विद्युत आपूर्ति

  • प्राधिकरण :५७०७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९६२ मे.वा. घन्टा
  • भारत : १००११ मे.वा. घन्टा
  • ट्रिपिङ : २५ मे.वा. घन्टा
  • माग : २०७०५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सिंगटी जलविद्युत आयोजनाको पहिलो खण्डको सुरुङ छेडियो

सागर केसी असोज २०, २०७५   4450 खबर


सिंगटी (दोलखा)– सिंगटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिगंटी जलविद्युत आयोजनाको पहिलो खण्डको सुरुङ छेडिएको छ । अडिट (सहायक सुरुङ) देखि माथिल्लो भागको २ हजार ९ सय मिटर सुरुङ पूरा भएको हो ।

पहिलो खण्ड ‘ब्रेक थ्रु (पूरा)’ भएसँगै प्रगतिमा इँट्टा थपिएको आयोजना निर्देशक काजी लामाले बताए । ‘योसँगै ३ किलोमिटर सुरुङ वारपार भएको छ । समय तालिका अनुसार बिनाअवरोध लक्ष्य पूरा भएको छ,’ उनले शनिबार ऊर्जा खबरसँग खुसी व्यक्त गरे, ‘बाँकी सुरुङ पनि तोकिएको समयमै पूरा गर्न हामीलाई उत्साही बनाएको छ ।’ शनिबार दिउँसो ३.५ बजे सुरुङ ब्रेक थ्रु भएको लामाले जानकारी दिए ।

पहिलो खण्डको सफलताले लगानीकर्ता, निर्माण व्यवसायी, सेयर होल्डर, कामदार सबैलाई हर्षित बनाएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडका सञ्चालक बटु लामिछानेले बताए । ‘निर्माण सुरु गरेको छोटो समयमै राम्रो प्रगति गर्ने सम्भवतः यो देशकै पहिलो आयोजना हो,’ उनले भने । काम सुरु भएको २ वर्षमा ८० प्रतिशत निर्माण पूरा भएको उनले जानकारी दिए ।

कम्पनीका अनुसार बाँध क्षेत्रको काम अन्तिम चरणमा पुगेको छ । अब सुरुङभित्र फिनिसिङ सुरु हुनेछ । कूल ५ हजार ९ सय १५ मिटर लामो मुख्य सुरुङमध्ये अब पावर हाउसतर्फ वा दोस्रो खण्ड ९ सय ४० मिटर खन्न बाँकी छ । यो खण्ड आगामी माघसम्म पूरा हुने आयोजना प्रमुख मनहरि सापकोटाले बताए ।

फागुनभित्र मुख्य सुरुङ छेड्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । ब्रेक थ्रु भएको पहिलो खण्ड हेडवक्र्स तर्फबाट (इनलेट) १७ सय ९१ र बीचबाट ३ सय मिटर अडिटसहित १५ सय मिटर तयार भएको छ ।  शिरिसघारीस्थित कात्तिके गाउँमा निर्माण भईरहेको विद्युतगृहको ६० प्रतिशत काम सम्पन्न भएको छ ।

चैतभित्र विद्युतगृह पनि पूरा हुने कम्पनीले जनाएको छ । हेडरेस सुरुङको तल्लो खण्डको बीच अडिट सुरुङपछि १ हजार ९ मिटर तयार भएको छ भने आउटलेटतर्फ ७ सय ६१ मिटर खनिएको छ । सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिएको यो आयोजनाबाट २०७६ बैशाख १ गतेदेखि विद्युत उत्पादन गर्ने तालिका छ । केही ढिला हुँदा पनि जेठ असारदेखि उत्पादन सुरु हुने सापकोटाले बताए ।

विद्युतगृहमा १२.५ मेगावाटका २ युनिट राखेर विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको सिंगटी सबस्टेसनमा जोडिनेछ । ४ अर्ब ६३ करोड रुपैयाँ लागत अनुमान गरीएको आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० बैंकले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । १ अर्ब ४५ करोड रुपैयाँ स्वपुँजी लगानी छ । सुरुमा १६ मेगावाटको अनुमतिपत्र लिए पनि पछि क्षमता बढाएर २५ मेगावाट पुर्याइएको हो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="