Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दशकसम्म सकिएन सिंगटी–लामोसाँघु, ठेकेदारलाई दोष दिएर उम्किँदै प्राधिकरण

ऊर्जा खबर श्रावण २७, २०७६   2353

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको सिंगटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन काम सुरु भएको झन्डै दशकसम्म पूरा भएको छैन । प्राधिकरणको फितलो नियमन तथा अनुगमन र आर्थिकरूपमा टाट पल्टेको ठेकेदारकै कारण अहिले निर्माण अलपत्रजस्तै छ ।

ad

प्राधिकरणले भारतीय कम्पनी अरावली इन्फ्रा पावरसँग सुरुमा सन् २०१० मा ठेक्का सम्झौता गरेको थियो । त्यसयता आधा दर्जन पटक म्याद थपे पनि निर्माण सकिएको छैन । अहिलेकै गतिमा काम हुँदा पनि पूरा हुन अझै एक वर्ष लाग्ने आयोजनाका एक इन्जिनियरले बताए ।

काम गर्न निरन्तर दबाब दिए पनि ठेकेदारले प्राधिकरणलाई टेरेको छैन । काम नभएका आयोजना (प्रसारण लाइन) को ठेक्का तोडेर भए पनि नयाँबाट गराइरहेको प्राधिकरणले यसमा भने ठेकेदारलाई जित्न नसकेको देखिन्छ ।

यद्यपि, ठेक्का तोड्नु विकल्प होइन । ठेक्का तोडेर नयाँ प्रक्रियामा जाँदा आयोजना झन् अलपत्र हुन्छ । त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनालाई प्राधिकरणले करोडौं रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ ।

एउटै विकल्प अहिलेकै ठेकेदारलाई दबाब दिएर काम गराउने हो । तर, यसमा प्राधिकरण चुकेको देखिन्छ । नुवाकोटमा निर्माणाधीन त्रिशूली–३ ‘बी’ हबमा अवरोध गरेको भन्दै स्थानीयलाई धम्क्याउन पुगेका कार्यकारी निर्देशक कुलमान घिसिङले यहाँको ठेकेदारलाई तह लगाउन नसकेको देखिन्छ ।

आगामी असोज (दशैं) सम्म पहिलो सर्किट तान्ने काम पूरा हुने आयोजना प्रमुख राजन ढुंगेलले बताए । ‘भारतीय कामदार ईद मनाउन घर गएका छन्,’ उनले ऊर्जा खबरसँग भने, ‘ठेकेदारले ती फर्केपछि संख्या थपेर कामको गति बढाउँछु भनेको छ ।’

सन् २०१२ अर्थात् २०६९ सालमै आयोजना पूरा हुनुपर्थ्याे । त्यसयता पटक–पटक म्याद थपेर ७ वर्ष बितिसकेको छ । पछिल्लो समय थपेको म्याद गत असारमा सकिएर पुनः मंसिर अन्त्य (डिसेम्बर) सम्म थपिएको ढुंगेलले बताए ।

भारतीय कम्पनी आर्थिकरूपमा धराशयी भएकाले उसले लगाएका नेपाली सहायक (पेटी) ठेकेदारले काम गरेको पैसा पाएका छैनन् । यही कारण विगत डेढ महिनादेखि निर्माणको काम ठप्प भएको पेटी ठेकेदारका एक कामदारले बताए ।

‘काम गरेको पैसा नपाएकैले भारतीय कम्पनीसँग काम गरेका ५ जना नेपाली इन्जिनियरले राजीनामा दिएका छन्,’ ती कामदारले भने, ‘आयोजनास्थलमा कोही छैन । बिजोग छ । अहिलेकै गतिमा एक वर्षमा पनि काम सकिँदैन ।’

टावर ठड्याउने भारतीय कामदार बिदामा गएको र बर्खा पनि भएकाले साइटमा त्यति काम नभएको ढुंगेलले स्वीकारे । प्रसारण लाइनको काम ढिलो हुँदै गएपछि त्यस क्षेत्रमा जलविद्युत आयोजना निर्माण गरिरहेका प्रवर्द्धकले पनि प्राधिकरणलाई दबाब दिइरहेका छन् ।

उत्पादित विद्युत उक्त लाइनमा जोड्ने गरी २५ मेगावाटको सिंगटी खोला, ११ मेगावाटको तल्लो खारे खोला, ४० मेगावाटको खानीखोला लगायत आयोजना निर्माणको अन्तिम चरणमा छन् । सिंगटीबाट त आगामी असोजभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

दोलखाको सिंगटीदेखि सिन्धुपाल्चोकको लामोसाँघुसम्म (४० किलोमिटर) निर्माण गर्नुपर्ने प्रसारण लाइनको काम अहिलेसम्म करिब १२ किलोमिटर (तार तानिएकाे) मात्र पूरा भएको जनाइएको छ । १ सय २५ टावर निर्माण गर्नुपर्नेमा अहिलेसम्म ७६ वटा ठड्याइएको छ ।

आयोजनाका अनुसार ७ वटा टावर ठड्याउन त खाल्टो (जग) समेत खनिएको छैन । आयोजना प्रमुख ढुंगेल भने दशैंसम्म सिंगल सर्किट चार्ज गर्न सकिनेमा ढुक्क छन् । उता काम गरेको पैसा नपाएर पेटी ठेकेदारले आन्दोलन गर्ने अवस्था रहेको बताइएको छ ।

करिब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा अहिलेसम्म करिब ८० प्रतिशत रकम खर्च भइसकेको आयोजनाले जानकारी दिएको छ । तर, काम पूरा हुँदासम्म लागत कति पुग्छ यसको यकिन छैन ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="