Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

वैकल्पिक ऊर्जामा उन्नत प्रविधि

श्रावण १०, २०७६   230 लेख


श्याम गोयन्का

नेपालमा ऊर्जा खपतबारे सही, भरपर्दो र अद्यावधिक तथ्यांक फेला पार्नै गाह्रो छ । त्यसैले विभिन्न स्रोतको भर पर्नुपर्ने देखिन्छ । विभिन्न स्रोतबाट जम्मा गरिएको तथ्यांकबाट एउटा मोटामोटी धारणा बनाउँदा खाना पकाउन सबैभन्दा बढी ऊर्जा खपत हुने देखिन्छ ।

ad

खाना पकाउन कुल ऊर्जा खपतको ७५ प्रतिशत खपत हुन्छ भने यातायातमा १३ र उद्योग, कलकारखानामा ७ प्रतिशत मात्र ।

नेपालमा सबैभन्दा बढी दाउराकै प्रयोग हुने देखाउँछ । त्यसपछि पेट्रोलियम पदार्थ र विद्युत्को खपत हुने गरेको छ । तर दाउराको खपत र अन्य ऊर्जा स्रोतको खपतबीच ठूलो अन्तर छ । यो निकै डरलाग्दो समस्या हो ।

खाना पकाउँदाको ऊर्जा खपत
खाना पकाउने इन्धनको रुपमा प्रयोग हुने ऊर्जाका स्रोतहरु शहर र गाउँमा फरक छन् । शहरी क्षेत्रमा खाना पकाउनका लागि सबैभन्दा बढी एलपीजी प्रयोग हुने गरेको छ । सयमा ४० जनाले एलपीजी प्रयोग गर्ने गरेका छन् ।

त्यसपछि दाउरा र मट्टीतेलको खपत हुने गरेको छ । विद्युत्, प्राकृतिक ग्यासको प्रयोग एकदमै न्यून हुने गरेको छ । ग्रामीण क्षेत्रमा भने दाउराको प्रयोग अत्यधिक हुने गरेको छ । सयमा ८१ जनाले दाउराको प्रयोग गर्ने गरेका छन् ।

दोस्रो स्रोत गोबरको प्रयोग हो । गुँइठाजस्ता गोबर र घुर मिश्रित ऊर्जाका स्रोतको प्रयोग सयमा नौजनाले गर्ने गरेका छन् । एलपीजीको प्रयोग भने सयमा करिब चारजनाले मात्रै गर्छन् ।

यहाँ वर्षभरिमा खाना पकाउनकै लागि ठ्याक्कै कति काठ जलाइन्छ भन्ने तथ्यांक उपलब्ध छैन । त्यसैले विभिन्न स्रोतबाट प्राप्त तथ्यांकबाट एउटा अनुमानित तथ्यांक निर्माण गर्नुपर्ने हुन्छ ।

वर्षभरि पेट्रोल, डिजल, मट्टीतेल, एलपीजीलगायतका इन्धन प्रयोगको वार्षिक विवरण नेपाल आयल निगमले दिन्छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपभोगको तथ्यांक उपलब्ध गराउँछ ।

त्यही आधारमा वर्षभरि यी इन्धनको प्रयोग कटाएर रहने भाग दाउरालगायतका ठोस जैविक इन्धनहरुले पूर्ति गर्छन् भन्ने अनुमान गरिएको छ । यो अनुमानअनुसार नेपालमा खाना पकाउनकै लागि प्रतिवर्ष १ करोड ७० लाख टन दाउरा खपत हुने गरेको छ ।

दिगो विकास लक्ष्यको मूलभूत अवधारणाअन्तर्गत रहेर सघाइरहेका नीति निर्माता, बहुपक्षीय र द्विपक्षीय विकास सहयोगीहरुले दाउरा प्रयोगको यो परिमाणमा ध्यान दिन जरुरी छ ।

दाउरा उपयोगको अर्को आयाम पनि छ । विभिन्न स्रोतबाट उत्सर्जन भएको कार्बन बोटबिरुवाले सोस्छन् । जंगल नै विनाश भएपछि वातावरणमा कार्बन उत्सर्जनको मात्रा पनि बढ्छ ।

ऊर्जामात्र नभएर बायोग्यास प्रणालीका फाइदा अनेक छन् । यसले फोहोर व्यवस्थापन गर्छ र जैविक मल उत्पादन गर्छ । यसले उत्पन्न गर्ने ऊर्जा खाना पकाउन, कोठा तातो गराउन र उज्यालोको लागि प्रयोग गर्न सकिन्छ । र, यसको ऊर्जाले स्वास्थ्यलाई कुनै पनि हानि पुर्याउँदैन । अर्कोतर्फ ग्रामीण क्षेत्रमा रोजगारीको सिर्जना पनि गर्छ ।

स्वास्थ्य समस्या 
खाना पकाउने इन्धनको रुपमा भान्सामा दाउराको प्रयोगले स्वास्थ्यमा पारेको असर डरलाग्दो छ । अहिले पनि नेपाली समाजमा भान्सामा काम गर्ने अधिकांश महिला हुन्छन् । त्यसैले दाउराको उपयोगले उनीहरुको स्वास्थ्यमा बढी असर पार्ने गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार खाना पकाउने इन्धनबाट हुने वायु प्रदूषणका कारण लाग्ने रोगबाट बर्सेनि ३८ लाख मानिसको मृत्यु हुने गरेको छ । त्यसमध्ये २७ प्रतिशत न्यूमोनिया, १८ प्रतिशत मस्तिष्कघात, २० प्रतिशत श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोग (सीओपीडी) र ८ प्रतिशत फोक्सोको क्यान्सरबाट ग्रसित हुने गरेका छन् ।

वायु प्रदूषणका कारण स्वास्थ्य समस्या भोगेका व्यक्तिको संख्या बढ्दो छ । फोक्सोको क्यान्सर, सीओपीडी, एएलआरआई, आईएचडी आदि रोग मुख्यतः दाउरालगायतका परम्परागत खाना पकाउने इन्धनका कारण लाग्छ । यी मध्ये धेरै रोग आमाबुबाबाट सन्तानमा पनि सर्ने गरेको छ ।
यी सबै तथ्यले बताउँछन्, हामी अहिले त्यस्तो ज्वालामुखीमाथि बसेका छौं जो फुट्नमात्र बाँकी छ । अनविकरणीय ऊर्जाप्रतिको अत्यधिक निर्भरताले हामीलाई आर्थिक, वातावरणीय र स्वास्थ्य तीनै पक्षमा कमजोर बनाइरहेको छ ।

यो अघोषित संकटको अवस्था हो, जसको विकल्प खोज्न गरिने थोरै पनि ढिलाइले अकल्पनीय दुर्घटनाको निमन्त्रणा हुनेछ ।

विकल्पको आवश्यकता
खाना पकाउनकै लागि भइरहेको यति ठूलो वनविनाशबाट अब मुक्ति खोज्ने बेला भइसकेको छ । चलनचल्तीमा रहेका ऊर्जाका विकल्पबारे चर्चा गरिरहँदा फेलिक्स फिंकबेइंकरले १३ वर्षको उमेरमै दिएको विचारोत्तेजक मन्तव्य सम्झिनु उपयुक्त हुन्छ ।

सन् २०११ मा उनले संयुक्त राष्ट्र संघको महासभामा संसारभरका सरकार प्रमुखका सामुन्ने विश्वका सरकारहरु वातावरणसम्बन्धमा गम्भीर नभएको र ग्रह नै संकटमा हुँदा पनि मौन रहेको धारणा राखेका थिए । फेलिक्सले ‘पृथ्वीका लागि रुख रोपौं’ भन्ने अभियान चलाइरहेका छन् ।

वातावरण विनाशका विरुद्ध लड्न संसारभर एक अर्ब रुखहरु रोप्ने अभियान हो यो । यो भिडियो लिंकमा उनले निकट भविष्यमा हामीले सामना गर्नुपर्ने संकट र त्यसबाट जोगिन गर्नुपर्ने कर्महरुबारे उल्लेख गरेका छन् ।

यति कम उमेरमै फेलिक्सले यस्तो अभियान थाल्न सक्छन् भने संसारलाई जोगाउन के हामीले केही गर्न सक्दैनौं ?

विकल्पको रुपमा बायोग्यास 
वायुमण्डलबाट कार्बनडाइअक्साइडको मात्रा कम गराउन हामीले वृक्षरोपण, वन संरक्षणलगायतका सबैखाले उपाय लगाउनै पर्छ । साथसाथै दाउरालगायतका जैविक पिण्ड (बायोमास)को उपयोगलाई पुनर्नविकरणीय, हरित र सफा ऊर्जाका स्रोतहरुले विस्थापन गर्नुपर्छ ।

यहाँनेर पुनर्नविकरणीय र सफा ऊर्जाका स्रोतबारे चर्चित वातावरणविद् अजय दीक्षितका विचार सम्झिनु उपयुक्त हुनेछ । दीक्षित काठमाडौंस्थित ‘आईएसईटी–नेपाल’का कार्यकारी निर्देशक हुन् ।

नेपाली टाइम्समा प्रकाशित हुने ‘परिवर्तनका लागि जलवायु’ उनको मासिक स्तम्भ बढ्दो विश्वतापमानले नेपालमा पारेको असरमा केन्द्रित छ । त्यही स्तम्भको एक अंकमा उनले ‘नो स्मोक विद्आउट फायर’ शीर्षकमा यस्तो लेखेका छन्: ‘अर्को चरणको आर्थिक विकासका लागि नेपालले जैविक पिण्ड (बायोमास)को विकल्पमा ध्यान दिनै पर्छ । आयातीत पेट्रोलियम पदार्थ र जैविक इन्धनलाई जलविद्युत्लगायतका सफा ऊर्जाले विस्थापन गर्नेतर्फ एकदमै कमजोर सार्वजनिक नीतिहरु बनाइएका छन् ।

जैविक इन्धनलाई सफा ऊर्जाका स्रोतहरुले विस्थापन गर्न हामीले जोड दिनै पर्छ । यो काम नेपाललाई कार्बनमुक्त विकास पथमा डोर्याउने सुलभ यात्रा पनि हुन सक्छ ।

त्यसका लागि भने सबै क्षेत्रलाई समेटेको ऊर्जा नीति आवश्यक पर्छ । त्यस्तो नीतिले मात्र विश्वव्यापीरुपमा ऊर्जामा पहुँच स्थापना गर्न सक्छ भने स्वास्थ्य सुधार, लैंगिक र सामाजिक समता कायम पनि गर्न सक्छ ।

पेट्रोलियम पदार्थका लागि हुने खर्च पनि घटाउँछ । साथै कार्बन जल्दा उत्पन्न हुने ग्यास पनि घटाउँछ ।

यसका लागि ऊर्जा, वन तथा वातावरण मन्त्रालय, डब्लुईसीएस, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले निजी क्षेत्र र दातृ निकायसँगको सहयोगमा नेपालको वर्तमान ऊर्जा उपयोगको आधार–रेखा तय गर्नुपर्छ ।

उनीहरुले कार्बन उत्सर्जन नियन्त्रणमा पनि ध्यान दिनुपर्छ । त्यसो गर्दा मात्रै अन्तर्राष्ट्रिय मान्यताअनुसारको न्यून–कार्बन उत्र्सजन विकास रणनीति अंगीकार गर्न सकिन्छ ।

अहिले नेपालमा निर्वाचित स्थानीय सरकारहरु छन् । वातावरण संरक्षणमा यी सबैभन्दा बलिया संस्था हुन सक्छन् । गाउँपालिका, नगरपालिका, प्रान्तीय र संघीय सरकार मिलेर जैविक इन्धन विस्थापनका लागि काम गर्न सक्छन् ।

नेपालले जैविक इन्धन विस्थापन गर्न विगतमा कुनै प्रयास नै नगरेको भने होइन । तर कमजोर नीतिका कारण त्यो सम्भव भएन । विगतबाट सिक्दै जैविक इन्धन विस्थापनका लागि नयाँ रणनीति अंगीकार गर्न जरुरी छ ।

त्यस्तो रणनीति निर्माण गर्दा हामीले भूगोल, सामाजिक संरचना, आय, व्यक्तिगत क्षमता, प्रविधि र इन्धनको उपलब्धता एवं क्रयक्षमताबारे ध्यान दिनुपर्छ ।

यसका लागि विभिन्न व्यावसायिक र विकास मोडललाई एकै ठाउँमा राख्नुपर्छ र विभिन्न क्षेत्रबाट आउने मिश्रित पूँजीबाट सञ्चालन गर्नुपर्छ । त्यो पूँजी सार्वजनिक, निजी र वैदेशिक विकास सहयोग, बहुपक्षीय ऋण र अन्य परोपकारी दानबाट निर्माण हुनेछ ।’

दीक्षितको यो दृष्टिकोण यस क्षेत्रका विशेषज्ञहरुको साझा अभिव्यक्ति हो । अवश्य पनि हामीले जैविक इन्धनको प्रयोग उन्मूलन गर्न साझा पहल नथाली भएको छैन । तर नेपालको सन्दर्भमा दिगो, नवीकरणीय, हरित र कम खर्चिलो विकल्प के हुनसक्छ त ?

जलविद्युत् एउटा गतिलो विकल्प हुन सक्छ तर अहिले नै यसको मागभन्दा आपूर्ति निकै कम छ । जलविद्युत्को नयाँ परियोजनाले प्रतिफल दिन पनि समय लाग्छ । त्यसमाथि नेपालमा जलविद्युत् प्रसारण पनि कमजोर छ ।

नवीकरणीय ऊर्जाको स्रोतको रुपमा एउटा गतिलो विकल्प बायोग्यास हुन सक्छ । दैनिकरुपमा निस्कने कुहिने फोहोरबाट मिथेन नामक ग्यास निकाली इन्धनको रुपमा प्रयोग गर्ने विधि हो बायोग्यास ।

विभिन्न आधारबाट हेर्दा जलविद्युत् पनि यसको हाराहारीमा पुग्न सक्दैन । बायोग्यासले एउटा चक्र नै निर्माण गर्ने भएकाले खर्चको हिसाबले यो निकै किफायती छ ।

यसो सोच्नुस् त, तपाईंले भान्सामा निस्कने फोहोर नै बायोग्यास बनाउन प्रयोग गर्नुभयो । त्यसबाट खाना पकाउँदा सँगसँगै तरकारी खेतीका लागि आवश्यक पर्ने मल पनि बनिरहेको हुन्छ । यो मल आफ्नै खेतबारीमा प्रयोग गर्न सकिन्छ वा बेच्न पनि सकिन्छ ।

बायोग्यास दिगो, नवीकरणीय र हरित ऊर्जाको स्रोत हो । कार्बन उत्सर्जन घटाउन यसले उत्कृष्ट भूमिका खेल्न सक्छ । दैनिक क्रियाकलापमा निस्कने फोहोर, घाँसपात, मलको प्रयोगबाट ऊर्जा उत्पन्न हुने भएकाले बायोग्यासले चक्रिय अर्थतन्त्र निर्माण गर्छ ।

ऊर्जामात्र नभएर बायोग्यास प्रणालीका फाइदा अनेक छन् । यसले फोहोर व्यवस्थापन गर्छ र जैविक मल उत्पादन गर्छ । यसले उत्पन्न गर्ने ऊर्जा खाना पकाउन, कोठा तातो गराउन र उज्यालोको लागि प्रयोग गर्न सकिन्छ । र, यसको ऊर्जाले स्वास्थ्यलाई कुनै पनि हानि पुर्याउँदैन । अर्कोतर्फ ग्रामीण क्षेत्रमा रोजगारीको सिर्जना पनि गर्छ ।

बायोग्यास निर्माणका लागि कम खर्च लाग्ने भएकाले यसलाई लाग्ने लागत घरखर्चमै व्यवस्थापन गर्न सकिन्छ । घरायसी प्रयोगको लागि सानो खालको बायो–डाइजेस्टर पर्याप्त हुन्छ । भान्साबाट निस्कने फोहोर र गाईवस्तुको मलले एउटा परिवारको लागि आवश्यक ऊर्जा उत्पन्न गर्छ ।

ठूलो परिमाणमा ऊर्जा उत्पन्न गर्नका लागि भने बायो–फ्याक्ट्री नै स्थापना गर्नुपर्छ । ठूलो परिमाणका कुहिने फोहोरबाट यसको सञ्चालन हुन सक्छ ।

यस्तो फ्याक्ट्रीले वातावरण रक्षा गर्छ भने स्थानीय समुदायलाई पनि आर्थिक लाभ उपलब्ध गराउँछ । भविष्यको चक्रिय अर्थतन्त्रमा बायोग्यास प्लान्ट एक महत्वपूर्ण हिस्सा हुनेछ । अझ प्रचलनमा रहेको बायोग्यासभन्दा उन्नत होमबायोग्यासले घर–घरमा पाइपलाइनको सपना पूरा गर्न सक्छ, जसले ऊर्जाप्रतिको निर्भरता घटाउनेछ ।

(गोयन्काद्वारा तयार गरिएको ‘वैकल्पिक ऊर्जामा उन्नत प्रविधिको प्रस्ताव’ नामक २९ पृष्ठ लामो दस्तबेजको सम्पादित अंश)

नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="