्दै उनकै पालामा विराटनगर, अमलेखगन्ज, भैरहवा, भलवाडी, नेपालगन्ज, धनगढी र काठमाडौंको एयरपोर्टमा भण्डारण केन्द्र निर्माण गराएका थिए । झन्डै साढे ४ दशकसम्म पनि तिनको क्षमता विस्तार गरिएको छैन ।

उनको कार्यकालमा करिब ६ महिनासम्म पुग्ने पेट्रोलियम भण्डारण क्षमता विकास गरिएको रहेछ । त्यो हाल आएर करिब १५ दिनमा खुम्चिएको छ । अझ काठमाडौं उपत्यकामा त एक साताभन्दा बढी पेट्रोलियम तथा हजाई इन्धन भण्डारण गर्न गाह्रो छ । सुवर्णविक्रमले सुरु गरेको भण्डारण क्षमता विस्तार त्यसपछिका प्रशासक कसैले निरन्तरता दिएको पाइएन ।

सुवर्णविक्रमको काम हेर्दा उनी दूरदृष्टा नै रहेछन् भन्ने पुष्टि हुन्छ । उनले भारतमा मात्र भर पर्न नहुने भन्दै अरब, रुस लगायत तेस्रो मुलुकबाट समेत तेल आयात गर्ने योजना बनाएका थिए । तर, शासकहरूको असहयोगले त्यो काम पूरा भएको देखिएन । इण्डियन आयल कर्पोरेशन (आइओसी) सँग स्थायी सम्बन्ध स्थापित गरी तेल आयात र व्यापार गर्ने निगमलाई एकल निकाय बनाए ।

तेल आयात र व्यापारको स्वामित्व निगममा आएपछि सुवर्णविक्रमले संस्थालाई पूर्ण सरकारी बनाउन पहल गरे । र, २०३० साल भदौ १ गतेदेखि निगम तेल आयात र व्यापार गर्ने सरकारको एकाधिकार प्राप्त संस्था बन्यो । जुन अद्यावधि छँदैछ । उनको पालामा अमलेखगन्जमा एलपिजी बोटलिङ प्लान्ट स्थापना गर्ने प्रयास भएको थियो । त्यो पनि शासककै दुष्चक्रमा फसेर पूरा हुन सकेनछ ।

अहिले निर्माण भएको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको खाका सुवर्णविक्रमकै पालामा कोरिएको रहेछ । करिब आधा शताब्दीपछिको दृष्य र विकासको खाँचो उनले कसरी ठम्याउन सके ? यो थाहा पाउँदा मलाई आश्चार्य लाग्यो । उनको दूरदृष्टिको क्षितिज कति फराकिलो रहेछ भन्ने बुझ्न सकिन्छ । उनलाई दूरदर्शी योजनाकार भन्न कन्जुस्याइँ गर्नुपर्ने ठाउँ पनि देखिँदैन ।

सुवर्णविक्रमले निगम छोडे तर निगमले उनलाई छोडेन । उनको इमान्दारिता, कर्तव्य, लगनशीलता, व्यवस्थापकीय र प्रशासकीय क्षमतालाई आत्मसाथ गर्ने प्रयास गरेको देखिन्छ । यसैको परिणाम, २०५१ सालमा मनाइएको निगमको रजत जयन्तिमा ‘सुवर्ण स्मृति पुरस्कार’ स्थापनाको घोषणा भयो । निगमले उनलाई मरणोपरान्त ‘कदरपत्र’ पनि प्रदान गर्यो । निगमका जेहेन्दार, कर्तव्यनिष्ठ र व्यवस्थापकीय क्षमताका कर्मचारीलाई यो पुरस्कार दिने गरिएको छ ।

औद्योगिक क्रान्तिका प्रणेता

सुवर्णविक्रमले करिब १३–१४ वर्ष निगममा बिताए । अन्तिम ५ वर्ष उनी महाप्रबन्धकको जिम्मेवारीमा रहे । निगमको उन्नती, समृद्धि र योजनाको कार्यान्वयन गरिरहँदा उनलाई त्यहाँबाट सरुवा गरियो । २०४० साल कात्तिक २८ गते उनी घरेलु शिल्पकला तथा बिक्री भण्डारको अध्यक्ष भएर गए । सुरुमा बढुवा गरेको वा सम्मान गरेको देखिए पनि ‘घ’ श्रेणीको घाटामा गएको संस्थामा लगेर अपमान गर्न खोजिएको बुझिन्छ । तर, उनले कुनै प्रतिकार गरेको पाइँदैन । घाटामा गएको लथालिंग संस्था ३ वर्षमै नाफामा लगेर कर्मचारीलाई बोनससमेत ख्वाएको प्रमाण भेटिन्छ ।

यस उद्योगले देशमा कपडा, गलैंचा निर्माणमा ठूलो योगदान पुर्याएको थियो । उनी संस्थामा रहँदासम्म घरेलु उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण र प्रचार–प्रसार गरेको देखिन्छ । यसबाट देशको गलैंचा तथा कपडा अन्तर्राष्ट्रिय बजारमा ‘ट्रेड मार्क’ बनिसकेको थियो । उनीपछिका प्रशासक तथा नेतृत्वले त्यसलाई निरन्तरता दिएको पाइँदैन । अहिले त झन् स्वेदशी कपडा उत्पादन गुमनाम जस्तै भइसक्यो ।

नेपालमा रबर–टायर फ्याक्ट्री बनाउनुपर्छ । रबर खेती गर्नुपर्छ भनी ‘ब्लुप्रिन्ट’ तयार गर्ने उनै रहेछन् । राम्रो काम र योजनामा भाँजो हाल्ने संस्कार हाबी भइरहने हुँदा समयान्तरमा त्यो पूरा भएको देखिएन ।

निगममै कार्यरत रहँदा उनले सडकलाई चाहिने अलकत्रा उत्पादन गर्न नेपाल बिटुमिन तथा ब्यारेल उद्योग स्थापना गरे । उनले परिकल्पना गरेर सुरु गरेको अर्को महत्वपूर्ण उद्योग ‘नेपाल ल्युब आयल उद्योग लिमिटेड’ हो । यो उद्योग स्थापनापछि मोटर गाडी एवं कलकारखानालाई चाहिने मोबिलजन्य पदार्थ देशमै उत्पादन हुन्थ्यो । तर, यसको सुरु नहुँदै उनी निगमबाट हटाइए ।

देशमा ग्यासको बढ्दो प्रयोगका कारण उपभोक्ताले भोग्नुपरेको कष्टलाई मध्यनजर गरी सुवर्णविक्रमले ग्यास उत्पादन कारखाना बनाउने पहल गरे । तर, तत्कालीन सरकारले दबाब दिएर रोक्यो । एकलौटी बजार विथोलिने डर र सरकारी अधिकारीको स्वार्थ प्रधान हुँदा उनले ग्यास उद्योग स्थापना गर्न पाएनन् । र, निगमबाटै निकालिए ।

सुवर्णविक्रम घरेलु शिल्पकलामै रहँदा बुटवल धागो कारखानामा सञ्चालक भए । यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन, गोरखकाली रबर उद्योग, नेपाल धागो कारखाना, उदयपुर सिमेन्ट, वीरगन्ज चिनी र भक्तपुर इट्टा तथा टायल कारखानामा समेत सञ्चालक भएका थिए । नेपालमा रबर–टायर फ्याक्ट्री बनाउनुपर्छ । रबर खेती गर्नुपर्छ भनी ‘ब्लुप्रिन्ट’ तयार गर्ने उनै रहेछन् । राम्रो काम र योजनामा भाँजो हाल्ने संस्कार हाबी भइरहने हुँदा समयान्तरमा त्यो पूरा भएको देखिएन ।

सुवर्णविक्रमले देशमै औषधी उद्योग खोल्ने अभियान पनि सुरु गरेका रहेछन् । औषधी देशमै उत्पादन गरेर केही हदसम्म आयात घटाउने उनको योजना देखिन्छ । समय, परिस्थिति र उनको शारिरिक अशक्तताका कारण त्यो पनि पूरा हुन सकेन । अहिले पूर्वाञ्चलको इटहरीमा ‘सुवर्ण फर्मास्यूटिकल्स लिमिटेड’ स्थापना भएको छ । विडम्बना, उनले देखेको यो सपना पूरा भएको उनी आफैंले हेर्न पाएनन् ।

जब दीप निभ्यो

२०१८ सालतिर पूर्व २ नम्बरका बडाहाकिम धर्मबहादुर पहाडीले रामेछापमा एउटा भेला गरेका रहेछन् । उक्त भेलामा तत्कालीन विघटित प्रतिनिधिसभा सदस्य जीतबहादुर कार्कीले २०१७ पुस १ गतेदेखि राजा महेन्द्रले सुरु गरेको पञ्चायति व्यवस्थाबारे प्रश्न गरेछन् । प्रश्नको जवाफमा पहाडीले कार्कीलाई उध्रित गर्दै ‘धत लाटा’ भन्ने शब्द बोलेछन् । यो सुन्नासाथ सुवणविक्रम कड्किएछन्, ‘कसलाई लाटा भनेको ?’ हिजोका प्रतिनिधिसभा सदस्यलाई त्यसरी सम्बोधन गर्नु अपमान ठानेर उनले बडाहाकिमलाई तुरुन्त शब्द फिर्ता लिन भनेछन् । सवाल–जवाफले माहोल तातेछ ।

