Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पञ्चेश्वर ‘विज्ञ समूह’को म्याद एक वर्ष थप, भारतीय अधिकारीले ३५ लाख कर तिरेनन्

ऊर्जा खबर मङि्सर १६, २०७६   3281

जलस्रोत



Pancheshwor TOE extention

काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माण गर्न गठित ‘पञ्चेश्वर विकास प्राधिकरण (पिडिए)’ अन्तर्गतको ‘विज्ञ समूह (टिम अफ एक्सपर्ट–टिओई) को म्याद एक वर्ष थपिएको छ ।

गत साता (मंसिर ११–१३ गते) दिल्लीमा सम्पन्न पिडिएको सातौं गभर्निङ बडी (सञ्चालक समिति) को बैठकले उक्त निर्णय गरेको हो । डेढ वर्षदेखि सञ्चालक समितिको बैठक बस्न सकेको थिएन । पिडिएमा भारततर्फबाट नियुक्त अधिकारीहरू दिल्ली बस्ने हुँदा संस्था अहिले निष्क्रिय जस्तै छ ।

ad

पिडिएको ३–४ वर्षदेखि अडिट (लेखा परीक्षण) नभएको र प्रशासनिक काम थाति रहेकाले बैठक त्यसैमा केन्द्रित रहेको बैठकको अध्यक्षता गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले बताए । ‘लेखा परीक्षण नभएकाले हाम्रोतर्फ बेरुजु देखिएको छ, दुवैतर्फको सहमतिमा दुई महिनाभित्र काम सुरु गर्ने निर्णय भएको छ,’ उनले भने, ‘भारतीय अधिकारीले आयकर नतिरेको विषय पनि उठेको छ ।’

टिओईको म्याद सन् २०१९ मार्चमा सकिएको थियो । सोही मितिबाट लागू हुने गरी एक वर्ष म्याद थप गर्ने निर्णय भएको घिमिरेले बताए । उनका अनुसार पिडिएमा कार्यरत भारतीय अधिकारीहरूले करिब ३५ लाख रुपैयाँ आयकर तिर्न बाँकी छ । छिटो कर बुझाउन पनि नेपालले ताकेता गरेको उनले बताए ।

भारतमा आयकर कम रहेकोले ती अधिकारीले उतै बुझाउने राय व्यक्त गरेका थिए । तर, पिडिए नेपालमा रहेको र नेपालकै कानुन आकर्षित हुने हुँदा त्यसो गर्न नमिल्ने नेपाली अधिकारीहरूले बताएका थिए । उनीहरू कर उठाएर पठाउने सहमति भएको पनि सचिव घिमिरेको भनाइ छ ।

डेढ वर्षदेखि टिओईको बैटक नबसेको हुँदा सन् २०२० को जनवरी १५ भित्र यसको चौथो बैठक नयाँ दिल्लीमा बस्ने सहमति भएको छ । पिडिए कार्यसमितिको दोस्रो कार्यकाल सुरु भएपछि (करिब डेढ वर्षदेखि) भारतीय अधिकारी दिल्ली बस्ने गरेका छन् । यही कारण आयोजना निर्माण गर्नु अघि टुंगिनुपर्ने पानीको विवाद यथावत छ ।

पिडिएमा अहिले उप–सिइओ सहित नेपालतर्फका ९ कर्मचारी छन् भने भारतका एक जना पनि छैनन् । आयोजनामा उप–सिइओ चिरञ्जीवी चटौत, नरेन्द्रसिंह भण्डारी र जलस्रोत तथा सिँचाइ विभागका सुई चुर्णबहादुर वलीले प्राविधिक तथा वातावरणतर्फ र पुनर्बास तथा पुनरस्थापनाको कामको जिम्मेवारी सम्हालेका छन् । प्रशासन कार्यकारी निर्देशकको जिम्मेवारी खाली रहेकाले चटौतले नै सम्हालिरहेका छन् ।

भारततर्फ सिइओ अशोक सिताराम गोयल (एएस गोयल) सहित चार पदाधिकारी नियुक्त भएका हुन् । उनीहरू दिल्ली बसेर निर्देशन दिँदै आएका छन् । सिइओ र आर्थिक तथा वित्तीय अधिकार भारतीयमा रहेकाले नेपाली कर्मचारीले तलब खान पनि दुई–दुई महिना कुर्नुपर्ने अवस्था छ ।

२०७१ साउन १८ गते नेपालको पहिलो औपचारिक भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६ महिनाभित्र डिपिआर पूरा गरेर एक वर्षभित्र निर्माण सुरु गर्ने बचन दिएका थिए । त्यसलगत्तै पिडिए गठन भएको थियो ।

अलपत्र टिओई

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) टुंग्याउन गठित टिओई डेढ वर्षदेखि निष्क्रिय छ । यसको तीन पटकसम्म बैठक बस्यो तर डिपिआरको विवाद सुल्झेको छैन । टिओईमा नेपाल र भारतका तर्फबाट १५–१५ पदाधिकारी छन् ।

भारतकै कारण सन् २०१७ मा गठन भएको टिओईले अहिलेसम्म आफ्नो जिम्मेवारी पूरा गर्न सकेको छैन । पछिल्लो समय २०७५ फागुन १५ र १६ गते टिओईको तेस्रो बैठक काठमाडौंमा बसेको थियो । टिओईको पहिलो बैठक २०७३ भदौ ५, ६ र ७ गते काठमाडौंमा र दोस्रो बैठक भदौ २० र २१ गते दिल्लीमा भएको थियो ।

३ वटा बैठकले अन्य विषय टुंगो लगाए पनि पानीको विवाद मिलाउन सकेको छैन । यही कारण गभर्निङ बडीको बैठक पनि लम्बिँदै गएको छ । गभर्निङ बडीको पहिलो बैठक २०७१ असोज ६ र ७ गते काठमाडौंमा र दोस्रो मंसिर २ र ३ गते दिल्लीमा भएको थियो । यसपछि निरन्तर ६ पटकसम्म बैठक बसिसकेको छ ।

कहिले टुंगिने पानीको विवाद ?

गभर्निङ बडीको दोस्रो बैठकले ६ महिनाभित्र डिपिआर टुंग्याउन वापकोस लिमिटेडलाई जिम्मा दिएको थियो । महाकाली नदीबाट नेपालले पाउनुपर्ने उपभोग तथा उपभोग्य पानीको परिमाणमा भारतले किचलो गर्दा डिपिआर टुंगिन सकेको छैन ।

नेपाल–भारतबीच २०५२ माघ २९ मा शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर आयोजना विकास गर्ने गरी एकीकृत महाकाली सन्धि भएको थियो । सन्धिमा उत्पादित बिजुली र पानी आधा–आधा बाँड्ने उल्लेख छ । तर, यसमा भारतले सधैं विवाद झिकिरहेको छ ।

सीमाभन्दा करिब १ सय ६० किलोमिटर तल आफ्नो आन्तरिक प्रयोजनका लागि बनाएको बाँधको विषय उठाएर भारतले व्यवधान खडा गर्दै आएको छ । महाकाली सन्धिअनुसार कन्चनपुरका चाँदनी र दोधाराका लागि टनकपुरबाट दिनुपर्ने पानीका विषयमा पनि भारतले सधैं बखेडा झिक्दै आएको छ ।

सन्धिअनुसार कन्चनपुरका दुई गाउँलाई १० क्यूमेक पानी दिनुपर्छ । तर, अहिले भारत पञ्चेश्वर निर्माणपछि मात्र दिन सकिने तर्क राख्दै आएको छ । यही कारण त्यहाँका बासिन्दा पाउनुपर्ने पानीबाट बञ्चित भएका छन् ।

चाँदनी दोधारामा पानी लैजानेबारेको विस्तृत अध्ययन (डिपिआर) सन् २०१३ मै पूरा भएको हो । तर, भारतले पञ्चेश्वर निर्माण भएपछि मात्र त्यस क्षेत्रलाई पानी दिने भन्दै सन्धिको गलत व्याख्या गर्दै आएको छ ।

शारदा ब्यारेजबाट नेपाललाई पानी दिने सतह (सिल लेभल) को विषय पनि विवादित थियो । भारतले समुद्र सहतदेखि २४५ मिटर उचाईबाट पानी दिने भनेको थियो । तर, आफूले २४१.५ मिटरबाट उपभोग गरिहेको छ ।

बालानन्द पौडेल ऊर्जा सचिव हुँदा नेपालले पानी पाउने उचाई २४४.२५ मिटरमा झारिएको छ । यहाँबाट नेपालले २८.३५ क्यूमेक (घनमिटर प्रतिसेकेण्ड) पानी पाउनुपर्छ ।

पानीको उपलब्धता

महाकाली नदीबाट दुवै देशले अहिले १२ अर्ब घनमिटर प्रतिसेकेण्ड पानी प्रयोग गर्न पाउँछन् । तर, नेपालले ज्यादै कम प्रयोग गरेको छ । आयोजना निर्माणपछि १८ अर्ब घनमिटर प्रतिसेकेण्ड पानी उपलब्ध हुने अध्ययनले देखाएको छ ।

थप उपलब्ध हुने ६ अर्बमध्ये ३ अर्ब नेपाललाई दिनुपर्ने, १ अर्ब ९२ करोड भारतले प्रयोग गर्ने र बाँकी १ अर्ब ५० करोड घनमिटर प्रतिसेकेण्ड नदीमै छोड्नुपर्ने डिपिआरमा छ । आयोजना बनेपछि नेपालमा ९३ हजार हेक्टर र भारतमा १६ लाख हेक्टर जमिनमा सिँचाइ पुग्ने छ ।

जलाशयबाट नेपालतर्फ ३४ र भारततर्फ ६६ प्रतिशत जमिन डुबानमा पर्ने उल्लेख छ । आयोजनाबाट नेपालतर्फ २ हजार ९ सय २६ घरधुरी अर्थात साढे २२ हजार व्यक्ति विस्थापित हुने अध्ययनमा छ ।

सडक र नहर अधुरै

सन्धिअनुसार टनकपुर सिल लेभलबाट नेपालतर्फ पानी ल्याउन भारतीय भूमिमा निर्माण गर्नुपर्ने १२ सय मिटर नहर अहिलेसम्म निर्माण पूरा भएको छैन । सन्धि अनुसार यो भारतले नै निर्माण गरिदिने सर्त छ । झन्डै २४ वर्षपछि ठेक्का लागेर बल्ल काम सुरु भएको छ ।

नहरलाई नै लक्षित गर्दै अर्थात् नहरकै समानान्तरमा निर्माण हुने भनिएको करिब ५ किलोमिटर सडकको काम पनि सुरु हुन सकेको छैन । सडकको डिपिआर टुंगो नलागेको भन्दै भारतले काम अघि नबढाएको महाकाली सिँचाइले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="