Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :६३९६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६२२२ मे.वा. घन्टा
  • भारत : ८४८४ मे.वा. घन्टा
  • ट्रिपिङ : ८० मे.वा. घन्टा
  • माग : २११८२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो त्रिशूली ३ ‘बी’ ३५ प्रतिशत पूरा

ऊर्जा खबर श्रावण २३, २०७६   1446

जलविद्युत



काठमाडौं- ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनाको ३५ प्रतिशत निर्माण सकिएको छ । २०७५ चैतबाट सुरु भएको आयोजनाको निर्माणले गति लिएको हो ।

आयोजनाको मुख्य सुरुङ ७ सय २४ मिटर खनिएको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले बताए । उनका अनुसार आयोजनाको ३.८ किलोमिटर लामो मुख्य सुरुङ इनलेट, आउटलेट र दुई वटा अडिट सुरुङबाट खन्ने काम भइरहेको छ ।

भर्खरै प्रसारण प्रणालीमा जोडिएको माथिल्लो त्रिशूली ३ ‘ए’ को क्यासकेड भएकाले याे आयोजनामा बाँध, डिसेन्डर बेसिनलगायत संरचना निर्माण गर्नु पर्दैन । ३ ‘ए’को विद्युतगृहबाट निस्कने पानी बी को सुरुङसम्म पुर्याउने गेटको निर्माण सकिएको पनि उनले बताए ।

बर्खा सकिएपछि आयोजनाको विद्युतगृह सर्ज ट्याङ, पेनस्टकलगायत संरचना निर्माणको काम सुरु गरिने गौतमले जानकारी दिए ।
‘आयोजनामा जडान हुने हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणको उत्पादन सुरु भइसकेको छ,’ उनले भने, ‘संरचना बनाउने काम सुरु भएपछि आयातको प्रक्रिया अगाडी बढाउँछौं ।’

नेपाल विद्युत प्राधिकरणको सहायक यस कम्पनीले इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) मोडलमा आयोजना निर्माणको जिम्मा चीनको सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङ कम्पनीलाई दिएको छ । चिनियाँ कम्पनीसँग २०७४ माघ २९ मा कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का सम्झौता अनुसार ठेकेदार कम्पनीले ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर (करिब ३ अर्ब ५९ कराेड ८७ लाख ११ हजार रुपैयाँ ) र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँ गरी कूल ५ अर्ब ५१ कराेड ३३ लाख  ११ हजार रुपैयाँमा आयोजना निर्माण गर्नेछ ।

सम्झौताअनुसार, ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडानको काम गर्नुपर्छ ।

आयोजना सम्पन्न गर्न ७ अर्ब ४४ करोड रुपैयाँ खर्च हुने अनुमान छ । यो लागतमा ७८ करोड रुपैयाँ बराबरको ब्याज जोडिएको छैन । आयोजनामा कूल लागतको ३० प्रतिशत (२ अर्ब ४७ करोड) स्वपुँजी र ७० प्रतिशत (५ अर्ब ७६ करोड) बैंक तथा वित्तीय संस्थाको ऋण लगानी छ ।

स्वपुँजी लगानी अन्तर्गत आयोजनामा विद्युत प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर स्वामित्व छ । रसुवा नुवाकोटका गाउँपालिका तथा नगरपालिकाको ५ प्रतिशत, दुई जिल्लाका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, स्थानीयको १० प्रतिशत एवं सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर लगानी आयोजनामा छ ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत निर्माण अघि बढेको यस आयोजनामा सर्वसाधारणका लागि सेयर निस्कासन गरेर बाँडफाँड गरिसकेको छ । सर्वसाधारणका ३७ लाख ५ हजार कित्ता सेयर निस्कासन गरिएकामा प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलगायत सबैलाई २० कित्ता परेको थियो । केही भाग्यशालीलाई ३० कित्ता परेको थियो ।

आयोजनाबाट २०७७ फागुनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजना सम्पन्न भएपछि सुख्खा याममा ( मंसिर १६ देखि जेष्ठ १५ सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षा याममा (जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादन हुने विद्युत त्रिशूली ३ ‘बी’ हब सबस्टेसनमार्फत प्रसारण प्रणालीमा जोडिनेछ । आयोजनाले उत्पादन गर्ने विद्युत बिक्रीबाट वार्षिक करिब १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस