Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘वार अफ करेन्ट’  र विद्युतीय सुरक्षा

भदौ २३, २०७६   1934 लेख


सागर ज्ञवाली

काठमाडाैं – आजको युगमा विद्युत ऊर्जा दैनिक जीवनको सबैभन्दा आधारभूत कुरा बन्न पुगेको छ । यसकारण संसारका हरेक राष्ट्रले विद्युत उपलब्धतालाई पहिलो प्राथमिकतामा राखेका छन् । नेपालको हकमा त झन् सर्वसुलभ विद्युत पहुँचलाई संविधानले नै मौलिक हक मानेको छ । नेपालमा ग्रिड र अफग्रिड विद्युतीकरणमार्फत केही वर्षभित्र सम्पूर्ण जनसंख्यामा विद्युत पुग्दैछ । ग्रीड पुगेका क्षेत्रमा पनि क्रमशः चौबीसै विद्युत उपलब्ध हुने समय आइसक्यो ।

विद्युत उपलब्धताको सुखद आँकडामा चर्चा गरिरहँदा हामीले हरेक हप्ता जस्तो सुन्न बाध्य भएका विद्युतीय दुर्घटनाका डरलाग्दा समाचारले निकै हतोत्साहित बनाइरहेको छ । यसैले ‘विद्युत पहुँच’को साटो ‘सुरक्षित विद्युत पहुँच’ अबको कार्यभार बन्नुपर्छ भन्ने अवधारणामा यो लेख तयार पारिएको छ ।

ad

एक पटक विश्वमा विद्युत वितरण प्रणालीको सुरुतिर फर्कौं–

महान वैज्ञानिक थोमस एल्वा एडिसनबारे नसुन्ने हामी कमै छौं । हामीले अहिले प्रयोग गर्ने दर्जनौं विद्युतीय साम्रगीका जननीबारे लेख्दा लामो शृङ्खला बन्छ । जुन यो लेखमा सम्भव छैन । तर, आजकल दिन प्रतिदिन सुनिने विद्युतीय दुर्घटनाका विरक्त लाग्दा घटनाको पृष्ठभूमिमा मानव सभ्यता इतिहासमा पहिलो पटक व्यापारिक प्रयोजनका लागि विद्युत वितरण प्रणाली बनाएर व्यापार गर्ने एडिसनलाई सम्झनुपर्ने हुन्छ ।

उनले १९औं शताब्दिको अन्ततिर, सन् १८८० मा विद्युतलाई प्रकाश शक्तिमा रूपान्तरण गर्ने प्रविधि आविष्कार गरे । सयौं उपाय पार नलागेपछि उनले एउटा कार्बोनाइज्ड प्लाटिनम फिलामेन्टको धागोलाई ग्लास भ्याकुममा राखेर विद्युत सप्लाई गरे । त्यसो गर्दा फिलामेन्टको धागो रातो भएर बल्यो तर पग्लेन । बरु वरिपरि प्रकाश फाल्यो । उनको यही आविष्कारले मानव सभ्यतालाई उचाईमा पुर्यायो । उनको यो योगदान कतिपयले आधुिनक मानव इतिहासको आठौं आश्चर्य मानेका छन् ।

व्यापारिक प्रयोजनमा इलेक्ट्रिक बल्ब सफल भएपछि एडिसनले ‘एडिसन  इलेक्ट्रिक लाइट कम्पनी’ खोले । र, पहिलो पटक विद्युत वितरण गर्ने काम सुरु गरे । सुरुमा रसायनिक प्रतिक्रिया आधारको ब्याट्रीसेलवाट विद्युत उत्पादन गरे पनि एडिसनले सन् १८८२ मा लन्डनमा विश्वको पहिलो स्टिम जेनेरेटेड पावर स्टेसन स्थापना गरे । जसले डाइरेक्ट करेन्ट (DC Current) उत्पादन र वितरण गथ्र्यो ।

पछि तामाको तार कम प्रयोग गर्न ९ं१०० भोल्ट, ०, भोल्ट (१०० भोल्ट) गरी तीन प्रकारका भोल्टेजका तारहरू घरघर पुर्याए । खासमा सय भोल्टको विद्युत घरमा पुर्याउन ११० भोल्टमा विद्युत उत्पादन गरिएको हो । हाल संसारभर प्रयोग हुने ११० भोल्ट, २२० भोल्टको भोल्टेज वितरणको मानक एडिसनको यही प्रयोगको आधार हो ।

आधुनिक ऊर्जाको रूपमा संसारभर क्रान्ति ल्याउने एडिसनको यो प्रयास सदा प्रशंसनीय छ । भलै एउटा उत्पादनगृहले एक–डेड किलोमिटरभन्दा पर विद्युत सप्लाई दिन नसके पनि त्यो परिमितिभित्र चमत्कारिक र नौलो सेवा दिएपछि एडिसनको कम्पनी मालामाल भयो । उनी देश विदेशमा उस्तै शक्तिशाली बने । पत्रपत्रिका, आम–जनमानसमा उनले जे बोले त्यो सत्य हुने खालको बलियो नैतिक शक्ति मिल्यो ।

विद्युत वितरणमा एडिसन इलेक्ट्रिकको एक छत्र साम्राज्यमा केही समयपछि उनकै अनुसन्धान संस्थामा काम गरेका निकोला टेस्लाले चुनौती दिए । भनिन्छ, एडिसनले टेस्लालाई ठूलो धोका दिएका थिए । व्यापारिक स्वार्थका लागि एडिसन जे पनि गर्छन् भन्ने आरोप टेस्लाको थियो ।

खासमा डाइरेक्ट करेन्ट वितरण हुने क्षेत्रफल निकै सानो हुने हुँदा त्यसको बदला अल्टरनेटिङ करेन्टबाट टाढा टाढासम्म कम खर्चमा विद्युत सप्लाई सम्भव हुन्छ भन्ने उनको धारणा थियो । त्यतिबेलासम्म ट्रान्सफर्मरको आविष्कार भई सकेको थियो । जसले गर्दा विद्युतको भोल्टेज लेभल सजिलै घटाउन वा बढाउन सकिन्थ्यो ।

अहिले हामीले प्रयोग गर्ने थ्री फेज अल्टरनेटिङ करेन्टको अवधारणा ल्याउने, यसलाई भोल्टेज वढाएर प्रसारण गर्ने र घटाएर घरघर विद्युत पुर्याउने विषयको व्यवहारिक व्याख्या गर्ने निकोला टेस्ला हुन । जसले अल्टरनेटिङ करेन्टले चल्ने मोटरलगायत विभिन्न विद्युतीय परिप्रयोग पनि आविष्कार गरे ।

सन् १८८४ मा अमेरिका पुगेपछि उनले आफ्नो पोलिफेज विद्युत, मोटर, ट्रान्सफर्मर आदिको प्याटेन्ट जर्ज वेस्टीङहाउसलाई बेचे, जो वेस्टीङहाउस इलेक्ट्रिक कम्पनीका मालिक थिए । टेस्लाको आविष्कारले बल्ल ठूलो लगानीकर्ता पाएको थियो । एसी करेन्ट वितरणको केही व्यवहारिक प्रयोग सफल भयो । योसँगै वेस्टीङहाउसले एसी करेन्टबाट विद्युत व्यापार गर्न सुरु गर्दा एडिसनले सयभन्दा बढी कम्पनीमार्फत संसारभर उज्यालो छर्दै थिए । तर, यो सबै डिसी सिस्टम थियो । त्यसमाथि राजनीतिज्ञ, व्यापारी, पत्रकार, कर्मचारी सबैतिर एडिसनको राम्रो सम्बन्ध थियो ।

विश्व इतिहासको ठ्याक्कै यही बिन्दुमा अबको विद्युत वितरण वा विश्व व्यापार एसी वा डिसी कुन करेन्टले चलाउने भन्नेबारे द्वन्द्व सुरु भयो । मानिस दुई ध्रुवमा बाँडिएर बहसमा उत्रिए । यो बहस अमेरिकी राष्ट्रपतिसम्म पुग्यो ।

जब आफ्नो एकछत्र साम्राज्यमाथि धावा बोलियो, एडिसन आफ्नो भएभरको शक्ति प्रयोग गरेर एसी करेन्ट विरुद्ध उत्रिए । सन् १८८६ मा वेस्टीङहाउस इलेक्ट्रिकले आफ्नो पहिलो प्लान्ट जोडेपछि एडिसनले भने– वेस्टीङहाउसले ६ महिनाभित्र आफ्ना सबै ग्राहक मार्नेछ । किनभने यत्तिकै एसी करेन्ट सामान्य प्रयोगका लागि लागू गर्नु नै हुँदैन । यो मानव सभ्यताका लागि नै खतरनाक हुनेछ ।

उनको चिन्ता यसले विद्युतीय दुर्घटनाको ठूलो मूल्य चुकाउनुपर्छ भन्ने थियो । तर, आलोचकले भने आफ्नाे व्यापार साम्राज्य ध्वस्त हुन लागेको भनेर बर्बराएको अर्थ्याए ।

सन् १८८७ सम्म आइपुग्दा वेस्टीङहाउसको एसी सिस्टम ६० वटा पुगेका थिए भने एडिसनको डिसी सिस्टम १२१ वटा । यसमाथि थम्सन् होस्टन इलेक्ट्रिक कम्पनीले २२ वटा एसी करेन्ट आधारित विद्युत वितरण सिस्टम बनाएको थियो । यिनै कारण पनि एडिसन तनावमा थिए ।

सन् १९८८ मा एसी करेन्टमा आधारित विद्युत वितरण प्रणालीमा ठूलो दुर्घटना भयो । केही मानिस हताहत भएपछि पत्रकारको ठूलो समूह एसी करेन्टको विरुद्ध आयो । यही मौकाको फाइदा उठाउँदै एडिसन एसी करेन्ट विरुद्धको सडक प्रदर्शनमा सहभागी हुन लागे ।

एडिसनद्वारा प्रायोजित मानिसले सार्वजनिक ठाउँमा विभिन्न जनावरलाई एसी करेन्ट लगाएर मार्दै गरेको देखाइयो । त्यही समयमा एडिसनको आग्रहमा विद्युतीय कुर्सी बनाएर त्यसमा उच्च भोल्टेजको एसी करेन्ट लगाएर मृत्युदण्ड पाएका मानिसलाई मार्न सिफारिस गरियो । विद्युतीय कुर्सीमा लगाइएको विद्युत पनि वेस्टीङहाउस इलेक्ट्रिककै जेनेरेटरको हो भनेर आश्वस्त पारियो ।

इतिहासमा ‘वार अफ करेन्ट’ नाम दिइएको यो विद्युत बजारको लडाइँमा अन्ततः एडिसनले हारे । १८९३ मा सम्पन्न वर्ड कोलम्बियन एक्स्पोजिसनमा विद्युत सप्लाईको काम वेस्टीङहाउस इलेक्ट्रिकले एडिसनको कम्पनीभन्दा आधा मूल्यमा सकारेपछि उसैले नयगरा (Niagara Falls) फल्सवाट ७० किलोवाट विद्युत निकाल्ने काम पायो । योसँगै डिसी वा एसीमध्ये कुन प्रकारको विद्युत वितरण प्रणालीका लागि ठिक हो भन्ने बहस पनि किनारामा पुग्यो ।

एडिसन कम्पनीको कारोबार ओरालो लाग्यो । सन् १९०२ मा जेपी मोर्गानले एडिसन र थोम्सन हस्टनको कम्पनी एक बनाए । र, एडिसनलाई कार्यकारीबाट हटाए । नयाँ कम्पनीको नाम जेनेरल इलिक्ट्रिक थियो । लगत्तै यसले पनि आक्रामकरूपमा एसी करेन्टमा आधारित विद्युत प्रणालीमा लगानी गर्यो र क्रमशः ठूलो सफलता प्राप्त गर्यो ।

कतिपयले भन्छन– ‘वार अफ करेन्ट’ सकिएको लामो समयसम्म एडिसनले एसी करेन्टको विरोध गर्न छोडेनन् । कतिसम्म भने सन् १९०३ को जनवरी ४ मा सर्कसमा प्रयोग गरिएको एउटा टप्सी (Topsy) नामको पोथी हात्तिलाई ६६ किलोभोल्टको करेन्ट लगाएर सार्वजनिक स्थानमा मारियो । सर्कसमा आउने तीन जना मानिसलाई मारेको आरोप लागेको यो हात्तीलाई मृत्युदण्ड दिइएको दृश्य एडिसनले भर्खर खोलेको ‘एडिसन म्यानुफ्याक्चरिङ मुभी कम्पनी’ले फिल्म बनाउने उद्देश्यले खिच्यो ।

‘वार अफ करेन्ट’ को दौरानमा एडिसनको भूमिका व्यापार र सामाजिक प्रतिष्ठा जोगाउन आफ्नो परिचय दुरुपयोग गरेको आरोप लगाए । तर, विद्युतीय सुरक्षा सम्बन्धी उनका यी धारणाबारे कसैले प्रश्न उठाउन सक्दैनन् । उनले भनेका थिए, ‘विद्युतीय सुरक्षाका हिसाबले अल्टरनेटिङ करेन्टमा आधारित विद्युत वितरण प्रणाली निकै चुनौतीपूर्ण छ । विद्युत प्राप्त गर्ने सर्तमा हामीले जुनसुकै बेला मानिसको ज्यान खतरामा पर्ने कुरा घर भित्र्याएका छौं । मानिसले यसको ठूलो मूल्य चुकाउनुपर्छ ।

नेपालमा हरेक हप्ता जस्तो सुनिरहनुपर्ने विद्युतीय दुर्घटनाका डरलाग्दा समाचार आउँदा मलाई थोमस अल्वा एडिसन याद आउँछन् ।

लेखको सुरुमै ऐतिहासिक प्रसंग उठाउनुको अर्थ विद्युत वितरण प्रणाली आफैंमा खेलाँची गर्ने विषय होइन । र, हामीले सचेतनापूर्वक प्रयोग नगर्दा भयंकर दुर्घटना हुन सक्छ भन्ने कुरा यो जन्मदै उठेको अकाट्य तर्क हो । यो खतरनाक हुन सक्छ भनेरै लामो समयसम्म मानव समाजले प्रयोग गर्न हिचकिचाएको कुरा पनि ध्रुवसत्य हो ।

नेपालको विद्युत वितरण प्रणाली र हामी उपभोक्ताको हेलचक्रयाइँ गर्ने मानसिकताको परिणाम एडिसनले भनेझैं दैनिकजसो सुनिने भयंकर विद्युतीय दुर्घटनाका समाचार हुन् । अझ हामीले विद्युत प्रयोग गर्दा गर्ने लगानी र व्यवहार भने अनौंठो गरी हुर्किएको छ ।

शहरी मानसिकताकै कुरा गरौं–

मानिसले घर बनाउँदा करोडौं लगानी गर्छ । अझ २०७२ सालको भूकम्पपछि घर बलियो होस् भनेर सिमेन्ट र रडमा कुनै सम्झौता गर्दैन । घर राम्रो होस् भनेर अरू विषयमा खुलेर लगानी गर्ने मानिस घरमा बिजुलीको तार तान्ने बेला भने निकै मितव्ययी देखिन्छ । न घरको विद्युतीकरण कुनै इन्जिनियरलाई देखाउँछ । न त काम सकिएपछि ठीक भयो वा भएन भनेर राय लिइन्छ ।

ठेकेदारले अनुभवकै भरमा विद्युतको काम गर्दा आवश्यकता अनुसार गुणस्तर, क्षमता र डिजाइनका विद्युतीय सामग्री प्रयोग हुँदैनन् । विद्युत सुरक्षाका नविनतम् पूर्वाधार त जोडिएकै हुँदैन । शहरका घरमा पुग्दा मैले पावर र लाइट सकेटमा उस्तै साइजका तार र एमसिभी राखेको भेटेको छु । घरमा विद्युत तार जलेर आगालागी हुनुको एउटा कारण यो पनि हो ।

अर्थ लिकेज सर्किट ब्रेकर, फेज ब्यालेन्स सर्किट ब्रेकरजस्ता महत्त्वपूर्ण तर खासै खर्च नलाग्ने सुरक्षा प्रणाली राख्दा पनि ठूलो दुर्घटनाबाट बच्न सकिन्छ । यदि, सावधानी अपनाउन सकिएन भने भूकम्पजस्तै विद्युत पनि जीवनका लागि उस्तै खतराजन्य हो भन्ने कुरा मनन् गर्नुपर्छ ।

कम्तीमा नगरपालिकाले घर निर्माणको इजाजत दिँदा विद्युत इन्जिनियरले पास गरेको हाउस वायरिङ डिजाइन र निर्माणपछि ठीक छ भन्ने प्रमाण लिन जरुरी छ । यत्ति गर्न सके पनि ठूला दुर्घटनाबाट जोगाउन सकिने थियो ।

म बेलाबेला विभिन्न उद्योग र व्यापारिक ग्राहक कहाँ जाँदा उनीहरूले राखेको विद्युत वितरण बोर्ड, स्वीच र तारको अवस्था देख्दा डर लाग्छ । कुनै प्रयोजनमा काम नलाग्ने, सबैभन्दा अध्यारो र साँघुरो ठाउँमा विद्युतीय संरचना राखिएको हुन्छ । विद्युत वितरण जस्तो महत्त्वपूर्ण र खतराजन्य संरचना सुरक्षित स्थानमा बनाउनुपर्छ ।

आधा तार जलेर खरानीजस्तो देखिँदा पनि तार फेर्ने जाँगर हुदैन । यस्ता ठूला ग्राहकले बेलाबेला इनर्जी अडिट गराउने, आफ्नो विद्युतीय सुरक्षाको कुरा देखाउने र मुख्यतः विद्युतबारे जानकार मानिसलाई रेखदेखमा राख्नु उचित हुन्छ । यसो गर्न सके विद्युत सर्ट हुने घटना धेरै मात्रामा जोगाउन सकिन्छ । नेपालका उद्योग व्यवसायमा सुनिएका विद्युत दुर्घटनाका कुरा पनि सुरक्षामा सामान्य लगानी गर्न पनि जागर नलगाएर हो ।

अब ग्रामीण विद्युतीकरणको चर्चा गरौं–

ग्रामीण विद्युतीकरणका लागि हामीले सुरुदेखि हाम्रो वितरण प्रणालीको गुणस्तरलाई राम्ररी सम्बोधन गरेका छैनौं । यसै पनि दक्षिण एसियामा विद्युतीकरणको सवाल ठूलो राजनीतिक मुद्दा हो । ठोस योजनाबिना ग्रामीणस्तरमा तानिएका विद्युत वितरण लाइनहरू सबस्टेसनाट निकै टाढासम्म पुगेका छन् । धेरै त राजनीतिक दबाबमा हचुवामा तानिएको छ ।

