काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षदेखि पेट्राेलियम पदार्थमा पूर्वाधार कर लगाएउने भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले सडक पूर्वाधार विकास गर्न पेट्राेलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर लगाउने बजेट सार्वजनिक गरेकै दिन राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १.५० रुपैयाँ निगमले बढाएको हो ।
सरकारले पूवार्धार कर लगाउने भएपछि भारतीय आयल कर्पाेरेशनकाे नयाँ सूची आउनु अघि नै निगमले मूल्य समायाेजन गरेकाे छ । नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर मूल्य १ सय ११ रुपैयाँ भएको निगमका उपनिर्देशक विनितमणी उपाध्यायले बताए । उनका अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य ९८.५० रुपैयाँ पुगेको छ ।
यसअघि पेट्रोलको प्रतिलिटर मूल्य १०९.५०रुपैयाँ थियो । डिजेल र मट्टीतेलकोे मूल्य लिटरमा ९७ रुपैयाँ थियो । खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धनको मूल्य यथावत राखिइएको निगमले जनाएको छ । निगमले यसअघि जेठ ३ गते पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस