Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो तामाकोसीको बिजुली देशमा खपत नहुने, सोझै भारतीय बजारमा

ऊर्जा खबर असार २२, २०७६   4290

खबर



काठमाडौं– देशले लामो समयदेखि प्रतिक्षारत सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत देशभित्र खपत हुने सम्भावना न्यून देखिएको छ । पर्याप्त वितरण लाइन विस्तार नहुनु र खपत योजना अभावले समस्या जटिल बन्दै गएको हो ।

देशभित्रै खपत हुन नसक्ने अवस्थामा यसको एउटै विकल्प हो, भारतीय बजार । धेरै ढिलो भए पनि अबको एक वर्षभित्र अर्थात् आगामी चैत वा २०७७ बैशाखसम्म ४ सय ५६ मेगावाट विद्युत उत्पादन हुने पक्का छ । यतिबेलासम्म उपलब्ध विद्युत कसरी खपत गर्ने भन्ने सरकार वा नेपाल विद्युत प्राधिकरणसँग योजना छैन ।

देशभित्र खपत हुन नसक्ने अवस्थामा बाध्यातावश भारतीय बजार पठाउनुपर्ने हुन्छ । अहिलेसम्म आयोजनाको निर्माण करिब ९८ प्रतिशत पूरा भएको छ । भर्टिकल पेटस्टकमा पाइप जडान गर्ने काम सुरु भएको छ । जडान सकिँदा सिभिल तथा प्रसारण लाइनको बाँकी काम पूरा हुने आयोजना प्रमुख दिनेशजंग राणाले बताए ।

‘गाह्रो काम पेनस्टक जडान हो, चैतसम्म यो सकिन्छ,’ उनले भने, ‘चैतको अन्तिम वा बैशाखसम्म पहिलो युनिटबाट विद्युत उत्पादन हुन्छ । त्यतिबेलासम्म प्रसारण लाइन र सबस्टेसन पनि तयार भइसक्छ ।’ आयोजनाले विद्युत उत्पादन गरेर लक्षित प्रसारण लाइनसम्म पुर्याएर जोड्न समस्या नरहेको उनले प्रस्ट्याए ।

विद्युतगृह गोंगरदेखि खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी डबल सर्किट (दोहोरो लाइन) लाइन आयोजना आफैंले निर्माण गरिरहेको छ । त्यहाँबाट ७६ किलोमिटर खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन निर्माण भएको छ । देशभित्र विकल्प नरहे विद्युत ढल्केबर–मुजफ्फरपुर ४ सय केभी लाइनबाट भारत पुर्याउनुपर्छ ।

खिम्तीबाट काठमाडौं आउने (खिम्ती–काठमाडौं ४०० केभी) प्रसारण लाइन निर्माणमा खासै काम भएको छैन । यसो हुँदा तामाकोसीको विद्युत काठमाडौं ल्याउन सकिँदैन । यद्यपि, खिम्ती–काठमाडौं १३२ केभी लाइनबाट बढीमा २० मेगावाटसम्म ल्याउन सकिने आयोजनाले जनाएको छ ।

खिम्ती–काठमाडौं १३२ केभीमा निजी क्षेत्रको ६० मेगावाट खिम्तीको बिजुली प्रवाह भइरहेको छ । यसमा तामाकोसीको २० मेगावाटभन्दा बढी थपिन नसक्ने आयोजनाका अधिकारीको दाबी छ । यसो हुँदा नचाहेरै तामाकोसीको विद्युत भारत पुर्याउनुपर्ने हुन्छ ।

अबको एक वर्षभित्र तराईमा लोड बढ्ने वा प्रचुरमात्रामा विद्युत खपत हुने सम्भावना छैन । बढी लोड खपत हुने गरी प्रसारण तथा वितरण लाइन निर्माण, सुदृढिकरण र स्त्तरोन्नती गरिएको छैन । यसै पनि तराईका अधिकांश क्षेत्र आयातित विद्युत प्रणालीमा आवद्ध छ ।

आयातित विद्युत तुरुन्त बन्द (डिस्कनेक्ट) गर्ने सम्भावना देखिँदैन । किनकि अहिलेसम्म भारतीय र नेपाली लाइनबीच सिंक्रोनाइज (आवद्धता) भइरहेको छ । जबसम्म भारतीय लाइनबाट विद्युत वितरण भएका ठाउँमा नेपालतर्फको लाइन जोडिँदैन तबसम्म अलग गराउन सम्भव नरहेको यस क्षेत्रका विज्ञहरू बताउँछन् ।

यसर्थ, भारतबाट आयातित कमसल (कोइलाबाट उत्पादित) विद्युत नेपालमा प्रयोग हुने र जलविद्युत भारत जाने सम्भावना रोकेर रोकिने अवस्था छैन । यसमा सुधार गर्न प्राधिकरणले युद्धस्तरमा तराई तथा पहाडी क्षेत्रमा वितरण प्रणाली सुधार तथा स्त्तरोन्नती गर्नुपर्ने हुन्छ ।

एक वर्षमै बर्खे विद्युत खपत हुने संरचना तयार नहुने हुँदा भारत निर्यात गर्नुपर्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘भारतीय व्यापार कम्पनीमार्फत डे अहेड मार्केटमा जानुपर्छ । जसअनुसार बिजुली बेच्न अघिल्लो दिन नै बिड (बोलकबोल) गर्नुपर्छ,’ उनले भने, ‘तामाकोसीको बिजुली बर्खामा सस्तो हुने हुँदा भारतीय बजारसँग प्रतिस्पर्धी हुन सक्छ ।’

एक–दुई वर्षका लागि अल्पकालीन वा छोटो बजारमा बेच्न भारतसँग त्यही अनुसार विद्युत खरिद सम्झौता (पिपिए) गर्न सकिने पनि अधिकारीले बताए । उनका अनुसार विद्युत आदानप्रदान सजिलो बनाउन भारतको केन्द्रीय विद्युत प्राधिकरण (सिइए) ले आचारसंहिता (कन्डक्ट अफ बिजनेस रुल–सिबिआर) तयार गरेको छ ।

नेपालले भारतको खुद्रा बजारमा प्रवेश पायो भने छोटो समयका लागि प्रभावकारी हुन सक्छ । जसअनुसार भारतीय विद्युत बजारसँग प्रतिस्पर्धा गरेर बेच्न सकिन्छ । यता तामाकोसीको बिजुली किन्न प्राधिकरणले औसत प्रतियुनिट ४.०६ रुपैयाँमा पिपिए गरेको छ । जबकि अहिले नै भारतीय खुद्रा बजारमा विद्युत मूल्य प्रतियुनिट साढे २ रुपैयाँमा झरेको छ ।

उल्लेखित अवस्थामा तामाकोसीको बिजुली भारतीय बजारमा कतिको प्रतिस्पर्धी हुन्छ भन्ने प्रश्न उठेको छ । देशमा खपत गर्न नसक्ने, भारतमा पनि उचित मूल्य नपाउने हो भने तामाकोसीको बर्खे बिजुली खेर जाने सम्भावना नर्कान सकिन्न । यसको एउटै विकल्प प्राधिकरणले द्रुत गतिमा देशभित्रै वितरण प्रणाली विस्तार, स्त्तरोेन्नती तथा मर्मत गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="