Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :६३९६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६२२२ मे.वा. घन्टा
  • भारत : ८४८४ मे.वा. घन्टा
  • ट्रिपिङ : ८० मे.वा. घन्टा
  • माग : २११८२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अप्पर चमेलियामा एनआइसी एसियाको अगुवाईमा लगानी जुटाइने

ऊर्जा खबर श्रावण २१, २०७६   3073

जलविद्युत



काठमाडौं– अपी पावर कम्पनी लिमिटेडले दार्चुलामा निर्माण गर्ने ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा एनआइसी एसिया बैंकको अगुवाईमा लगानी जुटाइने भएको छ ।

लगानी जुटाउनेबारे हिजो (साउन २० गते) कम्पनी र बैंकबीच सहमति भएको छ । ७ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकले १ अर्ब ३० करोड लगानी गर्ने सहमति भएको छ ।

७० प्रतिशत (५ अर्ब १८ करोड) ऋण ३० प्रतिशत (२ अर्ब २२ करोड) स्वपुँजी लगानी हुने आयोजनामा बाँकी रकम जुटाउने जिम्मा एनआइसीले नै लिएको छ । छिट्टै वित्तीय स्रोतको टुंगो लगाएर मंसिरदेखि निर्माण सुरु गर्ने कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेले बताए ।

‘अपी पावरले दार्चुलामा निर्माण गर्न लागेको यो तेस्रो आयोजना हो, काम सुरु गरेको ३ वर्षमा विद्युत उत्पादन गर्ने लक्ष्य छ,’ उनले ऊर्जा खबरसँग भने, ‘सुरुङ निर्माण गर्नु नपर्ने हुँदा हामी तोकिएको समयमै विद्युत उत्पादन गर्न सक्छौं भन्ने विश्वास छ ।’

२ सय ५ मिटर हेड (उचाई) रहेको आयोजनाका लागि ३.२ मिटर ब्यास (डायमिटर) को करिब ६ किलोमिटर पाइपलाइन निर्माण हुनेछ । बाँधबाट ल्याइएको पानी यही पाइपमार्फत विद्युतगृहमा खसालिनेछ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको बलाँचस्थित १३२ केभी सबस्टेसनमा जोडिनेछ ।

आयोजना प्राधिकरणले निर्माण गरेको चमेलियाभन्दा करिब १३ किलोमिटर माथि पर्छ । सबस्टेसन यसअघि नै चार्ज भएकाले विद्युत जोड्न कुनै समस्या नहुने न्यौपानेले बताए । कम्पनीले आयोजनामा लगानी गर्न हकप्रद सेयर निष्कासनको तयारी गरिरहेको छ ।

कम्पनीले २०७२ भदौदेखि साढे ८ मेगावाटको नौगडगाडबाट विद्युत उत्पादन गरिहेको छ । यस्तै, ८ मेगावाटको माथिल्लो नौगडगाडबाट अबको एक महिनामा विद्युत उत्पादन हुने पनि न्यौपानले जानकारी दिए । कम्पनीले जलविद्युतसँगै १८ मेगावाट सौर्य ऊर्जा उत्पादन प्रक्रिया पनि अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस