Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युतका अथक अभियन्ता ‘हरि बैरागी दाहाल’

असोज १५, २०७६   3255 लेख


सुवर्णदास श्रेष्ठ

काठमाडाैं – सामाजिक सञ्जालबाट हरि बैरागी दाहाललाई ‘हर्ट अट्याक’ भएको खबर फैलियो । म झस्केँ । उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको जानकारी भयो । मलाई दैनिक कार्यव्यस्थताले थिचिरहेकाले तुरुन्त अस्पताल जान सकिनँ । समय मिलाएर जान्छु भन्दा–भन्दै केही दिन यतिकै सकिए । साथी अजय कार्कीसँग कुरा भइरहेको थियो, अस्पताल जाने विषयमा ।

अजयको व्यस्थता देखेपछि एक्लै भए पनि जान्छु भन्ने सोच भयो । असोज ३ गते शुक्रबार विरामी दाहाललाई भेट्न जाने तयारीमा थिएँ, म । तर, अजयले उनको निधनको खबर सुनाए । मलाई एक्कासी रिंगटा लागेजस्तो भयो । म किंकतव्र्यविमूढ भएँ । ६२ वर्षको उमेरमै उनी सधैंका लागि बिदा हुन्छन् भन्ने मैले कहिल्यै हेक्का राखिनँ ।

ad

विरामी दाहाललाई भेट्न जाने भन्दा–भन्दै समय छुट्ट्याउन नसकेकोमा आफैंलाई थक्थकी लाग्यो, एक प्रकार पछुतो पनि । कता–कता हृदय भतभती पोलेजस्तो महसुस भयो । जलविद्युत विकासका एक अभियन्ता, सहयोगी, सहकर्मी र सहयात्री गुमाएको दिन मन एक तमासको भइरह्यो । आखिर घटना भइसकेको थियो । यसलाई आत्मसाथ गर्नुको विकल्प थिएन ।

दाहालको मृत्युपछि म बेलगाम समयबारे सोच्न थालेँ । मान्छेलाई समय कति भए पुग्ने हो ? कति हुँदा नपुग्ने वा कतिले बढी हुने हो ? दिनका २४ घन्टामा मान्छेले कति आफ्ना लागि छुट्ट्याउँछ ? आफ्नो मजदुरीमा कति खर्च गर्छ ? विश्राम अनि आफन्त, इष्टमित्र र साथीभाइका लागि कति ? देशको नागरिक भएर समाजप्रतिको दायित्व पूरा गर्न कति समय भाग लगाउनुपर्ने हो ?

यी कामको फेहरिस्त अगाडि आइरहँदा मलाई भाउन्न हुन थाल्यो । प्रश्नका झीरले दिमागका नसा घोचिरहे । लाग्न थाल्यो, व्यवस्थताको घनचक्करमा पिसिएर आफैंलाई बिर्सने परिस्थिति सिर्जना हुनुमा जीवनप्रतिको के मोह ? आखिर शोलामा सुतेर जाने जिन्दगीको कुनै टुंगो हुने रहेनछ । हितैसी, इष्टमित्र र साथीभाइका लागि जीवनको उत्तरार्धमा एक क्षण समय विनियोजन गर्न नसक्नु साच्चै मान्छेका लाचारी नै भन्ठान्छु, म ।

यी मेरा मात्र दुःख होओइनन् । हरेकका चिन्ता, चासो, तनाब, पीडा र बिलौना यस्तै हुनन् । फेरि पनि बाँच्दासम्म समयको जुवामा नारिएर कर्मको गरो जोत्नैपर्ने रहेछ । यसरी जोतिरहँदा कहिलेकाहीँ आफ्नै हितैसी नजिकबाट सधैंका लागि छुट्टिएको पत्तै हुँदो रहेनछ । अन्त्यमा नमीठो सत्य स्वीकारेर जीवनलाई समयको लयमा फर्काउनैपर्दो रहेछ ।

जलविद्युत आयोजना (विकास) निर्माणका सुरुवाती दिनदेखि प्रायः म दाहालको दायाँबायाँ भइरहेँ । विद्युत विकासमा अल्झिएका गाँठा फुकाउन कहिले मन्त्रालय, कहिले बहस त कहिले अन्तरक्रियामा म उनकै हाराहारी उभिरहेको हुन्थेँ । निजी क्षेत्रका समस्या समाधानमा सधैं जुझारु रूपले लागिरहने दाहाल आज मेरो मष्तिस्कमा फन्को मारिरहेका छन् । आज उनको १३औं पुण्यतिथि, त्यो हसिलो अनुहार म झलझली सम्झिरहेको छु ।

जलविद्युतको वकालत

जब विद्युत ऐन २०४९ आयो तब साना जलविद्युत आयोजनामा स्वदेशी निजी क्षेत्र लगानी गर्न अग्रसर भयो । यही मेसोमा रसियामा पढेर फर्केका केही साथीहरू मिलेर २०५५ सालको अन्त्यमा सानिमा हाइड्रो ग्रुप दर्ता गरियो । यहाँ जलविद्युत विकासको माहोल सुरु भइसकेको थियो । त्यतिबेला अरुण तेस्रोबारे पनि निकै थियो । अचानक अरुणबाट विश्व बैंकले हात झिकेपछि जलविद्युत क्षेत्रमा एक खालको अन्योलता छाएको थियो ।

हरिबैरागी दाहालले आफ्नै लगानीबाट भए पनि साना–साना आयोजना निर्माण गर्दै जानुपर्छ भन्ने अभियान सुरु गरे । उनकै प्रयासमा अरुण भ्याली हाइड्रो पावर कम्पनी खोलेर ३ मेगावाटको पिलुवा खोलाको निर्माण अगाडि बढेको थियो । हामीले पनि २०५६ सालमा २.६ मेगावाटको सुनकोसी साना जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गर्योै । यही सिलसिलामा मेरो दाहालसँग भेट हुन पुग्यो ।

त्यो भन्दा अगाडि स्वदेशी निजी क्षेत्रले जलविद्युत आयोजना निर्माण गरेको अवस्था थिएन । निजी क्षेत्र नयाँ थियो भने सरकार पनि त्यति प्रस्ट थिएन । नीतिगत, विद्युत खरिद दर लगायत विषय अगाडि बढाउनुपर्ने थियो । यस्तो अवस्थामा हामी अगाडि बढौं, काम गर्न सकिन्छ भन्ने अभियानको नेतृत्व दाहालले गरे । हामीबीच सहकार्य पनि भयो ।

जलविद्युतमा हात हाल्नुपूर्व नै उनले नेपाल विद्युत प्राधिकरणको २ सय ४० किलोवाटको आयोजना भाडामा सञ्चालन गरेको जानकारी थियो । यहाँबाट आउने आम्दानीले उनले संखुवासभामा एउटा विद्यालय सञ्चालन गरिरहेका थिए । त्यतिबेलै दाहाल संखुवासभाबाट सांसद निर्वाचित भए । जलविद्युतमा आइसक्दा भने उनी सांसद थिएनन् ।

हामीले काम सुरु गर्दा विद्युत किनबेच गर्ने निकाय प्राधिकरण मात्र थियो । अहिले पनि यही हो । खरिद दर निश्चित भइसकेको थिएन । तत्कालीन जलस्रोत मन्त्री शैलजा आचार्यको यसमा ठूलो योगदान रह्यो । विद्युत खरिद दर बारे दाहालसँग मिलेर लबिङ गर्नेमा हामी थियौं । यसको नेतृत्व भने उनैले लिएका थिए ।

मन्त्री र निजी क्षेत्रबीच धेरै चरण छलफल भयो । र, खरिद दर निर्धारण गरियो । १० मेगावाटसम्मका आयोजना साना जलविद्युतमा राखियो । अनि, ५ मेगावाटसम्मको खरिद दर (बर्खामा ३ रुपैयाँ र हिउँदमा ४.२५ रुपैयाँ) कायम भयो । यसमा ६ प्रतिशतका दरले ५ वर्षसम्म मूल्यबृद्धि दिने निर्णय पनि भयो ।

यसमा दाहालको ठूलो योगदान छ । उनकै पहलका कारण स्वदेशी निजी क्षेत्रले जलविद्युत बेच्ने आधार तयार भएको हो । स्वदेशी लगानीमा जलविद्युत विकास गर्नुपर्छ । यसबाटै देशलाई योगदान पुर्याउन सकिन्छ भन्ने आधार तय गर्ने श्रेय तत्कालीन मन्त्री आचार्य र दाहाललाई नै जान्छ ।

विद्युत खरिद दर निर्धारणपछि मात्र प्राधिकरणले साना जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गर्ने ढोका खुल्यो । अनि, अरुण भ्याली (पिलुवा), सानिमा (सुनकोसी) हुँदै इन्द्रावती (तल्लो सुनकोसी), फेमे खोला, चाकु, रैराङ लगायत आयोजना अगाडि बढे ।

त्यसबेला हरिबैरागी दाहाल, गुरुप्रसाद न्यौपाने, कृष्णप्रसाद भण्डारी, शैलेन्द्र गुरागाईं, कुमार पाण्डे, बसन्तकुमार नेम्वाङ, डेढराज खड्का, समन मानन्धर, गंगाप्रसाद जोशी, पूजा चन्द लगायत सीमित कम्पनीका प्रतिनिधि साना जलविद्युतमा सक्रिय थियौं । यसमा दाहालले नै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

हामीले काम सुरु गर्दा निजी क्षेत्रलाई जलविद्युत विकासबारे कमै जानकारी थियो । उता सरकारसँग पनि लामो अनुभाव थिएन । यसैले सरकारसँग सहकार्य गर्न पनि संस्थागतरूपमा जानुपर्छ भन्ने कुरा उठ्यो । यही अभिप्रायाले २०५६ सालमा दाहालको अध्यक्षतामा साना जलविद्युत विकास संघ स्थापना भयो । र, हामी १०–११ जना कार्यसमितिमा बस्यौं ।

जलविद्युत विकासमा समसामयिक सुधार गर्नुपर्नेमा लबिङ गर्दै आवाज उठाउने प्रयासलाई ‘हरिबैरागी दाहाल’ समय भन्नुपर्छ । पछिल्लो साढे दुई दशकमा निजी क्षेत्रले जलविद्युतमा जुन फड्को मारेको छ । यो त्यही प्रयासको प्रतिफल हो ।

सुनकोसी निर्माणको तयारी गरिरहँदा हामी पढेर भर्खर नेपाल प्रवेश गरेका थियौं । कानुनी तथा नीतिगत कुरा थाहा थिएन । अन्य व्यक्ति पनि कम जानकार थिए । दाहाल राजनीतिक व्यक्ति भएकाले हामीलाई सँगै लिएर हिँडे ।

आफूले जानेका कुरा आदानप्रदान गरे । र, नीतिगत जटिलता फुकाउन उच्च सरकारी तहसम्म निरन्तर लबिङ गरिरहे । जलविद्युतबाट मात्र देश विकास गर्न सकिन्छ भन्ने उनको दीर्घकालीन सोच थियो । यस मानेमा उनी दूरदर्शी व्यक्ति पनि हुन् भन्ने लाग्छ ।

दाहालको योगदान

विभिन्न राजनीतिक तह तथा मन्त्रालयसम्म दाहालको सहज पहुँच थियो । पहुँचकै आधारमा जलविद्युतका गाँठा फुकाइन्थ्यो । उनले पार्टी वा मन्त्रालय तहमा आफ्ना कुरा प्रस्ट राखेर बोल्न सक्ने हुँदा सरकारले निजी क्षेत्रका कुरा सुन्थ्यो । हामीले पनि सिक्दै गयौं । निजी क्षेत्रमा आफ्ना समस्याबारे बोल्ने र आवाज उठाउने आँटको विकास हुँदै आयो ।

देशमा साना जलविद्युत आयोजना विकास हुने वातावरण बन्यो । त्यतिबेला ५ मेगावाटसम्मका आयोजना सुरु भएकै कारण १० मेगावाट, २० मेगावाट हुँदै निजी क्षेत्रले सय मेगावाटसम्मका आयोजना निर्माण गर्ने आँट गरेका छन् । हामीमा आत्मविश्वास बढेको छ ।

विद्युत खरिद दर पनि ३ रुपैयाँ र ४.२५ रुपैयाँबाट बढेर २५ मेगावाटसम्मका लागि ४ रुपैयाँ र ७ रुपैयाँ भयो । यसमा थप भई सय मेगावाटसम्मका लागि बर्खामा ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँ तोकिएको छ । यसको जग बसाल्ने व्यक्ति उनै दाहाल हुन् ।

सुरुमा उनले ३ मेगावाटको पिलुवा बनाए । हामीले २.६ मेगावाटको सुनकोसी बनायौं । उता १.५ मेगावाटको चाकु, १ मेगावाटको फेमे खोला निर्माण भए । यही आधारमा आज सय मेगावाटको आयोजना बनाउने जग बस्यो ।

यदि, त्यतिबेला हामीले २ वा ५ मेगावाटका आयोजना अगाडि नबढाएको भए आज हामी यहाँ हुँदैनथ्यौं । जलविद्युत विकासमा सायदै फड्को माथ्र्यौं कि ! सय मेगावाटसम्म आयोजना बनाउने आँट गर्न सकिँदैनथ्यो । यहीँनिर, निजी क्षेत्रको क्षमता बढाउन पनि दाहालको निकै योगदन रह्यो ।

हामी साना आयोजना निर्माणमा लागिरहेकै बेला जर्मन सहयोगमा ‘साना जलविद्युत विकास प्रवद्र्धन केन्द्र’ खुल्यो । यसबाट हामीले पर्याप्त प्राविधिक सहयोगका साथै सिक्ने मौका पायौं । यसले ४–५ वर्षसम्म प्राविधक सहयोग प्रदान गर्यो । र, निजी क्षेत्रको क्षमता विस्तारमा सहयोग पुर्यायो । यसमा लबिङ गर्न पनि हरिबैरागी दाहाल पछि परेनन् ।

त्यो बेला देशमा चरम द्वन्द्व थियो । यस्तो बेला दाहालले आँट गरे । जंगल चहार्दै खोला–नाला पुगेर आयोजना निर्माण गर्न साच्चै हिम्मत चाहिन्थ्यो । संसारमा एउटै व्यक्तिले सधैं सबै कुरा गर्न सक्दैन । त्यो सम्भव पनि छैन । सुरुमा हामी जो–जो यस क्षेत्रमा लाग्यौं । दाहालसँगै लागेका हौं । उनले गरेको नेतृत्व, हौसला र प्रेरणा बिर्सेर बिर्सन सकिँदैन । उनले सुरु गरेको अभियान आज जलविद्युत विकासको कोसे ढुंगा साबित भएको छ ।

जब पिपिए गर्ने क्रम सुरु भयो तब बैंकले लगानी गर्न डराए । जलविद्युतमा बैंकको लगानी ल्याउने अरुण भ्याली (पिलुवा खोला) पहिलो कम्पनी हो । आयोजना बनाउने कम्पनीको नाममा बैंकमा छुट्टै खाता खोल्ने र जति आम्दानी हुन्छ त्यो त्यहीँ जम्मा हुने व्यवस्था भयो । यो भविष्यमा ऋण तिर्न नसके खाताको रकम स्वतः बैंकमा जाने व्यवस्था हो । पिलुवाको पिपिए संशोधन गरी उक्त व्यवस्था थपेपछि मात्र बैंकको लगानी आएको थियो ।

पछि हामीले निर्माण गरेका आयोजनामा बैंकहरू सजिलै आए । यो पनि निजी क्षेत्रका लागि अर्को महत्त्वपूर्ण कोसे ढुंगा हो । त्यतिबेला निजी क्षेत्रका अभिभावक नै हरिबैरागी दाहाल थिए । केही समस्या पर्यो । मन्त्रालय, प्राधिकरण वा अन्य निकायसँग सहजीकरण गर्नुपर्यो भने उनै अघि सर्थे । निजी क्षेत्रको अर्को सहारा नै थिएन ।

हामीले लिएर जाने समस्या सहजीकरण गर्न उनले कहिल्यै झिँजो मानेको मलाई थाहा छैन । उनले कुनै दिन मेरो काम छ वा म भ्याउँदिन भनेनन् । सरल स्वभाव, सहयोगी र जिम्मेवारीबोध गर्ने हुँदा पनि उनी स्वदेशी जलविद्युत उत्पादकका अगुवा थिए । र, रहिरहनेछन् । उनकै ‘भिजन’मा आज निजी क्षेत्रले विद्युत विकासको लय समाते स्वीकार्न गाह्रो मान्नु पर्दैन ।

जलविद्युतका समस्याबारे संस्थागत आवाज उठाउन सुरुमा साना जलविद्युत विकास संघ बन्यो । धेरै वर्षपछि मात्र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) स्थापना भयो । निजी क्षेत्रका समस्या संस्थागतरूपमा उठाउनुपर्छ । र, यसरी जाँदा सफल भइन्छ भन्ने संघले देखाइसकेको थियो ।

हरिबैरागी दाहाल पिलुवाबाट निस्केर रैराङ खोलामा संलग्न भए । पछि सिस्ने खोला निर्माणमा लागे । यसमा उनले धेरै समस्या पनि भोगे । तर, उनले आफ्नो समस्या बाहिर देखाउँदैनथे । जस्तो समस्या परे पनि लक्ष्यमा अविचलित व्यक्ति हुन्, उनी ।

मान्छे जिवित हुँदासम्म उसको महत्त्व थाहा हुँदैन । जब निधन हुन्छ बल्ल हामी तन्द्राबाट ब्यूँझे झैँ हुन्छौं । दाहालको अकल्पनीय निधनले जलविद्युत क्षेत्रमा यस्तै महसुस गराएको छ । उनी व्यक्ति नभएर जलविद्युत क्षेत्र अगाडि बढाउने संस्था हुन । यो अहिले अझ बढी खड्किएको छ ।

कसरी सम्झिने ?

स्वदेशीले पनि जलविद्युत आयोजना निर्माण गर्नुपर्छ भन्ने उनको जुन अठोट थियो । त्यो सफल हुँदै आएको छ । ‘उज्यालो नेपाल वा समृद्ध नेपाल’ जे भने पनि एउटा पक्षमा यसको श्रेय फेरि पनि हरिबैरागी दाहाललाई नै जान्छ । जलविद्युतबाट मात्रै देश विकास सम्भव छ भन्ने अभियान जसरी सुरु भयो यसरी नै अगाडि बढ्नु अबको चुनौती हो ।

त्यतिबेला धेरैले भन्थे, द्वन्द्वको बेला पनि जलविद्युत आयोजना बनाउने ? द्वन्द्व समाधान भएपछि गरे हुन्छ नि ! द्वन्द्व समाधानलाई पर्खेको भए हामी १०–१२ वर्ष पछाडि पर्ने थियौं । १२ वर्षपछि सुरु गरेको भए परिणाम आउन २० वर्ष लाग्थ्यो । त्यस्तो प्रतिकूल अवस्थामा विचलित नभई अगाडि बढ्नु र सिंगो निजी क्षेत्रलाई तानेर हिँडाउने प्रयास दाहालकै हो ।

ठूलो आयोजना बनाउने भनेर लागेको भए बन्दैनथ्यो होला । हामी पश्चिम सेती, अरुण जस्ता आयोजनामा वर्षौं रुमल्लियौं । तर, यसो नगरेर निजी क्षेत्रले जति सक्छौं त्यति नै गरौं भन्ने भयो । जसले जेजति लगानी गर्न सक्छ आफ्नो पुँजी अनुसार अगाडि बढियो ।

आफ्नो पुँजी अनुसार काम गर्दै क्षमता विस्तार गर्नुपर्छ भन्ने भावना र चिन्तन दाहालकै हो । यो पक्ष राज्यले पनि सिक्नुपर्छ भन्ने लाग्छ । हिजो सानो पुँजी वा लाख लगानी गरेको निजी क्षेत्र आज अर्बमा जान थालेको छ । सुरु त सानैबाट हुने हो । हिजोको कामले आज आत्मविश्वास बढ्दै गयो ।

कुनै पनि काममा उतारचढाव आउँछ । आयोजना निर्माणक्रममा राज्यले गर्नुपर्ने सहयोग कति गर्यो वा गरेन एकातिर होला । तर, जायज कुरा निरन्तर अगाडि बढाइरहने काम निजी क्षेत्रले छोड्नु हुँदैन । दाहाल अहोरात्र नलागेको भए साना आयोजना बन्दैनथे । पिपिए हुँदेनथ्यो र बैंकले हामीलाई पत्याउने वातावरण पनि बन्ने थिएन । अहिलेको अवस्थामा हामी १० वर्षपछि पो पुग्थ्यौं कि !

निजी क्षेत्रले आज करिब ६ सय मेगावाट प्रणालीमा जोडिसक्यो । २ हजार ५ सय मेगावाटका आयोजना निर्माणाधीन छन् । हामीमा जुन सक्षमता, आत्मविश्वास विकास भइरहेको छ, यसका अगुवा उनै दाहाल हुन् । निजी क्षेत्रले दाहालको ‘लेगेसी’ समातेर जलविद्युत विकासलाई निरन्तरता दिनु नै उनलाई सम्झिरहने आधार हो । आत्मिय सहकर्मी हरि बैरागी दाहालप्रति चीरकालसम्म हार्दिक श्रद्धासुमन !

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="