Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दुर्गम पहाडी टाकुरामा सोलार प्लान्ट, बिजुलीले स्थानीयको काँचुली फेरिँदै

ऊर्जा खबर असार २०, २०७६   2222

नवीकरणीय ऊर्जा



बैतडी (डणपुर)– झन्डै २ हजार ५ सय मिटरको उचाई, बाह्रै महिना चिसो बतास चलिरहने ठाउँ र पातला बस्ती । हरेक घरमाथि साना–साना पातला सोलार प्लानल टाँसिएका छन् । यो दृष्य हो, पुर्चौडी नगरपालिकाको दुर्गम गाउँ डणपुरको ।

ढुंगाले छाएका अधिकांश घरका छानामा जता हेरे पनि सोलार पाता देखिएका छन् । यिनै पातामा जम्मा भएको ऊर्जाले गाउँलेहरूले रातको अँध्यारो चिर्ने गरेका थिए । यसले हरेक घरमा २–३ वटा बल्ब बाल्न पुग्थ्यो । स्कुले विद्यार्थीले अहिलेसम्म यही उज्यालोको सहारा लिइरहेका थिए ।

ad

अब यसलाई सोलार मिनी ग्रिडले विस्थापित गरेको छ । डणपुरको डाँडोमा निर्माण भएको ३० किलोवाटको सोलार मिनी ग्रिड आयोजनाले गाउँलेको मुहारमा खुसी भरिदिएको छ । पुर्चौंडी वडा नम्बर ८ मा करिब १२ सय घरधुरी छन् । यसमध्ये डणपुरमा मात्र एक सय १० घर छन् । ती मध्ये ७० घरमा विद्युतीकरण गरिएको छ ।

बाँकी घरमा पनि मिटर जडान गर्ने तथा तार तान्ने काम भइरहेको छ । एसियाली विकास बैंक (एडिबी) को ९० प्रतिशत अनुदान तथा स्थानीय उपभोक्ता समितिको १० प्रतिशत लगानी रहेको आयोजना निर्माणमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सहजीकरण गरेको हो ।

आयोजना निर्माण गर्न एडिबीले एक करोड ५६ लाख ८० हजार रुपैयाँ अनुदान दिएको थियो । मूल्य अभिवृद्धि कर (भ्याट) सहित करिब १ करोड ९७ लाख रुपैयाँ लागतमा पूरा भएको कामका लागि स्थानीयले १७ लाख ४२ हजार जुटाएका थिए । यद्यपि, स्थानीयले ७ लाख रुपैयाँ जम्मा गर्न बाँकी नै छ । करवापतको रकम भने केन्द्रले बेहोरेको छ ।

नेदरल्याण्ड प्रविधिका उपकरण भएकाले दशकौंसम्म टिक्ने तर सञ्चालनमा स्थानीयको भरपर्दो व्यवस्थापन जरुरी रहेको एडिबीका आयोजना प्रमुख (ऊर्जा) पुष्कर मानन्धरले बताए । ‘प्लान्ट सञ्चालन जिम्मा उपभोक्ता समितिले नै लिने हो, भरपर्दो व्यक्ति राख्नुस्,’ उनले भने, ‘वर्षौंसम्म आयोजनामा समस्या आउँदैन ।’

यस क्षेत्रमा खपत हुने बिजुलीको महसुल यकिन भइसकेको छैन । तर, हरेक घरमा प्रि–पेड मिटर जडित भएकाले पैसा तिरेपछिमात्र वा मिटरमा पैसा बाँकी हुँदासम्म बिजुली बाल्न पाइन्छ । यसले देशमा आधुनिक प्रविधि प्रयोगमा जोड दिनुका साथै स्थानीयलाई पनि जिम्मेवार बनाएको देखिन्छ ।

नेपाल विद्युत प्राधिकरणको ग्रिड पुगेपछि आवद्ध गर्न मिल्ने गरी आयोजना निर्माण भएको छ । डणपुर सोलार मिनी ग्रिड उपभोक्ता समितिको समन्वयमा स्थानीय लगानी जुटाइएको थियो । निर्माणको जिम्मा पाएको घाम पावर कम्पनीले सम्झौता अघि नै काम पूरा गरेको जनाएको छ ।

र्यासी बजारबाट करिब ३ घन्टा पैदल हिँडेर पुग्नुपर्ने डणपुर प्रायः हिउँदमा हिउँ परिरहने ठाउँ हो । दुर्गम तथा जटिल भौगोलिक अवस्थाका कारण प्लान्टका लागि आवश्यक उपकरण मान्छेले नै बोकेर पुर्याएको घाम पावरका प्रबन्धक जीवन त्वायनाले बताए ।

‘२०७५ मंसिर २० गते निर्माण सम्झौता भएको थियो, जसअनुसार ६ महिना (२०७६ जेठ २१ गते) काम पूरा गर्नुपर्ने सर्त थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘हामीले बैशाख ३१ नै काम पूरा गर्यौं ।’ जटिल भूगोल र उपकरण ढुवानीमा जोखिम लिएर साढे ५ महिनामै काम सकेको त्वायनाले बताए ।

सञ्चालनमा सहकारी अवधारणा

जेठदेखि बिजुली बलेको आयोजना ३ वर्षसम्म ठेकेदार कम्पनीले नै सञ्चालन र मर्मत–सम्भार गर्न सर्त छ । त्यसपछि स्थानीयले सञ्चालन तथा मर्मत गर्नुपर्ने हुन्छ । उठ्न बाँकी रकमको जोहो र पछि सञ्चालन तथा मर्मत गर्न आवश्यक रकम संकलन गर्न स्थानीयले सहकारी स्थापना गर्ने तयारी गरेका छन् ।

बिजुली उपभोगबाट बढी फाइदा उठाउन गाउँमा जनचेतना जगाउन आवश्यक रहेको उपभोक्ता समितिका अध्यक्ष पदमसिंह साउदले बताए । ‘अहिले उत्पादित बिजुली सबै प्रयोग भएको छैन, यसको प्रयोग बढाउन जनचेतना र खपत गर्ने उपकरण हुनुपर्छ,’ उनले भने, ‘विद्युतीकरण गर्न बाँकी ठाउँमा पनि विस्तारै उज्यालो पुर्याउने योजना छ ।’

दुर्गम गाउँ र पातला बस्ती भएकाले त्यहाँ अहिलेसम्म कुनै घरेलु उद्योग स्थापना भएका छैनन् । घरघरमा सिलाइ–कटाइ, काठ तथा कुटानी–पिसानी मिल राख्ने प्रचुर सम्भावना देखिन्छ । यसमा गाउँलेलाई जागरुख बनाउने योजना रहेको केन्द्रका ऊर्जा विज्ञ खेमराज भण्डारीले बताए । ‘विद्युतीकरण गर्ने घरधुरी बाँकी छन, उत्पादित बिजुली खपत हुनैपर्छ,’ उनले भने, ‘हामीले यसमा ध्यान दिएका छौं ।’

असन्तृष्टि तथा चासो

आयोजना निर्माण गर्दा उपभोक्ता समितिले समन्यायिक तरिकाले काम नगरेको केही व्यक्तिको असन्तृष्टि छ । डणपुरमा एक सय १० घरधुरी भए पनि जम्मा ६५ घरमा मात्र विद्युतीकरण किन भन्दै प्रश्न उठाइएको छ । तर, बाँकी घरधुरीमा आयोजनाले काम गरिरहेको समिति अध्यक्ष साउदले बताए ।

गाउँमा सम्भावित घरेलु उद्योग सञ्चालनमा जोड दिनुपर्ने असन्तृष्ट पक्षको भनाइ छ । सहर वा बजारमा बस्ने व्यक्तिसरह गाउँकाले पनि टिभी हेर्ने तथा अन्य विद्युतीय उपकरण प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताइएको छ ।

पुर्चौंडी (मल्लादेही) मा १४ र १६ किलोवाटका सदगाड र लामुनीगाड लघुजलविद्युत आयोजनाबाट विद्युत उत्पादन भएको छ । यसबाट करिब ६ सय घरधुरीमा उज्यालो पुर्याइएको छ । २०७७ सालभित्र सिंगो नगरपालिकालाई अँध्यारोमुक्त घोषणा गर्ने योजना रहेको वडा नम्बर ८ का कार्यवाहक अध्यक्ष रामबहादुर धानुकले बताए ।

प्रतिक्रिया दिनुहोस