Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जंगबहादुरकाे पम्प र विज्ञान-प्रविधिको दुरावस्था

असार ०४, २०७६   1658 लेख


वीरसिंह धामी

करिब सय वर्ष पहिले विश्वकै सर्वाधिक धनी जोन रकफिलरले आफ्नो पूरै सम्पत्ति खर्च गरेर पनि एउटा मोबाइल किन्न सक्ने अवस्था थिएन । अहिले मोबाइलसामान्य भन्दा सामान्यको हातमा छ । भनिन्छ, इङल्याण्डका राजा हेनरीसँग पूरै इङल्याण्डको भन्दा २-३ गुना बढी सम्पत्ति  थियो । तर, शक्तिशाली सम्पन्न राजासित न त अहिलेजस्तो घरभित्रै हुने पानीबन्द चर्पी (फ्लसिङ सिस्टर्न) थियो न वातानुकुलित कोठा ।

त्यसैगरी, उन्नाइसौं शताब्दीको पूर्वार्धतिर विश्वकै सबैभन्दा धनी ब्यक्ति नाथन रोथचाइल्ड पिलोको उपचार गर्न नसकेर मरे । अहिले जहाँ पनि २-३ सय रुपियाँमै पाइने एन्टिबायोटिक ट्युब नपाएर विश्वकै धनाढ्यको ज्यान गएको कुरा अहिलका पुस्तालाई किंवदन्दीझैँ लाग्छ । सन् १९५१ मा काठमाडौंबाट पोखरा पुग्न टोनी हेगनलाई १० दिन लागेको थियो । तर, अहिले हाम्रो जीवन हाम्रा पुर्खाहरूको तुलनामा धेरै आधुनिक र सहज छ । यी सबै कुरा विज्ञान र प्रविधिको विकासले सम्भव भएको हो । अहिले विज्ञान र प्रविधि मानव समाजको अभिन्न अंग बनेको छ ।

मानव विकासक्रमको इतिहास प्रविधि विकाससँग जोडिएको छ । मानवमात्रै त्यस्तो प्राणी हो जसले आफ्नो अस्तित्व जोगाउन औजार (टुल्स) को प्रयोग गर्यो । मानवजातिका पुर्खा ‘ह्यान्डी म्यान’ देखि नै ढुंगाका औजारहरू प्रयोग गरेको पाइन्छ । प्राग-ऐतिहासिक अवधिभर (करिब २० लाख वर्ष पहिलेदेखि करिब १२ हजार वर्ष पहिलेसम्म) विज्ञानको कुनै अस्तित्व पाइँदैन । तर, सो अवधिमा ढुंगाका औजार र विभिन्न हतियारहरूको उपलब्धताले प्रविधिको विकास भएको यथेष्ट प्रमाण दिन्छ ।

बीसौं शताब्दीपूर्वसम्म प्रविधि र विज्ञान लगभग पूर्णरूपमै अलग-अलग विकसित भएको पाइन्छ । मानवले विज्ञान तथा प्रविधिको विकास र उपयोगमा महत्त्वपूर्ण सफलता पाएको बीसौं शताब्दीमा मात्रै हो । पहिलो विश्वयुद्धसम्म वैज्ञानिकहरूको कुनै महत्त्व थिएन । युद्ध लडाकुहरूसँगै कैयौं वैज्ञानीकहरू खाल्डोमै पुरिएर मरे । दोस्रो विश्वयुद्धपछि मात्रै मानव समाजले वैज्ञानिकहरूको महत्त्व थाहा पायो ।  वैज्ञानिकले गरेको सैद्धान्तिक खोज र अनुसन्धान विशेष गरी कृषि, उद्योग, चिकित्सा क्षेत्र र आणविक हतियारमा उपयोगी सिद्ध भयो । यसपछि उनीहरूलाई राज्य र समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आयो ।

विज्ञानले व्यवहारिक जीवनका कैयौं जटिल कुरालाई सरल तुल्याइदियो । विज्ञानले विकास गरेको सैद्धान्तिक ज्ञानले प्रविधिको विकास र प्रयोगमा यति धेरै वृद्धि भयो कि ‘प्रविधि भनेकै विज्ञानको व्यवहारिक उपयोग हो’ भनेर परिभाषित गर्न थालियो । अहिले त प्रविधि र विज्ञान एक आपसमा यसरी ‘फ्युजन’ भएका छन् कि दुबैलाई छुट्याउनै नसकिने अवस्था छ ।

इतिहासले देखाएको छ, जुन जुन देशले विज्ञान र प्रविधि प्रयोग तथा विकास छिटो गरे ती राष्ट्रहरू समृद्ध हुँदै गए । प्रविधि प्रयोग नगर्ने देशहरू गरिब हुँदै गए । नेपाल गरिब हुनुको मुख्य कारण पनि विज्ञान र प्रविधि विकास र प्रयोगमा पछाडि पर्नु नै हो । यो क्षेत्रमा युरोप अमेरिकाको त कुरै छोडौं हामी हाम्रै उत्तर र दक्षिणका छिमेकीभन्दा सय वर्ष पछाडि छौं ।

भलै देशमा प्रविधि भित्र्याउने सवालमा भने हामी अहिलेका समृद्ध धेरै देशभन्दा अगाडि नै थियौं । अहिलेको युग विज्ञान र प्रविधिको युग हो । यसले प्रत्येक ब्यक्तिलाई विश्वव्यापी रूपमा आफ्नो परिचय आफैं बनाउन र प्रतिस्पर्धा गर्ने अवसर उपलब्ध गराइदिएको छ । तर, नेपालमा अझै विज्ञान र प्रविधि फस्टाउन पाउने सामाजिक-राजनीतिक आधार/वातावरण तयार हुन सकेको छैन । वास्तवमै भन्ने हो भने हामीले जानी जानी यो आधार तयार  गर्न खोजेका छैनौं ।

इतिहासदेखिकै घटनाक्रमले यो कुरा प्रमाणीत गरिरहेका छन् । पृथ्वीनारायण शाहले  एकीकृत नेपालको शासन सम्हालेलगत्तै फिरंगीहरूलाई देश निकाला गरे । साथै, बाहिरी औपनिवेशिक शक्तिहरूले देश कब्जा गर्लान् भन्ने त्रासमा उनले नेपाललाई बाँकी विश्वबाट पूर्णरूपमा अलग्याए । यसको फलस्वरूप यूरोपमा औध्योगिक क्रान्तिमार्फत सिर्जित उत्पादन र प्रविधि न त फिरंगीमार्फत नेपाल भित्रिन सक्ने अवस्था रह्यो न नेपाल आफैंले भित्र्याउन सक्ने सम्भावना बन्यो ।

नेपालले युरोपमा भएको औद्योगिक क्रान्तिको केही चालै पाउन सकेन । त्यतिबेला यूरोपमा पनि सामन्ति शासन व्यवस्था थियो । तर, त्यहाँ गुणस्तरीय शैक्षिक संस्थाका साथै खोज-अनुसन्धानमा आधारित विज्ञान तथा प्रविधिसँग सम्बन्धित थुप्रै संस्थाहरू स्थापना भइसकेका थिए । एघारौं बाह्रौं शताब्दीतिर जब नेपालमा शंकराचार्यले बौद्ध परम्परामा आधारित शिक्षण संस्थालाई ध्वस्त पारेर हिन्दू परम्परामा आधारित गुरुकुल प्रणाली स्थापना गर्दै थिए त्यतिबेला युरोपमा अक्सफोर्ड विश्वविद्यालय स्थापना भइसकेको थियो ।

पन्ध्रौं शताब्दीमा काठमाडौंमा यक्ष मल्लले राज्य सञ्चालन सुरु गर्दासम्म उनका समकालीन लियोनार्दो दा भिन्चीले युरोपमा ‘सेन्ट्रिफ्युगल’ पम्प, नहर खन्ने ड्रेजरलगायत मेसिनरी औजार आविष्कार गरिसकेका थिए । पृथ्वीनारायण शाहले पजनी प्रथामा आधारित प्रशासन सुरु गर्ने बेलासम्म जेम्सवाटले अतिकम ‘एफिसेन्सि’ का न्यूकमन इन्जिनहरूलाई सुधार गरेर स्टिम इन्जिनको कमर्सियल व्यापार सुरु गरिसकेका थिए ।

नेपालमा प्रविधि र विज्ञान विकास तथा प्रयोग हुन नसक्नुमा हामीमा गढेर बसेको अन्धविश्वास, कुरीति र पुरातनवादी सोचको पनि ठूलो भूमिका छ ।  नेपालका ‘नेपोलियन बोनापार्ट’ भनेर चिनिने जंगबहादुर स्वयं कति रुढीवादी थिए भने समुद्रको पानी छोयो भने समुद्र पार गर्ने मानिस अशुद्ध हुने धार्मिक अन्धविश्वास राख्थे । यही कारण उनी युरोप भ्रमणबाट फर्कने बेला भारतको रामेश्वरमको तीर्थाटन गर्दै फर्के । जंगबहादुर नेपालका यस्ता भाग्यमानी शासक हुन्, जसले सन् १८५१ मा युरोपमा भएको औधोगिक क्रान्तिको पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी हेर्ने अवसर पाएका थिए ।

लमजुङ र कास्कीका महाराजसमेत रहेका उनले त्यहाँबाट फर्किने बेला फेवातालको पानी तानेर पोखराको फाँटमा सिँचाइ गर्ने भनेर एउटा पम्प पनि ल्याएका थिए । तर, सो पम्प जोड्न र सञ्चालन गर्न ‘फिरंगी प्राविधिक’ नै चाहिने भयो । त्यतिबेलासम्म पनि फिरंगीलाई हाम्रो देशमा प्रवेश निषेधै थियो । जंगबहादुरले चाहेका भए फिरंगी प्राविधिक त बोलाउन सक्थे तर हाम्रो समाजमा ‘फिरंगीले छोएको पानी अशुद्ध हुने र सो पानीले उब्जेको अन्न पनि अशुद्ध हुने’ मान्यताले जरो गाडेको थियो । यही कारण उनी यसविरुद्ध जाने हिम्मत गर्न सकेनन् । र, सो पम्प त्यसै खिया लागेर नष्ट भयो । त्यसपछि पोखराले आधुनिक सिँचाइ सुविधा पाउन एक शताब्दी नै कुर्नुपर्‍यो ।

भारतीय सहयोगमा सन् १९५० ताका विजयपुर नहर सुरु भएको थियो । जंगबहादुरले चाहेका भए समाजका यस्ता अन्धविश्वास र कुरीति हटाउन सक्थे । तर, उनी आफैं यसका शिकार भए । झन् युरोपबाट फर्केपछि उनले सन् १८५४ मा जातमा आधारित श्रम विभाजनलाई मुलुकी ऐनमार्फत कानुनी मान्यता दिए । जातमा आधारित श्रम विभाजन हाम्रो पछौटेपनको मुख्य कारण हो । यसले श्रमको गतिशीलता र प्रविधि विकासका लागि आवश्यक पर्ने प्रतिस्पर्धा एवं सामाजिक-आर्थिक आधार विकसित हुनबाट रोकिदियो ।

हिन्दू धर्मको नाममा भित्र्याइएको यो विकृतिविरुद्ध लड्न सक्ने शाहस न त पृथ्वीनारायण शाहमा देखियो न जंगबहादुरमा नै । यसलाई श्रमको विशिष्टिकरण भने पनि श्रम गर्ने भनेकै ‘नीच जातको’ मान्छेले हो भन्ने भावना विकास हुँदै गयो । जसले जति कम श्रम गर्‍यो ऊ उति नै बढी ‘ठुलो र सम्मानित’ हुने अवस्था आयो । युरोपमा नेपोलियन बोनापार्ट सामान्य सैनिकबाट ‘विश्व सम्राट’ बन्ने अवस्था थियो भने नेपालमा सामान्य वा गरिब नागरिकले यस्तो कल्पना मात्र गर्नु पनि पाप मानिन्थ्यो ।

सोही समयमा हिन्दु धर्मका नाममा फैलाइएका कुरिति हटाउन भारतमा रामकृष्ण परमहंस र जातीप्रथाको कट्टर विरोध गर्न दयानन्द सरस्वतीले ‘आर्य समाज’ गठनमार्फत जनचेतना फैलाउने अभियान चलाए । नेपालमा भने राणाहरूले आर्य समाजका एकजना सदस्य शुक्रराज शास्त्रीलाई फाँसी दिए । भारतमा सन् १८५० को दशकमै इस्ट इन्डिया कम्पनिले हरिद्वारमा १९औं शताब्दीकै ठूलो मानव निर्मित संरचना ‘गंगा नहर’ निर्माणको लागि माटो बोक्न रेलवेको प्रयोग गरेका थिए। तर, नेपालमा राणाहरूले सन् १९५० सम्म अर्थात एक शताब्दी पछाडिसम्म आफू चढ्ने जिप भीमफेदीबाट काठमाडौं ३० देखि ६५ जना गरिब नेपालीको काँधमा महिनौं लगाएर बोक्न लगाइरहेका थिए ।

सन् १९५६ मा मात्र त्रिभुवन राजपथ तयार भयो । ब्रिटिससँग घनिष्ट सम्बन्ध भएका राणाहरूलाई सडक बनाउनुपर्छ भन्ने ज्ञान अभावमा यस्तो गरेका थिएनन् । विकास भयो भने उनीहरूको राजकीय शक्ति र सत्तामा गरेको मोजमस्ति धरापमा पर्छ भन्ने राम्रोसित थाहा थियो । त्यसैले उनीहरूले नेपालमा मोटरगाडी भित्र्याए पनि त्यो युरोपमा जस्तो औद्योगिक सामानको ओसारपसार र जनताको यातायात सुविधाका लागि थिएन । राणा महाराजहरूको मन्दिरमा पूजा गर्न जाँदा चढ्ने बिलासी साधनको रूपमा मात्र प्रयोगमा हुन्थ्यो ।

सन् १८५० को दशकमै भारतमा ब्रिटिसले सुरु गरेको ‘रिभर इन्जिनियरिङ’ र सिँचाइका लागि नहर विकास गर्ने काम महाराज चन्द्रशमसेर र जुद्धशम्शेरले पनि सुरु गरे, चन्द्र नहर र जुद्ध नहर (हालको मनुष्मारा) मार्फत । तर, असी-नब्बे वर्ष पछाडि मात्रै । झन सर्वसाधारणमा त यो विषय सन् १९६० को दशकमा भएका कोसी र गण्डक सम्झौतापछिमात्रै प्रवेश पायो ।

जंगबहादुरपछि युरोपको प्रविधि विकास र यसले ल्याएको समृद्धि देख्न पाउने भाग्यवानी शासक थिए, श्री ३ महाराज चन्द्रशमसेर जबरा । उनले आफ्ना दाजु देवशमसेरलाइ जनताप्रति देखाएको उदारता र उनले गरेका केही परिवर्तनप्रति क्रुद्ध हुदै सत्ताच्युत गरी सत्ता आफ्नो हातमा लिएका थिए । तर, सन् १९०८ मा बेलायतबाट फर्केपछि ‘हामी त धेरै पिछडिएका रहेछौं’ भन्दै केही सुधारका काम गर्ने प्रयास गरे । उनले सन् १९११ (बि.स. १९६८ जेठ २३ गते) मा  ५०० किलोवाटको चन्द्रज्योति जलविद्युत आयोजना (हालको फर्पिङ जलविद्युत आयोजना) को उदघाटन गरेका थिए ।

यो क्षमताको हिसाबले एसियाकै सबैभन्दा ठूलो र समयका हिसाबले दोस्रो आयोजना थियो । योभन्दा पहिले ‘सिद्रपोङ हाइडेल पावर स्टेसन (१३० किलोवाट)’ भारतको दार्जिलिङमा सन् १८९७ मै स्थापना भइसकेको थियो । चीनले हामीभन्दा एक वर्ष पछाडि सन् १९१२ मा मात्रै २४०  किलोवाटको सिलोङवा जलविद्युत आयोजना निर्माण गरेको थियो । अहिले झन्डै १०८ वर्षपछि चीनले ३ लाख मेगावाटभन्दा बढी, भारतले ४५ हजार मेगावाट जलविद्युत उत्पादन गरिसके ।

हामीले भने दैनिक १८ घण्टासम्मको लोडसेडिङ बेहोरेर आयौं । अहिले अवस्था केही सहज भएको छ । निकोला टेस्लाले अमेरिकामा ‘एसी इन्डक्सन मोटर’ को आविष्कार गरी विद्युतगृहबाट तारमार्फत टाढासम्म बिजुली पठाउन सकिने ‘पेटेन्ट राइट’ लिएको दुई दशकभित्रै नेपालले फर्पिङबाट काठमाडौं दरबारसम्म ट्रान्समिट गर्न सकेको थियो । यो धेरै ठूलो सफलता थियो । तर, दुर्भाग्य नै मान्नुपर्छ यो प्रविधि हामीकहाँ ‘आवश्यकता र देश विकास गर्ने हुटहुटीले’ भन्दा राणाहरूको शान-सौकत, धाक रवाफ र दरबारमा उज्यालो गर्ने उद्देश्यले मात्र भित्रिएको थियो ।

उद्योग कलकारखाना सञ्चालन, रोजगारी सिर्जना, उत्पादन बृद्धि र आर्थिक समृद्धि हासिल गर्ने कुरासित यसको कुनै साइनो थिएन । चन्द्रसम्शेरले चन्द्रज्योति जलविद्युत उदघाटन गर्दा ‘एसबाट हाम्रा मुलुक्को उद्योग उत्साहमा नञा युग हुनगया झै उन्नती गराउने होला भनन्या आशा छ’ भने पनि त्यो आशा अझै पुरा हुन सकेको छैन । पञ्चायतकालभरि विद्युत प्राधिकरणको ‘एकलौटी मनपरी’, अत्याधिक परनिर्भरता, छिमेकी देशको असहयोगको शिकार भइयो । अहिले प्रजातन्त्र र गणतान्त्रिक समयावधिमा अत्याधिक राजनीति र विद्युत उत्पादनको लागि भनेर वितरण
गरिएको ‘लाइसेन्स क्रान्ति’ को शिकार भइयो ।

चन्द्रशम्शेरले नै भित्र्याएका रोपवे र रेलवेले पनि नेपाली समाजको आर्थिक-सामाजिक संरचनाको विकासमा टेवा पुर्‍याउन सकेनन् । जनताको अगाडि उदार देखिन र ब्रिटिश भारतीयहरूले खिसिटिउरी गर्लान कि भन्ने डरले मात्र राणाहरूले यस्ता काम गरेको प्रस्ट हुन्छ । हामीलाई उपयुक्त हुने प्रविधि प्रयोग र विस्तार राणाहरू मात्र होइन त्यसपछिका शासन व्यवस्थामा भएन । आजकल निर्माण कार्यमा सर्वाधिक प्रयोग हुने रेन्फोर्स्ड सिमेन्ट कन्क्रिट (आर.सि.सि.) को नेपाल आगमन सम्बन्धी प्रसंग पनि रोचक छ ।

क्वाइग्नेटले सन् १८५२ मा आर.सि.सि.बाट आफ्नो घर निर्माण गरेका थिए । तर, नेपालमा भने यो प्रविधि सन् १९४६ तिरमात्रै भित्रियो । नेपालमा बि.स. २००२ सालमा आर.सि.सि. कन्क्रिटद्वारा निर्माण गर्ने प्रविधि सर्वप्रथम ई. बेदप्रकाश लोहनी (राप्रपा नेता प्रकासचन्द्र लोहनीका बुवा) ले भित्र्याएका थिए । त्रिचन्द्र क्याम्पसको सरस्वती सदनको ७ फिट लामो क्यान्टिलिभर बरण्डा नै आर.सि.सि. कन्क्रिटद्वारा निर्मित नेपालको पहिलो संरचना हो ।

पहिलो चोटी यो निर्माण भएपछि भत्किएर थिचिएर मरिन्छ की भन्ने डरले मानिसहरू सो बरण्डाको मुनिबाट हिँड्नै छोडे । पछि केही व्यक्तिलाई पैसा दिएर बरण्डामा बस्न लगाएर भत्किँदैन भन्ने ग्यारेन्टी गरेपछि मात्र मान्छेहरू बरण्डामुनिबाट हिँड्न थालेका थिए भन्ने कुरा पुल्चोक क्याम्पसमा बेदप्रकास लोहनी पुरुस्कार स्थापनाको दिन गरेको प्रस्तुतिमा यो पङतिकारले सुनेको थियो । अहिले आर.सि.सि. घर निर्माणदेखि विकासका हरेक काममा अधिक प्रयोग भएको छ ।

नेपालका ठूला जलविद्युत, सिँचाइ र पुल निर्माणमा बर्षेनि लाखौं टन  आर.सि.सि.को काम हुन्छ । तर, अझै यसमा प्रयोग हुने छडको रसायनिक परीक्षण गर्ने प्रयोगशाला हामीसित छैन । यस्तो प्रयोगशालाको अभावमा विकासका काममा थुप्रै समस्या आएका छन् ।
सन् १९५१ मा राणाशासनको अन्त्यपछि नेपाल आधुनिक युगमा प्रवेश गरेको मानिन्छ । त्यो बेलादेखि हालसम्म पनि नेपालले थुप्रै प्रविधिहरू आयात गरेको छ ।  ठूलो धनराशी खर्च भइसकेको छ । तर, त्यसको विकास र प्रवर्द्धन गर्न भने त्यति चासो दिएको देखिँदैन ।

विज्ञान र प्रविधि अँगाल्न सक्ने सामाजिक, राजनीतिक र आर्थिक वातावरण तयार पार्न सकिएको छैन । विज्ञान र प्रविधि विकासमा महत्त्वपूर्ण योगदान दिनसक्ने विश्वविद्यालयहरू, स्कूलहरू, सरकारी तथा गैरसरकारी वैज्ञानिक संस्थाको अवस्था दयनीय छ । सन् १९१८ मा खुलेको त्रिचन्द्र क्याम्पस र सन् १९५९ मा खुलेको त्रिभुवन विश्वविद्यालयको अवस्था हेरे मात्रै पनि हाम्रो अवस्था स्पष्ट हुन्छ ।
त्रिभुवन विश्वविद्यालयभन्दा २७ वर्ष पछाडि स्थापना भएको दक्षिण कोरियाको ‘पोहाङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी र १२ वर्ष पछाडि स्थापित दक्षिण कोरियाकै ‘कोरिया एडभान्स्ड इन्सिटिच्युड अफ साइन्स एन्ड टेक्नोलजी’ टाइमको विश्वका ५० वर्षमुनिका सर्वोत्कृष्ट विश्वविद्यालयको सूचीमा क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् ।

हाम्रो विश्वविद्यालयले अझैसम्म आफ्नो प्राज्ञ आफैं चुन्न सक्दैन । राजनीतिक भागबन्डामा उपकुलपति, रजिष्ट्रार, डिन नियुक्त हुन्छन् । प्रोफेसर हुन खोज अनुसन्धान होइन राजनीतिक नेताको आशिर्वाद भए पुग्छ । विज्ञान र प्रविधिले हाँकेको समाजमा यी कुराहरू किमार्थ पाच्य हुँदैनन् । कृषि प्रधान देशमा कृषिसम्बन्धी खोज-अनुसन्धान गर्ने ‘नार्क’ जस्ता सरकारी संस्थामा काम गर्ने वैज्ञानिक भेटिँदैनन् । देशमा विज्ञान र प्रविधिको विकास र सम्वर्द्धन गर्ने भनि स्थापना भएको ‘नास्ट’ जस्तो संस्था पनि राजनीतिक भागबन्डाको शिकार भएको छ ।

वैज्ञानिक हुनसमेत राजनीतिक दलका नेताको मुख ताक्नुपर्ने परम्परा नेपालबाहेक संसारमा अन्त छैन । हाम्रो जस्तो देशमा विज्ञान तथा प्रविधि मन्त्रालय सबैभन्दा आकर्षक हुनुपर्नेमा यही मन्त्रालयको अवस्था दयनीय छ । बिचरा विज्ञान तथा प्रविधि मन्त्रालय कहिले ‘जनसंख्याले’ माथ गर्यो, कहिले ‘वातावरणले’ । यसको अलग्गै पहिचान बन्न सकेन । दिइएन । मन्त्रिपरिषद बैठकले प्रविधि झिकेर सूचनामा लगेर जोड्ने निर्णय गर्यो । अहिलेको युगमा पनि विज्ञानबिनाको प्रविधि र प्रविधिबिनाको विज्ञान अगाडि बढ्न सक्छ ? अब सोच्ने बेला भएन र !

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="