Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ओली र माेदीले पेट्राेलियम पाइपलाइनकाे स्वीच थिचे, आउन थाल्याे डिजेल

ऊर्जा खबर भदौ २४, २०७६   1568

पेट्रोलियम



पर्सा (वीरगन्ज) – दक्षिण एसियामै पहिलो पटक निर्माण भएको नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन (मोतिहारी–अमलेखगन्ज) प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेका छन् ।

आज (मंगलबार) अपरान्ह १२.१५ बजे दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले सिंहदरबार र मोदीले नयाँ दिल्ली हैदरावाद हाउसबाट स्वीच थिचेर पाइपलाइनको भल्भ खोलेकाे नेपाल आयल निगमले जानकारी दिएकाे छ । याेसँगै अब भारतबाट पाइपमा डिजेल भित्रिएकाे छ ।

ad

निगमका अनुसार पाइपलाइन सञ्चालनपछि दैनिक प्रतिघन्टा १ सय ६० देखि १ सय ७० किलोलिटर डिजेल आयात हुन्छ । अमलेखगन्जको क्षमता १ सय ६० किलोलिटरको मात्र रहेको छ । पाइपलाइन सञ्चालनपछि वार्षिक एक अर्ब रुपैयाँबराबरको ढुवानी खर्च जोगिने निगमले दाबी गरेको छ ।

पाइपलाइनले पेट्रोलियम ढुवानी हुने ४ सय ट्यांकर विस्थापित गर्नेछ । साथै, वार्षिक २० प्रतिशतले बढ्ने पेट्रोलियम मागसमेत धान्न सक्नेछ । निर्माण सुरु गरेको ३० महिनामा सम्पन्न हुनुपर्ने पाइपलाइनको काम १५ महिनामा सम्पन्न गरेर निगमले गत असारमा परीक्षण गरेको थियो ।

८० किलोमिटर पाइप लाइनमध्ये निगमले नेपालतर्फ ३६ किलोमिटर पाइप लाइन निर्माण गरेको छ । जसमा साढे ७ किलोमिटर भागमा भूमिगत प्वाल बनाएर पाइप राखिएको छ । पाइप लाइनको रुट पर्ने परवानीपुरमा २ किलोमिटर, जितपुरमा १।६ किलोमिटर र नाला, कलवट, सडक खण्ड रहेको स्थानमा ४ किलोमिटर भूमिगत प्वाल बनाएर पाइप राखिएको निगमले जानकारी दिएको छ ।

२०७४ फागुन २५ गतेबाट सुरु भएको पाइप लाइन विस्तारको काम भारतको लिखित इन्फ्रास्ट्रक्चरले गरेको हो । भारतकै सिमलेस लिमिटेडले उत्पादन गरेका पाइप प्रयोग गरिएको छ । नेपाल र भारतको संयुक्त लगानी रहेको पाइपलाइन परियोजना ४ अर्ब ४० करोड (२ अर्ब ७५ करोड भारु) रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ ।

परियोजनामा भारतको ३ अर्ब २० करोड रुपैयाँ (२ अर्ब भारु) र नेपालको १ अर्ब २० करोड रुपैयाँ (७५ करोड भारु) रुपैयाँ लगानी हुनेछ । पाइपलाइन निर्माण गर्न २०७२ भदौ ७ गते दुई देशबीच सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस