Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

निजी क्षेत्रको एक ‘सफल आयोजना’ सिंगटी खोला

ऊर्जा खबर असोज ०५, २०७६   1817

आयोजना



काठमाडौं— दोलखाको चरिकोटबाट करिब २७ किलोमिटर उत्तरमा पर्छ, सिंगटी बजार । यही बजारलाई छोएर बगेको छ, सिंगटी खोला । पश्चिमबाट पूर्व बगेको यो खोला बजारको पुछारमा पुगेपछि तामाकोसी नदीमा मिसिन्छ । पश्चिमतर्फ सिंगटी खोलाको किनारै–किनार १५ मिनेट गाडीको यात्रापछि आइपुग्छ, सिंगटी खोला जलविद्युत आयोजनाको आवास क्षेत्र । यहाँबाट करिब एक घन्टाको यात्रामा आयोजनाको बाँधस्थल पुगिन्छ ।

सरकारले २०६७ सालमा ६ वटा जलविद्युत आयोजना राष्ट्रिय प्रतिस्पर्धा गरी निजी क्षेत्रलाई निर्माण गर्न दिएको थियो । तिनै ६ वटा मध्येको एक हो, सिंगटी खोला । २५ मेगावाटको यो आयोजना ‘सुपर सिक्स’ का नामले पनि चिनिन्छ ।

ad

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरिरहेको यो ‘सुपर सिक्स’ मध्ये तीव्र गतिमा निर्माण भइरहेको आयोजना हो । सुरुमा १६ मेगावाट निर्माण गर्न अनुमतिपत्र पाएको कम्पनीले विस्तृत अध्ययनपछि क्षमता २५ मेगावाट पुर्यायो । र, पाइलैपिच्छे कस्सिएका सरकारी प्रक्रियाका गाँठा फुकाउँदै निर्माण चरणसम्म पुग्यो ।

२०६७ सालमा अनुमतिपत्र पाए पनि प्रसारण लाइन निर्माणको अन्योलता, सरकारी निकायले गरिदिनुपर्ने पर्याप्त समन्वय नहुँदा समयमै काम सुरु हुन सकेन । योसँगै २०७२ सालको भूकम्प र तत्कालै भारतले गरेको नाकाबन्दीले आयोजना निर्माणमा थप बाधा उत्पन्न गरिदियो । यिनै बाधा, अवरोध र समस्या छिचोल्दै २०७३ साल असार २४ गतेबाट मात्र आयोजनाको काम सुरु भयो ।

कालिन्चोकबाट बगेको ताम्रकौसीका र सिंगटी खोलाको दोभानमा आयोजनाको बाँध निर्माण भएको छ । अहिलेसम्म बाँध, इन्टेक, बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर) लगायत संरचना पूरा भएका छन् । बाँधस्थलदेखि विद्युतगृहसम्म पानी ल्याउन खनिएको करिब ६ किलोमिटर सुरुङ पनि पूरा भइसकेको छ ।

स्वदेशी इन्जिनियर, लगानी, सीप र दक्षताकै आधारमा काम सुरु भएको २८ महिनामा सुरुङ खन्ने काम पूरा भएको थियो । अहिले सुरुङ फिनिसिङ अन्तिम चरणमा पुगेको छ । विद्युतगृहमा पानी खसाल्न सुरुङको आउटलेट अर्थात् अन्तिम मुखदेखि करिब ६ सय मिटरसम्म पेटस्टक पाइप विछ्याउनुपर्छ । यसको काम पनि अन्तिम चरणमा पुगेको छ ।

कमजोर भौगोलिक अवस्थाका कारण पटक–पटक पहिरो जाँदा पेनस्टक विछ्याउने ठाउँमा काम गर्न केही कठिन भएको छ । पहिरोले विछ्याइएको पेनस्टकमा समेत क्षति पुर्याएको छ । विद्युतगृहको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । विद्युतगृहमा जडान गरिने जेनेरेटर, रोटर लगायत उपकरण आयोजनास्थलमा ल्याइसकिएको छ । अहिले धमाधम उपकरण जडान भइरहेको छ ।

करिब ९५ प्रतिशत निर्माण पूरा भएको आयोजनाबाट तीन महिनाभित्र अर्थात् आगामी कात्तिकसम्म विद्युत उत्पादन गर्ने लक्ष्य छ । स्थानीय र आयोजनाबीचको सहकार्य, दक्ष प्राविधिक र सशक्त व्यवस्थापनका कारण निर्धारित समयभित्र विद्युत उत्पादन सम्भव बन्दै गएको छ । स्थानीयसँग निरन्तर समन्वय र पहिरो रोकथाम गर्दै कामदारहरू निर्माणमा अहोरात्र खटिएका छन् । र, कम्पनीको लक्ष्य पूरा गर्न उनीहरू दृढ देखिन्छन् ।

कमजोर भौगोलिक अवस्था, नदी नियन्त्रण तथा संरक्षण, सामाजिक उत्तरदायित्व लगायत क्षेत्रमा सुरुमा अनुमान गरेको भन्दा बढी लगानी भएको छ । यही कारण आयोजनाको संशोधित लागत करिब ४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यही आधारमा आयोजना प्रतिमेगावाट साढे १९ करोड रुपैयाँभित्रै पूरा हुँदैछ । यो निर्माणाधीन आयोजनाको औसत लागतभन्दा सस्तो हो ।

७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी भएको आयोजनामा १० वटा बैंकले ऋण दिएका छन् । सिभिल बैंक लिमिटेडको अगुवाईमा बैंकहरूबाट ३ अर्ब ३२ करोड ६० लाख रुपैयाँ जुटाइएको छ । बाँकी प्रवद्र्धकहरूले लगानी गरेका छन् ।

यो रन अफ रिभर अर्थात् नदी प्रवाही आयोजनाबाट वार्षिक १३ करोड २९ लाख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत विद्युतगृहबाट ३ सय मिटरको दूरीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १३२ केभी सिंगटी सबस्टेसनमा जोडिन्छ । त्यहाँबाट सिंगटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट उत्पादित विद्युत काठमाडौंसम्म पुग्छ ।

आयोजनाको तुलनामा सबस्टेसन तथा प्रसारण लाइन निर्माण केही ढिलो भएकाले विद्युत खेर जाने अवस्था देखिन्छ । यद्यपि, प्राधिकरणले यस्तो अवस्था आउन नदिने प्रतिबद्धता जनाएको छ । विद्युत उत्पादन हुँदासम्म प्रसारण लाइन तयार नभए विद्युत बिक्रीबाट हुने वार्षिक आम्दानीको ४५ प्रतिशत प्राधिकरणले आयोजनालाई क्षतिपूर्ति तिर्नुपर्छ । यही चिन्ताले पनि प्राधिकरणले प्रसारण लाइन निर्माणलाई तीव्रता दिएको छ ।

कम्पनीले आयोजना निर्माणसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा प्रशस्त लगानी गरेको छ । आयोजनाबाट बढी प्रभावित साविकका बाबरे, चिलंखा, लामीडाँडा र लादुक गाविस अहिले कालिन्चोक र बिगू गाउँपालिकामा समावेश भएका छन् । यी क्षेत्रमा नयाँ मोटरबाटो निर्माण तथा मर्मत, खानेपानी, सिँचाइ, विद्युतीकरणमा आयोजनाले पर्याप्त लगानी गरेको छ ।

स्थानीय विकास एवं जीवनस्तरमा थप सुधार गर्न आगामी मंसिरभित्र स्थानीय तथा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने कम्पनीको योजना छ । कम्पनीले आयोजनामा लगानी गर्न स्थानीयका लागि १४ करोड ५० लाख रुपैयाँबराबरको १४ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ । यस्तै, सर्वसाधारणका लागि २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर निष्कासन गर्नेछ ।

सिंगटी खोला क्यू ४० मा डिजाइन गरिएको आयोजना हो । जसअनुसार कूल क्षमताको ४० प्रतिशत अर्थात् वर्षका ४ महिना आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुन्छ । विद्युत उत्पादन सुरु भएको पहिलो वर्ष नै करिब ७१ करोड रुपैयाँ आम्दानी हुने हुँदा ६ प्रतिशत मुनाफा दिन सकिने कम्पनीको प्रक्षेपण छ । यस्तै, दोस्रो वर्षबाट १० देखि १५ प्रतिशतसम्म मुनाफा दिने सकिने प्रक्षेपण गरिएको छ ।

प्राधिकरण तथा सरकारी लगानीका आयोजना महँगो भइरहँदा कम्पनीले सिंगटी खोला निर्माणमा निकै मितव्ययिता अपनाएको छ । बर्खा र हिउँदको सन्तुलित पानीको बाहब अर्थात् उत्कृष्ट हाइड्रोलोजी, चुस्त व्यवस्थापन र नियन्त्रित लागत आयोजनाका आकर्षक पक्ष हुन् । यसो हु्ँदा कम्पनीले विद्युत उत्पादन लगत्तै लगानीकर्ता तथा सर्वसाधारण सेयरधनीलाई राम्रो प्रतिफल दिन सक्नेछ ।

सुपर सिक्समध्ये सिंगटी खोला सबैभन्दा छिटो पूरा हुने आयोजना हुने भएको छ । काम सुरु भएको करिब साढे ३ वर्षमा सकिन लागेको यो आयोजना, निर्माणमा ढिलासुस्ती गर्ने निजी क्षेत्र र सरकारकै लागि एउटा गतिलो पाठ पनि हो । आयोजनाबाट विद्युत उत्पादनपछि सरकारको ‘उज्यालो नेपाल’ अभियानमा यसले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गर्न सकिन्छ । साथै, आयोजना जिल्लाबासी र देशकै आर्थिक समृद्धिको आधार पनि बन्नेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="