ग्रामीण क्षेत्रमा धमिराले खाएर मक्किएका काठका पोलमा ११ किलोभोल्टसम्म तार तानिएका ठाउँ पनि छन् । तार झोल्लिएका छन् । जंगलमा घाँस दाउरा काट्न गएका मानिस दुर्घटनामा परेर मरेको दुखद समाचार आउँछन् । यसको कारण मानिसमा विद्युत दुर्घटनाबाट बच्ने सचेतना नहुनु, प्रसारण लाइन सुरक्षा प्रणालीले काम नगर्नु आदि हुन् । कतिपय स्थानमा स्थानीय निकाय आफंैले पनि विद्युत लाइन विस्तार गरेका छन् । सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लामा दोहोरिइरहने विद्युत दुर्घटनाको मुख्य कारण जबरजस्ती तानिएका वितरण लाइन हुन् ।

अहिले यसरी सबस्टेसनबाट निकै परसम्मका फिडरमा आइपर्ने विद्युत लिकेज समस्या पत्ता लगाएर पोलबाट नै आफैं लाइन काटिदिने प्रविधि पनि विकसित भएका छन् । ग्रामीणस्तरमा विद्युत दुर्घटना रोक्न हामीले यस्ता खालका नविनतम् प्रविधि प्रयोग गर्न ढिला गर्नु हुँदैन ।

काठमाडौं जस्तो बढी जनघनत्व भएको शहरका आफ्नै कथा छन्–

म विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रमा इन्जिनियरका रूपमा काम गर्दाको डरलाग्दो घटना छ ।

जोरपाटी पारी माकलबारीभन्दा माथिबाट ६६ केभीको लाइन जान्छ । कति त लाइन मुनि नै घर बनाएर बसेका छन् । लाइन क्लिअरेन्स पर्याप्त नछोडेर बनेका घर त कति कति । त्यहीँनिर एक जना महिलाले छतमा कपडा धोएर सुकाउन सम्मुख पर्ने विद्युत लाइनतिरै पारेर कपडा छिम्किइन् । दुर्भाग्य, छिम्किएका पानीका थोपा हुँदै ६६ केभी लाइन घरमा आयो । उनी त क्षणभरमै डल्लो परिन् । घरभित्रका कुनै पनि तार र सकेट बाँकी भएनन् । धन्न आगो लागेन । तर, यस्ता घटनामा आगलागी हुने निकै सम्भावना हुन्छ ।

काठमाडौं जस्तो शहरमा दोहोरिइरहने अर्को घटना हो– नजिकको विद्युत लाइनमा हावाले उडाएर अड्काएको कपडा तान्दा हुने दुर्घटना । घरहरू विद्युत लाइन निकै नजिक बनेका छन् । त्यसमाथि मानिसलाई विद्युत किन खतरनाक हो भन्नेबारे जानकारी नै छैन ।

हरेक वर्ष एक–दुई बसहरू विद्युतका तारमा परेर दुर्घटना भएको सुनेकै छौं । विषेशतः छतमा मानिस बसेर लाइन छुने या बिहेको दाइजो ल्याएको सामान छतमा राख्दा तार छुने अवस्था छ । यसबाहेक प्राधिकरण वितरण प्रणालीमा काम गर्दा भएका विद्युतीय दुर्घटना झन् कहालीलाग्दा छन् । यस्ता दुर्घटना रोक्न ठोस् कदम चाल्न प्रण गर्नुपर्छ ।

एउटा पावर सिस्टमको विद्यार्थीको रूपमा काम गरिरहँदा मलाई विद्युतीय सुरक्षा सचेतनाबारे राज्यले गम्भीर कार्यक्रम लागू गर्नुपर्ने बोध भएको छ । हप्तैपिच्छे सुनिने विद्युतीय दुर्घटनाको कारण कसैले पनि थोमस अल्वा एडिसनले भनेझैं अल्टरनेटिङ करेन्ट वरदान नभएर अभिशापको रूपमा व्याख्या गर्न नपरोस् ।

ज्ञवाली, नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस