Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एकल विन्दु सेवा सञ्चालनमा, पूर्वाधार तथा जलविद्युत निर्माण सहज हुने आशा

ऊर्जा खबर बैशाख ३१, २०७६   1058

खबर



काठमाडौं– लामो प्रयास, विवाद र छलफलपछि सरकारले एकल विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याउन लागेको छ । सम्पूर्ण कागजात तथा तयारी पूरा गरी भोलि (बुधबार) देखि केन्द्र स्थापना भई सञ्चालन हुन लागेको हो ।

पूर्वाधार तथा जलविद्युत क्षेत्रका विद्यमान जटिलता छोट्याएर एकै निकायबाट सेवा उपलब्ध गराइदिन वर्षौंदेखि निजी क्षेत्रले केन्द्रको माग गर्दै आएको थियो । विशेषतः ऊर्जा तथा जलविद्युत क्षेत्रमा काम गर्ने व्यक्ति र निकायले केन्द्र चाहिने भन्दै आवाज उठाउँदै आएका छन् ।

सरकारले गत चैत १५ र १६ गते सम्पन्न लगानी सम्मेलनमा पनि उद्योगी व्यवसायीलाई केन्द्र स्थापना गरी सेवा दिने बाचा गरेको थियो । स्वदेशमै उद्यम गर्ने, विदेशी लगानी ल्याउने र पूर्वाधार आयोजना निर्माण गर्नेलाई केन्द्रबाट छिटो छरितो सेवा दिने सरकारको उद्देश्य छ ।

केन्द्र स्थापना सम्बन्धी प्रक्रिया पूरा भएकाले भोलिदेखि सञ्चालनमा आउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखाका सहसचिव दिनेश भट्टराईले बताए । ‘केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि अन्तिम चरणमा छ,’ उनले भने, ‘विभिन्न मन्त्रालयका कर्मचारी हुनेछन्, । उनीहरूले तत्तत्का नियम–कानुनभित्र रहेर काम गर्नेछन् ।’

केन्द्र औद्योगिक व्यवसाय ऐन, २०७३ अनुसार सञ्चालन हुने र यसको कार्यालय उद्योग विभागमा रहने भट्टराईले जानकारी दिए । सरकारले यससम्बन्धी विस्तृत विवरण सहितको सूचना गत बैशाख १६ गतेको राजपत्रमा समेत प्रकाशित गरेको छ ।

राजपत्रमै पनि अर्को व्यवस्था नभएसम्म केन्द्र विभागअन्तर्गत रहने उल्लेख छ । यसअन्तर्गतका सबै इकाइहरूले अनलाइनमार्फत सेवा प्रवाह सुरु गरी पूर्णरूपमा अटोमेसन (स्वचालित) प्रणालीमा जाने उल्लेख छ ।

राजपत्रअनुसार छिटो छरितो रूपमा सेवा प्रवाह गर्न केन्द्रभित्र सहायता कक्षसमेत राखिने छ । साथै, प्रदेश र स्थानीय तहमा प्रदान गरिने सेवा प्रभावकारी बनाउन प्रदेश तथा स्थानीयस्तरको केन्द्र स्थापना गर्न सकिने पनि उल्लेख छ ।

इकाइहरू

केन्द्रअन्तर्गत ८ वटा इकाइ रहने व्यवस्था गरिएको छ । उद्योग दर्ता, वातावरण, विदेशी विनिमय तथा भिसा सहजीकरण र पूर्वाधार (ऊर्जा तथा सञ्चार) इकाइ राखिएका छन् । यस्तै, जग्गा प्रशासन, भन्सार तथा राजस्व र प्रशासन तथा कानुन इकाइ रहनेछन् ।

प्रतिनिधित्व गर्ने निकाय

केन्द्रमा विभिन्न मन्त्रालय, विभाग तथा सरोकारवाला १४ निकायको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । तिनले आ–आफ्नो निकायमातहतको कानुन अनुसार काम गर्ने उल्लेख छ ।

केन्द्रमा उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग, ऊर्जा, जलस्रोत तथा सिँचाइ र वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि वा कर्मचारी हुनेछन् ।

यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अध्यागमन विभाग, श्रम तथा व्यवस्थाजन्य सुरक्षा विभाग, भन्सार विभागका प्रतिनिधि पनि केन्द्रमा रहनेछन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, नेपाल राष्ट्र बैंक, नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरण पनि केन्द्रमा रहने व्यवस्था छ ।

कर्मचारी व्यवस्थापन

केन्द्रमा ४१ जना कर्मचारीको दरबन्दी तोकिएको छ । यसको कार्यकारी प्रमुखको जिम्मेवारीमा उद्योग विभागका महानिर्देशक रहने उल्लेख छ । तर, दरबन्दीमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको राजपत्राकिंत प्रथम श्रेणीको अधिकारी तोकिएको छ ।

प्रशासन, प्राविधिक तथा कानुन गरी ७ जना उपसचिवस्तरका निर्देशक रहने व्यवस्था छ । यसमध्ये उपसचिवस्तरका सिभिल, मेकानिकल र कम्युटर इन्जिनियरको दरबन्दी छ । कूल दरबन्दी संख्यामध्ये १२ जना विभिन्न सेवा समूहका प्राविधिक (इन्जिनियर) तोकिएको छ ।

केन्द्रबाट हुने काम

यसअघि कम्पनी रजिष्ट्रारको कार्यालयबाट हुने सम्पूर्ण काम अब केन्द्रबाटै हुने भएको छ । उद्योग दर्ता, खानी लगायत निकायगत स्वीकृति, निश्चित रकमसम्मको विदेशी लगानी स्वीकृति र फिर्ता लैजाने व्यवस्था केन्द्रबाटै हुनेछ ।

प्रचलित काुननअनुसार उद्योगलाई चाहिने हदबन्दी भन्दा बढी जग्गा छुटको सिफारिस, जग्गा प्राप्ति, वन क्षेत्र तथा वातावरणीय अध्ययनसम्बन्धी स्वीकृति केन्द्रबाटै हुने उल्लेख छ । ऊर्जा तथा जलविद्युत र पूर्वाधारसँग सम्बन्धित आयोजना निर्माण गर्दा सरकारी जग्गा भाडामा दिने व्यवस्था पनि हुनेछ ।

यसैगरी, उद्योगलाई चाहिने विद्युत, ऊर्जा, सञ्चार, पानी तथा खानेपानी सुविधा तथा पहुँच सडकसहित औद्योगिक पूर्वाधार निर्माणको समन्वय र सहजीकरण पनि केन्द्रबाट हुनेछ । प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिको काम पनि यहीबाट हुने उल्लेख छ ।

एकल विन्दु सेवा केन्द्र सम्बन्धी राजपत्रमा प्रकाशित सूचना

एकल विन्दु सेवा केन्द्र स्थापना सम्बन्धी सूचना

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="