Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रानी जमरा कुलरिया सिँचाइ आयाेजना, नहरको पानी पुनः नदीमै फालियो

योगेश रावल श्रावण ०६, २०७६   911

छापा



टीकापुर– रानी जमरा कुलरिया सिँचाइ आयोजनाले प्रारम्भिक परीक्षणका क्रममा नहरमा बगाएको पानी पुनः कर्णाली नदीमै फालेको छ। चिसापानीबाट साढे पाँच किलोमिटर पश्चिमस्थित बल्चौर धार्मिकस्थल नजिक रहेको सेटलिङ बेसिङबाट पानी नदीमा फालेको हो।

ad

सेटलिङ बेसिङबाट पश्चिमतर्फ नहर निर्माणको काम सम्पन्न नभएका कारण पानी नदीमा फाल्नुपरेको आयोजनाले जनाएको छ। आयोजनाले नदीमा फालेको पानी परम्परागत रुपमा सञ्चालन भइरहेका रानी, जमरा र कुलरिया कुलामा बगिरहेको छ।

वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेकाले ती कुलाहरुमा अहिले पानीको मात्रा अत्यधिक छ। त्यसैमाथि आयोजनाले नहरको पानी समेत मिसाएपछि ती कुलाहरुमा पानीको सतह झन् बढेको छ। यसले किसानलाई खेतीपातीमा सिँचाइ गर्न सहज हुने नभई झन् बाढीको सामना गर्नुपर्ने त्रास देखिएको छ।

‘अहिले यो पानीको कुनै आवश्यकता छैन यसले किसानलाई फाइदा हैन झन् अप्ठेरो पार्ने देखिन्छ,’ रानी जमरा कुलरिया मूल कुला समितिका उपाध्यक्ष दामोदर खड्काले भने, ‘नहरमा पानी सञ्चालन भएर खुसी हुनुपर्ने अवस्था छैन।’

एकातिर आयोजनाले नहरको पानी नदीमा फालेको छ भने अर्कोतिर रानी कुलाको परम्परागत मुहान मालझुलबाटै अत्यधिक पानी आइरहेको छ। उल्टै कुलामा बढी भएको पानी टीकापुर नगरपालिका–२ स्थित बाइपास नहरबाट पुनः कर्णाली नदीमा फाल्नुपरेको छ। उता, जमरा र कुलरिया कुलामा समेत पानीको सतह बढेपछि परम्परागत मुहानमा रोक्नुपरेको स्थानीयले बताए।

आयोजनाले विद्युत्गृह र नहर निर्माणको काम समयमा सम्पन्न नभएका कारण समस्या भएको बताएको छ। आयोजनाको नहरसँगै जानकी गाउँपालिका–९, कटासेनजिकै ४.७ मेगावाट क्षमताको विद्युत्गृह निर्माण भइरहेको छ। बल्चौरस्थित सेटलिङ बेसिङबाट पश्चिम डुँडेझारीसम्मको झण्डै तीन किलोमिटर नहर निर्माणको काम समेत अझै अधुरो छ। ‘वर्षाको माटो भत्किने डरले नहरको केही ठाउँमा निर्माण रोकिएको छ,’ स्रोतले भन्यो, ‘नहर पूर्ण रुपमा निर्माण हुन अझै समय लाग्छ।’

अहिले नदीमा फालेको पानीले तत्काल किसानलाई लाभ नदिए पनि हिँउदमा भने फाइदा पुग्ने आयोजनाले दाबी गरेको छ। अहिले सो ठाउँमा पर्याप्त पानी बगिरहे पनि हिँउदमा भने सुक्खा हुने गर्छ। यस्तो अवस्थामा किसानले देशावर गएर कर्णाली नदीबाट कुला खनेर पानी ल्याउनुपर्छ। ‘सेटलिङ बेसिङबाट फालेको पानीले किसानलाई कुला खन्नुपर्ने बाध्यता हट्छ,’ आयोजना प्रमुख मधुकर रानाले भने, ‘अहिले यो पानीको त्यत्ति महत्व नहुन सक्छ। तर हिँउदमा यो पानी किसानका खेतमा सहजै पुग्नेछ।’

उनले विद्युत्गृह र नहर निर्माणको काम चाँडै सम्पन्न गरेर किसानका खेतमा सिँचाइ सुविधा पु-याउन आयोजना लागिपरेको बताए।

आयोेजनाले लम्कीचुहा नगरपालिका–३, चिसापानीस्थित मूल इन्टेकका १४ मध्ये तीनवटा ढोका खोलेको छ। ती ढोकाबाट कर्णाली नदीको पानी नहरमा प्रवेश गरेको छ। तत्काल परीक्षणका क्रममा थोरै पानी नहरमा बगाए पनि नहरको क्षमता सय क्युमेक पानी सञ्चालन रहेको आयोजनाले जनाएको छ।

आयोजना पूर्ण रुपमा सञ्चालनमा आएपछि नहरमा बगेको लाख क्युमेक पानीमध्ये २० हजार क्युमेक सेटलिङ बेसिङबाट पुनः नदीमा फालिनेछ। यसले नहरमा पानीसँगै बग्दै आएको बालुवा छानेर नदीमा फाल्नेछ। नहरमा बगेको बाँकी ८० हजार क्युमेकमध्ये ४० हजार रानी, जमरा र कुलरिया कुला तथा ४० हजार लम्की शाखा नहरमा बग्नेछ। जसले रानी, जमरा र कुलरिया कुला अन्तर्गतको १४ हजार तीन सय हेक्टर र लम्की शाखा नहर अन्तर्गतको ६ हजार हेक्टर भू–भागमा सिँचाइ सेवा पु-याउनेछ। लम्की शाखा नहरको पानी भविष्यमा मध्यवर्ती क्षेत्र पहलमानपुर नजिकको कान्द्रा नदीसम्म पु-याउने आयोजनाको लक्ष्य छ। यो आयोजना विश्व बैंक, नेपाल सरकार र जनश्रमदान गरी कुल २७ अर्बको लागतमा निर्माण भइरहेको छ।

नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="