Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :4314 मे.वा. घन्टा
  • निजी क्षेत्र : 3512 मे.वा. घन्टा
  • भारत : 12335 मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : 20161 मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अब सिक्टामा पानी बग्दैन !

पुष ०७, २०७५   16250 लेख


लक्ष्मण वियाेगी
  • एक इन्जिनियरले फेसबुकमा लेखेविज्ञानलाई मानविकीले, मानविकीलाई अन्धविश्वासले, अन्धविश्वासलाई गुण्डागर्दीले शासन गरेको युगमा छौं, हामी ।

    ad
  • जलस्रोत तथा सिँचाइ विभागका इन्जिनियर रमेशप्रसाद कोइरालाले पुस ३ गते फेसबुकमा अर्को लामो कविता पोस्ट गरे– ‘क्याराकसको निसाफ र सिक्टा सिँचाइ शीर्षकमा । जसको भाव छकुनै देशमा क्याराकस नामका राजा थिए । एक दिन जमिन्दारको घरमा चोर्न पसेको चोरको खुट्टा भाच्चिन्छ, कमजोर भर्याङका कारण। जमिन्दारले कमजोर भर्याङ बनाएर खुट्टा भाच्चियो भन्दै चोर राजा कहाँ उजुरी गर्न पुग्छ । राजाले जमिन्दारलाई फाँसी दिन अह्राउँछन् । जमिन्दारले भर्याङ बनाउने सिकर्मीलाई देखाउँछ । सिकर्मीले भर्याङ बनाउँदा रातो साडी लगाएर त्यही बाटो हिँडेकी सुन्दर नारी दोषी भन्छ । ती नारीले साडी बनाउने छिपा दोषी भन्छे । राजाका सैनिक ६ फिट अग्लो छिपालाई ल्याएर फाँसी दिन तयार हुन्छन् । उसलाई झुन्ड्याउँदा खुट्टाले भुइँ छुन्छ । राजाले होचो छिपालाई खोजेर फाँसी दिन भन्छन् । सैनिकले त्यसै गर्छन् । निर्धो छिपाले मृत्यदण्ड पाएकोमा सबैले थपडी बजाउँछन् । कविता सिक्टामा अख्तियारले इन्जिनियरलाई कारबाही गरेको सन्दर्भसँग जोडिको छ ।

समस्याको उद्घाटन

ad

सिक्टाको ४५ किलोमिटर मुल नहरमध्ये गत साउन ७ गते १० मिटर भत्कियो । यसअघि पनि २०७३ असार १४ गते करिब १५ मिटर नहर भत्केको थियो । यसैलाई कारण बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यहाँ काम गर्नेले ८ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा २१ जना विरुद्ध मुद्द हाल्यो ।

विपक्षी बनाइएका मध्ये १६ जना जलस्रोत तथा सिँचाइ विभागका कर्मचारी छन्, बाँकी सिटिसी कालिका कन्स्ट्रक्सन कम्पनी र परामर्शदाताका प्रतिनिधि । कालिका कम्पनीका मालिक तथा पूर्वमन्त्री विक्रम पाण्डे र विभागका केही उच्च अधिकारीलाई भ्रष्टाचारको नाइके बनाइएको छ ।

आयोगको निर्णयले सामाजिक सञ्जालमा एउटा तरंग पैदा गर्यो । धेरैले यसलाई देशको इन्जिनियरिङ क्षेत्रमा निम्तिएको कालो दिनका रूपमा ब्याख्या गरे । विकाससँग जोडिएका हरेक निकायमा अब कसरी काम गर्ने ? गर्ने कि नगर्ने ? कुन विधि र प्रक्रिया अपनाउने ? भन्ने संशय पैदा भएको छ ।

सामाजिक सञ्जाल, सञ्चारमाध्याम र जनचासोमा उठेका दर्जनौं प्रश्नसँगै कर्मचारीका दुईटा बाटा प्रस्ट छुट्टिएका छन् । एउटा, सरकारी जागिर खाने तलब थापेर बस्ने । सिन्को नभाँच्ने । अर्को, देश निर्माणमा योगदान पुर्याएर जेल जाने वा अपराधी घोषित हुने । अधिकांशमा पहिलो बाटो रोज्ने मनोवैज्ञानिक निर्णय तय भएको देखिन्छ ।

कर्मचारीले गरेको बदमासीमाथि प्रश्न उठाउनु वा कारबाही गर्नु ठीक हो । भ्रष्टाचारलाई प्रशय दिनु विधिको शासनविपरित पनि हो । यसले राज्य संयन्त्रलाई कमजोर बनाउँदै लैजान्छ । प्रशासनको बागडोर बलियो बनाउन अनियमितताका झार उखेल्नुको विकल्प छैन ।

एउटा इन्जिनियरले इन्जिनियरिङ पेशाको धर्म पूरा गर्नुपर्छ । उसको अध्ययन, सीप, दक्षता र अनुभव आफ्नो कार्यक्षेत्रमै खन्याउनुपर्छ । राज्यले उसलाई दिएको जिम्मेवारीबाट कुनै इन्जिनियर चुक्नु हुँदैन । पाइँदैन । तर, काम गर्दै जाँदा निम्तिएको प्राकृतिक, भौगोलिक र भौगर्भिक जटिलता केलाउने ऐना फरक हुन जरुरी छ । हो, मान्छेले प्रकृतिमाथि विजय हासिल गरेको छ । तर, हजारौं लाखौं वर्षदेखि बनेको भौगोलिक संरचना र गर्भको तथ्य थाहा पाउन केही वर्षको अध्ययनले पुग्दैन । सिक्टाको हकमा पनि यही लागू हुन्छ ।

दुई–चार इन्जिनियरले एक जुनीमा एउटा बुद्धि लगाएर कुनै आयोजनाको समस्या जादूगरले झैँ पक्कै सफाचट पार्न सक्दैनन् । र, यो जादूको युग होइन । यो कुनै देउताले तथास्तु भन्नासाथ सबै चिज पुगिहाल्ने र संहार भइहाल्ने युग पनि होइन । विज्ञानको युगमा हजार पटक परीक्षण हुन्छ । बिग्रिन्छ । भत्किन्छ । भत्काइन्छ । पुनः परीक्षण हुन्छ । र, बल्ल सफल हुन्छ । विश्वमा यस्ता धेरै उदाहरण छन् । सिक्टालाई यसैसँग जोडेर केलाउँदा बढी वैज्ञानिक होला ।

सन् २००१ जनवरी २१ मा स्पेनको व्हिवेस्का राज्यमा निर्माण भएको सान जुआन बाँध पानी भरेकै दिन भत्केको थियो । भारतको दिल्लीमा मेट्रो रेल बनाउँदा निर्माणाधीन बिम प्लेटफर्ममा खसेर कार तथा मान्छे किचिएर हाताहत भएको थियो । १६ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले निर्माण गरिएको इरानको मोघन सिँचाइ आयोजना सन् १९८३ मा सञ्चालनमा आयलगत्तै भत्किने समस्या देखियो । २८ किलोमिटर लामो नहरको समस्या इरानले १६ वर्ष लगाएर समाधान गरेको थियो ।

०००

सिक्टामा समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा अध्ययन समिति गठन गरे । समितिले गत असोज २६ गते मन्त्रीसमक्ष प्रतिवेदन बुझायो । प्रतिवेदनले प्राकृतिक बनोट र घुलनशील माटोका कारण नहरमा समस्या आएको देखायो ।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले छुट्टै अध्ययन गर्यो । समिति सभापति पूर्णकुमारी सुवेदी सहितको टोलीले स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार गर्यो । यसमा पनि प्राकृतिक तथा प्राविधिक समस्या रहेको औंल्याइयो । यसबीचमा आयोजनाले अष्ट्रेलिया र बेलायतबाट विज्ञ झिकाएर स्थलगत अध्ययन तथा निरीक्षण गरायो । विदेशी विज्ञले समेत नहरमा माटोकै कारण समस्या आएको निष्कर्ष निकाले । तीन तहको अध्ययनले एउटै समस्या देखाइरहँदा अख्तियारले भ्रष्टाचारबाहेक केही देखेन ।

के सिक्टा सिँचाइको समस्या समाधान गर्नै नसकिने हो ? विदेशी अनुभव, उदाहरण र सिकाइबाट सिक्टालाई बलियो बनाउने आधार छन् । काम गर्ने सम्भावना, आधार र योजना हुँदाहुँदै कानुनको नाममा टाँगिएको कालो पर्दाभित्र इन्जिनियरहरू छिपा जस्तै फाँसीमा झुन्डिनुपर्ने हो भने देशले समृद्धि होइन दुर्गतीको यात्रा तय गर्छ । घुम्ने मेचमाथि बसेर राज्य संयन्त्रको रथ हाँक्नेको यसमा दूरदृष्टि पुगोस् ।

अझै मुलुककाे करिब ७० प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । राष्ट्रिय अर्थतन्त्रकाे ठूलाे हिस्सा कृषिबाटै पूर्ति हुँदै आएको छ । सिक्टामा उब्जाइएकाे विवादले किसानका खेतमा पानी पुगेर उब्जनी बढ्ने र उनीहरूकाे जीवनस्तर सुधार हुने कल्पनामात्र गर्न सकिन्छ । यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने नाेक्सान कसले हेर्ने ? यसमा अवराेध गर्नेलाई कारबाही गर्ने अदालत खाेई ? अब कानुन हातमा लिएर काम राेक्ने निकायविरूद्ध मुद्दा हाल्ने नयाँ अख्तियार चाहिएकाे छ ।

इन्जिनियरको कहर

सिक्टा निर्माणको शृंखला झन्डै चार दशक लामो छ । भारतको सनासोमा च्यापिएको आयोजना कर्मचारीकै बुताले उम्किएको थियो । विगतको सरकारले स्वदेशी लगानीमै निर्माण गर्ने दह्रो अठोट लियो । यही गतिमा तमाम इन्जिनियरले यहाँ आफ्नो श्रम, सीप, अनुभव र विवेक खर्च गरेका छन् । स्थानीयका गाली–गलौज, लाठी–मुंग्री र अपमान सहेका छन् ।

विकास निर्माणको नारा घन्काइरहने तर यसको मर्म नबुझ्ने अशिक्षति तथा अर्धशिक्षित राजनीतिक दल, नेता र मन्त्रीलाई फकाएर इन्जिनियरले नै सिक्टाको जग हालेका हुन् भन्दा अन्यथा हुँदैन । तिनका कार्यकर्ता, कार्यकर्ताका पनि कार्यकता, चुल्ठे–मुन्द्रे, घोषित–अघोषित डन र अपराधिक गिरोहलाई समेत खुसी तुल्याएर कर्मचारीले काम अघि बढाए । नेता, मन्त्री र दलको चुलो चौकोदेखि जीवन सञ्चालनको इन्जिन पनि सिक्टाले नै चलाइदिएको विषय लुकेको छैन । यसमा अख्तियारको आँखा किन पुगेन ?

सिक्टा आजको अवस्थामा कसरी आइपुग्यो भन्ने विगतको अलिखित पाटो कसैले उठाएको छैन । यहाँ कर्मचारीले बदमासी गरे । फट्याइँ गरे र अकूत कमाए भन्ने विषयले मात्र सगरमाथा उचालिएको छ । निर्माणको दौरानमा केहीले केही लाख रुपैयाँ खाए । करोडौं कमाए होलान् भन्ने शंकाले विकास निर्माणको जगमा भुइँचालो चलाउनु दुर्भाग्य हो ।

अब दोषी ठहर्याइएका कर्मचारी जेल जालान् वा सजाय भोग्लान् । तर, नयाँ आउने वा पठाइनेले कसरी काम गर्लान् भन्ने विषय पेचिलो बनेको छ । कोही व्यक्ति तथा इन्जिनियर सिक्टाको नाम सुन्नासाथ तर्सिने वातावरण बनेको छ । अख्तियारको भूतले सिक्टामात्र होइन, भेरी-बबई, रानीजमरा कुलरिया लगायत सिँचाइ आयोजना प्रभावित भएका छन् ।

विद्युत उत्पादन गर्न करिब दुई वर्ष ढिलो भइसकेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका कर्मचारीलाई पनि सिक्टाकै भूतले तर्साएको छ । उता पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बर्दियाको जब्दीघाटको पुल बनाउने इन्जिनियर भयवित छन् । आज सिँगो पूर्वाधार क्षेत्र लत्रेको छ । झुकेको छ । सारा कर्मचारी तथा इन्जिनियरमा निराशाको बादल मढारिएको छ । उनीहरूको ढलेको शिर र सुतेको जाँगर उठेर लयमा फर्किने सम्भावना न्यून देखिन्छ ।

०००

सिक्टामा दोषी ठहर्याइएकाहरूले समयक्रममा न्याय पाउलान् । अख्तियारले मुद्दा फिर्ता लेला वा अदालतले निर्दोष साबित गर्ला । तर, यति गर्दासम्म इन्जिनियरहरूको नैतिक, मनोवैज्ञानिक र सामाजिक मूल्यको क्षतिपूर्ति कसले तिर्छ ? उनीहरूको इमान्दारिता, देशप्रतिको निष्ठा, गुमेको शाख र इज्जतमा लागेको कालो दाग न्यायको कालो पर्दाले पुछिएला ? यावत प्रश्नलाई छिचोलेर उनीहरू पूर्ववत अवस्थामा फर्केर काम गर्ने के ग्यारेन्टी ?

सेतो कपडामा पोखिएको नीलो मसी सानो प्रयासको घोटाइले मेटिँदैन । मेटिए पनि त्यसको दाग सधैंभरि रहिरहन्छ । इन्जिनियरहरू देश निर्माणका मेरुदण्ड हुन् । समृद्धिको यात्रामा राजनीतिक दलका योजना बोकेर हिँड्ने कर्मी हुन् । विकास निर्माणका भरिया हुन् । यहाँ सामान्य कमजोरी हुँदैमा इन्जिनियरको स्वाभिमान र कर्मलाई डढाएर खरानी बनाउने काम भइरहेको छ ।

राजनीतिक खिचातानी, सत्ता, स्वार्थ र हैकमले देशमा काम गर्ने वातावरण छैन । दक्ष, योग्य र अनुभवी इन्जिनियर विदेशिने लर्को लागेको छ । युरोप अमेरिका पुग्नेहरू उतै बसेर अर्ति उपदेश दिइरहेका हुन्छन् । देशभक्तिले रोकेर राखेकालाई काम गर्न दिइँदैन । जलविद्युत, सिँचाइ, सडकलगायत पूर्वाधार क्षेत्रमा मानव पुँजीको ठूलो संकट छ । प्रतिकूल समयमा पनि राज्यले इन्जिनियरलाई बढारेर लखेट्ने दाउमात्र हेर्छ । र, विकासको राग अलाप्छ– समृद्ध नेपाल, सुखी नेपाली !

देशमा न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीच कहिल्यै समन्वय भएको देखिएन । न्यायपालिकाले गरेको काम कार्यपालिकालाई चित्त बुझ्दैन । कार्यपालिकाले गरेको काममा व्यवस्थापिकाले खोट देख्छ । सधैंभरि राज्यका तीन अंगबीच शीतयुद्ध भइरहेको छ । यही युद्धको घानमा कर्मचारी तथा इन्जिनियरहरू घुनझैँ पिसिएका छन् ।

अर्काेतर्फ, दलका नेताले यहाँ भोटको राजनीति गरेका छन् । कसैले चोटको खेल खेलेका छन् । आफ्नो कुत्सित राजनीतिक विरासत टिकाइरहन कसैले कसैलाई सिध्याउने खेल खेलेको छ । ‘बुलेट र ब्यालेट’ को राजनीतिमा अझै ढाडमा टेकेर टाउकोमा हान्ने बुलेटै प्रयोग गरिएको छ । अनि जनतालाई भनिएको छ– बुलेटको युग सकियो । हामी ब्यालेटमा रूपान्तरण भइसक्यौं । निर्दोष जनताले गुलिया सपनामा भुलेर बुलेटबाट आइरहेको धूवाँ र त्यसको खार महसुस गर्न सकिरहेका छैनन् । आज सिक्टा र यहाँका इन्जिनियरले यही नियति झेलेका छन् । यस्तो कृत्य चलाइरहने हो भने अर्को दशकसम्म पनि सिक्टामा पानी बग्दैन !

सम्बन्धित समाचारहरू

स्थलगत अध्ययनपछि विदेशी विज्ञले भने– सिक्टा सिँचाइमा माटोकै समस्या

सिक्टा सिँचाइ श्रृंखला–३, निर्माणको प्रगति र सिँचाइको लाभ

सिक्टा सिँचाइ श्रृंखला–२, भारतको चंगुलबाट फुत्केको आयोजना

सिक्टा सिँचाइ श्रृंखला–१, कर्मचारीको बदमासी कि कमजोर भूगोल !

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="