बडाहाकिमसँगको विवादले पछि उनलाई समातेर थुनिएछ । रामेछापका पञ्चायति नेता नवराज सुवेदीको पहलमा उनी छुटेछन् । यसैबाट थाहा हुन्छ, सुवर्णविक्रममा जति औद्योगिक क्रान्तिप्रतिको चेत थियो त्यो भन्दा बढी राजनीतिक परिवर्तनको । सिन्धुलीको राजनीतिक वातावरणमा राम्रै भिजेका उनी प्रजातन्त्रका कट्टर पक्षपाति रहेको बुझिन्छ ।

२०१८ सालतिरै राजा महेन्द्रले विभिन्न जिल्लाबाट २–४ जनाको प्रतिनिधित्व हुने गरी काठमाडौंमा बुद्धिजीवी भेला गरेछन् । त्यसमा सुवर्णविक्रमले सिन्धुलीबाट प्रतिनिधित्व गरी ‘पञ्चायती व्यवस्था नटिक्ने भन्दै बहुदलीय व्यवस्था’का पक्षमा आफ्नो प्रस्ट धारणा राखेको भेटिन्छ । यही कारण उनी रसिया पढ्न जानबाट झन्डै रोकिएका रहेछन् ।

इतिहास पढ्नेले खोजून् । इतिहास लेख्नेले अनुसन्धान गरून् । प्रशासक, व्यवस्थापक र परिवर्तन चाहनेका माझमा सुवर्णविक्रम ‘सुवर्ण’ भएर बाँचिरहुन् ।

सिन्धुली रतनचुरा गाविसको प्रधानपञ्चमा निर्वाचित भएर सक्रिय राजनीति गर्न खोजेका सुवर्णविक्रम एक्कासी पढ्न रसिया गए । र, त्यहाँबाट फर्केपछि उनले राजनीतिक धार समातेको पाइँदैन । समयान्तरमा ‘पञ्चायतको बाघ’ भनेर चिनिने पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा (बहिनी–ज्वाइँ) को परिवारमा वैवाहिक सम्बन्ध कायम गर्न पुगेका उनले कर्मचारी रहँदा समेत प्रजातान्त्रिक विचार नछोडेको पाइन्छ ।

शिक्षामा पनि उनले उतिकै योगदान पुर्याएको भेटिन्छ । सिन्धुलीको शैक्षिक क्षेत्र विकास, त्यसको जागरण र अभियानमा उनी अरोरात्र खटिएका थिए । जिल्लाको कमला हाइस्कुल हुँदै टंगालको भीम मावि, नन्दी रात्री माविमा उनका कर्मका पदचाप भेटिन्छन् । त्रिभुवन विश्वविद्यालय सभा र कार्यकारिणीमा समेत रहेर शैक्षिक उत्थान गरेको पाइन्छ ।

औद्योगिक विकासका यी क्रन्तियोद्धा जसले देशबाहेक आफ्नो स्वार्थ विरलै सोचे । औद्योगिक विकासको राँको बालेर दौडिरहेका सुवर्णविक्रमका पाइला एकाएक सुस्ताए, जब उनलाई असाध्य रोगले समात्यो । पेटको क्यान्सर उपचारबाट निको भएको भनिए पनि त्यसले दुःख दिन छोडेन । पुनः टाउकोमा प्रहार गर्यो । उपचारलाई रोगले जित्यो ।

५३औं वसन्तमा हिँडिरहेका उनी एकाएक अचेत भए । धराको भोग त्यत्ति रहेछ । त्यो भन्दा बढी चाहेर पनि उनले भोग्न पाउँथेनन् कि ! थोरै उमेर बाँचे । मूल्यवान र लोभलाग्दो जीवन बाँचे । अनि, देशमा एउटा औद्योगिक परिवर्तनको इतिहास कोरेर गए । २०४९ साल माघ ४ गतेको चिसो साँझ अर्थात् सवा ५ बजे उनले सधैंका लागि विश्राम लिए । इतिहास पढ्नेले खोजून् । इतिहास लेख्नेले अनुसन्धान गरून् । प्रशासक, व्यवस्थापक र परिवर्तन चाहनेका माझमा सुवर्णविक्रम ‘सुवर्ण’ भएर बाँचिरहुन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="