Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो त्रिशूली–१ मा लगानीकाे टुंगाे, ९ विदेशी वित्तीय संस्थाको प्रतिबद्धता

ऊर्जा खबर असार ०३, २०७६   2463

खबर



काठमाडौं– रसुवाको हाकुबेँसीमा निर्माण हुने २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत टुंगो लागेको छ । ९ विदेशी बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने प्रतिबद्धतासँगै आयोजनाका लागि स्रोत व्यवस्थापन भएको हो ।

विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को अगुवाईमा युरोप, र एसियाली वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । ऋण लगानीको प्रस्ताव स्वीकृत गरी सन् २०१९ को सेप्टेम्बरभित्र लगानी व्यवस्थापनमा अन्तिम हस्ताक्षर गर्ने तयारी छ ।

आयोजनामा आइएफसीसँगै एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआइआइबी), एसियाली विकास बैंक (एडिबी), नेदरल्यान्ड डेभलपमेन्ट बैंक (एफएमओ), फ्रेन्च डेभलपमेन्ट बैंक (प्रोपार्को), बेलायती विकास बैंक (सिडिसी), कोरियन एक्जिम बैंक, ओपेक फन्ड फर इन्टरनेशनल, कोरियन डेभलपमेन्ट बैंकले ऋण लगानी गर्नेछन् ।

कोरियन लगानीमा निर्माण हुने आयोजनाका लागि अहिलेसम्म आइएफसी, एडिबी, एआइआइबीले सञ्चालक समितिबाट ऋण स्वीकृत गरिसकेको जानकारी दिएका छन् । अन्य वित्तीय संस्थाले ऋण स्वीकृत गर्ने चरणमा रहेको प्रवद्र्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जानकारी दिएको छ ।

आइएफसीले १५ प्रतिशत स्वपुँजी र त्यति नै ऋण लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । यस्तै, एआइआइबीले २० प्रतिशत अर्थात् ९ करोड अमेरिकी डलर लगानी गर्ने गरी सञ्चालक समितिबाट पास गरेको छ । एडिबीको लगानी पनि करिब १० प्रतिशत हुने जनाइएको छ ।

विदेशी वित्तीय संस्थाहरूले ऋण स्वीकृत गरेपछि उद्योग विभाग, लगानी बोर्ड र नेपाल राष्ट्र बैंकले ऋण र स्वपुँजी लगानी स्वीकृत गर्नुपर्छ । नेपालबाट समयमै स्वीकृत भए डिसेम्बरदेखि ठेक्का प्रक्रिया सुरु गर्ने कम्पनीको योजना छ ।

आयोजनामा ४५ करोड ३२ लाख अमेरिकी डलर ऋण र १९ करोड ४२ लाख डलर स्वपुँजी लगानी हुने छ । यसो हुँदा आयोजनाको लागत ६४ करोड ७४ लाख डलर (करिब ७२ अर्ब ५० करोड रुपैयाँ) हुन जान्छ । यसको आधारमा आयोजनाको प्रतिमेगावाट लागत करिब ३३ करोड ५६ लाख रुपैयाँ पुग्छ ।

कोरियाको सरकारी कम्पनी कोसेपले सन् २०११ मा आयोजनाको अध्ययन अनुमतिपत्र लिएको थियो । योसँगै कोरियाकै डालिम र केरुङ निर्माण कम्पनी सघाएका छन् । अहिलेसम्म आयोजनाको सबै वातावरणीय र सामाजिक अध्ययन पूरा भएको छ । कम्पनी र सरकारबीच २०७३ पुस १४ गते (सन् २०१६, डिसेम्बर २९) आयोजना निर्माण गर्न सरकारसँग ‘आयोजना विकास सम्झौता (पिडिए)’ भएको थियो ।

नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच २०७४ माघ १४ गते विद्युत खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर भएको थियो । १० वर्ष वा बैंक ब्याज नतिर्दासम्म विद्युत खरिदको रकम डलरमा भुक्तानी दिने पिपिएमा उल्लेख छ ।

३२ मिटर अग्लो बाँध बाँधेर ९.८ किलोमिटर सुरुङबाट ल्याएको पानी विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिने छ । पानी थिग्र्याउने पोखरी (डिसेन्डर), सर्ज ट्यांक र विद्युतगृहको निर्माण जमिनभित्र (भूमिगत) हुनेछन् ।

रसुवाको मैलुङ र हाकुमा निर्माण हुने आयोजनाबाट वार्षिक १ हजार ४ सय २७ गिगावाट घन्टा (१ अर्ब ४२ करोड ७० लाख युनिट) विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाबाट हिउँदमा करिब १ सय ५ मेगावाट (वार्षिक ५९८ गिगावाट घन्टा) विद्युत उत्पादन हुने छ ।

क्यू५० डिस्चार्ज (वर्षमा ५० प्रतिशत वा करिब ५ महिना पूर्ण क्षमतामा सञ्चालन हुने) मा आयोजना डिजाइन गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणले निर्माण गर्ने त्रिशूली–३ ‘बी’ सबस्टेसनमा जोडिने छ । आयोजनाले १.२ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="