Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पेट्रोलियम पाइप लाइनको परीक्षण थालियो, असारभित्रै सञ्चालनमा आउने

ऊर्जा खबर असार ०५, २०७६   1715

पेट्रोलियम



काठमाडौं- नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको परीक्षण सुरु भएको छ । नेपाल आयल निगमले नेपालतर्फको ३६ किलोमिटर पाइप लाइन सम्पन्न गरेर परीक्षण सुरु गरेको हो ।

अहिले पाइप लाइनमा पानी हालेर ‘हाइड्रोलिक टेष्ट’ सुरु गरिएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । ‘निर्माण सकिएपछि सञ्चालनका लागि तयारी अवस्थामा राख्न परीक्षण गर्नुपर्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘विभिन्न चरणमा हुने परीक्षण पूरा भएपछि पाइप लाइनबाट तेल आउन सुरु हुन्छ ।’

ad

पाइप लाइनको प्राविधिक पक्षको सम्पूर्ण परीक्षण सम्पन्न गरेर सम्भव भएसम्म असारभित्रै सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए । पाइप लाइन बिछ्याउन काम सकिएसँगै नियन्त्रण कक्ष (कन्ट्रोल रुम) र अमलेखगन्ज डिपोको निर्माण अन्तिम चरणमा पुगेको गोइतले बताए ।

पाइप लाइनबाट निगमले डिजेल आयात गर्नेछ । पाइप लाइन सञ्चालन भएपछि भारतको मोतीहारीबाट प्रतिघन्टा ३ लाख लिटर पेट्रोलियम पदार्थ अमलेखगन्ज डिपोमा आइपुग्ने निगमले जनाएको छ । निर्माण सुरु गरेको ३० महिनामा सम्पन्न हुनुपर्ने पाइप लाइनको काम १५ महिनामा परीक्षणको चरणमा पुगेको गाेइतले दाबी गरे

३६ किलोमिटर लाइनको साढे ७ किलोमिटर भागमा भूमिगत प्वाल बनाएर पाइप राखिएको छ । पाइप लाइनको रुट पर्ने परवानीपुरमा २ किलोमिटर, जितपुरमा १.६ किलोमिटर र नाला, कलवट, सडक खण्ड रहेको स्थानमा ४ किलोमिटर भूमिगत प्वाल बनाएर पाइप राखिएको निगमले जानकारी दिएको छ ।

८० किलोमिटर लामो पाइप लाइन परियोजनाको भारततर्फको खण्ड यसअघि नै पूरा भइसकेको छ । २०७४ फागुन २५ गतेबाट सुरु भएको पाइप लाइन विस्तारको काम भारतको लिखित इन्फ्रास्ट्रक्चरले गरेको हो । भारतकै सिमलेस लिमिटेडले उत्पादन गरेका पाइप प्रयोग गरिएको छ ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुन थालेपछि वार्षिक ७० करोड रुपैयाँ ट्यांकर ढुवानी खर्च जोगिने निगमको दाबी छ । नेपाल र भारतको संयुक्त लगानी रहेको पाइप लाइन परियोजना ४ अर्ब ४० करोड (२ अर्ब ७५ करोड भारु) रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ ।

परियोजनामा भारतको ३ अर्ब २० करोड रुपैयाँ (२ अर्ब भारु) र नेपालको १ अर्ब २० करोड (७५ करोड भारु) रुपैयाँ लगानी हुनेछ । पाइप लाइन परियोजना निर्माण गर्न २०७२ भदौ ७ गते दुई देशबीच सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस