काठमाडौं । सानिमा माई हाइड्रोपवार कम्पनीले साढे २० करोड खुद नाफा कमाएको छ । कम्पनीले २०७६/७७ को पहिलो त्रैमासिक अवधि सकिँदा २० करोड ३९ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
कम्पनीले आर्जन गरेको मुनाफा गत वर्ष २०७५/७६ को यही समयअवधिको तुलनामा करिब ७९ लाख ८० हजार रुपैयाँले बढी हो । कम्पनीले गत वर्ष १९ करोड ६० लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको पहिलो त्रैमासको वित्तिय वितरण अनुसार इलाममा सञ्चालित २२ मेगावाटको माई र ७ मेगावाटको माई क्यासकेडको विद्युत बिक्रीबाट करिब ३२ करोड ७७ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको खुद नाफासँगै विद्युत बिक्रीबाट हुने आम्दानी पनि गत वर्षको तुलनामा बढेको हो । गत वर्ष ३१ करोड ९२ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
राधी विद्युत कम्पनीको खुद नाफा साढे २ करोड
राधी विद्युत कम्पनीले चालू वर्षको ३ महिनामा करिब २ करोड ४६ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत साउनदेखि असोजसम्मको पहिलो त्रैमासिक अवधिमा यो मुनाफा आर्जन गरेको हो ।
कम्पनीले आर्जन गरेको मुनाफा गत वर्षको यही अवधिको तुलनामा ४७ लाख ७४ हजार रुपैयाँले बढी हो । कम्पनीले गत आवमा १ करोड ९९ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले विद्युत बिक्री गरी करिब ४ करोड ६८ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ४ करोड ३६ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको लमजुङमा ४.४ मेगावाटको राधी जलविद्युत केन्द्र सञ्चालनमा छ ।
अरुण काबेली घाटामा
अरुण काबेली पावर कम्पनी २०७६/७७ को पहिलो त्रैमासिक सकिँदासम्म ४ लाख ३९ हजार रुपैयाँले घाटामा रहेको छ । गत वर्ष २०७५/७६ को यही समयअवधिमा २५ लाख ५१ हजार रुपैयाँ नाफामा भएको कम्पनी घाटामा गएको हो ।
आम्दानीको मुख्य स्रोतबाट कमाइ नहुँदा र आयोजना निमार्ण तथा प्रशासनिक खर्च गर्नुपर्दा कम्पनीले नोक्सानी व्योहोर्नु परेको हो । कम्पनीको पाँचथर र ताप्लेजुङ्ग जिल्लाको सीमा निर्माण सम्पन्न २५ मेगावाटको काबेली बी–१ को विद्युत गत असोज १६ गतेदेखि राष्ट्रिय ग्रिडमा जोडिएको छ ।
प्रतिक्रिया दिनुहोस