Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सोलार मिनी ग्रिडले सोल्टा बजार झिलिमिली, गाउँलेमा कतै हर्ष कतै गुनासो

ऊर्जा खबर असार १८, २०७६   1510

नवीकरणीय ऊर्जा



कैलाली (सुगरखाल)– सोल्टा बजारमा फोटोकपी मेसिन राखेर व्यापार गर्दै आएका कृष्ण सुब्बा गाउँमा बिजुली आएपछि निकै खुसी देखिन्छन् । उनले फोटोकपी गर्नुका साथै रेडियो र मोबाइल पनि मर्मत गर्छन् । मोबाइलमा नयाँ–नयाँ गीत भरिदिन्छन् ।

सुब्बा फोटोग्राफर पनि हुन् । उनले त्यहाँ फोटो खिच्छन् । र, आधुनिक मेसिनबाट चिटिक्क पारेर सिँगारिदिन्छन् । उनको व्यापारले २ छोरी, छोरा र श्रीमतीसहित ५ जनाको परिवार सजिलै धानेको छ । यसको भरपर्दो आधार हो, गाउँमै बिजुली उत्पादन हुनु ।

केही समयअघि आफ्नै घरमा सोलार पाता राखेर बिजुली उत्पादन गरेका सुब्बा गाउँमा सोलार मिनी ग्रिड बनेपछि निकै सजिलो भएको सुनाउँछन् । ‘बिजुलीकै कारण व्यवसाय राम्रै चलेको छ, कहिलेकाहीँ नपुग्दा आफूसँग सोलार पाता पनि छ,’ उनले भने, ‘यसैबाट काम चलेको छ ।’

सुगरखालमा कृष्ण सुब्बा जस्ता धेरैको जनजीवन सोलार मिनी ग्रिडले परिवर्तन गरिदिएको छ । एसियाली विकास बैंक (एडिबी) को अनुदान तथा स्थानीयको १० प्रतिशत लगानीमा ७५ किलोवाटको ‘सुगरखाल मिनी ग्रिड आयोजना’ निर्माण भएको छ ।

केन्द्रमार्फत निर्माण भएको आयोजनाका लागि एडिबीले करिब ४ करोड रुपैयाँ अनुदान दिएको छ । एडिबीको दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) को अफ ग्रिड कम्पोनेन्टअन्तर्गत निर्माण भएको सोलार प्लान्टबाट अहिले २ सय १६ घरधुरीमा उज्यालो पुगेको छ ।

बिजुली प्रयोगबाट कुखुरा फार्म, कुटानी पिसानी मिल, काठ मिललगायत घरेलु उद्योग सञ्चालन भएका छन् । यसले स्थानीय आम्दानी बढ्नुका साथै दक्षता र सीपअनुसार काम गर्नेले रोजगारी पनि पाएका छन् ।

हाल उत्पादित विद्युतले घरेलु व्यवसाय गर्नेलाई ठूलो सहयोग पुर्याएको मोहनन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावलले बताए । ‘यो क्षेत्रमा झन्डै ५ सय घरधुरी छन् । सबैले बिजुली पाएका छैनन्,’ उनले भने, ‘छुटेकालाई अबको कार्यक्रममा समावेश गरिनेछ ।’

वडा नम्बर ६ स्थित माथिल्लो, बीच र पूर्वी सोल्टाका दलित र पिछडिएका बस्तीमा उज्यालो पुगेको छैन । यस्तै, वडा नम्बर ३ का रुइनीकोट, भोटेकोट, राजीरेक्चा, रागामलेकासम्म पनि विद्युतको पहुँच छैन ।

उक्त क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले केन्द्रीय ग्रिड पुर्याउने सम्भावना न्यून देखिन्छ । यसर्थ, सोलार मिनी ग्रिड वा हाइब्रिड सोलार-वायु ऊर्जा नै विद्युतको एकमात्र विकल्प रहेको केन्द्रका इन्जिनियर तथा सासेक आयोजना प्रमुख सन्तोष राईले बताए । उनका अनुसार प्राधिकरणको ग्रिड पुगेपछि त्यसमा आवद्ध गर्न पनि मिल्छ ।

विद्युत खपत र यसको महसुल तिर्न सुर्खेतको गुटुमा जस्तै यहाँ उपभोक्ताका घरघरमा ‘प्रि–पेड’ मिटर जडान गरिएको छ । र, त्यही अनुसार विद्युतको लोड पनि स्वीकृत गरिएको छ । सुगरखाल सोलार मिनी ग्रिड उपभोक्ता समितिले सञ्चालन गरेको आयोजनबाट गत बैशाखदेखि बिजुली बलेको छ ।

हरेक घरमा ६ वटा लिट लाइट (३ वटा ३ वाट र ३ वटा ५ वाट) वितरण गरिएको छ । यस्तै, २५ वटा २० वाटका सडक बत्ती जडान गरिएको छ । प्रिपेड मिटरमा पैसा तिरेपछि त्यही अनुसार बिजुली उपभोगको प्रणाली विकास गरिएको छ । सर्वसाधारणले प्रतियुनिट १० रुपैयाँ र घरेलु उद्योगका लागि प्रतियुनिट १५ रुपैयाँ महसुल तोकिएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका ऊर्जा विज्ञ खेम भण्डारीले जानकारी दिए।

 गाउँलेका थरी–थरी गुनासा

कुनै समय सल्लाको दियालो बालेर घर उज्यालो बनाउने रहर पूरा गर्ने ७० वर्षे मोनादेवी भुल अहिले सोलार मिनी ग्रिड देख्दा दंग छिन् । उनले दियालो बाल्ने समय सकिएपछि मट्टितेलको टुकी बालिन् । अलि पछि लाल्टिनको चलन आयो । अनि, घरका छानामा सोलार पाता राखेर ३–४ वटा बल्ब बालेको पनि देखिन् ।

आज आधुनिक सोलार प्लान्ट आएको छ । यसले घरमात्र नभई सडक तथा बाटोघाटो पनि उज्यालो बनाएको छ । तर, सबै घर तथा सडकमा यस्तो छैन । मोहनन्याल गाउँपालिकाका आधा घरमा अझै उज्यालो पुगेको छैन ।

विपन्न तथा दलित बस्ती, लोपोन्मुख राजी समुदाय र एकल महिलाका घर अझै पनि अँध्यारै छन् । उनीहरू वर्षौंदेखि आधुनिक ऊर्जा (उज्यालो) को पर्खाइमा बसेको देखिन्छ । कति महिला मोहनन्यालका नेता तथा ठूलाबडालाई गाली गर्छन्– सोल्टाका जस्ता बदमास नेता कहीँका छैनन् ।

‘नेता आए भने गरिब जनता कसैले केही पाउँदैनन्, सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति समुदाय आउनुपर्यो,’ उजेली भुलले र्जा खबरसँग भनिन्, ‘यसो भयो भने मात्र दलित, लोपोन्मुख जाति र एकल महिलाले राहत पाउँछन् ।’

अहिले बजार तथा ठूलाबडाले मात्र बिजुली बालेका छन् । पिछडिएका वर्गलाई सामाजिक संघ संस्थाले पनि नहेरेको उनीहरूको गुनासो छ । सहरभन्दा बाहिरका बस्तीले बिजुली बाल्न पाएको दिनमात्र आँफूहरू खुसी हुने मिना भुल बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="